मधेसी पनि खाँटी नेपाली नै हुन्, भयरहित भएर बाँच्न दिनुस्

धोती लगाउने कालो वर्णका मधेसी अहिले पनि काठमाडौंमा मजाकको पात्र बन्छन् । मैथिली, भोजपुरी, अवधि बोल्ने मधेसी अझै पनि कतिको नजरमा नेपाली ठहरिँदैनन् । मधेस भूमिलाई नेपालको ठान्ने तर, मधेसीलाई विदेशी ठान्ने परिपाटी कहिलेसम्म ?

Sep 21, 2024 - 04:41
 0
मधेसी पनि खाँटी नेपाली नै हुन्, भयरहित भएर बाँच्न दिनुस्

अहिले संविधान दिवस मनाइएको छ । तर, मधेसमा भने पहाडमा जस्तो हर्षोल्लासका साथ यो दिवस मनाइएन । यसका धेरै कारण छन् । यसमध्ये एउटा हो- मधेसी अझै पनि भयरहित नागरिक हुन सकेका छैनन् ।

मधेसबाट पहाड चढ्नेबित्तिकै मधेसीको राष्ट्रियताउपर प्रश्न तेर्साइन्छ । कालो छाला हुने र शुद्ध नेपाली बोल्न नसक्ने मधेसी अझै पनि कतिको नजरमा विदेशीसरह छन् ।

मधेसी विदेशी होइन, शरणार्थी पनि होइनन् । उनीहरू मधेसका मूल बासिन्दा हुन् । नयाँ नेपालको निर्माण हुनुभन्दा पहिलेदेखि नै मधेस अस्तित्वमा थियो । मधेसको आफ्नै पहिचान थियो । तत्कालीन गोरखा राज्यका शासकले अरू जस्तै मधेसका राज्यलाई पनि कब्जामा लिएदेखि नै मधेसीलाई दोयम नागरिकको रूपमा हेरिन थालिएको हो ।

मधेसको पहिचान खोसियो । मधेसीको अस्तित्व मेटाउन खोजियो । मधेस भूमिलाई नेपालको ठान्ने तर, मधेसीलाई विदेशी ठान्ने परिपाटीको सुरूवात भयो । विस्तारवादको प्रक्रियाबाट एकीकृत नेपाल त बन्यो तर, सबै समुदायलाई  तत्कालीन राज्यसत्ताले सामान व्यवहारचाहिँ गर्न सकेन ।

नागरिकका बीचमा रहेको असमानताको दूरी घटाउन सकेन । विभेदरहित राज्य बन्न सकेन । जसको प्रतिफल मधेसी दोस्रो दर्जाको नागरिक जस्तै बन्न थाले । मधेसको भूमिलाई स्वदेशी र त्यहाँका बासिन्दालाई विदेशी सम्झिने समस्या अन्त्य हुन सकेन । भाषा, संस्कृति, रहनसहन कुनै पनि समुदायको मौलिक चिनारी हो । गोरखा राज्यका शासकले बहुभाषिक, बहुसांस्कृतिक जस्ता विशेषतायुक्त भएका राज्यलाई आफ्नो अधिनमा त ल्याए तर, ती  विशेषताहरूको संरक्षणचाहिँ गर्न सकेनन् ।

केही दिनअघिको घटना हो । हामी पाँचजना साथी कीर्तिपुरको एउटा क्याफेमा चिया पिउन बस्यौँ । वेटरले तपाईंहरू इन्डियन हो भनेर प्रश्न गर्‍यो । हामीमध्ये एक जनाले किन भनेर प्रतिप्रश्न गर्‍यो । तपाईंहरूको भाषा तमिल जस्तै छ, त्यही भएर भनेर जवाफ दियो । हामी त्यतिबेला मैथिली बोल्दै थियौँ । जबकि मैथिली र तमिलबीच कुनै शाब्दिक सामानता छैन । मधेसीलाई इन्डियन देख्नु कुनै नयाँ कुरा होइन । त्यसैले हामीले त्यसलाई मन्थनको विषय बनाएनौँ ।

लगभग त्यहाँ एक घण्टा बिताइसकेपछि पैसा तिर्न काउन्टरमा जाँदा एक जनाले फेरि त्यही प्रश्न दोहोर्‍यायो । तपाईंहरू इन्डियन हो ? किन भनेर सोध्दा तपाईंहरू हिन्दी बोल्दै हुनुहुन्थ्यो, त्यही भएर जवाफ फर्कायो । हामीलाई इन्डियन ठान्ने ती क्याफेका कर्मचारीलाई दोष दिन मिल्दैन । मधेसी असली नेपाली होइनन् भन्ने एक किसिमको मिथ्या बुझाइ आम रूपमा छाइसकेको छ ।

