जनतामाथि सरकारको दुईतिहाइको दम्भ : सत्ता आलोचकमाथि धरपकड

पक्राउ परेका गोपीकृष्ण त वैदेशिक रोजगारीबाट छुट्टीमा आएका व्यक्ति हुन् । रामबहादुर पनि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको देखिन्छ  । स्वदेशमा जागिर दिन नसकेको सरकारले उनीहरुलाई थुनामा राख्दा विदेशको जागिर नै गुमाउने खतरा देखिएको छ ।

Aug 30, 2024 - 12:36
 0
जनतामाथि सरकारको दुईतिहाइको दम्भ : सत्ता आलोचकमाथि धरपकड

काठमाडौं । सोमबार टुँडिखेलको हिलोले भिजेको माटोमाथि सिमसिमे पानीका बीच, सुदूरपश्चिमको मौलिक पर्व गौरा मनाइएको थियो ।

प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली । विशिष्ट अतिथि थिए, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

दुवैले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरे र कार्यक्रमको उद्घाटन गर्दै आफ्नो औपचारिक भूमिका निर्वाह गरे । त्यसैबेला गौराको उल्लासमय धुनहरूसँगै एक अनपेक्षित घटना भयो, दर्शकदीर्घाबाट परर ताली बज्नुपर्नेमा उल्टो नाराबाजी भयो ।

हिलाम्मे टुँडिखेलमा सिमसिम पानीका बीच सुरु भएको कार्यक्रममा नेताहरूको उपस्थितिलाई सहभागीले रुचाएनन् । परम्परागत गौराको सांस्कृतिक धुन बजिरहेका बेला उपस्थित दर्शकहरूको अचानक जनभावनाको विस्फोट भयो ।

आक्रोश दर्शकदीर्घाबाट सुरु भयो ‘…चोर, देश छोड’ ‘…पाराले, दुःख पाए साराले’ को नारा । नाराहरूले कार्यक्रम स्थल गुञ्जायमान भयो । नेताहरूले भाषण गर्न थाले तर, हो-हल्ला भएपछि भाषण गर्ने अवस्था भएन ।

ओली-देउवाविरुद्ध टुँडिखेलमा देखिएको आक्रोशको अर्थ र सङ्केत

दुवै नेताहरू रिसाएर दर्शकलाई सार्वजनिक रूपमा गाली गरेर फर्किए । नारा लगाउने ती युवाहरूविरुद्ध देउवा त निकै आक्रामक देखिएका थिए ।

विरोध गर्नेहरूलाई उनले गाली गर्दै भनेका थिए, “लाज लाग्दैन ? संस्कार नभएका बदमासहरू ।”

सरकारी असहिष्णुताको चर्को रूप

त्यहाँ नारा लगाएको भन्दै भोलिपल्ट २ जना समातिए । उनीहरू थिए, सुर्खेतका बुद्धिराम जैसी र अछामका रामबहादुर बूढा । अर्को दिन बुधबार फेरि अर्का व्यक्ति समातिए, कञ्चनपुरका दीपक सिंह ठगुन्ना

यी सबै तीन युवाहरूको अपराध के थियो ? उनीहरूले प्रधानमन्त्री ओली र देउवाको विरोधमा नारा लगाएका थिए । टुँडिखेलमा देखाएको विरोधको आधारमा उनीहरूलाई ‘सार्वजनिक शान्ति हितविरुद्धको कसूर’ लगाइयो ।

टुँडिखेलमा देउवाले युवालाई बदमास भने कि आफैँलाई ?

डिजिटल विद्रोहले अर्को झट्का

सोमबारको घटना टुँडिखेलमा मात्रै सीमित भएन । बुधबार परराष्ट्रमन्त्री आरजू राणा देउवाको धनगढी यात्राअघि सामाजिक सञ्जालमा युवाहरूले काठमाडौंमा पक्राउ गरिएको विरोधमा सामाजिक सञ्जालमा आक्रोश पोखे ।

रचित शाह र प्रतीक जोशी नामका दुई युवाहरूले आरजू राणा देउवाको आलोचना गर्दै आफ्नो आक्रोश फेसबूकमा पोखे । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ राणा देउवालाई जोडेर कैलालीका रचित शाहले फेसबूकमा कडा स्ट्याटस लेखे । राणाको तस्वीर पनि राखे । यो डिजिटल विद्रोहले अर्को झट्का दिने थियो ।

अर्का युवा प्रतीक जोशीले पनि फेसबूकमा लेखे, “मुलुक सङ्कटै सङ्कटमा छ । आम जनता सङ्कटकै अवस्थामा छन् । संस्कार नभएका भनेर बोलेको कुरा लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?”

उनले विभिन्न काण्डहरूको नाम जोड्दै आक्रोश पोखे । यी दुवै युवाले सामाजिक सञ्जालमार्फत राणा र कांग्रेस सभापति देउवालाई तेर्स्याउँदै लेखे । उनीहरूले उठाएका प्रश्नको साइनो टुँडिखेलसम्म जोडिएको थियो ।

देउवाको यही वाक्यांश उद्धृत गर्दै शाह र जोशीले सञ्जालमा प्रतिक्रिया दिएका थिए । शाहले देउवाले भनेको ‘लाज’को विषय जोडेका थिए भने जोशीले ‘संस्कार’को विषय जोडेर सञ्जालमा प्रतिप्रश्न गरेको देखिन्छ ।

यी स्ट्याटसहरूले फेसबूकमा हलचल मच्चायो । प्रतिक्रियास्वरूप प्रहरीले यी दुई युवाहरूलाई नियन्त्रणमा लियो । यति लेखेकै भरमा पक्राउ परेका उनीहरूलाई प्रहरीले राति काज गराएर छाड्यो ।

