यो पदक मेरो लागि हैन, पूरा देशको लागि हो : पलेशा (भिडिओसहित)

काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक जितेर नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले इतिहास रचेपश्चात आफ्नो पदकलाई सम्पूर्ण राष्ट्र र नेपाली जनतालाई समर्पित गरेकी छिन् । पदक जितेपश्चात पलेशाले आफूलाई समर्थकले दिएको साथ, माया र देखाएको विश्वासका लागि धन्यवाद दिँदै खुसी साटेकी छन् । ‘यो पदक मेरो लागि हैन, पूरा देशको लागि हो […]

Aug 31, 2024 - 09:36
 0
यो पदक मेरो लागि हैन, पूरा देशको लागि हो : पलेशा (भिडिओसहित)

काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक जितेर नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले इतिहास रचेपश्चात आफ्नो पदकलाई सम्पूर्ण राष्ट्र र नेपाली जनतालाई समर्पित गरेकी छिन् ।

पदक जितेपश्चात पलेशाले आफूलाई समर्थकले दिएको साथ, माया र देखाएको विश्वासका लागि धन्यवाद दिँदै खुसी साटेकी छन् ।

‘यो पदक मेरो लागि हैन, पूरा देशको लागि हो । सबै नेपालीको लागि हो । मेहेनत गरेअनुसार राष्ट्रको लागि कास्यपदक जित्न सफल भएका छौँ । हामी गर्वका साथ भन्न सक्छौँ कि पारालिम्पिकमा हामीसँग पनि एउटा पदक छ । यो पदक मबाट आएकोमा म निकै खुसी छु ।’, पेरिसबाट नेपालभ्यूजलाई पठाएको भिडिओ सन्देशमा पलेशाले भनिन् ।

उनले थप भनिन्, ‘सबैले धेरै अपेक्षा गर्नु भएको थियो कि मैले पदक ल्याउन सक्छु । पदक ल्याउन सक्ने क्षमता छ भनेर, म निकै खुसी छु कि उहाँहरुको आशा र समर्थनका बदलामा एउटा ठूलो उपहार दिन पाएको छु ।’

सानै टोली भएपनि एउटा कास्य पदक जितेर नेपालको पारातेक्वान्दो टोलीले आफ्नो क्षमता देखाएको पलेशाले बताइन् ।

पलेशालाई ऐतिहासिक कास्यपदक

‘हामी ३ खेलाडीको साथ सहभागी भएको थियौँ । जसमा पनि हामीले एउटा कास्य पदक ल्याउन सफल भयौं । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले हामी सक्षम भएको दर्शाउँछ । लगानी गरेमा हामीले अझैँ धेरै पदक ल्याउन सक्छौँ भन्ने आशा छ ।’ पलेशाले भनिन् ।

सो यात्रामा साथ दिने आमाबुवा, प्रशिक्षक, नेपाल तेक्वान्दो प्रशिक्षक, पारालिम्पिक समिति, राष्ट्रिय खेलकुद परिषद् र आफ्नो सम्पूर्ण समर्थकलाई पलेशाले धन्यवाद पनि दिइन् ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले भने, ‘सम्पूर्ण नेपालीको जित भएको छ । देशको जित भएको छ । टोकियो पारालिम्पिकमा हामीले पदक ल्याउन सफल भएका थिएनौं । पेरिस पारालिम्पिक २०२४ मा पदक ल्याउन सफल भएका छौँ । यो सम्पूर्ण देशवासीको लागि हो । पलेशाले सबै नेपालीको छाती चौडा र शिर ठाडो पारेकी छिन् । पलेशाप्रति आभार व्यक्त गर्दछु ।’

‘अफिसियलका रुपमा ११ अन्तर्राष्ट्रिय पदक भएपनि ऐतिहासिक पारालिम्पिकको पदक भने बाँकी थियो । हामीले सक्छौँ । नेपालीले देशको लागि पदक ल्याउन सक्छ भनेर पलेशाले उदाहरण दिएकी छिन् । उसले ठूलो इतिहास रचेकी छिन् ।’ उनले थप भने ।

आफूलाई पलेशाको सफलताको पर्दा पछाडिको भाग भन्दै उनले सम्पूर्ण नेपालीलाई बधाईं तथा समर्थनका लागि धन्यवाद पनि दिए ।

पेरिस पारालिम्पिकका टोली प्रबन्धक राम चन्द्र श्रेष्ठले ऐतिहासिक सफलताप्रति खुसी व्यक्त गरे । उनले भने, ‘सम्पूर्ण राष्ट्रको लागि यो गौरवपूर्ण क्षण हो । देशले हिजोको दिनमा सोचेको र पाउनको लागि धेरै संघर्ष गर्नु परेको थियो । हाम्रो खेलाडी पलेशा गोवर्धनले विश्वसामू देशको शिर उच्च गराउन सफल भएकी छिन् ।’

उनले पदकको विशेष श्रेय पलेशा र प्रशिक्षक लामालाई जाने पनि बताए । पलेशाको टर्की, चीलगायतको अन्तर्राष्ट्रिय खेलहरुमा प्रबन्धकको भूमिका रुपमा पनि आबद्ध भएकोले सफलताको यात्राको भाग हुन पाउँदा आफू निकै खुसी भएको श्रेष्ठले बताए ।

फ्रान्सको पेरिसमा पेरिस २०२४ पारालम्पिक गेम्स्‌मा सहभागी हुनु अघि नेपाली पारातेक्वान्दो टोलीले इंग्ल्याण्डको म्यान्चेस्टरमा प्रशिक्षण पनि गरेको थियो ।

पलेशा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा टोकियो पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् ।

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् । पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्यपदक विजेतासमेत हुन् । पलेशासँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ ।

भिडिओ-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register