उक्त बुझाइ चिर्न नसक्नु नयाँ पुस्ताको कमजोरी हो । यो आफैँ सिर्जित भएको समस्या होइन, तत्कालीन राज्य संयन्त्रले योजनाबद्ध ढङ्गले आकारित गरेको व्यवस्थाबाट उब्जिएको समस्या हो । एउटै भाषा निर्धारण गर्नु, एउटै राष्ट्रिय पोशाक निर्धारण गर्नु, कुनै एक भाषालाई मात्र शिक्षा र सरकारी कामकाजको भाषा बनाउनु, एकल राष्ट्रको प्रभुत्व स्थापित गर्नका निम्ति गरिएका प्रयास हो भन्न सकिन्छ । तत्कालीन राज्यसत्ताको यो घातक षड्यन्त्र हो यो ।

लगभग पन्ध्र वर्षअघिको प्रसङ्ग जोड्छु । त्यतिबेला म तेह्र वर्षको थिएँ । मधेसबाट भर्खरै धरान गएको थिएँ । कक्षा पाँचमा धरानको एउटा प्राइभेट स्कूलमा भर्ना भएँ । विद्यालय गएको एक महिना जति भएको थियो । एउटा साथीले ‘ओइ ! भैया होमवर्क गरिस् भने कापी देउन’ भनेर भन्यो । मैथिलीमा दाइलाई ‘भैया’ भनिन्छ । यो मैथिली नेपालीमिश्रित वाक्य सुरूमा मेरो निम्ति सामान्य थिएन । आफ्नै उमेरका साथीहरूले भैया अर्थात् दाइ भन्दा सुरूमा ताजुब लाग्यो ।

मधेसीलाई बोलाउँदा भैया भनिन्छ भन्ने कुरा त्यो दिन थाहा पाएँ । त्यसपछि कक्षामा नामले भन्दा पनि भैया, धोती, फोरम,  इन्डियनजस्ता शब्दबाट सम्बोधित हुन थालेँ । म तिनीहरूको नजरमा नेपाली कहिल्यै ठहरिइनँ । त्यतिबेला म तेह्र वर्षको मात्रै थिएँ । साथीहरू मेरै उमेरका थिए । तिनीहरूको नजरमा नेपाली हुनलाई गोरो छाला भएको हुनुपर्थ्यो, ढाका टोपी लगाएको हुनुपर्थ्यो, शुद्ध नेपाली बोल्न जान्ने हुनुपर्थ्यो । ती योग्यता ममा थिएनन् । पछि विद्यालय परिवर्तन गरेँ । त्यहाँ पनि वातावरण फरक भएन, ठ्याक्कै उस्तै ।

२०५७ सालमा  भारतीय  कलाकार ऋतिक रोशनले आफूलाई नेपाल र  नेपाली मन नपरेको भन्ने तथ्यहीन  कुरा नेपालमा जबर्जस्त रूपले फैलाइयो । तर, उनले  त्यस्तो कहिले कतै भनेकै थिएनन् । तर, त्यो झुटो सूचनाले नेपालमा ठूलै दङ्गा निम्त्यायो । भारतीय कलाकारले त्यसो भन्यो भनेर सुरूमा केही  युवाले ऋतिक रोशनको फिल्मको पोस्टर जलाउनुको साथै नाराबाजी गरे । पछि त्यसले उग्र रूप लियो । मधेसीलाई भारतीय सम्झेर कैयनमाथि कुटपिट भयो ।

त्यो घटनाले कैयन् मधेसीलाई विद्रोही बनायो । कैयन् पढाइ छोडेर पहिचानको मुद्दा बोकेर राजनीतिमा होमिए । धेरैमा आफ्नै देशप्रति घृणा जाग्यो । डा. सीके राउत अहिले सांसद हुन् तर, कुनै दिन उनी छुट्टै देश बनाउन चाहन्थे ।

‘अलगवाद’ उनको त्यी बेलाको राजनीतिक एजेन्डा थियो । राउतले त्यस्तो पृथकवादी मुद्दा किन उठाए होलान् भन्ने प्रश्नको उत्तर खासै कठिन छैन । उनी राजधानी नआएसम्म मधेसीमाथि गरिने विभेदको असलियतबाट निकै टाढा थिए । काठमाडौं आएपछि विभेदले उनलाई पनि राम्रैसँग चोट पर्‍यो । ऋतिक रोशन प्रकरण हुँदा उनी काठमाडौंमै पढ्दै थिए । मधेसीलाई कुटपिट गरेको, मधेसीको घर जलाइएको दृश्य उनी आफ्नै आँखाले हेरेँ । त्यसबेला साथीहरूबाट थोरबहुत उनी पनि हेपिए । त्यो घटनाले उनलाई विभेदको असली रूप देखायो । त्यहीँदेखि उनमा विद्रोहको भावना जाग्यो ।

