कविता : खोला–१
बगिरहेछ देश पसिना भएर आँसु र रगत भएर घोल्दै घोल्दै मान्छेको सम्पूर्ण अस्तित्व हरेक दिन रुँदै रुँदै ।
बगिरहेको छ बलात्कृतका घाउहरू, रगतहरू
तेजाबसहित घोलिएको कुमारी, किशोरीका अनुहारहरू
उखु किसानका पीडा र पसिनाहरू
मिटरब्याजी, सहकारी पीडितका आँसुहरू
पश्चिम एसियामा अपहृत विपीन जोशीका मातापिताका सुस्केरा
वा युक्रेन युद्धमा लडिरहेका परिवारका आशाहरू
खोला हैन पूरै युद्ध र आतङ्क बगिरहेको
खोलामै बगे जस्तो लाग्ने
खाडी, कोरियाका श्रमिकका विशृङ्खलित परिवार
सुकुम्बासी, पहराका चेपमा बसेका दुःखित मान्छे
घरहरू, छाप्राहरू, जग्गा, अन्न सबै बगिरहेका खोलामा
बगिरहेको, बाढी बनेको दृश्य हेर्न
लावालस्कर छ दौरासुरुवाल, बर्दी
संसद्, कार्यपालिका र दलहरू
कठै, खोलासँगै देशको माटो, प्राण र अस्तित्व
बगेको कहिल्यै देख्दैन राज्य
बगिरहेछ देश पसिना भएर
आँसु र रगत भएर
घोल्दै घोल्दै मान्छेको सम्पूर्ण अस्तित्व
हरेक दिन रुँदै रुँदै ।
–––
२०८१ भदौ ५
श्याम रिमाल, विदुर- ८, बगुवा बजार, नुवाकाेट, हालः बुढानिलकण्ठ-१० बेख, निलाेपुल, कपन
What's Your Reaction?