धुलिखेलको पतञ्जली अस्पताल र क्याम्पसमा विद्यार्थीले लगाए ताला, इन्टर्न भत्ता दिनुपर्ने माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् । क्याम्पसले इन्टर्नसिप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थी कलेज र सम्बन्धित अस्पतालमा समेत तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ साथै परिषद्द्वारा दर्ता […]

Sep 4, 2024 - 06:49
 0
धुलिखेलको पतञ्जली अस्पताल र क्याम्पसमा विद्यार्थीले लगाए ताला, इन्टर्न भत्ता दिनुपर्ने माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् ।

क्याम्पसले इन्टर्नसिप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थी कलेज र सम्बन्धित अस्पतालमा समेत तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ साथै परिषद्द्वारा दर्ता आयुर्वेद क्याम्पस किर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ ।

पतञ्जली कलेजले भने भत्ता नदिने भनेपछि आफूहरू आन्दोलित बन्नुपरेको विद्यार्थीले बताएका छन् ।

क्याम्पस प्रशासनलाई विद्यार्थीले २ माघ २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्रको स्मरण पनि गराएका छन् । मन्त्रालयका सचिवको अध्यक्षमा २६ पुस २०८० मा बसेको बैठकले आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधा (निर्वाह भत्ता)मा विविधता देखिएको भन्दै सबै शिक्षण संस्थाहरूमा सो सेवा सुविधाहरू न्यूनतम सरकारी सरह कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न भनेको थियो । सो निर्णयअनुसारको परिपत्र २ माघमा जारी गरिएको थियो ।

तर, मन्त्रालयको निर्णय मान्न तथा संस्कृत विश्वविद्यालयअन्तर्गतकै अन्य क्याम्पसले इन्टर्न डाक्टरलाई दिइरहेको सेवा सुविधा उपलब्ध गराउन पतञ्जलीले आनाकानी गरेको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।

आयुर्वेद चिकित्सा परिषद् नेपालले बीएएमएस तृतीय प्रोफेसनल उत्तीर्ण गरी अस्थायी दर्ता पत्र पाएका इन्टर्नसिप डाक्टरलाई कार्यकालभर अधिकृत आठौं तहका लागि नेपाल सरकारले तोकेअनुसार तलबको आधा रकम जीवन निर्वाह भत्ताको रूपमा दिनुपर्ने व्यवस्था गरेको छ । यसै प्रावधानअनुसार, आयुर्वेद क्याम्पस किर्तिपुर, दाङको संस्कृत विश्वविद्यालयले इन्टर्नसिप अवधिभर मासिक २४ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता प्राप्त गर्दै आएका छन् ।

तर, पतञ्जली आयुर्वेद मेडिकल कलेजले यो निर्णय कार्यान्वयन गरेको छैन । बरु आफूहरूलाई विभिन्न बहाना गर्दै अल्टार्ने र झुलाउने काम गरिरहेको एक विद्यार्थीले बताए । ‘यत्रो राशि र समय लगाएर पढेका छौं, कलेजले भनेका सबै शुल्क बुझाएका छौँ’, ती विद्यार्थीले भने, ‘आयुर्वेदमा स्नातक गरेपछि एक वर्ष इन्टर्न गर्नुपर्छ, यो भनेको काम नै हो । यसबापत् हामीले अतिरिक्त केही मागेका पनि होइनौँ, नियमअनुसार पाउनुपर्ने सुविधा मागेका हौँ ।’

इन्टर्न गर्दासमेत कलेजले विद्यार्थीलाई नै खर्च गराउन खोज्नु अन्यायपूर्ण भएको उनले बताए । ‘एउटै छातामुनि रहेका अरु कलेजका हामीजस्तै विद्यार्थीले सुविधा पाउने, हामीले चाहिँ नपाउने ? सम्बन्धित मन्त्रालय र नियामक निकायको यसमा गम्भीर ध्यानाकर्षण होस् भन्ने हामी चाहन्छौँ ।’

१४ भदौमा विद्यार्थी समूहले भत्ता उपलब्ध गराउने विषयमा लिखित निर्णय दिन भन्दै कलेज प्रशासनलाई पत्र लेखेका थिए । पत्रपछि १६ भदौमा वार्ता भए पनि निष्कर्षविहीन बन्यो । तर, कलेज नेतृत्वले आश्वासन दिएर आन्दोलन असफल पार्ने रणनीति लिएको ती विद्यार्थीको भनाइ छ ।

विद्यार्थीहरूले कलेजको प्रमुख कार्यालय पतञ्जली योगपिठ मण्डीखाटारलाई पनि पत्र लेखेर ध्यानाकर्षण गराएका थिए । त्यहाँबाट समेत जवाफ नआएपछि १७ गतेदेखि क्याम्पस र अस्पतालमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थी समूहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले पतञ्जली कलेजको प्रशासन शाखा, प्राचार्य कक्ष एवम् पतञ्जली शिक्षण अस्पतालमा लगाएको ताला माग पूरा नभएसम्म नखोल्न अडान लिएका छन् ।

यो क्याम्पसमा चार महिनाअघि परीक्षाको मुखमा पनि विद्यार्थी आन्दोलित बनेका थिए । प्रयोगात्मक परीक्षाका लागि विद्यार्थीबाट शुल्क उठाए पनि क्याम्पसले संस्कृत विश्वविद्यालयलाई नदिएपछि परीक्षा नै अनिश्चित बनेको थियो । यसका लागि समेत विद्यार्थीले आन्दोलन गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register