प्रकाश तामाङको ‘पढ्ने कथा’
‘घर जाने’ भनेर प्रकाशले भनिसकेपछि हेर्ने कथा टिम उनका घर-मालिक ‘कन्भिन्स’ गर्नतर्फ लाग्दछ । अन्तिममा घर-मालिक प्रकाशलाई १० दिनको बिदा दिन राजी हुन्छन् तर, धम्कीसहित ! उनी भन्छन्—१० दिनभित्र प्रकाश ल्याइ नपुर्याए प्रहरी केस हुन्छ । के यो स्वाभाविक हो ?
काठमाडौं । काले र पका भनिने प्रकाश तामाङको कथा हेरेर म मात्रै होइन, तपाईं पनि पक्कै भावुक हुनुभयो होला, रुनुभयो होला ।
यो सत्य कथामा आँसु छ, भावुकता छ । तर, के कथामा त्यति मात्रै छ ? अरु केही छैन ? होइन, अरु पनि धेरै कुराहरू छन् । मलाई लाग्दछ, कथाभित्र अझ धेरै ‘गुप्त कथा’हरू छन् ।
प्रकाश अचानक हराउनुको गुप्त कथा, हराएपछि चुम भ्याली पुग्नुको गुप्त कथा, साढे तीन दशकसम्म प्रकाशले आफ्नाहरू नखोज्नुको गुप्त कथा, उनका घर-मालिकको धम्कीको गुप्त कथा आदिइत्यादि ।
मलाई व्यक्तिगत रूपमा लाग्दछ, ती गुप्त कथाहरूमाथि सार्थक चर्चा र बहस होस्, जसले प्रकाशलाई न्याय मिलोस्, दर्शकलाई जिम्मेवारीबोध बनाओस् ।
‘हेर्ने कथा’ टिमको जिम्मेवारी प्रकाश र उनको कथा देखाउनु थियो, देखायो । सकियो । तर, के प्रकाशको कथा हेरेर भावुक बन्ने, रुने दर्शकहरूको कुनै जिम्मेवारी हुँदैन ? मलाई लाग्दछ, हुन्छ ।
जब ‘काले’ हराएको ३४ वर्षपछि घर फर्किए, आमालाई नै चिनेनन् !
तर, कस्तो जिम्मेवारी ? जवाफ सहज छ, साढे तीन दशकसम्म जहाँ बसेर बिनापारिश्रमिक काम गरे, त्यहाँबाट उनलाई पारिश्रमिक दिलाउन आजाव उठाउने जिम्मेवारी, उनलाई अबउप्रान्त त्यहीँ फर्किनुपर्ने बाध्यताबाट बाहिर ल्याउनका लागि आवाज उठाउने जिम्मेवारी र यस्तै यस्तै ।
तर, प्रकाशका लागि आर्थिक सङ्कलन गर्नुचाहिँ त्यति गतिलो काम होइन । बरु त्यसको साटो प्रकाशलाई उनले जहाँ बसेर साढे तीन दशक बिनापारिश्रमिक काम गरे, त्यहाँबाट पारिश्रमिक असुलउपर गर्न आवाज उठाउनुपर्छ ।
कि त भनिदिनुपर्यो बिनापारिश्रमिक कसैको परिश्रम उपभोग गर्न पाइन्छ भनेर । अन्यथा प्रकाशलाई उनका घर-मालिकले साढे तीन दशकको पारिश्रमिक बिनाहिच्किचाहट दिनुपर्छ, त्यसका लागि आम दर्शकले आवाज उठाउनुपर्छ ।
कथा हेर्दै जाँदा प्रकाश एउटा बन्दी जीवन बिताउन विवश भएको भान हुन्छ । त्यसलाई मानवअधिकारको कोणबाट कस्तो देखिन्छ, सार्थक चर्चा होस् । मानव अधिकारकर्मीहरूले बहस गरून् । तर, सामान्य एउटा मानव जीवनको कुरा गर्दा पनि अब प्रकाशले उनको घर-मालिकबाट आर्थिक-न्याय पाउनुपर्छ न कि अरुबाट आर्थिक सङ्कलन गरेर !
