अमेरिकी राष्ट्रपति फेरिँदैछन्, फेरिने छैन चीनसँगको शत्रुता !

विशाल दुई शक्ति चीन र अमेरिकाबीच विश्वमा द्वन्द्व र अराजकता फैलाउन सक्ने खुला सङ्घर्ष होस् भन्ने कसैले पनि चाहेको छैन । तर, अमेरिकी राष्ट्रपतीय निर्वाचन जसले जिते पनि आफूसँग व्यापार, प्रविधि र ताइवान मामलामा जारी तिक्तता रोकिन्छ भन्ने विश्वास चीनलाई नै छैन ।

Sep 25, 2024 - 13:13
 0
अमेरिकी राष्ट्रपति फेरिँदैछन्, फेरिने छैन चीनसँगको शत्रुता !

डोनाल्ड ट्रम्प र कमला ह्यारिसमध्ये कसले चुनाव जित्ला ? यतिबेला दुनियाँको नजर आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा छ । तर, विश्वको पहिलो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनका लागि भने ट्रम्प वा ह्यारिस जसले जित हासिल गरे पनि आफ्ना लागि अमेरिकासँग विद्यमान व्यापार, प्रविधि र ताइवान मामलामा जारी द्वन्द्वको समाधान निस्किन्छ भन्ने आशा देखिँदैन ।

त्यसैले आफूमाथि घेराबन्दी महसुस गरिरहेको चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकासँग दीर्घकालीन शत्रुताको तयारीमा लागिरहेको छ ।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प वा कमला ह्यारिसको जित र त्यसपछिको प्रभावलाई पूरै विश्वले चासोका साथ हेरिरहेको छ । तर, चीनका लागि भने दुवै उम्मेदवार गम्भीर चुनौतीका रूपमा प्रस्तुत भइरहेका छन् ।

विशाल दुई शक्ति चीन र अमेरिकाबीच विश्वमा द्वन्द्व र अराजकता फैलाउन सक्ने खुला सङ्घर्ष होस् भन्ने कसैले पनि चाहेको छैन । तर, अमेरिकी राष्ट्रपतीय निर्वाचन जसले जिते पनि आफूसँग व्यापार, प्रविधि र ताइवान मामलामा जारी तिक्तता रोकिन्छ भन्ने विश्वास चीनलाई नै छैन ।

चीनले अमेरिकासँगको सम्बन्धलाई व्यक्तिको दृष्टिकोणबाट होइन, सिङ्गो देशको दृष्टिकोणबाट हेरिरहेको छ । र, सम्भावित परिस्थितिसँग कसरी जुध्ने भनेर तयारी गरिरहेको छ । विदेश मामिलाको दायराभन्दा बाहिर रहेर चीनले यतिबेला आर्थिक नीति निर्माता, सैन्य कर्मचारी र प्रविधि क्षेत्रको नेतृत्व गरिरहेकाहरूसँग समन्वय गर्नुका साथै देशभरका स्रोतहरू परिचालन गरिरहेको छ ।

हुन त यो अमेरिकाकै नियन्त्रणकारी रणनीतिक दृष्टिकोण हो । विगतमा अमेरिकाले चीनसँगको चुनौतीलाई सामना गर्ने रणतनीतिअन्तर्गत प्रविधिको क्षेत्रमा आफ्नो सर्वोच्चता कायम राख्ने, विश्व बजारमा चीनको पहुँचलाई रोक्ने र एसिया तथा अन्य क्षेत्रका सहयोगीहरूसँग मिलेर चीन विरोधी गठबन्धन निर्माण गर्ने अथक प्रयासहरू गरेकै हो । यतिबेला चीन पनि अमेरिकाबाट आफूमाथि भइरहेको घेराबन्दी तोड्न विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग दीर्घकालीन शत्रुता मोल्ने तयारीमा जुटिरहेको छ ।

चीन यही लक्ष्यका साथ कुनै पनि मूल्यमा आफ्नो आर्थिक ग्राफलाई थप वृद्धि गर्ने बाटे पछ्याउन छाडेर भू-राजनीतिक तनावको सामना गर्नसक्ने लचिलो अर्थतन्त्र निर्माणमा अग्रसर बनेको छ । राष्ट्रपति सी चिन फिङले चिनियाँ उत्पादन र आविष्कारलाई तीव्रता दिएर अर्थतन्त्रको पुनर्संरचना गर्ने र सम्पत्ति क्षेत्रमाथिको अति-निर्भरता कम गर्ने लक्ष्य राखेका छन् । केही दिनअघि सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औं केन्द्रीय समितिको तेस्रो बैठकले यस्तो व्यापक पुनर्संरचना गर्ने सीको प्रस्तावलाई पारित गरेको छ ।

सीको प्रमुख रणनीतिक लक्ष्यमध्ये एक वैज्ञानिक क्षेत्रको प्रगति र प्रविधि क्षेत्रमा गरेको विकासको कौशल हो । चीनले आविष्कारको क्षेत्रमा आफ्नो क्षमता विकास गर्ने कामलाई निकै महत्त्व दिएको छ । साथै, प्रविधिका केही क्षेत्रमा विश्व च्याम्पियन बन्न दृढ भएर मेहनत गरिरहेको छ । तर, चिनियाँ प्राविधिक कम्पनी र व्यक्तिविरुद्ध अमेरिकाले थोपरेको प्रतिबन्धले यी प्रयास विफल बनाएको छ । यद्यपि, चीन आफ्नो उद्देश्यअनुसार काम गरिरहेको नै छ ।

