फेवातालमा प्रभाकर-अनन्तको डुङ्गा एउटै !

पार्टीको ८औं राष्ट्रिय महाधिवेशनमा उनीहरूबीच महासचिवका लागि हानथाप चलेको थियो । त्यसबेला प्रभाकर महाधिवेशन हलमै थिए भने अनन्त चीनमा उपचाररत थिए । उनीहरू दुवैले अध्यक्ष प्रचण्डमाथि आफू महासचिव हुनुपर्ने भनेर दबाब बढाएका थिए ।

Aug 26, 2024 - 17:27
 0
फेवातालमा प्रभाकर-अनन्तको डुङ्गा एउटै !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश परामर्श बैठकका क्रममा शीर्ष नेताहरू पोखरा पुगे ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा ‘प्रभाकर’, वर्मषान पुन ‘अनन्त’, सचिवहरू दीनानाथ शर्मा, देवेन्द्र पौडेल, चक्रपाणि खनाललगायत पोखरा पुगे । त्यस क्रममा उनीहरूले फेवातालमा डुङ्गा चढ्न बिर्सिएनन् ।

संयोगवश भनौँ, उपमहासचिवद्वय प्रभाकर र अनन्त सयर डुङ्गा भने एउटै पर्‍यो । धेरैले यसको राजनीतिक अर्थ खोज्ने प्रयास गरेका छन्, उनीहरूले पार्टीभित्रको आन्तरिक राजनीतिसँग जोडेर हेरेका छन् ।

त्यसो त पदीय रूपमा पाँचौँ वरीयतामा भए पनि उनीहरू पार्टीभित्रका प्रभावशाली नेतामध्ये पर्छन् । पार्टीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धमा सशक्त भूमिका खेलेका उनीहरूबीच सुरुवाती चरणबाटै कहिले नरम त कहिले कडा सम्बन्ध रहँदै आएको छ ।

पार्टीको ८औं राष्ट्रिय महाधिवेशनमा उनीहरूबीच महासचिवका लागि हानथाप चलेको थियो । त्यसबेला प्रभाकर महाधिवेशन हलमै थिए भने अनन्त चीनमा उपचाररत थिए । उनीहरू दुवैले अध्यक्ष प्रचण्डमाथि आफू महासचिव हुनुपर्ने भनेर दबाब बढाएका थिए ।

प्रभाकरले यता प्रत्यक्ष रूपमा दबाब बढाउँदा अनन्तले फोनबाट पटक-पटक फोन गरेर प्रचण्डमाथि दबाब बढाउँथे । अन्तत: अवस्था यस्तो बन्यो कि उनीहरूले पार्टीभित्र आपसलाई महासचिवका रूपमा स्वीकार्ने अवस्था नै बनेन । यसपछि अध्यक्ष प्रचण्डले दुवैलाई उपमहासचिवमा थन्क्याएर एकपटक पार्टी त्यागेर फेरि फर्किएका देव गुरुङलाई महासचिव बनाइदिए ।

त्यसयता उनीहरूबीच त्यति असमझदारी देखिँदैन । अझ के भनिन्छ भने पछिल्लो समय उनीहरूबाट धेरै विषयबारे एउटै किसिमका धारणाहरू व्यक्त हुन्छन् । जसै यसको पटाक्षेप पछिल्लो पदाधिकारी र स्थायी समितिको बैठकमा पनि देखिएको थियो ।

स्थायी समिति बैठकमा प्रभाकरले लिखित दस्ताबेज नै पेस गर्दै अनन्तको बचाउ गरेका थिए । उनले दस्ताबेजमा नेतृत्व (अध्यक्ष) बाटै कहिले आफ्नो त कहिले अनन्तको नाममा भ्रम फिँजाउने काम भएको बताएका थिए ।

