बंगलादेश जसको लागि परिचित छ, त्यही कपडा उद्योग समस्यामा

काठमाडौं । बंगलादेश विश्वको ‘फास्ट फेसन’ व्यवसायको मुटु हो । बंगलादेशी कारखानाबाट निकासी गरिएका हेनेस एण्ड मोरिट्ज, ग्याप र जाराजस्ता आधुनिक फेसन ब्रान्डका कपडा विश्वका धेरै देशमा पाइन्छ । पछिल्लो तीन दशकमा यो व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिबबाट निम्न मध्यम आय भएको देशमा परिणत गरेको छ । तर, हाल बंगलादेशको ५५ बिलियन डलर वार्षिक रहेको कपडा उद्योगले […]

Sep 6, 2024 - 09:31
 0
बंगलादेश जसको लागि परिचित छ, त्यही कपडा उद्योग समस्यामा

काठमाडौं । बंगलादेश विश्वको ‘फास्ट फेसन’ व्यवसायको मुटु हो । बंगलादेशी कारखानाबाट निकासी गरिएका हेनेस एण्ड मोरिट्ज, ग्याप र जाराजस्ता आधुनिक फेसन ब्रान्डका कपडा विश्वका धेरै देशमा पाइन्छ ।

पछिल्लो तीन दशकमा यो व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिबबाट निम्न मध्यम आय भएको देशमा परिणत गरेको छ । तर, हाल बंगलादेशको ५५ बिलियन डलर वार्षिक रहेको कपडा उद्योगले अनिश्चित भविष्यको सामना गरिरहेको छ ।

देशमा हप्तौंको विरोध प्रदर्शन पछि शेख हसिनाले अगस्टमा सत्ता र बंगलादेश दुवै छोड्नुपरेको थियो । ती प्रदर्शनहरूमा सयौंको मृत्यु पनि भएको थियो ।

यी आन्दोलनका क्रममा कम्तीमा चारवटा कपडा कारखानामा आगजनी गरिएको थियो । डिज्नी र युएस सुपरमार्केट चेन वालमार्टजस्ता ठूला तीन ब्रान्डहरू अर्को सिजनको लुगाका लागि अन्यत्र खोजिरहेका छन् ।

देशका कपडा व्यवसायीका समस्या अझै कायमै छन् । मजदुरको आन्दोलनका कारण बिहीबारदेखि ढाकाका ६० मिलमा काम ठप्प हुने सम्भावना छ । मिलका कामदारले राम्रो तलबबाहेक अन्य धेरै सुविधा माग गरिरहेका छन् ।

बंगलादेश कपडा उत्पादक र निर्यातकर्ता संघका निर्देशक मोहिउद्दीन रूबेल भन्छन्, “देशमा हालैको घटनाले ब्रान्डहरूको विश्वासलाई असर गर्नेछ ।”

भियतनामजस्ता प्रतिद्वन्द्वी देशलाई औंल्याउँदै रूबेल भन्छन्, ”आफ्ना सबै स्रोतसाधन एउटै ठाउँमा केन्द्रित गर्ने कि नगर्ने भनेर पनि सोच्नुपर्छ ?”

कामदारलाई कम ज्याला

बंगलादेशको पछिल्लो राजनीतिक उथलपुथलका कारण यो वर्ष निर्यात १० देखि २० प्रतिशतले घट्न सक्छ । यो सानो गिरावट होइन, बंगलादेशको निर्यात आम्दानीको ८० प्रतिशत छिटो फेसन निर्यातबाट आउँछ ।

बंगलादेशमा हालै भएका घटनाको केही महिनाअघि पनि देशको अर्थतन्त्र र कपडा उद्योगको अवस्था राम्रो थिएन ।

यसमा बालश्रमका कथित घटना, घातक दुर्घटना र कोभिड–१९ का कारण उत्पन्न आर्थिक चुनौतीले महत्वपूर्ण भूमिका खेलेको छ ।

बैंकिङ प्रणालीमा संकट

मूल्यवृद्धिले मुलुकमा कपडा उत्पादन महँगो भएको छ । तर, माग नहुँदा मूल्य बढाएर सामान बेच्न नसकिएको हो । निर्यातमा निर्भर बंगलादेशको लागि यो विशेष गरी खराब समय थियो ।