काठमाडौंमा अहिले पनि मधेसीले धोती, भैयाजस्ता शब्द  सुनेर बस्नु परेको छ । कतिको नजरमा मधेसी अझै पुर्ण नेपाली हुन सकेको छैनन् । मधेसी समुदायका नेताले कुनै मुद्दा उठाउनासाथ भारतीय वा भारतको  इशारामा चलेको आरोप खेप्न बाध्य छन्। कतिले राजेन्द्र महतोको राष्ट्रियतामाथि अहिले पनि शङ्का गर्छन् । उनलाई बिहारी भनेर गाली गर्छन् । उनलाई अपमान गर्छन् । मधेसी बिहारी होइनन्, मधेसको धर्तीपुत्र हुन् ।

कतिले मधेसमा भारतीयलाई नागरिकता बाँड्दैछ भनेर हल्ला फैलाउँछन् । यो सब मधेस र मधेसीलाई बदनाम गर्ने दुस्प्रयास हो । शुद्ध नेपाली बोल्ने मात्र नेपाली हुने घटिया सोच भएकाहरू मधेसीलाई गैरनागरिक र नेपाली बोल्ने गैरनागरिकलाई नेपाली ठान्छन् । भारतीय नेपालीभाषीलाई नेपाली र मधेसीलाई गैरनागरिक ठान्ने संस्कृति एकल राष्ट्रयवाद हावी भएको कुराको  प्रमाण हो ।

भोक मेटिएपछि मानिसले पहिचानको आवश्यकताको महसुस गर्छ । धोती लगाउने कालो वर्णका मधेसी अहिले पनि काठमाडौंमा मजाकको पात्र बन्छन् । मैथिली, भोजपुरी, अवधि बोल्ने मधेसी अझै पनि कतिको नजरमा नेपाली ठहरिँदैनन् । मधेसी पहिचानलाई विदेशी देख्ने पात्रका कारण मधेसी अझै पनि दोस्रो दर्जाको नागरिक भएको महसुस गर्छन् ।

मधेसलाई विभेद गर्ने संस्कृति एकाएक आएको होइनन् । नयाँ नेपालको स्थापना भएदेखि नै त्यसको बिउ गाडियो । त्यहीँदेखि राज्यले मधेसलाई उपेक्षा गर्न थाल्यो । राज्यले मधेसको रक्षाभन्दा पनि विभेद बढी गर्‍यो । मधेसको मलिलो माटोलाई माया गर्ने तर, त्यहाँका आदिवासीलाई विदेशीसरह हेर्ने राज्यको त्यो विभेदकारी परिपाटीकै कारण नै समस्या भएको हो । त्यसको अवशेष अझै पनि बाँकी नै छ ।

अहिले पनि काठमाडौंमा यात्रा गर्दा डरको भारी बोक्नु पर्छ । को कतिबेला धोती, भैया भनेर थर्काइखान्छ, कुटाइ खान्नेसम्मको डर हुन्छ । मधेसीले अझै आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । कुनै पनि विभेद सकिन पक्कै समय लाग्छ । कहिलेकाहीँ नहुन पनि सक्छ । अवशेषको रूपमा सदाका लागि रहिरहन्छ । मधेसीले भोगेको विभेदको इतिहास पनि त्यस्तै छ ।

मधेसीले आफ्नो पहिचानको मुद्दालाई राजनीतिक एजेन्डा बनाउँदा पनि कतिले राष्ट्र विरोधीको खेमामा राखेर हेर्न थाल्छन् । तत्कालीन तराई कांग्रेस र सद्भावना पार्टीले सङ्घीयता र पहिचानको मुद्दा उठाउँदा निकै आलोचित हुने गरेका थिए ।

पहिलो र दोस्रो मधेस आन्दोलनका कारण देशमा सङ्घीयताको सुरूवात भयो । मधेस विद्रोह पहिचानको विद्रोह थियो । सबै पहिचानवादीको लडाइँ थियो, त्यो । तर, राज्यले त्यसलाई दबाउन खोज्यो । धेरै मधेसी मारिए । पहिचान देऊ भन्दा गोली दागियो । राज्यले विभेद गर्ने तरिका त फेरियो तर, विभेद रोकिएन् । कैयन् मधेसीको सहादतपछि आठ जिल्ला मधेस बन्यो । थोरै भए पनि मधेसले पहिचान पाएको अनुभूति गर्‍यो ।

अन्त्यमा, विभेद गर्नेको लागि केही शब्द । हामीलाई पनि भयरहित नागरिक भएर बाँच्न दिनुस् । तपाईंंहरूजतिकै खाँटी नेपाली हौँ हामी पनि । मधेसको इतिहास खोतल्नुस् । हामी पनि तपाईंहरूजतिकै पुरानो र शुद्ध नेपाली हौँ भन्ने थाहा पाउनुहुन्छ ।

नेपाली भाषा बोल्ने मात्र नेपाली होइनन्, नेपालमा सयौं भाषा बोलिन्छन् । ती अन्य भाषीहरू पनि नेपाली नै हुन् । मधेसीलाई गैरनागरिक सोचेर तत्कालीन राज्यले गरेको गल्ती नदोहोर्‍याउनुस् । दौरा-सुरुवाल लगाउने मात्र नेपाली होइनन्, धोती लगाउने मधेसी पनि नेपाली नै हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register