घट्दै खर्च गर्ने पर्यटक, यो वर्ष १६ लाख सङ्ख्या नपुग्ने निश्चित

काठमाडौं । कोरोनाकालमा थलिएको नेपालको पर्यटन क्षेत्र विस्तारै उकासिँदो अवस्थामा छ । बाह्य पर्यटकको पर्खाइमा रहेका होटेल तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्दैछ । सरकार पर्यटकको सङ्ख्या बढाउने योजना बनाउँदै बसेको छ । चालु अंग्रेजी वर्षमा सरकारले १६ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यद्यपि, नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार ८ महिनामा ७ लाख पर्यटक नेपाल […]

Sep 11, 2024 - 06:51
 0
घट्दै खर्च गर्ने पर्यटक, यो वर्ष १६ लाख सङ्ख्या नपुग्ने निश्चित

काठमाडौं । कोरोनाकालमा थलिएको नेपालको पर्यटन क्षेत्र विस्तारै उकासिँदो अवस्थामा छ । बाह्य पर्यटकको पर्खाइमा रहेका होटेल तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्दैछ । सरकार पर्यटकको सङ्ख्या बढाउने योजना बनाउँदै बसेको छ ।

चालु अंग्रेजी वर्षमा सरकारले १६ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यद्यपि, नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार ८ महिनामा ७ लाख पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ५ हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल आएका थिए । आकडा हेर्दा गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या वृद्धि हुने देखिएको छ ।

बाह्य पर्यटकको १० वर्षे ग्राफ


तथ्याङ्क नियाल्ने हो भने १० वर्षमध्ये सन् २०१९ मा सर्वाधिक पर्यटक नेपाल घुम्न आएको देखिन्छ । उक्त अवधिमा झन्डै १२ लाख पर्यटक नेपाल आएका थिए । त्यस्तै, दश वर्षमा सबैभन्दा कम पर्यटक सन् २०२१ मा आएका छन् । जुन समयमा देश कोरोना महामारीबाट आक्रान्त थियो । २०२१ मा नेपाल आउने पर्यटकको कुल सङ्ख्या १ लाख ५० हजार मात्रै छ ।

लक्ष्यअनुरूप पर्यटक बढाउन चुनौती

सरकारको घोषणाअनुरूप १६ लाख बाह्य पर्यटक नेपाल भित्र्याउन ठूलो चुनौती छ । वर्षको ८ महिनामा सात लाख पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । सरकारको घोषणाअनुरूपकै कुरा गर्ने हो भने अझै लक्ष्य भेट्न ९ लाख पर्यटक नेपाल ल्याउनुपर्ने हुन्छ । जबकि समय भने ४ महिना पनि बाँकी छैन ।

काठमाडौंको ठमेल घुम्दै बाह्य पर्यटक ।

छैनन् गुणस्तरीय पर्यटक

नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या विस्तारै उकालो लाग्दै गर्दा गुणस्तरीय (खर्च गर्ने पर्यटक) पर्यटक घटिरहेका छन् । सन् २०२३ मा नेपाल आएका पर्यटकले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलर (करिब ५,४०० नेपाली रुपैयाँ) रहेको थियो ।

सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेको तथ्याङ्क छ । त्यस्तै, कोभिड महामारीका कारण अनिवार्य क्वारन्टिनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म विदेशी पर्यटकको खर्च पुगेको बताइन्छ ।

काठमाडौंको ठमेलमा घुम्दै बाह्य पर्यटक ।

त्यसअघि पनि नेपाल आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको विभिन्न तथ्याङ्कमा भेटिन्छ । वर्तमान अवस्थामा नेपाल भ्रमणमा आउने पर्यटकको खर्च प्रतिदिन ४१ डलर रहेको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराम लामिछाने बताउँछन् ।

यही तथ्याङ्क हेर्दा पनि नेपालमा पछिल्लो समय पर्यटक बढे पनि खर्च गर्ने पर्यटक भने घटिरहेका छन् ।

केही देशमा पर्यटकले न्युनतम गर्नै पर्ने खर्च तोकिएका छन् । जस्तै, भुटानमा घुम्न जाने पर्यटकले सिजनमा दैनिक २५० अमेरिकी डलर र अफसिजनमा दैनिक २०० अमेरिकी डलर खर्च गर्नैपर्ने हुन्छ । तर, नेपालमा भने त्यस्तोखाले सीमा छैन । पर्यटकले आफूले चाहेअनुरूपको खर्च गर्न पाउँछन् ।

बजेटमा पर्यटन

आव २०८०/८१ को बजेटमा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि ११ अर्ब ९१ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । जसमा पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रदान गरिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पार्ने, निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न पर्यटकीय गन्तव्यमा यातायात सञ्चालन गर्नेलगायतका योजनाहरू छन् ।

जोखिमयुक्त क्षेत्रमा पर्यटक उद्धार केन्द्र स्थापना गरिने, वेडिङ हब र बर्थिङ हबको रूपमा स्थापना गरिने र अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्वाधार मर्मत र निर्माण गरिनेलगायतका विषय समेटिएका छन् ।

पर्यटक बढाउने सरकारी योजना

पर्यटक सङ्ख्या बढाउन सरकारले विभिन्न योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएको जनाएको  छ ।

बाह्य पर्यटकलाई स्वागत गरिँदै ।

पर्यटन बोर्डबाट सयवटा पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माण गरिरहेको विभागले जनाएको छ । त्यस्तै, पर्यटकीय गन्तव्यको विकास, विस्तार, पहिचान, पदमार्ग निर्माण तथा पर्यटकीय उपजबारे स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिने क्रम चलिरहेको मन्त्रालयको दाबी छ ।

‘पर्यटन बोर्डको चारवर्षे योजना स्पष्ट छ’

नेपाल पर्यटन बोर्डको चारवर्षे स्पष्ट योजना आफूले लिएर आएको नवनिर्वाचित सीईओ दीपकराज जोशी बताउँछन् । बोर्डको प्राथमिक दायित्व पर्यटक सङ्ख्या बढाउनु रहेको उनको भनाइ छ ।

पर्यटन बोर्डका सीईओ दीपकराज जोशी ।

“हामीसँग चारवर्षे स्पष्ट कार्य योजना छ, पहिलो प्राथमिकता बाह्य पर्यटकको सङ्ख्या बढाउने हो,” जोशी भन्छन्, “त्यसका लागि व्यापक रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवर्द्धनमा केन्द्रित गर्नेछु ।”

जोशी आफ्नो कार्यकालमा कुन वर्ष के काम गर्ने र त्यसबाट के उपलब्धि हासिल गर्न सकिन्छ भन्ने खाका चाँडै सार्वजनिक गर्ने बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register