रेल चढ्ने तिर्सना

यहाँ रेल एक विम्ब हो, मुख्य कुरा हो विकास र समृद्धिको सपना । काम र परिणामको चित्र ? हाम्रा सपनाहरू कसरी सङ्कुचित छन्, त्यसको एक उदाहरण हो हाम्रो रेल परियोजना । जसको केन्द्रीय प्रश्न हो, किन सय वर्ष पुरानो हाम्रो रेलको सपना वामे नसर्दै लड्छ र उठ्न सक्दैन ?

Aug 31, 2024 - 08:12
 0
रेल चढ्ने तिर्सना

कल्पनाको उडान

एकछिन कल्पनाको आकासमा उडौँ । मानौँ, धुलो-मैलो हटेको शरद ऋतुको एक कञ्चन बिहान छ । तपाईं मेची किनारको एक सुन्दर सहर काँकडभिट्टामा हुनुहुन्छ । घरमा । टिङ, टिङ, टिङ घडीले बिहानको पाँच बजाउँछ । अर्थात्, एक सुखद दिनको सुरुवात हुन्छ ।

घडीको सङ्केतसँगै तपाईं उठ्नुहुन्छ र मेची नदीको किनारतिर मर्निङ्गवाकमा निस्किनुहुन्छ । तपाईंसँगै काँकडभिट्टा बजार पनि आङ तान्दै उठ्छ र चहलपहल गर्न थाल्छ । त्यही चहलपहलमा झुम्दै, रम्दै र गुन्गुनाउँदै तपाईं मर्निङ्गवाकबाट फर्किनुहुन्छ । फ्रेस हुनुहुन्छ । चिया खानुहुन्छ । पत्रिका पढ्नुहुन्छ । तपाईंको घरमा सानो बगैंचा छ, फूल गोड्नुहुन्छ । तरकारी टिप्नुहुन्छ । खाना पाक्यो, खाना खानुहुन्छ । त्यसपछि ठाँटसँग तपाईं जागिरमा निस्कनुहुन्छ ।

जगिरमा जान तपाईंको घर नजिकै रेल स्टेशन छ । तपाईं रेल चढ्नुहुन्छ र मस्तीसँग अगाडि बढ्नुहुन्छ । तपाईंको अफिस छ, २४० किलोमिटर टाढा, सिरहा बजारमा । त्यो दिन तपाईंले अफिसमा कुनै महत्त्वपूर्ण प्रस्तुति दिनु छ । बाटोमा त्यसको तयारी गर्नुहुन्छ । र, घर छोडेको एक घण्टा नहुँदै ठीक समयमा तपाईं पुग्नुहुन्छ सिरहा ।

टिङ, टिङ, टिङ घडीले बिहानको १० बजाउँदा तपाईं आफ्नो कार्यकक्षमा हुनुहुन्छ । हातमा कफी छ र छ त्यो दिन केही नयाँ गर्ने अथाह उत्साह । के यस्तो सम्भव छ ?

अर्को कल्पना गरौँ, आज माताधीर्थ औंसीको दिन हो । इटहरी बस्ने आफ्नी आमालाई खाना पकाउँदै गर्न एउटा विद्यार्थी छोराले काठमाडौंबाट फोन गर्छ । ऊ बिहानै उठ्छ, नयाँ सडकमा पुगेर ताजा पुष्टकारी र गुँदपाक किन्छ । पशुपति नाथको मन्दिर पुगेर प्रसाद लिन्छ । भाइ-बैनीलाई खेलौना किन्छ । तीनकुनेमा आधुनिक रेल स्टेशन छ । त्यहाँ पुगेर टिकेट लिन्छ र हिँड्छ इटहरी ।

उसको हातमा पुस्तक छ । मानौँ, उसँग छ मेरै उपन्यास ‘मोक्षभूमि’ । अथवा छ मेरै निबन्ध संग्रह ‘माघवी ओ माघवी’ । रेल चढ्नासाथ ऊ आरामसँग बस्छ र पुस्तकका पन्नाहरू पल्टाउन थाल्छ । पुस्तकको केही पेज पढेर नसिध्याउँदै ऊ पुग्छ इटहरी, आमाको काखमा ।

ऊ त्यो दिन पूरा समय आमासँग रमाउँछ । आमाको आशीर्वाद लिन्छ । आमाले पकाएको तात्तातो खाना खान्छ । भाइ-बैनीसँग खेल्छ र साँझ पुनः काठमाडौं आइपुग्छ ।

