एमाले-माओवादी सत्तोसराप : परिणाम के ?

आजको युवा पुस्ता र मतदाता यस्ता आरोप-प्रत्यारोप र सत्तोसरापबाट वाक्क, दिक्क, प्याक्क छन् । मान्छेका समस्या एकातिर छन् । नेताहरूका आरोप-प्रत्यारोप अर्कैतिर । देश र जनताका समस्याबारे कुनै चिन्ता र विमर्श छैन ।

Sep 8, 2024 - 06:39
 0
एमाले-माओवादी सत्तोसराप : परिणाम के ?

काठमाडौं । दुई ठूला कम्युनिष्ट समूह एमाले र माओवादी केन्द्र एक अर्काविरुद्ध ‘फायर’ खोलेका छन् । लाग्छ, यो शत्रुता र सङ्घर्ष लामै जानेछ । अझ गहिरो, बाक्लो र पेचिलो हुँदै जानेछ ।

‘सङ्घर्ष र सहकार्य’ को लामो श्रृंखलाबाट गुज्रिएका यी दुई समूहबीच यो नयाँ चरणको सङ्घर्ष र सत्तोसरापको परिणाम के ? कुन उद्देश्य र प्रयोजनका लागि ? उत्तर स्पष्ट छैन । दुवै समूहलाई लाभभन्दा बढी हानि हुने सम्भावना धेरै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पोलिटब्यूरो बैठकमा ‘आफूले प्रचण्डलाई राउन्ड किक हानेर रन्थन्याइदिएको’ दाबी गरे । ओलीको बोलीमा कटुता, अहङ्कार र प्रतिशोधको भावना बलियो थियो । साथै प्रचण्डलाई प्रधानमन्त्री पदबाट चिप्ल्याउन सकेको गौरवबोध र पराक्रमभाव व्यक्त हुन्थ्यो ।

माओवादी अध्यक्ष प्रचण्डले प्रतिउत्तरमा ‘अब यिनले जनताको राउन्ड किक कस्तो हुन्छ, चाख्नेछन्’ भनिदिए । प्रचण्डको यस्तो प्रतिउत्तर ओली र एमालेहरूको मुटुमा पक्कै काँडाझैँ बिझ्यो होला ।

ओलीको गुनासो छ, “प्रचण्ड उदण्ड हुँदै गए ।” प्रचण्डको भनाइ छ, “ओलीले धोका दिए ।”

ओली सरकारको ४० दिन पुगेको संसद्को भाषणमा प्रचण्डको ‘बंगालादेश र श्रीलंकाजस्तो बन्ने’ क्रोध खासै सान्दर्भिक थिएन । सम्भवत: यसले पनि एमाले र ओलीलाई थप उत्तेजित बनायो ।

प्रथमतः बंगलादेश र नेपालको स्थिति समान हैन । यहाँ दशकौंदेखि कसैको सत्ता र सरकार छैन, जस्तो कि बंगलादेशका शेख हसिनाको थियो ।

जनविद्रोह नै भए पनि कसका विरुद्ध हुने ? शासकीय वृत्तबाट प्रचण्ड आफैँ बाहिर छैनन् । नागरिकका आँखामा सत्ता ‘तीन नेताबीचको म्युजिकल चेयर’ हो । चलिरहेकै छ । अस्तिका दिनसम्म प्रचण्ड शासक थिए, अहिले ओली छन्, भोलि देउवा हुनेछन् । यिनले एक अर्काविरुद्ध जनविद्रोहको नेतृत्व गर्लान् भनेर कसले पत्याउँछ ?

ओलीले ‘मैले १७ हजार मारेको छु र खुट्टा कमाउने’ भन्नु त झनै गैरजिम्मेवार थियो । विस्मृत हुँदै गएको द्वन्द्वलाई राजनीतिक स्वार्थको रोटी सेक्न सस्तो उपयोग गरिनु किमार्थ वाञ्छित थिएन ।

ओलीले त्यसो के भनेका थिए, मान्छेले झापा विद्रोह र ‘धर्मराज ढकाल’ हरू सम्झिन पुगे । ओलीले बसेको १४ वर्षे जेलको औचित्यमाथि प्रश्न उठ्यो । राम्रो गणना गर्ने हो भने नोक्सानी ओली र एमालेलाई झन् धेरै भयो ।

प्रचण्डलाई ‘१७ हजारे’ भन्ने नैतिक आधार ती मान्छेसँग हुन सक्दछ, जसको राजनीतिक जीवनमा यस्ता सशस्त्र सङ्घर्षको कुनै साइनो सम्बन्ध छैन । जो त्यस्ता सङ्घर्षमा कहिल्यै लागेनन् पनि, समर्थन गरेनन् पनि ।

ओली आफैँ नक्सलवादी विचार र झापा विद्रोहबाट उदाएका नेता हुन् । उनी यो यथार्थलाई बिर्सन खोज्लान् तर, इतिहास र नागरिकले कहिल्यै बिर्सन दिने छैनन् । जुन इतिहास बिर्सन चाहन्छन्, त्यही खोतलिने गरी ओलीले कुरा किन कोट्याउनु परेको होला ?