अब माथि उल्लिखित गुप्त कथातर्फ फर्कौँ ।
सुरुमा प्रकाश हराएको सन्दर्भ; तपाईं सोध्नुहोला के मान्छे हराउँदैन ? जवाफ सहज छ, हराउँछ । तर, प्रकाशको हराइ सामान्य लाग्दछ ? लाग्दैन । किन ? कारण यत्रतत्र छन् ।
सुरुमै ख्याल राख्नुपर्दछ कि काठमाडौंको जोरपाटीबाट हराएका १० वर्षे बालक कसरी अनकन्टार चुम भ्यालीको कुनो पुग्यो ? के एउटा १० वर्षे बालक आफैँ त्यहाँसम्म पुग्न सक्छ ? त्यो सम्भव छ ?
प्रकाशलाई माओवादीले घर बनाइदिने, किरातीको संयोजकत्वमा बन्यो निर्माण समिति
यहाँनेर शङ्का लाग्छ, प्रकाश आफैँ त्यहाँसम्म पुगेनन्, कसैको सहारामा पुगे । कस्तो सहारा ? अर्को गम्भीर र सोचनीय विषय यो हुन सक्दछ ।
जे होस्, के भान हुन्छ भने प्रकाशलाई त्यहाँसम्म पुर्याउन कोही कसैले भूमिका खेलेको हुनुपर्छ । यसबारे कथामा न प्रकाशले बताएका छन्, उनका घर-मालिकले त बताउने कुरै भएन ।
यसरी हेर्दा प्रकाशलाई त्यहाँ पुर्याउन कुनै तेस्रो पक्षको भूमिका हुनसक्छ । कस्तो भूमिका ? दलालीको भूमिका, तस्करीको भूमिका । अझ यसो भनौँ, प्रकाशलाई पुर्याइदिएबापत् त्यो पक्ष (पात्र) लाई ‘बक्सिस’ मिलेको हुनसक्छ ।
अर्को गुप्त कथाचाहिँ प्रकाशले किन आफ्नो घर-परिवार खोज्न सकेनन्, खोजेनन्, जानेनन् ? के उनले आफैँले नचाहेर हो ? एउटा मान्छे आफ्नो घर-परिवारको सम्झना नगरीकन साढे तीन दशक कहीँ रहन सक्छ ? मान्छे त्यति निष्ठुर छ ?
खैर, प्रकाशको सन्दर्भमा शङ्का गर्न सकिने ठाउँ छ । जबकि प्रकाश मज्जाले फोन चलाउन सक्छन्, युट्यूब चलाउन जान्दछन्, गीत गाउनमा माहिर छन् । कुरा गर्न, सोधखोज गर्न सिपालु छन् तर, त्यतिका हुँदा पनि आफ्नो घर-परिवारबारे साढे तीन दशकसम्म किन केही सोधीखोजी गरेनन् ? किन फोन गरेनन् ? छैन अचम्म ?
