एमालेविरुद्ध शृङ्खलाबद्ध ‘हमलाकर्ता’ बालेन पार्टी बनाउँदैछन् ? 

जे होस्, बालेनले पार्टी गठन गर्नुपर्छ भन्ने युवा जमात ठूलै छ । बालेनले त्यो जमातलाई मान्छन् कि मान्दैनन् हेर्न बाँकी छ तर, सबैभन्दा बढी सङ्गठित सदस्य भएको एमाले र एमाले नेताहरूविरुद्धको उनको शृङ्खलाबद्ध ‘हमला’ यतिकै होइन भन्दा अस्वाभाविक नहोला !

Sep 5, 2024 - 14:45
 0
एमालेविरुद्ध शृङ्खलाबद्ध ‘हमलाकर्ता’ बालेन पार्टी बनाउँदैछन् ? 

काठमाडौं । २०७९ भदौ ९ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ऊर्फ बालेनले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर मात्रै चलाएनन्, कम्प्लेक्सका मालिक द्विराज शर्मासँग मुखामुख नै भयो । शर्माले कम्प्लेक्सको नक्सा खोजेपछि बालेनले चिढिँदै भनेका थिए— तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

शर्मा नेकपा (एमाले) निकट हुन्, एमाले नेताहरूसँग उनको बाक्लै उठबस हुन्छ । यहीकारण उनको अनधिकृत संरचनामा डोजर चलेपछि एमाले नेताहरू बालेनविरुद्ध खनिएका थिए । त्यसयता बालेनविरुद्ध एमाले र एमालेविरुद्ध बालेन हुँदै आएको छ ।

यसपछि थापाथली सुकुम्वासी वस्ती प्रकरण, न्यूरोड फुटपाथ विस्तार प्रकरण, गिरीबन्धु टी-स्टेट प्रकरण, एमाले सांसद रेखा शर्मा प्रकरण हुँदै महानगरभित्रका नदी किनारका दायाँ-बायाँ २० मिटरसम्म संरचना बनाउन पाइने कि नपाइने भन्ने प्रकरणसम्म आइपुग्दा एमाले-बालेनबीचको विवाद चरमोत्कर्षतिर उन्मुख छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपप्रमुख सुनिता डंगोल ।

महानगरमा उपप्रमुखको जिम्मेवारी एमालेबाटै निर्वाचित सुनिता डंगोलले सम्हाल्दै आएकी छिन् । पछिल्लो समय त उनीहरूबीच राम्रो मिल्ती छैन । कार्यपालिका बैठकमा उनीहरू आपसको प्रतिवादमा उत्रिन थालेका छन् ।

त्यसो त बालेन एमाले नेताहरूलाई ‘ठोक्न’ कुनै आइतबार कुर्दैनन् । लामा-लामा स्टाटस लेखी एमाले नेताहरूको फोटो नै राखेर २१ लाखभन्दा बढी फलोअर्स भएको आफ्नो आधिकारिक फेसबूकमार्फत उनले विभिन्न प्रकरणहरू सार्वजनिक गरिरहन्छन् । पछिल्लोपटक एमालेका लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माको सवालमा पनि बालेनले त्यही गरेका थिए ।

रोचक कुराचाहिँ के भने बालेन अक्सर एमाले र एमाले नेताहरूप्रति नै बढी आक्रामक देखिन्छन् । तर, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, जसपालगायतका दलका नेताहरूप्रति उनी त्यति आक्रामक देखिँदैनन् ।

किन त ? एकथरीको बुझाइ छ कि बालेन एमालेप्रति तीव्र हमला गर्न चाहन्छन्, उसका कर्तुतहरू एक/एक सार्वजनिक गर्न चाहन्छन् । किनकि बालेन २०८४ को निर्वाचनमा पार्टी गठन गरेरै अगाडि बढ्न चाहन्छन् । त्यसका लागि सबैभन्दा बढी सङ्गठित सदस्य रहेको एमालेका एक/एक गल्ती उनी औँल्याउन र जनतामाझ पुर्‍याउन चाहन्छन् ।

जसै बालेनले पार्टी बनाउँदैछन् भन्ने चर्चा अहिलेबाट होइन, उनी काठमाडौं महानगरपालिकाका मेयर निर्वाचित हुँदाबित्तिकैदेखि चलेको हो । उनले कहिलेकाहीँ त्यही लाइन पक्रेर स्टाटससमेत लेखिरहन्छन् । २०८० मंसिर १३ गते बुधबार उनले एउटा स्टाटस लेखेका छन्—

देश बन्छ
तिमीहरूको ८४ ले बन्दैन
तिमीहरूको ८४ सकिएर बन्छ
तिमीहरूलाई सकाएर बन्छ !