एमाले सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा नै हो’ यतिखेरै संसद्‌मा किन भन्नुपरेको थियो ? मुखको तीतो पोख्न कि ओलीको चाकरी गर्न ? वाम गठबन्धन र कम्युनिष्ट एकताकालमा जनयुद्ध दिवस मनाउँदै हिँड्ने यिनै भट्टराई हुन् भन्ने दुनियाँलाई राम्रो स्मरण छ । फेरि केको धाक हो यो ? बोली फेर्नुको पनि एउटा सीमा हुन्छ ।

कुण्ठा, तुष्टीकरण र प्रतिशोधका लागि गरिने सस्तो बयानबाजीले आफ्नै प्रतिष्ठा के हुन्छ ? राजनीतिक कद घट्छ कि बढ्छ ? त्यो दुवै पक्षले सोच्नुपर्ने हो ।

हुन त यी दुई कम्युनिष्ट समूहबीचको शत्रुता, सङ्घर्ष र सत्तोसराप कुनै नयाँ विषय हैन । यो वि.सं. २०३० को दशकमा ‘चौम’ र ‘माले’ धारका रूपमा सुरु भएको थियो । ५० वर्षपछि पनि जस्ताको त्यस्तै छ ।

यिनीहरूबीचमा वैचारिक, तात्त्विक तथा एजेन्डागत भिन्नता समाप्त हुँदै गएका छन् तर, सत्ताप्राप्ति र वामपन्थी जनमत हिस्सा खोस्ने लडाइँ भने कायमै छ । यही स्वार्थले यिनलाई एक अर्काका ‘ज्यानी दुश्मन’ जस्तो बनाइदिन्छ ।

वैचारिक, शैद्धान्तिक तथा सवालगत भिन्नता हुँदा राजनीतिक सङ्घर्ष हुनु स्वाभाविकै हो । ३० को दशकमा ‘माले’भन्दा ‘चौम धार’ ठूलो र बलियो थियो ।

त्यतिखेर मालेले भर्खरै झापा विद्रोह गरेको थियो । माले क्रान्तिकारी र चौम संशोधनवादी देखिन्थ्यो । चौमवालाले माले धारालाई ‘उग्रवामपन्थी’ भन्थे । ४० को दशकमा दृश्य ठीक उल्टो भयो । माले निरन्तर नरम दल, कम क्रान्तिकारी र कथित ‘संशोधनवादी गद्दार’ हुँदै गयो । २०४६ सालको पहिलो जनान्दोलनमा सहभागी हुँदै मार्क्सवादीसँग एकता गरेर ‘एमाले’ भयो । मदन भण्डारीको नेतृत्वमा एमाले ‘बहुदलीय जनवादी’ भयो ।

चौम धारले भने मालेको भन्दा उल्टो बाटो पक्रियो । त्यो एकता नै फुटतिर लाग्यो । नेकपा (मसाल) को फुटबाट माओवादी जन्मियो र जनयुद्धतिर गयो । सम्भवत: ती वैचारिक तथा कार्यदिशागत भिन्नता नै थिए । ‘बहुदलीय जनवाद’ र ‘जनयुद्ध’ सँगसँगै हिँड्न सक्दैनथे ।

तर, आज एमाले र माओवादी त्यो स्तरको वैचारिक तथा कार्यदिशाको भिन्नता भएका दल हैनन् । यी दुवै अहिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ मा छन् । न यहाँ अहिले एक्काइसौं शताब्दीको जनवाद र प्रचण्डपथ क्रियाशील छ, न नयाँ जनवादी गणतन्त्र र सर्वहारा अधिनायकवादी राज्य ।

यी एकता गरेर ‘एउटै पार्टी’ भइसेकेका समूह हुन् । २०७४ को आम निर्वाचन यिनले सँगै लडेका थिए, सँगै सरकार बनाएका थिए, नेकपा (नेकपा) नामको एउटै पार्टी बनाएका थिए । अस्ति भर्खरैसम्म यी दुवै दल एउटै सरकारमा थिए । सँगै सरकार चलाइरहेका थिए । नेपाल ‘अर्को पश्चिम बंगाल’ हुन सक्ने डरले ‘फेरि एकता’ गर्ने सुरसारमा थिए । सत्तास्वार्थका अगाडि यी सबै कुरा निरर्थक भए ।