कल्पना गरौँ, आफ्नी प्रेमिकालाई भेट्न भ्यालेन्टाइन डेमा कुनै चञ्चल युवाप्रेमी वीरगञ्जबाट नेपालगञ्ज जान्छ । ऊ उत्साहमा हुन्छ । ऊ उमङ्गमा हुन्छ । त्यहाँ उनीहरू सिनेमा हेर्छन्, डुल्छन्, सँगै खाना खान्छन् र युवाप्रेमी राति आफ्नै घर वीरगञ्ज फर्कन्छ ।

कल्पना गरौँ, इलामको जाँगरिलो किसान ताजा अकबरे खुर्सानी बोकेर बिहानै काठमाडौं आइपुग्छ, यतै हाट बजार गर्छ र बेलुका आफ्नै घर इलाममा फर्किन्छ ।

जादुजस्तै के यस्तो जीवन सम्भव छ ?

सम्भव छ । तपाईंको घर छेउमै बुलेट ट्रेनको अत्याधुनिक स्टेशन हुन सम्भव छ । त्यो ट्रेनमा आधुनिक सुविधाहरू हुन सम्भव छ । त्यो ट्रेनमा बस्नलाई आरामदायी प्रबन्ध हुन सम्भव छ । त्यो ट्रेन ३५० किलोमिटर प्रतिघण्टा दौडिन सम्भव छ । र, तपाईं जहाँ हुनुहुन्छ त्यहाँबाट लगभग एक/दुई घण्टामा नेपालजत्रो देशको आधा भागमा जहाँकतै यात्रा गर्न सम्भव छ । किनभने संसारका कतिपय देशमा अहिले मान्छे हिँड्दैनन्, गुड्दैनन्, उड्दैनन्, बुलेट ट्रेनमा हुइँकिन्छन् । हजुर, त्यसैले यो सबै सम्भव छ ।

सपना र विपना

एउटा अर्को प्रश्नबाट अगाडि बढौँ । मान्छेले रेल चढ्ने सपना कहिले देख्यो होला ? इतिहासमा मान्छेका सपना अभिलेखन हुनुभन्दा धेरै अगाडि मान्छेले रेलको सपना देखेको हुनुपर्छ । घाँसे मैदानमा लामा र चिप्ला सर्पजस्ता रेल-गाडीहरू कुदेको सपना । काँस फुलेका सेताम्मे पाखाहरूमा सुलुलु रेल-गाडी कुदाएका सपना ।

मैले भेटेका अभिलेखहरूले भन्छन् कि इङ्गल्यान्डमा ३८०० बिसी र ग्रीसमा ६०० बिसीतिरै मान्छेले रेल कुदाएका थिए । चीनमा २२०० वर्षअघि नै रेल गुडेको थियो । तर, ती थिए काठबाट बनेका साधारण रेलहरू । जसमा आधुनिक ईन्जिन थिएन, धेरै डिब्बाहरू थिएनन् । र, ती रेलहरूलाई घोडा वा दासहरूले तान्ने गर्थे । भनिन्छ, छोटो दूरीको यात्रा, रामरमाइलो र खानीहरूमा त्यस्ता रेल प्रयोग हुन्थे ।

१८औं शताब्दीको मध्यबाट विस्तारै काठका रेलहरू धातुका रेलमा रूपान्तरित हुन थाले । जसै जेम्स वाटले वाष्प ईन्जिनको आविष्कार गरे, त्यसपछि रेलमा क्रान्ति आयो । परिणाम उत्तरी इङ्गल्यान्डले सन् १८२५ देखि रेललाई सार्वजनिक यातायातको साधनको रूपमा चलाउन थाल्यो । केहीपछि रेलले ग्रेटब्रिटेनलाई आयरल्यान्डसँग जोड्यो । अर्को वर्ष लिभरपुलबाट म्यानचेष्टरतिर रेल छुट्यो ।

छिमेकी भारतले (ब्रिटिसकाल) पनि सन् १८३८ बाट ईन्जिन रेल कुदाउन थाल्यो । र, त्यसको लगभग नब्बे वर्षपछि सन् १९२७ मा नेपालमा रेल सञ्चालन गर्न पहिलो कम्पनी खोलियो ।