सुरुमा मलाई लागेको थियो कि प्रकाश आफैँ खराब रहेछन् ! तर, गम्दै जाँदा म आफैँ गलत हो कि भन्ने ठम्याइँ गरेँ । लाग्यो, पक्कै प्रकाशका अगाडि केही न केही तगारो हुनुपर्छ । कस्तो तगारो ? डरको तगारो, त्रासको तगारो, धम्कीको तगारो यस्तै यस्तै धेरै तगारो ! जसलाई छिचोल्न लेकमा कठ्याङ्ग्रिएका प्रकाशले सकेनन् ।
यहाँनेर पुगेपछि लाग्दछ, कतै प्रकाशमाथि कुनै प्रकारको ‘थ्रेट’ त थिएन ? त्यसैले उनलाई लेकमा चौरीसँग बस्न बाध्य बनायो, घर-परिवार खोज्न नसक्ने बनायो अनि घर-परिवारको माया मरायो ।
यसकै एउटा पटाक्षेप हुनसक्छ, हेर्ने कथा टिमलाई प्रकाशको मालिकले दिएको प्रहरी केसको धम्की ! ‘घर जाने’ भनेर प्रकाशले भनिसकेपछि हेर्ने कथा टिम उनका घर-मालिक ‘कन्भिन्स’ गर्नतर्फ लाग्दछ । अन्तिममा घर-मालिक प्रकाशलाई १० दिनको बिदा दिन राजी हुन्छन् तर, धम्कीसहित ! उनी भन्छन्— १० दिनभित्र प्रकाश ल्याइ नपुर्याए प्रहरी केस हुन्छ ।
यसको अर्थ के लगाउने ? के बुझ्ने ? कसरी बुझ्ने ? यहाँभित्र कुनै भीमकाय गुप्त कथा त छैन ? के हराएर आएको एउटा बालक ठूलो भएपछि घर-परिवार खोज्न हिँड्न लाग्दा फेरि नआए प्रहरी केस हुन्छ भन्नु स्वाभाविक हो ? प्रशस्तै शङ्का गर्ने ठाउँ छ ।
प्रकाश तामाङलाई कोशी प्रदेश सरकारको सहयोग घोषणा
अर्को सन्दर्भचाहिँ के भने गाउँ फर्किसकेको प्रकाश फेरि किन त्यतै पुगे ? उनले हेर्ने कथा टिमसँग गाउँमा रोजगार नपाएकाले फेरि चुम भ्याली नै पुगेको बताएका छन् । जहाँसम्म लाग्दछ, यहाँ पनि कुनै पक्षले काम गरेको छ ।
प्रकाशको गाउँ भोजपुर (झापाबाट पछि सरेको) मा उनका लागि मेल कुनै रोजगार नै छैन ? त्यस्तो लाग्दैन । भोजपुरमा स्थानीय सरकारहरू सक्रिय छन्, त्यहाँ स्थानीय स्तरमा विकास निर्माणका कामहरू भइरहन्छन्, हाइड्रोहरू बन्ने क्रममा छन् । त्यहाँ बाहिरी जिल्लाका समेत काम गर्न बसेका छन् भने प्रकाशका लागि काम किन पाइएन ?
फेरि पुरानै घर-मालिककहाँ पुगेका प्रकाशले दिनको १,००० रुपैयाँ पारिश्रमिकबापत् मागेको तर, मालिकले कुनै पनि हालतमा नदिने बताएको कुरा छ । मालिक किन तयार हुँदैनन् ? यससँगै जोडिने अर्को आशङ्काचाहिँ प्रकाशको साढे तीन दशकको पारिश्रमिक कसले खायो ? त्यहाँ कुनै तेस्रो पक्ष हुन सक्दैन, जसले पारिश्रमिकबापत्को पैसा खायो ?
१० वर्षको उमेरमा अनकन्टार चुम भ्याली पुग्नु र उनले ३५ वर्षसम्म केही नपाउनु खाली संयोग मात्रै हो कि ? अरु पनि केही ?
यी तमाम विषयहरू देखिएका/हेरिएका कथाभन्दा अझ अजङ्गको हुन सक्छन् । तर, जसरी हेर्ने कथा टिमले प्रकाशलाई पात्र बनायो, त्यो राम्रो हो । यसका लागि हेर्ने कथा टिम धन्यवादकै पात्र हो ।
हेर्ने कथामार्फत चिनिएपछि प्रकाशमाथि सरकारकै आँखा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै उनलाई नागरिकता दिलाउनमा लागेका छन्, यो राम्रो हो । नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटीले एउटा घर बनाइदिने भएको छ । यी सबै राम्रा कुराहरू हुन् । सबैलाई धन्यवाद ।
मैले जे-जे लेखेँ, ती व्यक्तिगत रूपमा लागेका कुराहरू हुन् । तथापि विचार गरिँदा नराम्रो सन्दर्भ भने नहोलान् ।
What's Your Reaction?