प्रधानमन्त्री ओलीको बढ्दो बेचैनी : यस्ता छन् ७ कारण

कांग्रेस-एमालेबीचको समझदारी कायम रहुन्जेल सरकार कसैले ढाल्न, भत्काउन सक्दैन । यस्तो बेला प्रधानमन्त्री ओली झनै शक्तिशाली देखिनुपर्ने हो । फटाफट चाहेका काम गर्न सक्नुपर्ने हो तर, व्यवहारमा भने स्थिति उल्टो छ ।

Sep 4, 2024 - 09:45
 0
प्रधानमन्त्री ओलीको बढ्दो बेचैनी : यस्ता छन् ७ कारण

काठमाडौं । गौरापर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा आफूविरुद्ध नाराबाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली निराश भएर फर्किएका थिए । उनले नाराबाजी गर्नेलाई भाषणबाटै ‘अमर्यादित भएको’ आरोप मात्र लगाएनन्, ३ जना युवालाई पक्राउ नै गरियो ।

ती युवामाथि प्रधानमन्त्री ओली कठोर कारबाही गर्ने, कम्तीमा १ वर्ष थुनामा राख्ने मनस्थितिमा थिए । तर, वातावरण उनले सोचेजस्तो सहज भएन । विपक्षी दलले संसद् बैठकमै गिरफ्तारीको विरोध गर्दै रिहाइको माग गरे । सामाजिक सञ्जालमा व्यापक विरोध भयो । सडकमा सानातिना प्रदर्शन भए । कडा कारबाहीले स्थिति झनै भड्किने देखियो । प्रहरी प्रशासन हच्कियो ।

अन्ततः उनीहरूलाई ९-९ हजार धरौटीमा छोडियो । तर, मुद्दा भने अझै खारेज गरिएको छैन । प्रधानमन्त्री ओलीले अब यो सवाल सेलाओस् भनेर बेवास्ता गर्न चाहेका छन् । तर, घटनाको गहिरो प्रभाव पर्दैछ । युवा पङ्क्ति प्रधानमन्त्री ओलीप्रति थप आक्रोशित हुँदै गएको छ ।

टुँडिखेल घटनाको केही दिनपछि बसेको पार्टी सचिवालय बैठकमा ओलीले ‘मुलुकमा अराजकता फैलाउने शक्तिहरू सक्रिय भएको’ र ‘एमाले र सरकारमाथि चौतर्फी आक्रमण तथा घेराबन्दी हुन थालेको’ बताएका थिए ।

मङ्गलबार सुरु भएको पोलिटब्यूरो बैठकमा उनले त्यही गुनासो दोहोर्‍याएका छन् । उनले ‘१०० दिन नपुग्दै सरकारमाथि आक्रमण हुन थालेको’ टिप्पणी गरेका छन्, सरकार र पार्टीप्रति भइरहेका आक्रमणको प्रतिवाद गर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

‘चौतफी आक्रमण’को अर्थ आन्तरिक मात्र नभएर बाह्यसमेत भएको एमाले वृत्तमा चर्चा छ । एमालेका एक नेता भन्छन्, “प्रधानमन्त्री अघिल्ला कार्यकालमा जस्तो धेरै प्रखर र मुखर हुनुहुन्न । स्थिति त्यति धेरै सहज देखिँदैन । आन्तरिक तथा बाह्य दुवै चुनौती बढेका छन् । परिस्थिति कसरी अघि बढ्छ, यसै भन्न नसकिने अवस्था छ ।”

ओली पहिलो प्रधानमन्त्रित्वकालमा एक प्रखर ‘राष्ट्रवादी’ नेताका रूपमा चित्रित थिए । उनले अघोषित भारतीय नाकाबन्दी र संविधान निर्माण तथा घोषणा अवधिका जटिलता सामना गरेका थिए । त्यसले उनको लोकप्रियतालाई बढाएको थियो ।