बालेनले भनेको ‘तिमीहरू’ पुराना तथा ठूला दलहरू हुन् । त्यसमा पनि जुन दलहरूले मिसन-८४ सञ्चालन गरिरहेका छन् । त्यो दल स्वाभाविक रूपमा एमाले नै हो । यति कुरा, बालेन पार्टी बनाउने छनक दिइरहन्छन् ।

अत: अपुष्ट जानकारी के प्राप्त छ भने बालेन २०८४ का तीनै तहको निर्वाचनमा पार्टी बनाएर होमिन चाहन्छन् । त्यसका लागि विदेशमा बस्ने केही युवाहरूले काम गरिरहेका छन् । पार्टी घोषणा हुनुपूर्व उनीहरू नेपाल आउनेछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ।

सँगै यो पनि भनिन्छ कि बालेनले आफ्नो पक्षमा बहुतको माहोल बन्ने अवस्था आउँदा मात्रै पार्टी बनाउनेछन् । अन्थया त्यसो गर्नेवाला छैनन् । यदि आफ्नो पक्षमा बहुमतको माहोल बन्यो भने मात्रै पार्टी घोषणा गर्ने तयारी बालेन टिमले गरिरहेको बताइन्छ ।

एक राजनीतिक विश्लेषकले बालेन र बालेन टिमको योजनाबारे आफूलाई प्राप्त जानकारी भन्दै भन्छन्, “यदि सरकारको नेतृत्व गर्नेगरी निर्वाचनमा सफलता प्राप्त हुने अवस्था बनेन भने ‘पेन्डुलम’ हुनका लागि चाहिँ पार्टी बनाउन नलाग्ने रे ! माहोल बन्यो र पार्टी नै बन्ने भयो भने निर्वाचनको ठीक एक वर्षअघि घोषणा गर्ने कुरा छ रे !”

त्यसो त अहिले बालेन र बालेन टिम बहुमतको माहोल बनाउन लागेको बताइन्छ । त्यसका लागि सबैभन्दा बढी सङ्गठित सदस्य भएको एमालेका एक/एक गल्ती-कमजोरी उधिन्ने र जनतामा एमालेका प्रति एउटा यस्तो ‘न्यारेटिभ’ बनाउने, जसले आफूलाई फाइदा पुर्‍याओस्, जसले आफूलाई पपुलर र एमालेलाई अनपपुलर बनाओस् ।

पछिल्लो संसदीय निर्वाचनलाई आधार मान्दा लोकप्रिय पार्टी एमाले नै हो । उसले समानुपातिकतर्फ २६.६ प्रतिशत मत ल्याउँदा कांग्रेसले २४. ५ प्रतिशत मात्रै ल्याएको छ । यसर्थ, बालेन एमालेका प्रति बढी आक्रामक छन्, किनकि उनी एमालको पपुलारिटी र भोट आफू बटुल्न चाहन्छन् ।

यो तर्कलाई बल पुग्ने एउटा सन्दर्भ हो उपत्यकाका नदी किनारमा अवस्थित सुकुम्वासी वस्ती हटाउने कि नहटाउन भन्ने सन्दर्भ । ती सुकुम्वासी वस्तीमा बढीभन्दा बढी एमालेका भोटर छन् । जुन एमाले संरक्षण गर्न चाहन्छ भने बालेन हटाउन चाहन्छन् ।

खैर, एमालेविरुद्ध हमला गर्नका लागि बालेन फेसबूकको सहरा लिन्छन् । उनी बारम्बार एमाले नेताहरूका प्रति जाइलाग्छन् । बालेनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल यसबारे अनभिज्ञता प्रकट गर्छन् ।

“यो विषय राजनीतिक हो, कानूनी होइन । हामीले त कानूनी सल्लाह दिने हो । मैले के लेख्ने, कसरी लेख्ने, कोही कसैका प्रति प्रतिवाद गर्नका लागि सुझाव दिएको छैन, दिन्नँ । म कानूनी मान्छे हुँ, राजनीतिक होइन,” सल्लाहकार अर्यालले भने, “निरन्तर उहाँहरू किन त्यसरी आरोप-प्रत्यारोपमा उत्रिनुहुन्छ, थाहा छैन ।”

उहाँ (बालेन) एमालेप्रति नै किन बढी आक्रामक हुनुहुन्छ ? त्यसखाले आरोप त अरु दल तथा नेतामाथि पनि छन् नि ? भन्ने थप प्रश्नमा सल्लाहकार अर्यालले त्यही दोहोर्‍याए, “म मान्छेचाहिँ कानूनी परेँ, प्रश्नचाहिँ राजनीतिक भयो ।”

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भने मेयरले पार्टी वा व्यक्तिकेन्द्रित भएर कुनै गतिविधि नगरेको जिकिर गर्छन् । एमाले र एमाले नेताहरूप्रतिको ‘प्रहार’बारे जिज्ञासा राख्दा सचिव भूपदेव भन्छन्, “यो खाली विधिको शासन मान्ने कि नमान्ने भन्ने कुरा हो । कुनै दलविशेष र कोही नेताविशेष भएर उहाँले केही गतिविधि गर्नुभएको छैन । उहाँको प्रहार काम गर्दै जाँदा ठोकिन आउनेहरूलाई हो ।”

सचिव भूपदेव बालेनले पार्टी बनाएर अगाडि बढ्नेबारे नसोचेको दाबी गर्छन् । “उहाँले पार्टी बनाएर अगाडि बढ्नेबारे सोच्नुभएको छैन । तयारी पनि केही छैन,” उनले भने, “जनताले दिएको म्यान्डेअनुरूप काम गर्ने हो । जनताले उहाँलाई अर्को निर्वाचनसम्म सेवा गर्न भनेका हुन्, उहाँले त्यसबाहेक केही सोच्नुभएको छैन ।”

जे होस्, बालेनले पार्टी गठन गर्नुपर्छ भन्ने युवा जमात ठूलै छ । बालेनले त्यो जमातलाई मान्छन् कि मान्दैनन् हेर्न बाँकी छ तर, सबैभन्दा बढी सङ्गठित सदस्य भएको एमाले र एमाले नेताहरूविरुद्धको उनको शृङ्खलाबद्ध ‘हमला’ यतिकै होइन भन्दा अस्वाभाविक नहोला !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register