च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

चितवन । कालिका नगरपालिका- २ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन […]

Sep 7, 2024 - 08:35
 0
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

चितवन । कालिका नगरपालिका- २ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए । नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए ।

नगर प्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए । उनका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो । यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो ।

फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिए । ‘निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमान गरेका छौं । एक वर्षमा ६ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ’, उनले भने ।

प्रतिकिलो चार सय रुपैयाँमा डल्ले च्याउ बिक्री हुन्छ । यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौं र मकवानपुरमा बिक्री हुने गर्दछ ।

गर्मी मौसम भएकाले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो । सुवेदीको भनाइअनुसार तापक्रम मिलाउन ‘एयर हेन्डलिङ युनिट’ जडान गरिएको छ । ‘एउटा टनेल निर्माण गर्न १९ लाख रुपैयाँको हाराहारी खर्च भएको छ भने प्रतिकिलो ३२ को कम्पोस्ट मल प्रयोग गरिँदै आइएको छ’, उनले भने ।

फार्मले २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो । सुरुमा पाते च्याउ उत्पादन गरिएकोमा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताए । यसअघि एक सय पाँच टनेलमार्फत पाते च्याउ उत्पादन हुँदै आएको थियो । यो च्याउ चितवन, काठमाडौं हुँदै मुस्ताङसम्म पुग्छ ।

मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकोमा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिए । नेपालमा यसबाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै आएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register