ओलीको दोस्रो प्रधानमन्त्रित्वकाल झन्डै दुईतिहाइको वामपन्थी बहुमत र एसियाकै विशालकाय कम्युनिष्ट पार्टीको गौरव, दम्भ र अहङ्कार प्रेरित थियो । उनी सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीजस्तो देखिए पनि कम्युनिष्ट पार्टीभित्रको किचलो मिलाउँदै उनको कार्यकाल समाप्त भएको थियो ।

कोभिड १९ को गलत व्यवस्थापन, लामो लकडाउन र आर्थिक सङ्कटका कारण उनी जनस्तरबाट आलोचित भएका थिए । यी दुवै कार्यकालमा प्रधानमन्त्री ओलीको छवि निकै प्रखर, बाचाल र बलियो प्रधानमन्त्रीको जस्तो देखिएको थियो । दोस्रो कार्यकालको अन्त्यतिर भएको असंवैधानिक संसद् विघटनले उनलाई विवादित बनायो । त्यसपछि भने उनी कमजोर देखिन थाले ।

प्रधानमन्त्री पदमा ओलीको तेस्रो नियुक्ति ‘प्राविधिक’ मात्र थियो । पार्टी विभाजनपछि संसद्‌मा बहुमत गुमाइसकेका ओलीलाई तत्कालीन जनता समाजवादी पार्टीको एक समूह महन्थ ठाकुर र राजेन्द्र महतोको समर्थनको फर्जी टेको बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक नियुक्ति गरिदिएकी थिइन् । त्यस्तो नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि उनी सत्ता छोड्न बाध्य भएका थिए ।

ओली अहिले चौथोपटक प्रधानमन्त्री छन् । संसद्‌‌भित्रको अङ्क गणित उनको पक्षमा छ । दुई ठूला दलले आपसमा मिलेर सरकार बनाएका छन् । कांग्रेस-एमालेबीचको समझदारी कायम रहुन्जेल सरकार कसैले ढाल्न, भत्काउन सक्दैन । यस्तो बेला प्रधानमन्त्री ओली झनै शक्तिशाली देखिनुपर्ने हो । फटाफट चाहेका काम गर्न सक्नुपर्ने हो तर, व्यवहारमा भने स्थिति उल्टो छ ।

उनी अघिल्ला कार्यकालमा जस्तो ‘प्रखर र मुखर’ त छैनन् नै, ‘नुर गिरेको’ बेचैनीले सताइएको मनोदशामा देखिन्छन् । प्रधानमन्त्री ओलीमा बढ्दो बेचैनीका मुख्य ७ वटा कारण देखिन्छन् ।

१. असङ्गत गठबन्धनको उल्टो प्रभाव

कांग्रेस-एमाले मिलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिरता र अवसरवादलाई ठेगान लगाउँदा जनता खुसी हुने बुझाइ सम्भवत: ओली-देउवाको थियो । तर, उल्टो भयो । बरु सत्तामा हुँदा प्रचण्ड बदनाम हुँदै गइरहेका थिए । जो सत्ताको शीर्ष स्थानमा हुन्छ, उही जनआक्रोशको तारो बन्नु स्वाभाविक हुन्छ ।

सत्ताबाट बाहिरिएपछि प्रचण्डप्रतिका आक्रोश र जनगुनासा शिथिल हुँदै गए । राज्यका असङ्गति र सरकारको असक्षमताबाट सृजित जनआक्रोश ओली-देउवाप्रति लक्षित हुन थाल्यो । टुँडिखेलको घटना त्यसैको सङ्केत थियो ।

दुई ठूला दल मिलेर सरकार बनाउनुलाई जनताले प्रणालीसङ्गत र गत आम निर्वाचनको जनादेश मुताबिक ठानेनन् । यो अन्तर्राष्ट्रिय प्रचलन र मान्यताविपरीत कांग्रेस-एमालेको सत्तास्वार्थको खेल मात्र हो भन्ने बुझाइ व्यापक देखियो । सरकार पाएर पनि कांग्रेस-एमाले झनै बदनाम, नैतिक सङ्कटग्रस्त र कमजोर जस्तो भए । उनीहरूको कृत्रिम, अराजनीतिक, अवैचारिक गठबन्धनलाई लोकतन्त्रवादी जनमतले स्वाभाविक मान्न सकेको छैन ।