यस व्यवसायमा निकासीबाट हुने नाफा घटेसँगै देशको विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । यसबाहेक यो व्यवसायमा अन्य समस्या पनि थिए । बंगलादेशमा कस्मेटिक पूर्वाधार परियोजनाहरूमा अत्यधिक खर्चले सरकारको कोष घट्यो ।

पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिग पार्टीसँग आबद्ध ठूला व्यापारी ऋण तिर्न असफल भएपछि देशमा व्याप्त नातावादले पनि बैंकहरूलाई नोक्सान पुर्‍यायो ।

देशको केन्द्रीय बैंकका नयाँ गभर्नर डा. अहसान मन्सुरले भर्खरै बीबीसीसँगको अन्तर्वार्तामा भने, “यो कुनै प्रकारको लापरवाही होइन तर, वित्तीय प्रणालीको योजनाबद्ध लुटपाट थियो ।”

डा. मन्सुरका अनुसार यसलाई सुधार गर्नु उनको पहिलो प्राथमिकता हो । तर, यसका लागि केही वर्ष लाग्ने उनी बताउँछन्, ”देशलाई थप आर्थिक सहयोग चाहिन्छ । यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको अर्को आर्थिक सहायता पनि समावेश छ ।”

डा. मन्सुर थप भन्छन्, “हामी कठिन परिस्थितिमा छौं र हामी हाम्रो विदेशी दायित्वहरू पालना गर्न चाहन्छौं । तर, अहिले हामीलाई केही थप मद्दत चाहिन्छ ।”

प्रदर्शनमा कारखानाका मजदुरहरूको पनि सहभागिता 

महबुरबुर रहमानको परिवारले दुई दशकअघि देशमा कपडा उत्पादन गर्ने ‘सोनिया ग्रूप’ स्थापना गरेको थियो । देशको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट आत्मविश्वास घटाउन पर्याप्त रहेको उनको भनाइ छ ।

रहमानका अनुसार पर्याप्त डलर छैन भने भारत र चीनबाट आयात हुने धागो कसरी तिर्ने भन्ने चिन्ताको विषय हो र यात्रा बीमा नहुँदा धेरै मानिस बंगलादेश जान सकेका छैनन् । नयाँ अर्डर आउन सक्छ । तर, बंगलादेशले अर्को समस्याको सामना गरिरहेको छ ।

हसिनालाई सत्ताबाट हटाउनको लागि देशमा भएको प्रदर्शनको नेतृत्व राम्रो तलबको जागिर र अवसरको अभावमा निराश विद्यार्थीले गरेका थिए । देशका कपडा कारखानाले लाखौं रोजगारी सृजना गरे पनि राम्रो तलब दिन सकेका छैनन् ।

बीबीसीसँग कुरा गर्ने केही कारखानाका कामदारले भने, ”उनीहरू देशमा लागू हुने न्यूनतम ज्यालाको आधामा बाँच्न बाध्य छन् । छोराछोरी खुवाउन ऋण पनि लिनुपर्छ ।”

तिनीहरूमध्ये धेरै भर्खरैका महिनाहरूमा राम्रो ज्याला र कामको अवस्थाको माग गर्दै विद्यार्थी नेतृत्वको आन्दोलनमा सामेल भएका थिए ।

उनीहरूको युनियन नेतृ मारिया भन्छिन्, “हामी दोब्बर ज्याला वृद्धिभन्दा कममा कुनै पनि कुरामा सम्झौता गर्दैनौं । ज्याला निर्धारण गर्दा जीवनयापनको बढ्दो लागतलाई विचार गर्नुपर्छ ।”

कपडा उद्योगमा निर्भरता

बंगलादेशमा आन्दोलनरत विद्यार्थीले रोजगारीमा थप परिवर्तनको माग गरिरहेका छन् । अबु ताहिर, मोहम्मद जमान, मोहम्मद जैदुल र सरदार अरमान सबै बंगलादेशको प्रदर्शनमा संलग्न थिए ।

यी व्यक्ति विगत दुई–पाँच वर्षदेखि बेरोजगार छन् । मोहम्मद जमान भन्छन्, “मेरो आमाबुवाले जागिरका लागि कत्तिको प्रतिस्पर्धा छ भन्ने कुरा बुझ्दैनन् । म बेरोजगार हुनु परिवारमा ठूलो दबाब हो । यसले मलाई सानो महसुस गराउँछ ।”

