बेलायतमा नेपाल बिर्साउने गरि बृहत् नेवारी महोत्सव

लन्डन । बेलायतमा नेवारी समुदायले ८ औं तः नेवा मुना आयोजना गरेको छ । प्रत्येक दुई वर्षमा हुने यो बृहत् नेवारी भेला पासा पुचः गुथि यूके रेडिङ च्याप्टरको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुल हलमा सम्पन्न भएको हो ।  कार्यक्रममा बेजिङस्टोकका मेयर काउन्सिलर डान पट्टी लगायत स्थानीय सरकारका प्रतिनिधि, प्रहरी प्रमुख र नेपाली जातीय संघसंस्थाका प्रतिनिधिहरु […]

Sep 15, 2024 - 14:02
 0
बेलायतमा नेपाल बिर्साउने गरि बृहत् नेवारी महोत्सव

लन्डन । बेलायतमा नेवारी समुदायले ८ औं तः नेवा मुना आयोजना गरेको छ ।

प्रत्येक दुई वर्षमा हुने यो बृहत् नेवारी भेला पासा पुचः गुथि यूके रेडिङ च्याप्टरको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुल हलमा सम्पन्न भएको हो । 

कार्यक्रममा बेजिङस्टोकका मेयर काउन्सिलर डान पट्टी लगायत स्थानीय सरकारका प्रतिनिधि, प्रहरी प्रमुख र नेपाली जातीय संघसंस्थाका प्रतिनिधिहरु गरि करिब ४५० जना सहभागी थिए ।

उक्त कार्यक्रममा नेवा: समुदायका प्रमुख देव-देवी कुमारी, बाराही, भद्रकाली, महाकाली र विन्ध्यावासिनी देवीका ५ वटा रथ यात्रा साथै प्रदर्शन गरिएका रथहरु जुधाउने जात्रा (ख: ल्वाखेउ) गरिएको थियो । 

सो अवसरमा मन्जुश्री, कुमारी, लाखे, भैरव गण नाच, धिमे प्याखं, हु:ला प्याखं आदि प्रस्तुत गरिएको थियो भने ६ वटा बाजा टोलीले धिमे बाजा, धॉ: बाजा, खिं:बाजा जस्ता विभिन्न तीन दर्जन बाजा प्रस्तुत गरेर माहोल रोमाञ्चक बनाएको थियो ।

कार्यक्रममा नेवारी महिलाले लगाउने पोषाक हाकु पटाक्षीद्वारा सजिएका रेडिङ च्याप्टरका मैजु समूहले प्रस्तुत गरेको धिमे नाचले सबैको ध्यान खिचेको थियो । नमस्कार इभेन्टसको इन्टेरियर डेकोरेशनद्वारा सुसज्जित कार्यक्रम स्थल र कमल किचनले तयार पारेको नेवारी स्वादका खानाले आफू नेपालमै भएको महशुस गरेका सहभागीहरूले बताएका थिए ।


कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले पासा पुचः गुथि यूकेले बेलायतमा नेवा कला संस्कृति, परम्परा, भाषा, वेषभूषा आदि जगेर्ना र प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको जनाउंदै ति कुरा दोश्रो पुस्तामा हस्तान्तरण गर्दै लैजाने संस्थाको काम सर्‍हानीय भएको बताइन् ।

पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशिल प्रजापतिले धन्यवाद दिंदै गुथिले बेलायतमा नेवारी कला, संस्कृति स्थापित गर्ने प्रयास गरिरहेको बताए ।

उनले नेपालबाट प्रेरणा लिएर बेलायतमा आफ्नै मौलिक तरिकाले चाडपर्व मनाउन शुरुवात गरिएको बताए । प्रजापतिले बेलायतमा जन्मे हुर्केका दर्जनौं बालबालिकालाई नेवारी बाजा र नाचमा प्रशिक्षण समेत दिइएको जनाए । उनले यो वीन्टरमा बांसुरी बाजा प्रशिक्षण दिने योजना समेत रहेको सुनाए ।

होष्ट कोअर्डिनेटर दिव्य महर्जनले यस्तो भव्य कार्यक्रमको संयोजन गर्न पाउँदा आफूले भाग्यमानी महशुस गरेको र जात्रामा प्रयोग भएका रथहरु निर्माणमा सहभागी गुथि सदस्यहरु, सांस्कृतिक प्रदर्शनीमा सहभागी बालबालिका लगायत नेवारी खाना तयारी गर्ने सदस्य र सहभागी सबैप्रति आभार व्यक्त गरे ।

पासा पुचः गुथि यूके सल्लाहकार यादव श्रेष्ठले बिदेशमा रहेका विभिन्न संघ संस्थाद्वारा आयोजित यस्ता मौलिक संस्कृति प्रवर्धन गर्ने कार्यक्रमले मातृभूमिप्रति सद्भाव जगाई राख्ने र भावी सन्ततिहरुमा पनि यस्ता अमुल्य सीप र कला प्रशिक्षणमा सहयोगी हुने जानकारी दिए ।


विभिन्न व्यक्तित्व र विद्यार्थी सम्मानित

कार्यक्रममा विभिन्न व्यक्तित्व र विश्वविद्यालयबाट ग्रयाजुएसन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

गुथिका संस्थापक अध्यक्ष महन्त श्रेष्ठलाई बेलायतका राजाबाट ओबीइ सम्मान प्राप्त भएकामा बधाइसहित सम्मान गरिएको थियो । त्यस्तै बेलायतमा रहेर विगत २५ वर्षदेखि नेवारी मौलिक लाखे नाच प्रस्तुत गर्दै आएका विनोद चिपालुलाई पनि सम्मान गरियो ।

पासा पुचः गुथि रेडिङका संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । यसै क्रममा गुथिका निवर्तमान अध्यक्ष ओजेश डंगोलले ‘लन्डन लाखे’ पुस्तक प्रकाशित गरेर नेवारी संस्कृतिको प्रवर्धन गरेकामा उनलाई पनि सम्मान प्रदान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register