रेलमाथि अनेकन् प्रयोग, अनुसन्धान र आविष्कार हुँदै गए । मान्छे वाष्प ईन्जिनमा अडिएन । फलस्वरूप सन् १८३७ मा विद्युत् रेलको पहिलो परीक्षण भयो । दोश्रो, तेश्रो हुँदै अनेकन् परीक्षण हुँदै गए । सन् १८४१ मा पहिलो पटक बिजुली रेल सार्वजनिक गरियो । जुन प्रतिघण्टा ६ किलोमिटरले कुदेको थियो । यसै क्रममा डिजेल ईन्जिनको पहिलो सफल परीक्षण भयो सन् १९१२ मा । जसले छुकछुके रेलमा अर्को क्रान्ति ल्याइदियो ।

अहिले रेलमा लम्बाइ मात्र थपिएको छैन, गति पनि जोडिएको छ । अहिले रेल कुद्दैन, हुइँकिन्छ । तपाईंले आँखा झिमिक्क गर्दा रेल आइपुग्छ र अर्कोपटक आँखा झिम्क्याउदा डाँडो काट्छ । कस्तो चमत्कार ?

यस्तो तीव्र गतिको रेल सन् १९६४ मा जापानले बनायो । जसले पहिलो वेग मारेको थियो टोकियोबाट ओसाकातिर । त्यसको गति थियो ३०० किलोमिटर प्रतिघण्टा । आज यस्ता रेल धेरै देशमा चल्छन् । जसमध्ये सबैभन्दा तीव्र गतिको रेल छ चीनसँग । जो ३५० किलोमिटर प्रतिघण्टाले हुइँकिन्छ ।

पछिल्लो पटक यस्तो रेल भारतले समेत बनाउन सुरु गरेको छ । सन् २०१७ बाट सुरु भएको भारतीय परियोजनाले पहिलोपटक मुम्बईलाई अहमदावादसँग जोड्ने छ । जुन रेलको गति हुनेछ ३२० किलोमिटर प्रतिघण्टा ।

अर्थराजनीति

आज धेरै देशहरूले रेलसञ्जालमा भीमकाय लगानी गरेका छन् । अलिक अगाडिकै तथ्याङ्क हेर्दा भारतसँग १ लाख २६ हजार ३६६ किमिभन्दा धेरै लामो रेल सञ्जाल छ । यसैगरी चीनसँग १ लाख ४६ हजार किमिभन्दा धेरै छ भने अमेरिकासँग छ २ लाख ५० हजार किलोमिटर भन्दा धेरै । र, पाकिस्तानसँग छ ११ हजार ८८१ किमिभन्दा धेरै लामो रेल सञ्जाल ।

रमाइलो के छ भने आज रेलहरू जमिनमाथि मात्र कुद्दैनन्, समुन्द्रमुनि, लामालामा पुलमाथि र सुरुङभित्र पनि हुइँकिन्छन् । जस्तो फ्रान्सबाट इङ्ल्यान्ड जाने रेल समुन्द्रमुनि ५० किलोमिटर लामो ‘च्यानल टनेल’ हुँदै चिप्लिन्छ । केही अगाडिकै तथ्याङ्क हेर्दा चीनमा रेलमार्गभित्र पर्ने सुरुङहरूको लम्बाइ नै १८ हजार ४१ किमि थियो । सायद यो अहिले अझै धेरै भएको हुनुपर्छ ।

रेलमा लगानीको महत्त्व के छ ? सयौं मान्छेहरू बोकेर वेगले हुइँकिने रेल आज यातायातको सबैभन्दा बलियो साधन भएको छ । खर्च कम, छिटो, सुरक्षित र आरामदायी यात्रा । पुस्तक पढ्दै, कविता लेख्दै, अफिसको रिपोर्ट बनाउँदै र नयाँ सोचहरूलाई टिपोट गर्दै हिँड्न पाइने जादुजस्तो रोमाञ्चक यात्रा । अथवा  झ्याल बाहिर रेलसँगै दौडने प्रकृतिको सुन्दर छटा हेरेर रमाउँदै गरिने यात्रा ।

