सेप्टेम्बर ११ : महाशक्ति राष्ट्र अमेरिकाका प्रतिकमा यसरी भएको थियो आक्रमण

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । त्यसपछि तीनलाई नियन्त्रित मिसाइलको रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो । 

Sep 11, 2024 - 02:31
 0
सेप्टेम्बर ११ : महाशक्ति राष्ट्र अमेरिकाका प्रतिकमा यसरी भएको थियो आक्रमण

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार अर्थात् आजैका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोतिदिँदा हजारौँ मानिसले ज्यान गुमाए ।

उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै पीडादायक घटना हो ।

निशानामा को ?

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए ।

त्यसपछि तीनलाई नियन्त्रित मिसाइलको रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो । दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

पहिलो विमानले नर्थ टावरमा स्थानीय समयानुसार बिहान ८:४६ मिनेट (१३:४६ जीएमटी) मा आक्रमण गरेको थियो । दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९:०३ मिनेटमा ठोक्काइएको थियो ।

ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए भने धूँवाको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो । दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए ।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्‍याएको थियो ।

यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो । अपहरणकारीले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेको ठानिएको थियो ।

कति जनाले ज्यान गुमाए ?

यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाए । तीमध्ये अधिकांश न्यूयोर्कमा मारिए ।

चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो । ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २ हजार ६ सय ६ जनाको मृत्यु र पेन्टागनमा १२५ जनाको मृत्यु भयो ।

सबैभन्दा कम उमेरमा ज्यान गुमाउने दुई वर्षका क्रिस्टिन ली हेन्सन थिए । आफ्ना बुवा पिटर र आमा सुसँगै एउटा विमानमा उनको ज्यान गयो ।

सबैभन्दा ज्येष्ठ ८२ वर्षका रोबर्ट नोर्टन थिए । उनी पत्नी ज्याक्लिनसँगै एउटा विवाह समारोहमा भाग लिन गइरहेका थिए ।

पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेका थिए । नर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना ज्यान जोगाउन सफल भएका थिए ।

ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । न्यूयोर्कले ४४४ जना आपतकालीन उद्धारकर्ता गुमायो ।

हजारौँ व्यक्ति घाइते भए र पछि अग्निनियन्त्रकसहित कयौँमा उक्त हमलाका कारण बाहिर निस्केको घातक भग्नावशेषका कारण स्वास्थ्य जटिलता देखा पर्‍यो ।

को थिए आक्रमणकारी ?

एउटा इस्लामवादी उग्रवादी सञ्जाल अल-कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणको योजना बुनेको थियो । ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल-कायदाले मुस्लिम देशमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्‍याउने गर्थ्यो ।

अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए । प्रत्येक समूहमा विमानचालकको तालिम लिएका एक व्यक्ति थिए । त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो ।

बिन लादेनजस्तै १५ जना अपहरणकारी साउद अरबका थिए । दुई जना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए ।

अमेरिकाले कसरी प्रतिक्रिया गर्‍यो ?

आक्रमणको एक महिना नबित्दै राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल-कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे ।

अमेरिकी सैनिकले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन् । तर, सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारे ।

सेप्टेम्बर ११ को हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो । त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन् ।

अल-कायदा अझै पनि अस्तित्वमा छ । सब-सहारा अफ्रिकामा उसको पकड बलियो छ र अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य छन् ।

झन्डै दुई दशकपछि यो वर्ष अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ता व्यक्त भएका छन् ।

सेप्टेम्बर ११ को विरासत

उक्त आक्रमणपछि संसारभरि उडान सुरक्षा सुदृढ पारिएको थियो । संयुक्त राज्य अमेरिकामा विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना भयो ।

दुईवटा टावर ढलेको स्थान ‘ग्राउन्ड जीरो’लाई सफा गर्न आठ महिनाभन्दा बढी समय लागेको थियो । त्यहाँ अहिले एउटा स्मृतिकेन्द्र र सङ्ग्रहालय स्थापना गरिएको छ अनि नयाँ डिजाइनसहित भवन निर्माण गरिएको छ ।

नवनिर्मित वन वर्ल्ड ट्रेड सेन्टर वा ‘फ्रीडम टावर’को उचाइ १,७७६ फिट छ जुन वास्तविक नर्थ टावरको उचाइ १,३६८ भन्दा अग्लो हो ।

पेन्टगनको पुनर्निर्माणका लागि एक वर्षभन्दा कम समय लागेको थियो । त्यहाँका कर्मचारी अगस्ट २००२ बाट आफ्नै कार्यालयमा फर्किएका थिए ।

-बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register