‘एमालेसँग मतभेद छैन’ भन्ने देउवाको जोडको अर्थ

कांग्रेस-एमालेबीच कुनै मतभेद नै नरहेको बताएर देउवाले बिनाप्रश्नको जवाफ दिँदा कतिपयलाई दुई पार्टीबीचको सम्बन्ध बिग्रिँदै त छैन भनेर आशङ्का लागेको छ ।

Sep 5, 2024 - 06:21
 0
‘एमालेसँग मतभेद छैन’ भन्ने देउवाको जोडको अर्थ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिनाप्रश्न एउटा जवाफ दिए । एउटा सार्वजनिक कार्यक्रममा उनले भने— कांग्रेस र एमालेबीच कुनै मतभेद छैन, धारणा एउटै छ ।

त्यसो त अहिले कांग्रेस-एमालेबीच सम्बन्ध बिग्रेको, प्रमुख नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच टकराव बढेको वा त्यस्तो प्रकारका कुनै सवाल बाहिर चर्चामा छैन । सञ्चारमाध्यममा पनि त्यस्ताखाले समाचार तथा विश्लेषणहरू आएका छैनन् ।

तर, देउवा त्यसरी प्रस्तुत भए कि कांग्रेस-एमालेबीच सम्बन्ध बिग्रेको छ, देउवा-ओलीबीच टकराव बढेको छ र सञ्चारमाध्यममा व्यापक चर्चा छ ।

यद्यपि खासगरी कांग्रेस नेताहरू भने वर्तमान सत्ता समीकरणसँग खासै सन्तुष्ट देखिँदैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्व गरिरहेको क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका कांग्रेस नेता बद्री पाण्डेले एमालेसँगको समीकरणलाई ‘खुकुरीको धारमा हिँडेको…’ रूपमा अर्थ्याएका छन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले संसद्‌को रोष्ट्रममै उभिएर एमाले मन्त्रीहरूको ‘जिब्रो नियन्त्रण’ हुनुपर्ने विचार राखे भने डा. शेखर कोइरालालगायतका नेताहरू एमालेसँगको समीकरणलाई ‘बाध्यता’ भएको बताइरहन्छन् ।

यसबाहेक नेतृत्व तह (देउवा-ओली) मै भने अहिलेसम्म त्यस्तो कुनै असमझदारी सुनिएको वा देखिएको छैन । कांग्रेस-एमालेबीच सत्ता समीकरण बनेयता देउवा-ओलीबीच अहिलेसम्म औपचारिक रूपमा दुईपटक मात्रै भेट भएको छ । ती भेटहरूमा सौहार्दपूर्ण रूपमै उनीहरू प्रस्तुत भएको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ।

तर, देउवा किन एक्कासि दुई पार्टीबीच कुनै मतभेद नै नरहेको भन्नेमा जोड दिन पुगे ? राजनीतिक विश्लेषकहरू ठान्दछन् कि देउवा आफ्नै पार्टीभित्र रहेको सरकारप्रतिका असन्तुष्टिलाई मत्थर पार्न त्यसरी जोड दिएर बोलेका हुन् ।

राजनीतिक विश्लेषक पिताम्बर भण्डारी भन्छन्, “कांग्रेस र एमालेबीचको पार्टीगत सम्बन्ध त अहिलेसम्म ठीकै छ भनिन्छ । तर, देउवाले किन त्यसो भने भन्ने सवालमा चाहिँ उहाँको आफ्नै पार्टीभित्र विवादहरू सरकारकेन्द्रित भइरहँदा त्यसलाई मत्थर बनाउनका लागि हुनसक्छ ।”

विश्लेषक भण्डारी थप व्याख्या गर्छन्, “जस्तो परराष्ट्रमन्त्री आरजू राणा देउवाको भारत भ्रमणको सन्दर्भ छ, त्यहाँ एमालेको आफ्नै बुझाइ हुनसक्छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सरकारकेन्द्रित भएर नेताहरूले बोलेको कुरा छन् । महामन्त्रीहरू सरकारको विरोध गर्छौँ भन्छन् । यी नै विषयलाई मत्थर पार्नका लागि उहाँले त्यसरी बोलेको हुनसक्छ ।”

देउवा र ओली त्रिपक्षीय दबाबमा छन्, त्यसैले ‘हामी ठीक छौँ’ भन्ने न्यारेटिभ बनाउन अप्रासङ्गिक अभिव्यक्ति दिन्छन् ।