आज संसारले रेललाई समृद्धिको प्रतीक बनाएको छ । त्यसो त रेलले मान्छेलाई बोक्ने मात्र हैन, जोड्ने पनि काम गर्छ । जस्तो पहिलो र दोश्रो विश्वयुद्धले छियाछिया पारेको युरोपको मनलाई रेलले यसरी जोड्यो कि उनीहरूमा युरोपेली भावना प्रबल बन्दै गयो । आज युरोपको कुनै रेलमा चढेर एक कुनाबाट अर्को कुनामा जान पाइन्छ । जसले दर्जनौं देशको सिमाना छिचोल्छ, संस्कृति छिचोल्न र मान्छेलाई एकीकृत गर्छ । आज युरोपको रेलयात्रा यातायातको साधन मात्र हैन, चमत्कारिक पर्यटन र मनोरञ्जन पनि हो ।

रेलको आर्थिक पक्ष अझ सशक्त छ । औद्योगिक क्रान्तिका मुख्यआधारहरूमध्ये रेल एक हो । जसले यातायातलाई बृहत्तर बनाउने मात्र काम गरेन, शहरहरू जोड्ने, ढुवानीलाई सहज बनाउने र बन्दरगाहहरूलाई चलायमान बनाउने काम पनि गर्‍यो । यसले व्यापार गर्‍यो र त्यसलाई अझ विस्तारित र व्यापक बनायो ।

यो अर्थमा आज रेलले औद्योगिक क्रान्ति र विश्वबजारलाई गति दिएको छ । त्यति मात्र हैन, आज रेलले मान्छेमा आत्माविश्वास जगृत गरेको छ । यसैका कारण आज समयको गति बढेको छ । जीवन सहज भएको छ । अर्थात् आज रेलले गजब गरेको छ ।

नेपालमा रेल

अब नेपालको रेल परियोजनाबारे कुरा गरौँ । हामीले रेल कुदाउने तारतम्य मिलाएको सय वर्ष (विसं १९८४) भयो । इस्ट ईन्डिया सरकारको सहयोगमा रक्सौलदेखि अमलेखगञ्जसम्म कुनै बेला नेपालमा रेल चल्थ्यो । कथा जस्तो लाग्ने कुरा । तर, विस्तारै त्यो रेल (विसं २०२२ मा) बन्द भयो ।

पहिलो रेल कुदेको १० वर्षपछि जयनगरबाट जनकपुर हुँदै महोत्तरीको विजलपुरासम्म नेपालमा दोस्रो रेल कुद्यो । खासमा त्यो नेपालको वनपैदावार भारततर्फ ओसार्न निर्माण गरिएको मालवाहक रेल थियो । पछि त्यसैलाई यात्रुवाहक बनाइयो । यद्यपि अनेकन् दिशाहीनता र कमजोरीका कारण कालान्तरमा त्यो पनि बन्द भयो ।

अहिले त्यहि रेलसेवालाई पुनर्निमाण गरी सञ्चालनमा ल्याइएको छ । जसका लागि केही अगाडि ठूलो तामझाम गर्दै दुलही भित्र्याएजस्तो नयाँ रेल ल्याइएको थियो । यद्यपि त्यो रेलको त्रिपाल च्यातियो, रेल फुस्रो हुँदै गयो । जो कति कुद्ला कसैलाई थाहा छैन ?

अहिले नेपालमा रेलको अर्को महत्त्वकाङ्क्षी परियोजना छ– काँकडभिट्टा-कन्चनपुर (९४५.२४ किलोमिटर) रेल परियोजना । तर, परियोजनाको गति, यसको ढङ्ग, संरचना र प्रभाव निकै सुस्त छ । जस्तो कि यो परियोजना सन् २००७ मा बनाइयो । सन् २०११ मा परियोजना सञ्चालन गर्न मन्त्रालयले विभाग गठन गर्‍यो । तर, २०२१ सम्म आइपुग्दा पनि धेरैलाई यो परियोजनाबारे या त थाहा छैन या त विश्वास छैन ।

समन्वयको अभाव, मुआब्जा विवाद, प्रशासनिक सुस्तता, नेतृत्वको अकर्मन्यता, पर्यावरणको मुद्दा र युनेस्कोको असहमति आदि कारण यो परियोजना सायदै केही दशकमा पनि बन्ला । अथवा हाम्रो पुस्ताको समय कटेपछि यो के होला ? कसैलाई थाहा छैन ।

किन यस्तो हुन्छ नेपालमा ? नेपालमा एउटा परियोजना सुरु हुन र सकिन कति वर्ष लाग्छ ? विचार गरौँ त, संसारको रेल कहाँ छ, र हामी कहाँ छौँ ? सय वर्ष घस्रिँदा पनि हाम्रो रेल किन ५० किमिबाट अगाडि बढ्दैन ? के एउटा परियोजना सक्न एउटा पुस्ताको जीवन सकिनुपर्छ ?

