इडब्लूभीएल : भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात मधेस युनाइटेडमा

काठमाडौं। मधेस युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ । आगामी असोजमा हुने इडब्लूभीएलका लागि साजीसँगै मधेस युनाइटेडले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ । २८ वर्षीय भारतीय सेटर जिनी […]

Sep 3, 2024 - 05:45
 0
इडब्लूभीएल : भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात मधेस युनाइटेडमा

काठमाडौं। मधेस युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।

आगामी असोजमा हुने इडब्लूभीएलका लागि साजीसँगै मधेस युनाइटेडले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।

२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन् । अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा एकदमै खुशी भएको मधेस युनाइटेडले जनाएको छ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने मधेस युनाइटेडले विश्वास व्यक्त गरेको छ ।

तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेस युनाइटेडको टिम सन्तुलित बनेको छ ।

केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ ।

जिनीले मधेस युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेस युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । जिनीले भनिन्, ‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खेल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’

मधेस युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताईन् ।

‘पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ, ‘ संज्ञा श्रेष्ठले भनिन् ।

जिनीको अनुबन्धपछि मधेश युनाईटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन् । यस्तै काभा यू २० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेस टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेसको टिममा छिन् ।

मधेसले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि मधेस युनाइटेड व्यग्र प्रतिक्षामा छ ।

विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेश टिमले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register