ती दुई युवाहरू छुट्न पाए । तर, अझै पनि तीन जना युवाहरू काठमाडौंमा हिरासतमा छन्, नेताहरूको आलोचना गरेको ‘अपराध’का कारण । लोकतन्त्रमा जनताको मौलिक हकमा विचार अभिव्यक्तिको स्वतन्त्रता र विरोधको अधिकार छ । तर, उनीहरूलाई हिरासत कोचिएको छ ।

पक्राउ परेकाहरूविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धानअघि बढाइएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेकामध्ये जैसी र बुढाविरुद्ध ९ दिन र ठगुन्नाविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

शक्तिको दुरूपयोग, स्वतन्त्रतामाथिको प्रहार

यी सबै घटनाक्रमलाई नजिकबाट हेर्दा अहिलेको सत्ता शक्तिले शान्तिपूर्ण विरोध, सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरूलाई दबाउन खोजेको प्रष्ट देखिन्छ ।

कांग्रेस-एमालेकोसहितका दलको दुईतिहाइको सरकार बनेको एक महिनामै आवाज दबाउने प्रयास भएको देखिन्छ । जनताका आवाज, आक्रोश, र असन्तुष्टि मौलिक हक हुन् । तर ‘सार्वजनिक शान्तिविरुद्धको कसूर’, ‘अभद्र व्यवहार’ र ‘साइबर अपराध’ जस्ता आरोपहरू लगाएर लोकतन्त्रलाई तानाशाहीतर्फ धकेल्न खोजिएको छ ।

नेताहरूको विरोध गरेकै आधारमा नागरिकमाथि प्रतिशोध साधेर संविधानले नै नागरिकलाई दिएको अधिकार कुण्ठित गर्ने प्रयास गरेको भन्दै उनीहरूले सरकारलाई सच्चिन सचेत भनेका छन् ।

यसरी नाराबाजी गरेकै आधारमा पक्राउ गरेर मुद्दा चलाउँदा भोलिका दिनमा झन् जनआक्रोश बढ्न सक्ने सम्भावनाको समेत आकलन गरिएको छ ।

पक्राउ परेका गोपीकृष्ण त वैदेशिक रोजगारीबाट छुट्टीमा आएका व्यक्ति हुन् । रामबहादुर पनि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको देखिन्छ  । थुनामा राख्दा उनीहरूले विदेशको जागिर नै गुमाउने अवस्थासमेत देखिएको छ  ।

शान्तिपूर्ण विरोध गर्नेहरूमाथि सरकार निर्मम रूपमा प्रस्तुत हुनथालेपछि धेरैलाई चिन्तित बनाएको छ । संविधानविद् भीमार्जुन आचार्य भन्छन्, “यो शक्तिको दुरूपयोग हो ।  शान्तिपूर्वक भेला हुन पाउने र आफ्ना असहमति लेखेर, बोलेर, नारा लगाएर प्रकट गर्न पाउने अधिकार सबैभन्दा ठूलो संवैधानिक स्वतन्त्रता हो । सरकारले यसको सम्मान गर्नुपर्छ ।”

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

अधिकारकर्मी टीकाबहादुर दियालीका अनुसार सामान्य विषयमा सामाजिक सञ्जालमा लेख्दा वा शान्तिपूर्ण विरोध गर्दा कारबाही गर्नुले मौलिक हक, संवैधानिक हक र नागरिक स्वतन्त्रता विशेषगरी विचार अभिव्यक्तिको स्वतन्त्रता, कुण्ठित पार्ने प्रयासको सुरुवात भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याल अहिलेको धरपकडलाई राज्य शक्तिको दुरूपयोग ठान्छन् । उनी भन्छन्, “अहिले राज्यको असहिष्णुता र प्रतिशोध स्पष्ट देखिन्छ । यस्ता सामान्य अभिव्यक्तिलाई क्रिमिनलाइज गर्ने हो भने लाखौँ व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । यसमा राज्यले प्रतिशोध साँधेको देखिन्छ । जब आफ्ना पार्टीका मान्छेले बोल्दा जायज ठहर्छ तर, सर्वसाधारणले बोल्दा आपराधिकरण हुन्छ, यसमा प्रतिशोध देखिन्छ ।”

सत्तारूढ एमालेका नेता भीम रावलले सरकारी कदमको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरङ्कुश, स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो ।”

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल सामान्य विरोध गरेकै आधारमा पक्राउ गरेर मुद्दा चलाउनु राज्यको गल्ती हुने बताउँछन् । उनी भन्छन्, “राज्यका महत्त्वपूर्ण व्यक्तिले सुन्ने गरी नागरिकले मर्यादित ढङ्गले विरोध गर्न पाउँछन् । तर, व्यक्तिगत रूपमा अभद्र व्यवहार र गालीगलौज गर्न पाइँदैन । विरोधकै आधारमा पक्राउ गर्नु भने मानव अधिकारको हनन हुन्छ ।”

सर्वसाधारण सोध्छन्- कस्तो लोकतन्त्र हो ?

काठमाडौंको बानेश्वर निवासी सुमन श्रेष्ठ भन्छन्, “यदि हामीले आफ्नो असन्तुष्टि व्यक्त गर्न पनि पाएनौँ भने त्यो कस्तो लोकतन्त्र हो ?”

यी प्रतिक्रियाहरूले लोकतन्त्रमा आवाज उठाउने, विरोध गर्ने र विचार अभिव्यक्तिको अधिकारमाथि नयाँ चुनौतीहरूको सङ्केत गरेका छन् । तर, कतिपय भने सरकारको पक्षमा छन् । “सार्वजनिक कार्यक्रममा यस्तो व्यवहार गर्नु उचित होइन, ” उनीहरूको बुझाइ छ ।

प्रधानमन्त्री ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register