यी हुन् सहकारी ठगी प्रकरणमा मुछिएका १० नेता

सहकारी प्रकरणमा धेरै दलका नेता जोडिएका छन् । ति मध्ये नयाँ दल रास्वपाका नेताको संख्या धेरै छ । यो दलका सभापति नै सहकारी ठगी प्रकरणमा जोडिएका छन् । 

Sep 18, 2024 - 09:48
 0
यी हुन् सहकारी ठगी प्रकरणमा मुछिएका १० नेता

काठमाडौं । पछिल्लो समय सहकारी ठगीमा नेताहरू नै जोडिएको घटना धमाधम सार्वजनिक भइरहेका छन् ।

पुराना होऊन् या नयाँ, ठूला होऊन् या साना; प्राय: दलका कुनै न कुनै नेताहरू सहकारी ठगीमा जोडिएकै छन् । कसले कति अनुपातमा ठगी गरेका छन्, सबैले ठगी गरेका छन् कि छैनन्, त्यो अनुसन्धानको क्रममा देखिएला तर, उनीहरू ‘सहकारी प्रकरणमा’ भने जोडिएका छन् ।

सहकारी प्रकरणमा धेरै दलका नेता जोडिएका छन् । ति मध्ये नयाँ दल रास्वपाका नेताको संख्या धेरै छ । यो दलका सभापति नै सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

धेरै नेताले आफूविरुद्ध झुटो आरोप लगाइएको बताइरहेका छन् । कतिपय नेतालाई कारबाही गर्न संसदीय समितिले नै सिफारिस गरिसकेको छ ।

यहाँ हामीले सहकारी प्रकरणमा कुन् दलको को नेता, कसरी जोडिएका छन् ? भन्ने जानकारी दिन गइरहेका छौं ।

रवि लामिछाने, सभापति-रास्वपा

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने सहकारी ठगीकोमा मुछिएका छन् । उनलाई सहकारी विशेष संसदीय समितिले कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ ।

गोरखा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएकोमध्ये लगभग ६५ करोड रूपैयाँ हिनामिना भएको भन्दै समितिले त्यसबेला प्रबन्ध निर्देशक रहेका लामिछानेलाई समेत कारबाहीका लागि सिफारिस गरेको हो ।

साढे तीन महिना लगाएर समितिले गरेको अनुसन्धानका क्रममा सहकारी संस्थाहरूमार्फत अनाधिकृत रूपमा गोर्खा मिडिया प्रालिमा गएको रकम खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको अप्रत्यक्ष संलग्नता देखिएको खुलेको छ ।

लामिछानेसहित रास्वपा नेताहरूले भने ‘क्लिन चीट’ पाएको जिकिर गरिरहेका छन् ।

धनराज गुरुङ, नेता- कांग्रेस

सहकारी ठगी प्रकरणमा जोडिएको एउटा अर्को नाम हो, धनराज गुरुङ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङविरुद्ध ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रकम अपचलन गरेको आरोप छ ।

गुरुङविरुद्ध कोअपरेटिभका अध्यक्ष कुम्भराज गुरुङले संसदीय समितिमा उजुरी दिएका छन् ।

धनराज र उनकी श्रीमती ज्योति गुरुङ मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपियाँ नतिरेको भन्दै कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सूर्य थापा नेतृत्वको सहकारी विशेष संसदीय समितिमा पनि उजुरी दिएका हुन् ।

धनराज गुरुङ आफूले भने त्यसबारे आफूलाई जानकारी नभएको बताएका छन् । भूतपूर्व श्रीमती ज्योति गुरुङसँग कुनै सम्पर्क, सम्बन्ध नभएको भन्दै उनले उक्त रकमबारे आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनले २०७६ सालमै ज्योतिसँग सम्बन्धविच्छेद गरेको बताएका छन् तर, पछि के खुलेको छ भने उनले २०७७ सालमा पनि ज्योति गुरुङलाई ‘इच्छाएको व्यक्ति’को नाम राखेर पुन: ऋण लिएका छन् ।