सँगैमा प्रभाकरले नेतृत्व हस्तान्तरणको विषयसमेत दह्रोगरी उधिनेका थिए । प्रभाकरले उठाएका यी विषयहरूलाई अनन्तले पनि अस्वीकार गरेका छैनन् । स्थायी समिति बैठकमा धारणा राख्दै गर्दा अनन्त पनि प्रभाकरकै वरिपरि देखिन्थे ।

त्यसो त जनयुद्धयता नै अनन्त अध्यक्ष प्रचण्डका विश्वासपात्र ठहरिन्छन् । अध्यक्ष प्रचण्डको निर्णय र भनाइमा उनले सोझै विमति राख्दैनन् । तर, प्रभाकर भने अध्यक्ष प्रचण्डसँग कहिलेकाहीँ ‘मुखमुखै’ लाग्न पनि पछि पर्दैनन् । प्रचण्ड र प्रभाकरबीच कहिलेकाहीँ सार्वजनिक कार्यक्रमकै बीच ‘भनाभन’ हुन् ।

तर, पछिल्लो समय प्रभाकर-अनन्तबीच पार्टीका आन्तरिक प्राय: विषयमा एकमत रहने गरेको प्रभाकर निकट एक नेता नेपालभ्युजसँग बताउँछन् । ती नेताले भने, “जनार्दन दाइ र वर्षमान दाइबीच राय बाझिँदैन । पछिल्लो समय त त्यो क्रम झन् घटेको छ । खासगरी पार्टीका आन्तरिक विषयमा उहाँहरू झन् एउटै बुझाइमा हुनुहुन्छ जस्तो लाग्छ ।”

तर, प्रभाकर-अनन्तले फेवातालमा डुङ्गा सँगै चढ्नुलाई चाहिँ ती नेता संयोग मात्रै मान्छन् । “अब फेवातालमा डुङ्गा सँगै चढ्नुचाहिँ संयोग मात्रै हो । त्यसमा थप राजनीतिक रूपमा अर्थ्याइराख्न नपर्ला,” ती नेता भन्छन् ।

यसलाई संयोग मात्रै मान्ने हो भने पनि त्यो गजबकै संयोग भने पक्कै हो । पार्टीभित्रका प्राय: विषयमा एउटै कित्तामा उभिनु र फेवातालमा एउटै डुङ्गामा बस्नु कम गजबको संयोगचाहिँ होइन ।

उसो त प्रभाकर-अनन्त पार्टीभित्र आफ्नै गुट चलाउने नेता हुन् भनेर भनिन्छ । उनीहरूको प्रभावकारिता, प्रभावशालिता र तौरतरिका हेर्दा होइन भन्न पनि सकिँदैन तर, फेरि उनीहरूका मान्छे को-को हुन् भनेर छुटाउन पनि सकिँदैन । यति कुरा; उनीहरू पार्टीभित्र प्रभावशाली नेता भने पक्कै हुन् ।

उनीहरूलाई यदाकदा पार्टीका उत्तराधिकारीका रूपमा समेत अर्थ्याइन्छ । तर, अध्यक्ष प्रचण्डले भने पार्टीभित्र कसैले गरिखालान् जस्तो नलागेको बताउने गरेका छन् । उत्तराधिकारी घोषणा गरेर माओले झैँ गल्ती नगर्ने दोहोर्‍याउँदै आएका प्रचण्डलाई प्रभाकर-अनन्त मिल्ती भने झेल्न गाह्रै पर्ला ।

प्रभाकर-अनन्त थप मिल्लान् नमिल्लान्, प्रचण्डले त्यसको सामना गर्नुपर्ला नपर्ला, हेर्न बाँकी छ । पेरिसडाँडादेखि फेवातालसम्म पुग्दा जे-जे भयो, देखियो त्यसको परिणाम पनि हेर्न बाँकी छ ।

तर, पार्टी निर्णायक मोडमा पुगिरहेको बेला उनीहरू मिलेर आन्तरिक केही गर्नसक्ने म्भावनालाई नकार्न भने कसैले सक्दैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register