निर्वाचन अखिल क्रान्तिकारीको, प्रतिस्पर्धा नेताहरूको !

२२औं सम्मेलनले अध्यक्ष छान्न सकेको थिएन । २०७४ भदौमा भएको उक्त सम्मेलनले अध्यक्ष छान्न नसकेपछि पछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नै अध्यक्षमा पञ्चा सिंह भनेर घोषणा गरेका थिए ।

Sep 25, 2024 - 11:33
 0
निर्वाचन अखिल क्रान्तिकारीको, प्रतिस्पर्धा नेताहरूको !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)को २३औं सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुँदैछ ।

सम्मेलन नजिकिएसँगै नेतृत्व (अध्यक्ष)का आकाङ्क्षी थपिँदै छन् । अध्यक्षमा डेढ दर्जनभन्दा बढी नेताले आकाङ्क्षा राखेका छन् । धेरै आकाङ्क्षी भए पनि मुख्यगरी चार उपाध्यक्ष र महासचिवलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

उपाध्यक्षहरू नरेश शाही, पवन कार्की, मदन भूल र जीपी मैनाली तथा महासचिव दीपेश पुन अध्यक्षको दौडमा अगाडि देखिन्छन् । २३औं सम्मेलनबाट यिनै पाँच जनामध्ये एकजना अध्यक्ष बन्ने सम्भावना देखिन्छ ।

यी विद्यार्थी नेतालाई पार्टीका कोही न कोही पदाधिकारी/नेताहरूले बोकिरहेका छन् । मातृपार्टीमा जस्तै क्रान्तिकारीमा पनि गुटगत राजनीति छ ।

यसरी हेर्दा अध्यक्षका आकाङ्क्षी नरेश शाहीलाई पार्टी महासचिव देवप्रसाद गुरुङको समर्थन रहेको छ । साथमा उनलाई उपाध्यक्ष पम्फा भुसालले पनि समर्थन गरेको बताइन्छ ।

विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट उठाउन, विद्यार्थी आन्दोलनलाई पुनर्परिभाषित गर्न, आन्दोलनका रचनात्मक आयामहरू विकास गर्न, ‘जेन जेट’तर्फ लक्षित विद्यार्थी सङ्गठन विस्तार गर्नका लागि आफ्नो उम्मेदवारी भएको शाही बताउँछन् । लेख, पढमा बढी समय बिताउने शाहीलाई एक बलियो उम्मेदवारीका रूपमा लिइएको छ ।

यस्तै पवन कार्की वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट मानिन्छन् । उनले विद्यार्थी आन्दोलनलाई भरलाग्दो बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

“मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनु हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो,” उनले भनेका छन् ।

मदन भूल भने उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् । उनलाई सङ्गठनकी वर्तमान अध्यक्ष पञ्चा सिंहले पनि समर्थन गरेकी छन् । उनले अध्यक्षमा सशक्त दाबी रहने बताए ।

भूलले भने, “मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनको सशक्तीकरणका लागि हो । पिछडिएको क्षेत्र र पिछडिएको वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व पनि मैले गर्ने भएकाले अध्यक्षमा सशक्त दाबी रहन्छ ।”

जीपी मैनाली पनि एक सशक्त दाबेदार हुन् । उनले आफूलाई नि:सन्देह अध्यक्षका दाबेदार भनेका छन् । सङ्गठनमा १६ वर्षयता काम गरेको उल्लेख गर्दै उनले भने, “एकाइ कमिटीको अध्यक्षदेखि यो सङ्गठनका सबै पदमा बसेर काम गरेको अनुभव छ मेरो । मलाई यो पद चाहिन्छ, म मात्रै सङ्गठन हाँक्न सक्छु भन्नु गलत हो ।”

उनले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै समर्थन रहेको दाबी गरेका छन् ।

दीपेश पुन अर्का उपमहासचिव वर्षमान पुननिकट हुन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरासमेत रहेका उनले विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने बताइरहेका छन् ।

तर, उनी विवादित छन् । विभिन्न काण्डमा मुछिएका उनलाई ‘बाइपास’ गरेर जानुपर्ने भन्दै सङ्गठनभित्र कतिपय विद्यार्थी नेता आवाज उठाइरहेका छन् ।

जे होस्, यिनै पाँच जनामध्ये कुनै एकजना अध्यक्ष बन्ने सम्भावना देखिन्छ । निर्वाचनमा कसको पल्लाभारी हुन्छ, हेर्न बाँकी छ । तर, नेतापिच्छेका उम्मेदवार हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गाह्रो छ ।

चुनाव क्रान्तिकारीको, प्रतिस्पर्धा केन्द्रीय नेताहरूको !

बहालवाला अध्यक्ष पञ्चा सिंहले आगामी नेतृत्व प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छानिने घोषणा गरिसकेकी छन् ।  तर, अवस्था कस्तो भने; चुनाव विद्यार्थीको भए पनि भिड्नेचाहिँ केन्द्रीय नेताहरू ! अर्थात् नेतापिच्छेका उम्मेदवार !

यसरी हेर्दा विद्यार्थीको निर्वाचनमा केन्द्रीय नेताहरूको प्रतिस्पर्धा चल्नेछ । उनीहरू ‘डमी क्यान्डिडेट्स’ जस्ता भएका छन् । उनीहरू उम्मेदवार मात्रै, जे-जे गर्नुपर्ने हो, सबै माथिबाट नेताहरूले गर्नेछन् ।

कसले जित्ला, नतिजा आएपछि थाहा होला । तर, यस्तो विधिले सङ्गठनभित्र र मातृपार्टीभित्रै पनि छँदै/रहँदै आएको गुटगत राजनीतिलाई प्रश्रय दिनेछ ।

प्रचण्डले नै छान्नुपर्ने अवस्था आउला कि !

२२औं सम्मेलनले अध्यक्ष छान्न सकेको थिएन । २०७४ भदौमा भएको उक्त सम्मेलनले अध्यक्ष छान्न नसकेपछि पछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै अध्यक्षमा पञ्चा सिंह भनेर घोषणा गरेका थिए ।

त्यसबेला रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, पञ्चा सिंह, वीरेन्द्र बस्नेत, सुरेन्द्र बस्नेतलगायतले अध्यक्ष पदमा दाबी पेस गरेका थिए । उनीहरू कोही पनि टसमस नभएपछि पार्टी अध्यक्ष प्रचण्डले नै हस्तक्षेप गरेर अध्यक्ष छान्नुपरेको थियो ।

सम्मेलनको दुई वर्षपछि २०७८ असोज १७ गते प्रचण्डले अध्यक्षका दाबेदारलाई खुमलटार नै बोलाएर अध्यक्षमा पञ्चा सिंह घोषणा गरिदिएका थिए । त्यसपछि अरु आकाङ्क्षीलाई पार्टी केन्द्रीय कमिटीमा मनोनीत गरेका थिए ।

आकाङ्क्षीमध्येका सुरेन्द्र बस्नेतलाई भने राष्ट्रिय युवा परिषद्‌मा व्यवस्थापन गरे । यो त भयो, २२औं सम्मेलनको कथा ! अब २३औंमा के हुन्छ ? यसै भन्न सकिन्न ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register