साथै संविधान संशोधनको अस्पष्ट एजेन्डा अघि सारेर कांग्रेस-एमालेले अन्योल र आशङ्कालाई बढाए । अहिले दुई ठूला दलले सकारात्मक हैन, प्रतिगामी संशोधन गर्न सक्ने जोखिमबारे बहस भइरहेको छ । कथित दुईदलीय प्रणालीको ‘कार्ड’ फालेर कांग्रेस-एमालेले आलोचकहरूको घेरालाई आफैँ बढाएका छन् ।

२. कांग्रेसले गर्न थाल्यो असहज अनुभूति

प्रधानमन्त्री ओलीले देउवासँगको सहमति कार्यान्वयन हुनेमा कुनै शङ्का नगर्न बारम्बार अभिव्यक्ति दिए पनि आन्तरिक स्थिति त्यस्तो छैन । कांग्रेसले एमालेसँगको सहकार्यलाई चुनौतीपूर्ण ठानेको छ । आगामी निर्वाचनमा जुन दलसँग मुख्य प्रतिस्पर्धा हुने हो, उसैसँग सत्ता सहकार्य जोखिमपूर्ण हुने बुझाइ कांग्रेसभित्र बलियो हुँदै गएको छ ।

कांग्रेसका मन्त्रीहरू प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । सबैभन्दा रोचक कुरा; कांग्रेससँग सत्ता समीकरण बदल्ने विकल्प बाँकी छ । कांग्रेसले एमालेइतर सरकार गठनको प्रयत्न गर्न सक्दछ । माओवादीलगायत विपक्षी दल कांग्रेसलाई समर्थन दिन इच्छुक छन् । एमालेसँग सबै चिढिएका छन् । अहिलेको गठबन्धन टुट्ने हो भने अर्को गठबन्धनको प्रयत्न गर्न एमालेसँग भरपर्दा साझेदार छैनन् ।

परिस्थिति थोरै मात्र परिवर्तन भयो भने ओलीले २ वर्ष अगावै सत्ता छोड्नुपर्ने स्थिति उत्पन्न हुन सक्दछ । ओली सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाको ‘मूड’मा निर्भर छ । देउवा गठबन्धन परिवर्तन गर्न तयार हुने हो भने एमालेइतर पार्टीहरूको बहुमत पुग्ने निश्चित छ । तर, सरकार बनेको १०० दिन नपुग्दै गठबन्धन फेर्न उचित नहुने देउवाको बुझाइ छ ।

प्रधानमन्त्री ओलीसँग दृष्टिकोण र कार्यशैलीको समस्या कायमै रहे कांग्रेसले बीचमै गठबन्धन फेर्ने निर्णय लिन सक्ने सम्भावना प्रबल हुँदै गएको छ । यो प्रधानमन्त्री ओलीको बढ्दो बेचैनीको अर्को ठूलो कारण हो ।

३. पार्टीभित्रै बहिर्गमनको प्रतीक्षा

प्रधानमन्त्री ओली अब पार्टीभित्र हिजो जस्तो लोकप्रिय र शक्तिशाली छैनन् । एमालेमा अहिले नै कोही मुख खोल्न सक्ने अवस्थामा त छैनन् तर, ओलीको कार्यशैली र कार्यसम्पादन क्षमतामाथि प्रश्न उठ्न थालेको छ । भित्रभित्रै असन्तुष्टि बढ्दो छ । स्वयम् ओली गुटकै मानिस ‘यो पाराले अपेक्षित परिणाम आउँदैन’ भन्न थालेका छन् ।

एमालेभित्र असन्तुष्ट ठूलो पङ्क्तिले नेतृत्वबाट ओलीको सहज बर्हिगमनको प्रतीक्षा गरिरहेको बताइन्छ । पार्टी विधानअनुसार २०८३ मंसिरभित्र महाधिवेशन आयोजना गर्नुपर्ने छ । सँगसँगै ओलीको दोस्रो कार्यकाल पूरा हुनेछ ।

