खादासमेत खोस्ने प्रहरीले दशौं लाख खर्च गरेर बनाउँछ ‘आत्मस्तुति’को गीत !(भिडिओसहित)

विमानस्थलमा एक यात्रुको खादा खोसिएको घटनाले सामाजिक सञ्जालमा उग्र चर्चा पाउँदा नेपाल प्रहरीले भने आफ्नो ‘आत्मस्तुति’ दर्शाउने गीत सार्वजनिक गरेको छ ।

Sep 8, 2024 - 12:07
 0
खादासमेत खोस्ने प्रहरीले दशौं लाख खर्च गरेर बनाउँछ ‘आत्मस्तुति’को गीत !(भिडिओसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको खादा खोसिएको घटनाले सामाजिक सञ्जालमा उग्र चर्चा पाउँदा नेपाल प्रहरीले भने आफ्नो ‘आत्मस्तुति’ दर्शाउने गीत सार्वजनिक गरेको छ ।

विमानस्थल सुरक्षार्थ खटिएका बर्दीधारी प्रहरीले दुर्व्यवहारपूर्ण तरिकाले एक यात्रुले लगाइरहेको खादा खोस्न खोजेको भिडिओको आलोचना भइरहँदा प्रहरीले आफूले नागरिकप्रति गरेको सेवाभाव समेटिएको गीतको भिडिओ सार्वजनिक गरेको हो ।

प्रहरीले आफ्नो प्रशंसामा बनाएको महङ्गो गीत र म्युजिक भिडिओमा चर्चित कलाकारहरूले स्वर दिएका छन् र अभिनय गरेका छन् ।

‘हर गाउँ हर नगरी, फूलको बास्ना सरी, नागरिकलाई मानी सर्वोपरि हर पल हर घडी जन-जनको लागि खट्छ नेपाल प्रहरी’ बोलको गीतमा कलाकार रमेश उप्रेती, प्रकाश सपूत, प्रियङ्का कार्की, र बेनिशा हमालको अभिनय देखिन्छ ।

प्रहरीले एकातिर विमानस्थलमा यात्रुको खादा खोस्ने भिडिओले आलोचना खेपिरहेको बेला अर्कोतिर सार्वजनिक गरिएको गीतमा प्रहरीलाई जनताको सेवामा खटिएको भनेर देखाइएको छ ।

बहुप्रतिभाशाली प्रहरी अधिकृत डीआइजीपी दानबहादुर कार्कीले लेखेको गीतलाई सङ्गीतकार दीपक शर्माले सङ्गीत दिएका हुन् ।

गायक राजेशपायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेलले स्वर दिएका छन् । गम्भीर विष्टले निर्देशन गरेका भिडिओको स्टोरी र कन्सेप्ट सरोज ओलीको हो ।

तर, यस गीतलाई लिएर सर्वसाधारणले प्रहरीको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा आएको प्रतिक्रियामा भनिएको छ, “प्रहरीले लाखौं रुपैयाँ खर्च गरेर दर्जनौं चर्चित कलाकारलाई आफ्नो गीत गाउन र अभिनय गर्न लगाउँदा पनि सङ्गठनभित्रको आचरणगत समस्या सुधार्न गम्भीर नहुनु दुर्भाग्यपूर्ण छ ।”

नेपाल प्रहरीको आधिकारी युट्यूब च्यानलमै अर्को कमेन्ट छ, “आफ्नो लोकप्रियता बढाउन गीतमा देखाइएका दृश्यहरूभन्दा पनि प्रहरीको वास्तविक आचरण र कामले जनतामा भरोसा जगाउन सक्नुपर्छ ।”

विमानस्थलमा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादा किन खोस्छ प्रहरी ?

नागरिक सुरक्षा कि स्वार्थ रक्षा ?

प्रहरीले निकै हदसम्म आफ्नो दायित्व निर्वाह गर्ने प्रयत्न गर्दै आएकोमा दुईमत छैन । यसले प्रहरीप्रति जन-जनमा आकर्षण पनि छ ।

यद्यपि प्रहरी कार्यालयमा सेवा लिन आएका नागरिकहरूले सामना गर्ने विभिन्न समस्याहरूले सङ्गठनप्रतिको विश्वासमा खलल पुगेको नजरअन्दाज गर्नु हुँदैन ।

सङ्गठनको नीति त होइन, यद्यपि बेला-बेलामा व्यक्तिगत रूपमा कतिपय प्रहरी अधिकारीहरू विवादमा आइरहँदा विश्वासमा सङ्कट आइरहेका देखिन्छन् ।

प्रहरीले गीतमार्फत आफ्नो प्रचारभन्दा सङ्गठनमा आवद्ध कर्मचारीका आचरण र छवि सुधार्दै आफ्नो सेवालाई झनै नागरिकमैत्री बनाउनेतर्फ गम्भीर गृहकार्य गर्न आवश्यक रहेको भन्दै गीतमा प्रतिक्रिया आइरहेको छ ।

प्रहरी मुख्यालय आफैँले तयार पारेको प्रतिवेदन र यसले निकालेको निष्कर्षका आधारमा ‘प्रहरीको आम छवि सुधार्ने, आचरण जनमुखी बनाउनेतर्फ गृह प्रशासन गम्भीर’ बन्नुपर्छ ।

प्रहरीको मुख्य काम आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने हुन्छ । पाइला-पाइलामा प्रहरीको काम आम नागरिकसँगै जोडिन्छ । यस्तो अवस्थामा आचरण र कामले जनतामा भरोसा जगाउने काम गरेमा दशौं लाख खर्च गरेर गीत बनाइरहनुपर्ला र ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register