माधवकै ‘प्लान’अनुसार हारेकी रामकुमारी !

यसअघि जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी हितविपरीत गतिविधि गर्नेलाई निर्ममतापूर्वक पार्टीबाट बाहिर्‍याइने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति थियो, "घर भाँड्नेहरूले कहिल्यै राम्रो घर बनाउन सक्दैनन् ।"

Aug 28, 2024 - 07:15
 0
माधवकै ‘प्लान’अनुसार हारेकी रामकुमारी !

काठमाडौं । ३ वर्षअगाडि माधवकुमार नेपालले नेकपा (एमाले) विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा सबैभन्दा दह्रो साथ दिनेमध्ये थिइन् रामकुमारी झाँक्री ।

पार्टी दर्ताको चरणमा निर्वाचन आयोगको प्राङ्गणमा माधवको हात समातेर तानेको रामकुमारीको तस्वीर र भिडिओ पछिसम्म पत्रकार तथा कार्टूनिस्टहरूको खजाना बनिरह्यो ।

२०७८ भदौ २ गते निर्वाचन आयोगले एकीकृत समाजवादीलाई पार्टीका रूपमा आधिकारिकता दियो । यसपछि रामकुमारी पार्टीकी सचिव मात्रै बनिनन्, सहरी विकासमन्त्रीसमेत भइन् ।

२०७८ असोज २२ गते मन्त्री बनेकी रामकुमारी त्यसको ९ महिनापछि २०७९ असार १२ गते पदबाट रुँदै राजीनामा गरिन् । त्यसयता उनी पार्टीमा खासै सक्रिय भइनन् ।

पार्टीका कुनै कुनै बैठकमा उपस्थित भएर सम्बन्धित मुद्दाहरूमा आफ्ना धारणाहरू राख्थिन् तर, पहिलेजस्तो पार्टी काममा लाग्नै भने छाडिन् । त्यसबेला उनले आफ्नो पूर्वदल एमालेका नेताहरूसँग ‘हिमचिम’ बढाएकी थिइन् । भनिन्थ्यो, रामकुमारी चाँडै एमाले फर्किँदैछिन् ।

केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै रामकुमारी झाँक्री ।

यसबारे मिडियामा हेडलाइन बन्न थालेका थिए तर, उनले एमाले फर्किहाल्ने आँट भने गरिनन् । तर, उनका अभिव्यक्तिहरू भने एमालेतिरै ढल्किन्थे, कहीँ न कहीँ उनमा ‘एमालेमोह’ नै सुनिन्थ्यो/देखिन्थ्यो ।

एकपटक कुनै सन्दर्भमा गुल्मी झरेकी उनले एमालेलाई ‘पुरानो घर’ र एकीकृत समाजवादीलाई ‘नयाँ घर’को संज्ञा दिँदै एमालेमै फर्किने छनक दिएकी थिइन् । त्यसबेला उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसासमेत गरेकी थिइन् ।

त्यसबीचमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट, सचिव योगेशकुमार भट्टराईलगायतका नेताहरूले रामकुमारी फर्काउन कोसिस गरिरहेका थिए । तर, रामकुमारीले फर्किहाल्ने आँट भने गरिनन् ।

उपाध्यक्षमा रामकुमारी जयन्तीसँग हारिन्, काम लागेन माधवको ‘चिट’ – Nepal Views

एमालेतिरै फर्किने कि एकीकृत मसाजवादीमै बस्ने अन्योलका बीच अन्तत: रामकुमारी एकीकृत समाजवादीमै रहिन् । तर, अहिले आएर पूर्व केन्द्रीय सचिव उनी पदाधिकारीभित्र नै अटाउन सकिनन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतले सर्वसम्मत रूपमा पदाधिकारी चुन्न कोसिस गरेका थिए तर, अन्तत: बहुमत केन्द्रीय सदस्यले नमानेपछि आन्तरिक निर्वाचन भयो ।