एमालेलाई लाग्यो कि प्रचण्ड फेरि काँध फेर्दैछन् । उनी एमालेलाई छोडेर फेरि कांग्रेससँग मिल्न खोज्दैछन् । कांग्रेस अघिल्लो पटकको धोकाले रन्थनिएको थियो । प्रचण्डलाई विश्वास गरेन ।

ओलीले ‘स्वर्ग वा नर्क जहाँ जान परे पनि सँगै जाने’ भन्दै प्रचण्डलाई झुक्याइरहे । अर्कोतिर सुटुक्क मध्यरातमा देउवासँग अर्को गठबन्धन बनाए ।

ओलीका लागि यो प्रचण्डलाई रन्थनिने गरी हानेको ‘राउन्ड किक’ हो । प्रचण्डका लागि ‘वाम सेन्टिमेन्ट’ का नामका गरिएको धोकाबाजी हो ।

कुरा यति हो, आम नागरिकले देख्ने यसभन्दा बाहेक केही छैन । न राउन्ड किक न धोकाबाजी । न विचार, न सिद्धान्त । न बंगलादेश र श्रीलंका ।

पहिलोपटक प्रधानमन्त्री भएर सिंहदरबारमा नाम लेखाउन यस्तो रहर ठीकै ठानिन्थ्यो होला । तर, त्यस्ता बीच यो सङ्घर्ष भइरहेको छ । जो तीन, चार र पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।

नागरिकको नजरबाट हेर्दा स्थिति ‘तातो न छारो’ भने जस्तो छ । तर, आरोप-प्रत्यारोप, शत्रुता, प्रतिशोध र सत्तोसराप भने बढो भीषण छ । के यस्तो कृत्रिम, अवैचारिक र सतही आरोप-प्रत्यारोपले कुनै परिणाम दिन्छ ? यदि दिन्छ भने के हो त्यो ?

कम्युनिष्ट समूहहरूबीचको भनाभनले यो वा त्यो खेमामा थप जनमत आकर्षित र ध्रुवीकृत हुने अवस्था अब रहेन । बरु दुवै समूहप्रति थप विकर्षण र वितृष्णा बढ्ने सम्भावना हुनेछ ।

आजको युवा पुस्ता र मतदाता यस्ता आरोप-प्रत्यारोप र सत्तोसरापबाट वाक्क, दिक्क, प्याक्क छन् । मान्छेका समस्या एकातिर छन् । नेताहरूका आरोप-प्रत्यारोप अर्कैतिर । देश र जनताका समस्याबारे कुनै चिन्ता र विमर्श छैन ।

एक अर्कालाई गाली गरेर आफ्ना कमजोरी ढाकछोप गर्न सकिने युग अब रहेन, त्यो समाप्त भइसकेको छ । हरेक नेता वा समूहले आफ्नो श्रेष्ठता आफ्नै चरित्र र व्यवहारबाट सिद्ध गर्नु पर्दछ । अरुलाई गाली गरेर त्यो पुष्टि हुँदैन ।

एमाले अध्यक्ष ओली सत्तामा आएर अहिलेसम्म गरेको त्यही एउटा मात्र काम हो, माओवादी र प्रचण्डलाई सत्ताबाहिर बनाएका छन् । अन्यथा सरकारले न कुनै काम गरेको छ, न कुनै भिन्न चरित्र देखाएको छ ।

जसरी प्रचण्डले १५ महिनामा प्रधानमन्त्री छोड्नपर्‍यो, त्यसरी नै ओलीले पनि २४ महिनामा छोड्नपर्ने छ । बाँकी करिब २० महिना कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री होलान् । यो ‘म्यूजिकल चेयर’ मा सबैले आआफ्नो भाग पाएकै छन् । फेरि रडाको केको ?

प्रचण्ड र माओवादी यस अर्थमा खुसी भए हुन्छ कि दुई ठूला दलको अवैचारिक, संसदीय प्रणालीसँग असङ्गत, अन्तर्राष्ट्रिय प्रचलन र जनादेशविपरीतको गठबन्धन कसैलाई मन परेको छैन । यस्तो गठबन्धन बनाएर उनीहरू सफल वा खुसीभन्दा बढी बदनाम भएका छन् । लोकतान्त्रिक जनमतले दुई ठूला दलको गठबन्धन सरकारलाई स्वाभाविक र सकारात्मक मानेको छैन ।

सरकारबाट बाहिनु परे पनि माओवादीले प्रमुख विपक्षी दलको भूमिका पाएकै छ । त्यसोभए यो रडाको र तिक्तताको औचित्य के ? देशका ठूला र जिम्मेवार भनिएका दल अनावश्यक, आत्मघाती र परिणामहीन आरोप-प्रत्यारोपमा सामेल हुनु शोभनीय देखिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register