त्यसो त राजनीतिशास्त्रीहरू के भन्छन् भने पार्टी टू पार्टी सम्बन्ध बिग्रन थालेको छ भने सम्बन्धित नेताहरूले अप्रासङ्गिक रूपमा नेताहरू ‘सम्बन्ध ठीकै भएको, कुनै मतभेद छैन’ भनेर जिकिर गर्ने गर्छन् ।

जसै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेस मन्त्रीहरू सन्तुष्ट छैनन् । यसको छनक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दिइसकेका छन् । मन्त्री पाण्डेले प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग समन्वय नगरी निर्देशनको भरमा काम गर्न खोजेको बताएका थिए ।

यस्तो अवस्थामा कतिपयले कांग्रेस-एमाले समीकरण दीगो नहुने प्रक्षेपण गरिरहेका छन् । उसो त संसारभरको संसदीय मान्यताविपरीत दुई ठूला दलको समीकरण बनाएर सरकार निर्माण गरेका कांग्रेस-एमालेमाथि आम आलोचना बढ्दो छ । सामान्यता तेस्रो, चौथो वा आफूअनुकूलका पार्टीहरूलाई साथ लिएर पहिलो दलले सरकारको नेतृत्व गर्दा दोस्रो दलले रचनात्मक र सहयोग प्रतिपक्षको भूमिका खेल्नुपर्ने संसारभरको संसदीय मान्तया हो ।

तर, नेपालमा अहिले ठीक विपरीत छ । पहिलो र दोस्रो ठूला दलहरू कांग्रेस-एमाले सरकारमा छन् भने तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्ष दलको रूपमा संसद्‌मा छ । यस विषयको प्रहार र आलोचना पनि कांग्रेस-एमालेतर्फ सोझिँदो छ, बढ्दो छ ।

यसका पटाक्षेपहरू कांग्रेस-एमाले दुवै दलमा देखिएका छन् । सरकारमाथिको प्रश्न दुवैतिर उठ्ने गरेका छन् । ठीक यहीबेला कांग्रेस-एमालेबीच कुनै मतभेद नै नरहेको बताएर देउवाले बिनाप्रश्नको जवाफ दिँदा कतिपयलाई दुई पार्टीबीचको सम्बन्ध बिग्रिँदै त छैन भनेर आशङ्का लागेको छ । भलै केपी शर्मा ओलीले गत असार १७ गते मध्यरातमा भएकै सहमतिअनुरूप दुई वर्षपछि प्रधानमन्त्री पद शेरबहादुर देउवाका लागि छाड्ने दोहोर्‍याउँदै आएका छन्, जोड दिँदै आएका छन् । जसरी देउवाले अप्रासङ्गिक विषयमा जोड दिए ।

देउवाको अप्रासङ्गिक रूपमा किन ? अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ठहर्‍याउँछन्— देउवा र ओली त्रिपक्षीय दबाबमा छन्, त्यसैले त्यसरी अप्रासङ्गिक अभिव्यक्ति दिन्छन् ।

“जनताले के भन्छन् भन्ने लोकाचार पनि छ, पार्टीभित्र नेताहरूले सरकारको विरोध गरिरहेका छन् र कहीँ न कहीँ अन्तर्राष्ट्रिय सन्दर्भ पनि छ । यसरी हेर्दा दुई नेताहरू त्रिपक्षीय दबाबमा हुनुहुन्छन् । तर, हामी ठीकठाक छौँ है न्यारेटिभ बनाउन उहाँहरू त्यसरी प्रस्तुत हुनुहुन्छ,” विश्लेषक आचार्यले भने ।

उनी दुई ठूला दलको सत्ता समीकरण पार्टीको तहमा नभइकन व्यक्तिको तहमा भएको समझदारी भएको बताउँछन् । “त्यसैले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने छ । त्यहाँ कांग्रेस संसदीय दलका नेतालाई बनाउने भन्ने छैन,” उनले भने, “त्यसैले समस्या छन्, त्यसमा उहाँहरू ठीक छ भन्ने न्यारेटिभ बनाउन चाहनुहुन्छ ।”

जे होस्, कांग्रेस र एमालेभित्र सत्ता समीकरणप्रति असहज महसुस हुन थालेको बुझिन्छ । देउवा र ओलीको जोडले कस्तो न्यारेटिभ बन्ला र त्यसले कति काम गर्ला, त्यो देखिएला नै ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register