यसको भने उनले जवाफ दिएका छैनन् । संसदीय छानबिन समितिले पनि यो प्रक्रणमा थप छानबिन गर्न सरकारलाई सुझाव दिएको छ ।

ऋषिकेश पोखरेल, नेता-एमाले 

संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका सत्तारूढ दल नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

पोखरेलमाथि श्रीमती अञ्जला कोइरालाले मोरङको धनपालथान गाउँपालिका ४ मा उमा गौरी कृषि सहकारी संस्थाबाट झन्डै १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ ।

एमाले नेता ऋषिकेश पोखरेल र श्रीमती अञ्जला कोइराला

पोखरेलकै अग्रसरतामा खोलिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको उक्त सहकारीबाट १४ करोड ५६ लाख हिनामिना भएको छ । १० वर्षका कागजपत्रसमेत गायब पारिएको छ ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयलाई ०६८ मा सहकारीको तदर्थ समितिको र त्यसपछि ०७८ मा सञ्चालक समितिको कागजपत्र मात्र उपलब्ध गराइएको छ ।

यसबीचको १० वर्षको सञ्चालक समितिको विवरण र कागजात गायब पारिएको छ । सांसद पोखरेलकी पत्नी अञ्जला ०७२ देखि ०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् ।

केबी उप्रेती, नेता-एमाले 

नेकपा (एमाले) का सहकारी विभाग सदस्यसमेत रहेका नेता केबी उप्रेती पनि सहकारी ठगीमा मुछिएका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामै छन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेतीमाथि बचतकर्ताको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनी २०८१ असार १९ मा पक्राउ परेका छन् ।

डीपी अर्याल, नेता-रास्वपा

पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल पनि सहकारी प्रकरणमा मुछिएका नेतामध्ये पर्छन् ।

उनीमाथि हाम्रो नयाँ कृषि सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप छ । जुन सहकारी संस्थाको उनी उपाध्यक्ष रहेका थिए । उनी उपाध्यक्ष भएको सहकारी संस्थाबाट बचतकर्ताको ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको आरोप छ ।

उनीमाथि अनुसन्धान हुनुपर्ने पीडितको माग छ । तर, प्रक्रिया अगाडि बढ्न सकेको छैन । उनी यसबीचमा दुई-दुईपटक मन्त्री बने । मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका मन्त्री बनेका उनीमाथि बचतकर्ताहरूको ४ करोडभन्दा बढी गायब पारेको आरोप छ ।

कबिन्द्र बुर्लाकोटी, नेता-रास्वपा

कबिन्द्र बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री हुन् । संस्थापक महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा परेपछि कावा महामन्त्रीको जिम्मा पाएका बुर्लाकोटी पनि सहकारी प्रकरणमा मुछिएका छन् ।

उनी डीपी अर्याल उपाध्यक्ष रहेका सहकारी अर्थात् हाम्रो नयाँ कृषि सहकारी संस्थाका सञ्चालक समिति सदस्य थिए । उनीमाथि पनि अर्याललाई लागेकै आरोप लागेको छ । 

उक्त सहकारीले बचतकर्ताको ४ करोडभन्दा बढी रकम फिर्ता नगरेको आरोप छ ।

शक्तिबहादुर बस्नेत, नेता-माओवादी केन्द्र

पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता पनि सहकारी प्रकरणमा मुछिएका छन् ।

बस्नेत हाम्रो नयाँ कृषि सहकारी संस्थाका संस्थापक थिए । उनी संस्थापक भएको सहकारी संस्था २०८० माघ १० गते नै समस्याग्रस्त घोषणा गरिसकिएको छ । संस्थालाई निक्षेपकर्ताको चार करोड रकम फिर्ता नगरेको भन्दै समस्याग्रस्त घोषणा गरिएको थियो ।

