बहादुर बा पनि छाड्दैछन् गाउँ !

बित्दो समय, ढल्दो उमेर, गल्दो शरीरले बिस्तारै पुर्ख्यौली थातथलो अधियाँ दिएर सहर पसाउन लागेकोमा बहादुर बा कति पनि खुसी छैनन् ।

Sep 21, 2024 - 02:57
 0
बहादुर बा पनि छाड्दैछन् गाउँ !

काठमाडौं । हिजोआज युवाहरूबीच गाउँ छाड्ने प्रतिस्पर्धा नै छ, उनीहरू कुनै न कुनै सन्दर्भमा काठमाडौं वा अर्को तेस्रो सहरतिर भेटिन्छन् ।

यही पङ्क्तिमा जोडिएका छन् डडेल्धुराका ६८ वर्षीय बहादुर सिंह एरी ।

उनीसँग हाम्रो भेट काठमाडौंमै गत बिहीबार भएको हो, जुन दिन धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो । उनी त्यही धरहराको फेदमा भेटिए । अहिले भने उनी केही दिनका लागि मात्रै काठमाडौं आएका हुन् । अब उनी गाउँ फर्किने छन् र स्थायी रूपमा यतै बस्नेगरी आउनेछन् ।

उनलाई प्राय:ले ‘बहादुर बा’ भनेर सम्बोधन गर्छन् । बहादुर बा टुसुक्क बसेर धरहरा चढ्नेहरूको लाम नियालिरहेका थिए, उनीचाहिँ अगाडि नै चढेर फर्किसकेका रहेका छन् ।

उनी बिहानै घुमफिरका लागि निस्केका थिए तर, एक्लै । धरहरा चढ्नेहरूको लाम एकतमासले हेरिरहेका उनलाई हेर्दा लाग्थ्यो, धरहरा चढेर फर्किएपछि उनलाई आफ्नो जीवनकालका आरोह-अवरोहको स्मरण भएको छ ।

उनी भन्थै थिए, “मैले अघि नै चढिसकेँ, आफू त बूढो मान्छे, लाइन बसिरहन परेन ।” उनले यो कुरा यसरी सुनाए कि उनी कसैलाई सुनाउन आतुर थिए । त्यसैले त जवाफमा रफ्तार थियो ।

उनलाई धरहराबारे त्यति धेरै थाहा रहेनछ । तर, आफ्ना बुवाहरूले कुरा गरेको उनको सम्झनामा छ । २०७१ सालमा काठमाडौं आउँदा उनले परैबाट धरहरा देखेका थिए । तर, अहिले उनले चढेको धरहरा त्यही धरहरा होइन, नयाँ हो । २०७२ सालको विनासकारी भूकम्पले भत्काएपछि यो बनेको हो । जे होस्, उनी चढिसके ।

“पहिले परैबाट देखेको, अहिले चढ्न पाएँ । खुसी भइयो,” उनले भने । उनको जवाफमा प्रसन्नता देखिन्थ्यो ।

अद्धुत प्रेम गाउँसँग

सुदूरपश्चिम डडेल्धुराका बहादुर बालाई गाउँ छाड्न मन छैन । गाउँसँग उनलाई बहुत प्रेम छ । बालापनसँगै जीवनको ऊर्जाशील उमेरलाई बहादुर बाले आफ्नै पाखामा पाखुरी चलाउन खर्चिए । त्यसैले पनि उनलाई गाउँसँग प्रेम छ कति हो कति ।

तर, अब बहादुर बाका पाखुरीमा बल बाँकी छैन । रैथाने स्वच्छ र स्वस्थ खानेकुरा उत्पादन गर्ने हुती पनि कहाँ नै छ र ? गाउँमै पाखुरी चलाएर उनले छोराहरूलाई परदेशी बनाए । जेठो छोरा अस्ट्रेलिया पुगेका छन् । कान्छा छोरा रोजगारीको सिलसिलामा कोरियामा छन् । छोराहरूले काठमाडौंको कलंकीका घर किनिदिएका छन् । उनी त्यहीँ बस्दैछन् अब तर, उनी भने गाउँ मै सम्झिरहन्छन् । उनलाई चिन्ता छ, गाउँ कसरी छाड्नू ?