मोहम्मद जैदुल भन्छन्, “हामीले डिग्री मात्र पाउँछौं, हामीले सही सीपहरू पाउँदैनौं ।” देशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर युनुसलाई उद्धृत गर्दै उनी भन्छन्, ”नयाँ सल्लाहकार आफैँ उद्यमी हुनुहुन्छ, त्यसैले उनले यसबारे केही गर्नुहुनेछ भन्ने हामी सबैको अपेक्षा छ ।”

प्रोफेसर युनुसले ‘माइक्रो लोन’ मा काम गरेबापत नोबल पुरस्कार पाएका थिए ।

‘सेन्टर फर पोलिसी डायलग’ थिंक ट्याङ्ककी डा. फहमिदा खातुन शिक्षित युवाको आकांक्षा पूरा गर्न देशको अर्थतन्त्रलाई विविधीकरण गर्न आवश्यक हुने बताउँछिन् । यसले अर्थतन्त्रका लागि नराम्रो कुरा नहुने उनको तर्क छ ।

उनी भन्छिन्, “एउटा क्षेत्रमा मात्रै भर परेर कुनै पनि देश लामो समयसम्म टिक्न सक्दैन । यसले केही हदसम्म अगाडि बढ्छ, धेरै होइन । अर्थतन्त्रमा विविधता ल्याउने प्रयास भए पनि अहिलेसम्म किताबमा मात्रै छ ।”

राजधानी ढाकामा एउटा टेक पार्क खाली छ । यसको कुनै उपयोग पाउन सकिँदैन । सन् २०१५ मा उद्घाटन भएको थियो । टेक पार्क निर्माण गर्नुको उद्देश्य उच्च तलब दिने रोजगारी सिर्जना गर्नु र कपडा उत्पादनमा बंगलादेशको निर्भरता कम गर्नु थियो ।

अहिले यो पार्क विगतको सरकारको आर्थिक असफलताको स्मरण गराउदै अलपत्र परेको छ ।

पूर्वाधार विकास

देशका सफ्टवेयर उद्यमी रसल टी अहमद भन्छन्, “उद्योगको आवश्यकता र त्यसको बदलामा सरकारले उपलब्ध गराएको स्रोतबीचको अन्तरको यो एउटा उत्तम उदाहरण हो ।”

“हामीलाई यी पार्कहरू चाहिन्छ कि पर्दैन भनेर कसैले सोधेन । बंगलादेशले पूर्वाधारमा लगानी गरिरहेको छ । तर हामीले मानव संसाधनमा कति लगानी गरेका छौं? यो उद्योगलाई चाहिने कच्चा पदार्थ हो ।”

वैदेशिक तथा निजी लगानीलाई प्रोत्साहन गर्न नयाँ सरकारले भ्रष्टाचार र रातो टेप जस्ता अवरोध हटाउनु पर्ने डा. खातुन बताउँछिन् ।

बंगलादेशमा प्रोफेसर युनुसले देशको अर्थतन्त्रलाई सुधार गर्ने र यसका संस्थाहरूलाई पुनर्निर्माण गर्ने वाचा गरेका छन्, जसलाई डा. खातुनले विगत केही वर्षहरूमा “व्यवस्थित रूपमा ध्वस्त” भएको बताएका छन् ।

प्रोफेसर युनुसको अगाडि देशको अर्थतन्त्रलाई स्थायित्व दिन र स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु हो । यस सन्दर्भमा सरकारी नीतिलाई निहित स्वार्थले नियन्त्रण गर्न नदिनु पनि ठूलो चुनौती हो ।

यो सबै गर्न आवश्यक छ किनकि बंगलादेशले अन्य धेरै समस्याहरूको सामना गरिरहेको छ । जसमा बंगलादेशमा बनाइएका सामानको घट्दो विश्वव्यापी माग, आफ्नो ठूलो छिमेकी र शेख हसिनालाई आश्रय दिने व्यापारिक साझेदार भारतसँगको बिग्रिएको सम्बन्ध समावेश छ ।

यसका साथै जलवायु परिवर्तनका कारण बाढीको जोखिममा रहेको यो मुलुकमा शक्तिशाली चक्रवातको आगमन पनि समावेश छ । यी चुनौतीहरू जनताको अपेक्षा जत्तिकै ठूलो छन्, जुन उनीहरूले प्रोफेसर युनुसको काँधमा राखेका छन् ।

बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register