४. टाढिए कम्युनिष्ट समूह, एक्लियो एमाले

सबैजसो कम्युनिष्ट समूह एमालेसँग टाढिएका छन् । यो स्थिति आगामी निर्वाचनसम्म कायम रहे एमालेलाई हराउने एक ठूलो कारण यही बन्ने छ ।

एकातिर एमालेले मिसन २०८४ भनिरहेको छ । अर्कोतिर पार्टीको भोट निरन्तर घटिरेहको छ । २०७४ आम निर्वाचनमा एमालेले करिब ३३ प्रतिशत मत पाएको थियो । २०७९ मा करिब २७ प्रतिशतमा झर्‍यो । आम निर्वाचनपछिका ४ वटा प्रतिनिधिसभा उपनिर्वाचन चितवन, तनहुँ, बारा र इलाममध्ये एमालेले इलाममा मात्रै जित्यो भने सबै निर्वाचन क्षेत्रमा भोट घटेको देखियो ।

घट्दो परम्परागत भोट बैंक र युवा मतदातामा अनाकर्षणको कारण एमालेले एक्लै मिसन २०८४ पूरा गर्न र बहुमत हासिल गर्न सम्भव देखिन्न । कम्युनिष्ट एकता वा वाम गठबन्धन फेरि एमालेको व्यावहारिक बाध्यता बन्न पुग्नेछ ।

टाढिएका कम्युनिष्ट समूहले भिन्नाभिन्नै उम्मेदवार दिए वामपन्थी जनमत विभाजित हुनेछ । यसको फाइदा कांग्रेसलाई हुनेछ । कम्युनिष्ट समूहरूबीचको अनावश्यक झगडा, किचलो, गुटस्वार्थ र पूर्वाग्रही शक्ति सङ्घर्षले कम्युनिष्ट विचार र आन्दोलनप्रति नै मतदातामा वितृष्णा बढ्दै गएको छ । नेपाल ‘अर्को पश्चिम बंगाल’ हुनसक्ने चिन्ता कम्युनिष्ट वृत्तमा चर्चामा छ ।

५. सरकारले झनै बढायो निराशा

ओली नेतृत्वको चौथो सरकार बनेको छोटो समयमै जननिराशा झनै बढेको छ । ओली सरकार बनेयताको छोटो अवधिमा करिब ४२ अर्ब सार्वजनिक ऋण थपिएर करिब २५ खर्ब पुगेको छ । जिडिपीको करिब ४४ प्रतिशत र प्रतिव्यक्ति ८३ हजार भएको छ ।

सरकारको आय चालु र वित्तीय खर्चमै सीमित हुने र पुँजीगत खर्च न्यून हुन गई विकास निर्माण ठप्प हुने समस्या जस्ताको त्यस्तै छ । सहकारी पीडित, लघुवित्तीय संस्था पीडित, मिटरब्याज पीडितलगायतका समस्या ज्युँका त्युँ छन् । भुटानी शरणार्थी प्रकरणको नियोजित सीमित छानबिन, कारबाही र उन्मुक्ति, गिरिबन्धु टी-स्टेट भ्रष्टाचारलगायतले प्रधानमन्त्री ओलीको छवि धुमिल छ ।

सेयर बजारमा केही दिन कृत्रिम उछाल देखिएको छ । यद्यपि यो दीगो छैन । बैंकहरूमा तरलता थुप्रिएको छ तर, कर्जा माग र प्रवाह बढ्न सकेको छैन । विदेश जानेको लर्कोमा कुनै कमी आएको छैन । राजस्व बढेको छैन । ओली सरकारले कुनै गतिलो काम गर्ने, जननिराशालाई चिर्ने वा सफल हुने सम्भावना प्रखर छैन ।

६. आरजूको भारत भ्रमण, ओलीलाई ‘इरिटेसन’

परराष्ट्रमन्त्री आरजू राणा देउवाको भारत भ्रमणपछि उत्पन्न तरङ्गबारे प्रधानमन्त्री ओलीले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, भारतले आफूलाई ‘साइजिङ’ गर्न खोजेको हुन सक्ने बुझाइ उनमा बलियो छ ।

