सर्वोच्चमा मुद्दा परेपछि कर्णाली जलविद्युत्‌को काम ठप्प

विद्युत्‌‌ उत्पादन कम्पनीको ४९ प्रतिशत र भारतीय कम्पनी एनएचपीसी लिमिटेडको ५१ प्रतिशत शेयर स्वामित्वमा आयोजना विकास गर्ने सम्झौता भएको र सर्वोच्चमा विचाराधीन रहेका कारणले अन्य काम अगाडी बढाउन नसकिएको फुकोट कर्णाली जलविद्युत्‌‌ आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताए ।

Sep 15, 2024 - 14:00
 0
सर्वोच्चमा मुद्दा परेपछि कर्णाली जलविद्युत्‌को काम ठप्प

सुर्खेत । कर्णाली प्रदेशमा बन्न लागेको गौरवको आयोजनाका रूपमा रहेको फुकोट कर्णाली जलविद्युत्‌‌ आयोजनाको काम रोकिएको छ । कालिकोट जिल्लामा निर्माण चरणमा रहेको चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत्‌‌ आयोजनाको काम सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले रोकिएको हो ।

आयोजनाको काम करिब नौ महिनादेखि ठप्प छ । नेपालले सम्पूर्ण अध्ययन गरेको आयोजना भारतीय कम्पनीलाई बढी स्वामित्वसहित दिइएको समझदारी खारेज गर्न माग गर्दै कालिकोट रास्कोट नगरपालिका ८ निवासी यशोदाकुमारी बराल र अजय बहादुर शाहीले २०८० पुसमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, विद्युत्‌‌ विकास विभाग, नेपाल विद्युत्‌‌ प्राधिकरण, विद्युत्‌‌ उत्पादन कम्पनी लिमिटेड, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टलगायत १० वटा सरकारी कार्यालयलाई विपक्षी बनाइएको छ ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले एनएचपीसीसँग भएको एमओयू तत्काल कार्यान्वयन नगर्न पुस २० गते सरकारका नाममा सर्वोच्चले परमादेश आदेश जारी गरेको थियो । त्यसयता आयोजनाको सम्पूर्ण काम ठप्प छन् । अन्तिम चरणमा रहको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनसमेत वन मन्त्रालयले रोकेको कम्पनीले जनाएको छ ।

विद्युत्‌‌ उत्पादन कम्पनीको ४९ प्रतिशत र भारतीय कम्पनी एनएचपीसी लिमिटेडको ५१ प्रतिशत शेयर स्वामित्वमा आयोजना विकास गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले २०८० पुस २० गते अन्तरिम आदेश दिएपछि आयोजनाका कुनै पनि गतिविधि अगाडि बढ्न सकेका छैनन् ।

फुकोट कर्णाली जलविद्युत्‌‌ आयोजना नेपाल सरकारले आफैँ बनाउनुपर्ने र अहिले भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिएको माथिल्लो कर्णाली जलविद्युत्‌‌ आयोजना १८ वर्षसम्म पनि बन्न नसकेको अवस्थामा फुकोट कर्णाली भारतीय कम्पनीलाई नदिएर आफैँ बनाउनुपर्ने मागसहित निवेदन दिएको रिट निवेदक कालिकोट रास्कोट नगरपालिका ८ यशोदाकुमारी बरालले बताइन् ।

“भारतीय कम्पनीलाई बढी सेयर दिएर कसरी बनाउन्न हुन्न भन्ने हाम्रो मागदाबी हो,” उनले भनिन्, “नेपाल सरकारले बढी सेयर स्वामित्व लिएर भारतीय लगानी भित्र्याउनु पर्ने भए ठीक छ । अन्यथा नेपाल सरकारले नै बनाओस् भन्ने हाम्रो माग हो ।”

विद्युत्‌‌ उत्पादन कम्पनीको ४९ प्रतिशत र भारतीय कम्पनी एनएचपीसी लिमिटेडको ५१ प्रतिशत शेयर स्वामित्वमा आयोजना विकास गर्ने सम्झौता भएको र सर्वोच्चमा विचाराधीन रहेका कारणले अन्य काम अगाडी बढाउन नसकिएको फुकोट कर्णाली जलविद्युत्‌‌ आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताए ।

“सम्झौता भएको १८ महिनाभित्र पूरा गर्नुपर्ने विद्युत्‌‌ खरिद सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, संयुक्त कम्पनी स्थापनालगायत धेरै काम रोकिएका छन्,” उनले भने, “यही कारण भारतीय कम्पनी पनि आयोजना विकास गर्ने वा नगर्ने भन्ने द्विविधामा रहेको बुझिन्छ, आयोजनाबाट हुने अवौँ रुपैयाँ आम्दानी पनि राज्यले गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।”

नियमित काम जारी

प्रस्तावित आयोजना निर्माणका लागि सरकारी स्वामित्वमा रहेको दुई सय ८८ दशमलव ९८ हेक्टर जमिन र ६४ दशमलव २६ हेक्टर निजी जमिनसहित कुल तीन सय ५३ दशमलव २५ हेक्टर जमिन आवश्यक आयोजनाले अधिग्रहण गरिसकेको आयोजनाका प्रमुख उप्रेतीले बताए ।

“आयोजना कार्यान्वयनको लागी कुल तीन सय ८ दशमलव ७७ हेक्टर जग्गा स्थायी संरचनाका लागि आवश्यक पर्ने देखिन्छ,” उनले भने, “जसमध्ये ५६.७२ हेक्टर जमिन निजी स्वामित्वमा र बाँकी दुई सय ५२ दशमलव ४ हेक्टर जमिन नेपाल सरकारको स्वामित्वमा रहेको छ ।”

आयोजनाबाट प्रभावित हुने कालिकोट रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिका स्थानीयलाई घर/टहरा, गोठ तथा अन्य क्षतिपूर्ति बापत मुआब्जा दिन दिइएको केही दिन बाँकी अहिले काम चलिरहेको आयोजना प्रमुख उप्रेतीले बताए ।

उनले भने, “अहिले प्रभावित क्षेत्रका चार सय ८० जनाको घर/टहरा, गोठलगायतको भौतिक संरचनाको मुआब्जाका वितरण गरिएको छ  । घर/टहरा तथा गोठको क्षतिपूर्ति सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १, २, ३ र ४, रास्कोट नगरपालिका वडा नं. ६, ७, ८ र ९ र पचाल झरना गाउँपालिका वडा नं. १, २, ८ र ९ मा रहेका संरचनाको मुआब्जा दिइएको छ ।”

आयोजनाको परीक्षण सुरुङ निर्माण भइसकेको छ भने आयोजनाको कार्यालय तथा आवासको निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register