बस्नेत संस्थापक सदस्य रहेका सहकारी संस्थालाई घोषणा गरिएको समस्याग्रस्तको सूची ।

शान्ति परियार, नेता-नेपाली कांग्रेस

सहकारी संस्थाको रकम हिनामिनामा कांग्रेस सांसद शान्ति परियार विक पनि मुछिएकी छन् । उनीमाथि चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित छिमेकी कृषि सहकारी लिमिटेडबाट लिएको ऋण चुक्ता नगरेको आरोप छ ।

सांसद विकले २०७१ जेठ ५ गते १ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । जसको १० वर्षे अवधिमा १४ प्रतिशतका दरले उनले सहकारी संस्थालाई तिर्नुपर्ने रकम ३ लाख ९५ हजार चार सय ५७ रुपैयाँ देखाइएको छ ।

तर, उनले २० हजार रुपैयाँ मात्र तिरेकी छिन्, बाँकी ३ लाख ६५ हजार ४ सय ५७ रुपैयाँ उनले भुक्तानी गर्नुपर्ने देखाइएको छ । उनलाई सो ऋण तिर्न पटक पटक ताकेता गरे पनि नतिरेको बताइएको छ । १० वर्ष बितिसक्दा पनि उनले सो ऋण चुक्ता गरेकी छैनन् ।

सांसद विकलाई कर्जा चुक्ता गर्न पठाइएको पत्र ।

इच्छाराज तामाङ, नेता-एमाले 

संविधानसभा सदस्यसमेत रहेका नेकपा (एमाले) का नेता इच्छाराज तामाङ पनि सहकारी ठगीमा मुछिएका व्यक्ति हुन् ।

सिभिल सहकारीका सञ्चालक उनले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर अहिले कारागारमा छन् । उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा इच्छाराजविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको तर, बचतकर्तालाई नदिएकोमा उनी दोषी ठहर भएका थिए ।

ढाकाकुमार श्रेष्ठ, निलम्बित सांसद-रास्वपा

ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद हुन् । करोड डिलका कारण सांसद पद गुमाएका उनी पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

पोखरामा आफैँले स्थापना गरेको साथी किसान सहकारी संस्थामार्फत बचतकर्ताको बचत डुबाएको आरोप उनीमाथि छ । उनी राजनीतिमा लाग्नेसँगै २०७९ कात्तिकमा सहकारीको नेतृत्वबाट बाहिरिएका थिए । तर, उक्त सहकारीले बचतकर्ताको करोडौं बचत रकम फिर्ता गर्न सकेन ।

अहिले उनी लागूऔषध ओसारपसारमा पक्राउ परेका छन् ।

के छ छानबिनको निष्कर्ष ?

गत सोमबार मात्रै संसदीय छानबिन समितिले तीन महिना लामो छलफल र अनुसन्धानपछि प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको छ ।

५० भन्दा बढी सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ गरेपछि तयार पारिएको प्रतिवेदनमा सहकारी ठगीमा फरार रहेका जीबि राई, थान बहादुर बुढा मगर, दिनेश रोक्का, सागर केसी, तस्वीरण खातुन, भूपेन्द्र राईलगायतलाई शीघ्र खोजी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशित गरेको छ ।

सहकारी संस्थाको नियमनका लागि सहकारी प्राधिकरण स्थापना गर्न छानबिन समितिको सुझाव छ । यस्तो स्वायत्त संस्थाले सहकारीसम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने सुझावमा उल्लेख छ ।
यसैगरी अधिकतम् बचत र कर्जाको सीमा निर्धारण गर्ने, बचतकर्ताले ल्याउने रकमको कानूनी स्रोत खुलाउनेजस्ता कुरालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । नेपालको सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई सुधार गर्न, कानूनी प्रावधानलाई स्पष्ट र एकरूप बनाउन अत्यावश्यक रहेको औँल्याइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register