तर, उनी विवशताको भुमरीमा फसेका छन् । शरीर बूढो भयो, अस्पताल खोजिरहन्छ । गाउँमा नजिकमा अस्पताल छैन, अलिक टाढा पुगे अस्पताल भेटिन्छ तर, राम्रो स्वास्थ्योपचार पाइँदैन । उनलाई लाग्छ, काठमाडौंमा भए कमसेकम अस्पताल त नजिकमा छ !

मौरीको माया औधी 

“अब त बुढेसकाल लाग्यो, पहिलाको जस्तो काम गर्न सकिँदैन, मौरी पालेको छु ८ घार, छोराहरूले यतै आएर बस्नु भन्छन् तर, त्यो मौरीको माया लाग्छ,” बहादुर बा फत्फताउँछन् ।

काठमाडौंमा मौरीका चढ्ने ठाउँ नहुनु बहादुरका बाका लागि चिन्ताको विषय हो । “यता ल्याएर घरमाथि राखिदिउँ भने पनि उनीहरूलाई चर्ने ठाउँ हुँदैन,” उनी भन्छन् ।

बहादुर बालाई मौरीको औधी चिन्ता छ । उनको कुरा सुन्दा यस्तो लाग्थ्यो, मौरीसँग उनको सम्बन्ध निकै कसिलो छ । उनी मौरीलाई परिवारका सदस्यझैँ माया गर्छन् । नत्र काठमाडौं सहरको घरमा मौरी राख्ने सोच आउने थिएन उनलाई ।

सिंहदरबार पस्दाको अनुभव 

राजनीतिमा चाख राख्ने बहादुर बाका मन पर्ने नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । “डडेल्धुरामा कांग्रेसको राम्रो जनमत छ, विकास पनि कांग्रेसले नै गरेका छन्,” उनले सुनाए ।

२०७४ सालमा देउवाको सरकार भएको बेला आफू उनलाई भेट्न बहादुर बा सिंहदरबार पसेका थिए । उनी भन्छन्, “देउवाको पहुँच राम्रो छ । सय, डेढ सय मान्छे यसै पालेका छन् । यता काठमाडौंमा राम्रैसँग  बसेका छन् ।”


३ कक्षा पढेका वडा सदस्य 

कुनै समय बहादुर बा आफ्नो गाउँको आवाज बोल्ने, समस्याहरूको उत्खनन् गर्ने एक प्रखर जनप्रतिनिधि थिए । नेपाली कांग्रेस समर्थक उनी दुईपटक आफ्नो पालिकामा वडा सदस्यसमेत भएको सुनाउँछन् । उनको औपचारिक शिक्षा भने ३ मात्रै हो ।

“निगालोको पेन्सिल बनाएर आगोको ध्वासमा चोपेर लेख्थिम्, त्यो पनि कालो पाटीमा,” उनी सम्झन्छन् । उनले आफ्नो स्कूले जीवनका सङ्घर्ष र रमाइला पल सुनाए ।

“फेरि त्यो बेलाको पढाइ अहिलेको जस्तो हुँदैन थियो, तीन कक्षा पास गर्नु पनि ठूलो कुरा थियो,” उनले भने ।

‘अब गाउँ छोड्छु…’

गाउँको माया असाध्यै भए पनि अब बहादुर बासँग विकल्प छैन । काम गर्न सक्ने हुति रित्तिँदै छ, उनको आँट र हिम्मत खिइँदैछ । अब बिस्तारै छोराछोरीसँगै सहर पस्ने तरखरमा छन् उनी ।

“अब पहिलाको जस्तो छैन, दिनदिनै शरीरले बढी आराम खोज्न थालेको छ । स्वाँ-स्वाँ हुन्छु, केही गर्न सक्दिनँ । अझै त्यो गाउँ रुघेँर बसौँ भने तातो पानी तताएर दिने मान्छे पनि छैनन् त्यहाँ,” बहादुर बा दुखेसो सुनाउँछन् ।

बित्दो समय, ढल्दो उमेर, गल्दो शरीरले बिस्तारै पुर्ख्यौली थातथलो अधियाँ दिएर सहर पसाउन लागेकोमा बहादुर बा कति पनि खुसी छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register