यहाँ रेल एक विम्ब हो, मुख्य कुरा हो विकास र समृद्धिको सपना । काम र परिणामको चित्र ? हाम्रा सपनाहरू कसरी सङ्कुचित छन्, त्यसको एक उदाहरण हो हाम्रो रेल परियोजना । जसको केन्द्रीय प्रश्न हो, किन सय वर्ष पुरानो हाम्रो रेलको सपना वामे नसर्दै लड्छ र उठ्न सक्दैन ?

भर्खरैका केही तथ्याङ्कहरू सार्वजनिक भएका छन् । जसले भन्छन्, हामीकहाँ ४४ वटा सार्वजनिक संस्थानहरू छन् । जसमा मात्र ४२ वटा सञ्चालनमा छन् । तीमध्ये १५ वटा घाटामा छन् । ३ वटाको कारोबार शून्य छ । र, सरकारको ६ खर्ब ६२ अर्ब लगानीले अहिले आशातीत प्रतिफल दिइरहेको छैन ।

यी यस्ता विषय र प्रश्नहरू हुन्, जसको उत्तर हाम्रा नेताहरूको अनुहार, प्रधानमन्त्री र मन्त्रीको क्षमता र रेल कम्पनीको (रेल कम्पनी त एक उदाहरण हो) नियतमा खोजी गरे अवश्य भेटिनेछ ।

प्रश्न पुरानै छ, के हाम्रै जुनीमा नेपालमा रेल कुद्ला ?

यहि पारा हो भने त्यो असम्भव छ । किनभने हाम्रो नेतृत्वसँग न त सपना छ, न त सङ्कल्प । हाम्रो राजनीति सिर्फ एउटा चुनावदेखि अर्को चुनावसम्मको छलछाम हो । अथवा हो, जालझेल, षड्यन्त्र र दलाली । जबसम्म भ्रष्ट राजनीति, सपनाहीन नेतृत्व र सङ्कल्पविहीन प्रशासनले बालुवाटार र सिंहदरबारमा रजगज गर्छन्, हुने यस्तै हो । शून्यता । अँध्यारो । घोर निराशा ।

अर्थात् कुरा स्पष्ट छ कि विकासको युगीन चेतना, सृजना र सङ्कल्प जागृत नहुँदासम्म जतिसुकै परियोजना बनाए पनि त्यो भ्रष्टाचारको अखडा मात्र हुन्छ । न त त्यो पूरा हुन्छ, न त त्यसले बदलाव ल्याउँछ ।

अन्त्यमा, तपाईं यो लेख जापानमा बसेर पढ्दै हुनुहुन्छ भने लेख पढिसक्दा त्यहाँका मान्छेहरू ५० किमि अगाडि बढिसकेका हुनेछन् । चीनमा हो भने अझ धेरै । तर, यदि तपाईं नेपालमा हुनुहुन्छ र जडिबुटीबाट कोटेश्वर जाँदै हुनुहुन्छ भने यो लेख पढिसक्दा तपाईं एक किमि पनि कट्नुहुन्न ?

साङ्केतिक प्रश्न गरौँ, यस्तो चालले यो जुनीमा हामी कहाँ पुगौँला ? हाम्रा सिद्धान्तका ठेलीहरू, निर्वाचन घोषणापत्र, पार्टीका दस्तावेज र नेतृत्वको सपनामा कहाँ भुलचुक भयो, खोजी गरौँ । खोजी गरौँ, हामी किन अझै घस्रिन वाध्य छौँ । अन्यथा, यस्तै पारा हो भने हामीले पूर्व-पश्चिम रेल चढ्न कति वर्ष कुर्नुपर्ला ?

ज्ञानी मान्छेहरू भन्छन्, सिद्धान्तले मात्र देश बन्दैन । मुख्य कुरा हो, सिद्धान्तलाई लागू गर्ने इमान, सङ्कल्प र क्षमता । मुख्य कुरा हो काम र परिणाम । कृपया सिद्धान्तलाई परिणामसँग जोडौँ, अन्यथा हाम्रो राजनीति मात्र भ्रमको एक पुलिन्दा हुनेछ ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register