व्यापार र लगानीलाई परम्परागत हिसाबमा चीन-अमेरिका सम्बन्धलाई स्थिरता दिने शक्ति र अस्त्रको रूपमा हेरिएको छ । तर, चिनियाँ नेताहरूले अब यसमा खासै जोड दिन छाडिसकेका छन् । किनभने व्यावसायिक प्रतिस्पर्धामा वृद्धि र देशको ‘न्यून निर्यात मोडल’ लाई ‘उच्च प्राद्योगिक तवरले सञ्चालित मोडल’ मा रूपान्तरण गरेका कारण द्विपक्षीय सम्बन्धबाट प्राप्त लाभमा अत्यधिक गिरावट आइरहेको छ । यसैको एउटा नमूना हो, सुविधा सम्पन्न विद्युतीय सवारी (ईभी) को उत्पादनमा चीनको तीव प्रगति । ईभीको उत्पादनमा चीनको द्रुत प्रगतिकै कारण उसको अमेरिकासँगको व्यापारमा तनाव बढाएको सत्य हो ।

अमेरिका-चीन सम्बन्धमा अझै पनि सबैभन्दा संवेदनशील मुद्दा ताइवान हो । चिनियाँ रणनीतिकारहरूले स्वतन्त्रत ताइवान पक्षधर नयाँ सरकारलाई शङ्काको दृष्टिले हेरिरहेका छन् । यसै कारण चीनले ताइवान मामलामा अमेरिकाविरुद्ध थप सक्रिय भूमिका खोज्ने निश्चित छ । अर्कोतिर अमेरिकाले पनि चीनविरूद्ध ताइवानलाई उकास्ने र प्रतिरोधका लागि सैन्य सामग्रीसमेत सहयोग गरिरहेको छ । त्यसैले सम्भावित परिस्थितिको आकलन गरी त्यसलाई रोक्न चिनियाँ राष्ट्रपति सीले आगामी नोभेम्बरमा अमेरिकी मतदाताले चुन्ने ट्रम्प वा ह्यारिस जो कोहीसँग नियमित वार्ता गर्नुपर्ने हुन्छ ।

यतिबेला चीनको मुख्य लक्ष्य अमेरिकासँगको सम्बन्धमा कुनै पनि प्रकारको गिरावट आएकै कारण आर्थिक वृद्धिमा बाधा पर्न नदिने अवस्थाको सुनिश्चितता गर्नु हो । त्यस्तो हुन सकेन भने यसले चिनियाँ शासकको वैधानिकतालाई कमजोर बनाउने छ । चिनियाँ नीति निर्माताहरू विशेषगरी ‘ग्लोबल साउथ’मा आफ्नो आर्थिक र राजनीतिक प्रभाव विस्तार गरेर अमेरिकासँगको सम्बन्ध बिग्रेका कारण उत्पन्न हुने क्षति कम गर्ने प्रयासमा लागि रहेका छन् । यसले चीनलाई अर्थतन्त्रमा लचिलोपन निर्माण गर्न र प्रविधिमा विकासको गतिलाई तीव्र बनाउन समय मिल्नेछ ।

चुनावी दौडका क्रममा नै ट्रम्प र ह्यारिस चीनविरुद्ध कडा ढङ्गले प्रस्तुत भइरहेका बेला चिनियाँहरू अमेरिकासँगको खराब सम्बन्धमा जादुयी ढङ्गले सुधार होला भन्ने भ्रममा पक्कै पनि छैनन् । तर, चीन-अमेरिका सम्बन्धमा अत्याधिक निराश हुन पनि जरुरी छैन ।

अमेरिकाप्रति चीनको नीति सधैँ अन्तर्राष्ट्रिय परिस्थिति र आफ्नै राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सन्तुलित विचार र विमर्शकै बाटोबाट सञ्चालन हुने गरेको छ । र, भविष्यमा पनि जारी रहने आशा गर्न सकिन्छ । वर्तमान राष्ट्रपति सीको नेतृत्वमा राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भए पनि विदेश नीति सञ्चालनको त्यो शैलीमा भने अझै परिवर्तन भएको छैन ।

आशावादी हुने अर्को पनि कारण छ । त्यो हो, पछिल्लो समय दुवै पक्षले जिम्मेवारीपूर्वक सम्बन्ध व्यवस्थापन गर्ने कुरामा थप चासो देखाउनु । जबकि चीन-अमेरिका बीचको प्रतिद्वन्द्विता रातारात सुल्झिने विषय होइन । विश्वका दुई ठूला अर्थतन्त्र अझै पनि द्वन्द्वबाट बच्न सक्छन् । जसले गर्दा त्यसपछि आउने भयानक परिस्थितिमा पनि अब ह्वाइट हाउसमा कसले प्रवेश पाउने छ भन्ने कुराले फरक पार्ने छैन र पार्नु हुँदैन ।

(च्याथम हाउसको एसिया-प्यासिफिक प्रोगाममा वरिष्ठ फेलो रहेकी डा. यू च्याको आलेख प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद गरिएको हो )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register