निर्वाचनमा महिला उपाध्यक्षतर्फ उम्मेदवारी दिएकी रामकुमारी अन्तत: पराजित हुन पुगिन् । उनी पूर्वउपाध्यक्ष जयन्तीदेवी राईसँग पराजित भइन् ।

उनलाई हराउन अध्यक्ष माधवकुमार नेपालले सर्कुलर (चिट) नै जारी गरेका थिए । जिताउनुपर्ने पदाधिकारीहरूको नाम भन्दै माधवले लेखेको चिटमा जयन्ती देवी राईको नाम थियो भने रामकुमारकी नाम थिएन । महिला उपाध्यक्षतर्फ राई र रामकुमारीको उम्मेदवारी परेको थियो । यसपछि रामकुमारी माधवको ‘प्लान’अनुरूप पराजित भइन् ।

अध्यक्ष माधव नै रामकुमारी हराउन किन लागे ? भन्ने जिज्ञासामा नवनिर्वाचितमध्येका एक उपाध्यक्ष नेपालभ्युजसँग भन्छन्, “उहाँ (रामकुमारी झाँक्री) ले पार्टीप्रति पूर्ण विश्वास गर्नै सक्नुभएन । जहिले पनि हलचल भइरहनुभयो । त्यसैले कहिले के बोल्ने, कहिले के बोल्ने भन्ने गर्नुभयो । एकीकृत समाजवादीलाई नै दह्रो बनाएर लानेभन्दा अरुतिर आँखा लगाउनुभयो । त्यसकै परिणाम होला ।”

त्यसो ती नेताले भनेझैँ रामकुमारी यसबीचमा तन, मन र वचनका साथ एकीकृत समाजवादी बनाउन नलागेकै हुन् । पछिल्लो संसदीय निर्वाचन गुल्मी २ बाट पराजित भएपछि उनी झन् पार्टीप्रति विश्वास नगर्ने ठाउँमा पुगिन् । त्यसबीचमा सार्वजनिक भएका उनका धारणा, भनाइ र अन्तर्वार्ताहरू पनि बढीभन्दा बढी एमालेमोह देखिएको सत्य हो ।

उम्मेदवारहरूको प्रचारप्रसार सामग्री ।

त्यसो त मतदाताहरू (केन्द्रीय सदस्य)ले रामकुमारीलाई विश्वास गर्न सकेनन् । एकतृत रूपमा पार्टी बनाउन नलागेकाले उनी पराजित हुन पुगेको धेरै केन्द्रीय सदस्यहरूको बुझाइ छ ।

उसो त रामकुमारी खासगरी युवाहरूको ‘पोलिटिकल आइकन’ हुन् । आन्दोलनबाट आएकी उनको पछिल्लो पार्टी-गतिविधि भने सन्तोषजनक देखिँदैनथ्यो । यो कुरा स्वयम् उनीभन्दा सिनियर नेताहरूले नै भन्ने गर्छन् ।

यसअघि जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी हितविपरीत गतिविधि गर्नेलाई निर्ममतापूर्वक पार्टीबाट बाहिर्‍याइने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति थियो, “घर भाँड्नेहरूले कहिल्यै राम्रो घर बनाउन सक्दैनन् ।”

अन्तत: रामकुमारी पराजित हुन पुगिन् । पूर्वसचिव उनी अहिले पदाधिकारीबाटै ‘आउट’ भनिन् । त्यो पनि स्वयम् अध्यक्षकै योजनाअनुसार ।

अब पदाधिकारीमा नअटाएसँगै उनी के गर्छिन् ? हेर्न बाँकी छ । तर, पछिल्लो समय के भनिन्थ्यो भने उनले एमाले नफर्किने निर्णय गरिसकेकी छन् । केही समयअघि नेपालभ्युजसँग कुराकानी गर्दै पनि उनले आफू एकीकृत समाजवादीकै नेता रहेको र त्यसमै मेहनत गर्ने बताएकी थिइन् । अहिले उपाध्यक्ष पराजित भएकी छिन् । अब उनको चाल के हुन्छ, हेर्न बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register