संविधान निर्माणको बेलादेखि नै ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रेम-घृणाको सम्बन्ध चल्दै आएको थियो । अहिले पनि ओलीको मोदीसँग लय मिलेको छैन । ओली-देउवा गठबन्धन भारत, चीन दुवै छिमेकीका लागि अप्रत्याशित थियो ।

चीन प्रचण्ड सरकारको निरन्तरताको पक्षमा थियो भने भारत प्रचण्ड सरकारलाई एमालेसँगको सहकार्यबाट बाहिर निकाल्ने, फेरि कांग्रेससँगको सहकार्यमा फर्काएर निरन्तरता दिने पक्षमा थियो । पछिल्लो गठबन्धन परिवर्तन दुवै छिमेकीको इच्छाअनुरूप नभएको हुँदा कतै पश्चिमा शक्तिले त खेलेनन् भन्ने आशङ्का उब्जिएको थियो ।

भारत भ्रमणका क्रममा आरजूले इपिजी प्रतिवेदनको कुरा उठाइनन् तर, प्रधानमन्त्री ओलीले भने धेरैले बिर्सिसकेको इपिजी प्रतिवेदनको सवाल उठाएका छन् । मोदी सत्तामा रहुन्जेल भारतले इपिजी प्रतिवेदन बुझ्ने कुनै सम्भावना छैन । यो कुरा ओलीले राम्ररी बुझेका छन् ।

कतै प्रधानमन्त्री ओलीले यो मुद्दा परराष्ट्रमन्त्री आरजूले भारत भ्रमणपछि उत्पन्न तरङ्गको प्रतिक्रियास्वरूप आफ्नो असन्तुष्टि जताउन उठाएका त हैनन् ? जे होस्, कूटनीतिक सम्बन्धका दृष्टिले पनि ओली असहज अवस्थाबीच हिँडिरहेका छन् ।

७. बालेनसँग डिजिटल द्वन्द्व, युवामा अनाकर्षण

काठमाडौंका मेयर बालेन शाहसँगको डिजिटल द्वन्द्व प्रधानमन्त्री ओलीलाई महङ्गो पर्दै गएको छ । यो उनको बढ्दो बेचैनीको अर्को कारण हो । गिरीबन्धु टी-स्टेट प्रकरणदेखि नै मेयर शाहले प्रधानमन्त्री ओलीविरुद्ध प्रहार गर्दै आएका थिए ।

पछिल्लो पटक मेयर शाहले एमाले लुम्बिनीकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको आरोप लगाउँदै लामो स्टाटस लेखे । प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै मेयर शाहले शर्मालाई पक्राउ गरेर कारबाही गर्न माग गरे । अहिले त्यो स्टाटस डिलिट भएको छ र त्यसको आरोप पनि शाहले सरकारमाथि लगाएका छन् ।

बागमती किनाराको सुकुम्बासी समस्यालाई लिएर पनि प्रधानमन्त्री ओली र मेयर शाहबीच घोचपेच चल्दै आएको थियो । मेयर शाह समर्थक युवाले सामाजिक सञ्जालमा ‘ओली अनफलो’ अभियान चलाइरहेका छन् । २४ घण्टाभित्रै ६० हजारभन्दा बढी ओलीका फलोअर्स घटेका छन् ।

लाग्छ, मेयर शाहले प्रधानमन्त्री ओलीलक्षित युवा वितृष्णाको नेतृत्व गरिरहेका छन् । कुनै बेला ‘आई लभ यु केपी बा’ भन्ने युवाहरू नै अहिले अनफलो अभियानमा छन् ।

यी र यस्ता अनेक कारणले ओलीको चौथो प्रधानमन्त्रित्व काल त्यति सहज देखिँदैन । सत्ताभोगको सुख प्राप्त हुनुको साटो उनले निरन्तर असहजता सामना गर्दैछन् । प्रधानमन्त्री ओलीको बेचैनी निरन्तर बढ्दो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register