सांसदको घरमा बालिका ‘नोकर्नी’: सबैले खान्थे मासुभात तर, उनको भाग कुकुरलाई दिइन्थ्यो ! (भिडिओ)

बालिकाले दिएको बयान हृदय विदारक छ— मानसिक र शारीरिक यातना, अनियन्त्रित श्रम । काम बिगार्दा भोग्नुपर्ने पाइपको कुटाई । खान र सुत्न पनि राम्रोसँग नपाउने पीडा । पीडित बालिकाले उद्धारकर्तालाई सुनाएको दुखान्त भोगाइको नालीबेली ।

Sep 5, 2024 - 15:29
 0
सांसदको घरमा बालिका ‘नोकर्नी’: सबैले खान्थे मासुभात तर, उनको भाग कुकुरलाई दिइन्थ्यो ! (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच झगडाको केन्द्रमा छिन्, एमाले प्रदेश सांसद रेखा शर्मा ।

बाल श्रम शोषण जस्तो गम्भीर अपराधमा मुछिएकी शर्माविरुद्ध जाहेरी परे पनि सरकारको दबाबका कारण कुनै अनुसन्धान भइरहेको छैन ।

गम्भीर अपराधमा संलग्न भएको घटनामा पिडकमाथि छानबिन गर्न सरकार नै बाधा बनिरहेको भन्ने महानगरको आरोप छ ।

अवोध बालिका त्यो पनि नारकीय जीवन बिताइरहेको ठाउँबाट आफूले उद्धार गरेर ल्याउँदा पनि सरकारले न्याय नदिएको भन्दै मेयर बालेन आक्रोशित छन् ।

खासमा सांसद शर्माको कसुर केहो ? उनले बालिकालाई के के गरिन् ? कस्तो अवस्थामा महानगरले कसरी उद्धार गरेर लग्यो । तर, पीडित बालिकाको जीवनयापन र भोगाई कस्तो थियो ? बालिकाले उद्धारकर्तालाई दिएको बयानको सारांश ।

०००

२०७५ सालमा एमाले नेतृ रेखा शर्मा दाङ पुगिन् । काठमाडौं घर बनाएर बसेकी उनी गृह जिल्ला कमै जान्थिन् । उनलाई घरमा काम गर्ने मानिसको खाँचो थियो । एक दिन गाउँ गएको बेलामा आठ वर्षीया बालिका कोपिला चौधरी (परिवर्तित नाम)लाई भेटिन् ।

बालिकाका बुबा कालीचरण चौधरीलाई आश्वासन दिँदै भनिन्, ‘तपाईँको छोरीलाई म काठमाडौं लगेर राम्रोसँग पढाउँछु, मिठो खुवाउँछु ।’ सानैमा बिहे गरेका कालीचरण किशोरअवस्थामै थिए । पत्नी पनि सानै थिइन् । पढेलेखेका थिएनन् । राम्रो आम्दानी थिएन् ।

गरिबीको चपेटामा परेका उनीहरूले राम्रो भविष्यको आशामा छोरी कोपीलालाई काठमाडौं पठाउन तयार भए । तर, आठ वर्षीया अबोध बालिका कोपिला घर र बाबुआमा छाडेर काठमाडौं जान मानिनन् ।

‘म काठमाडौं जान्नँ ! म यही बस्छु’ कोपिला रुन्चे स्वरमा बोलिन् । तर, आमाले सम्झाउँदै भनिन्, ‘छोरी, काठमाडौंमा तैंले धेरै कुरा सिक्न पाउँछस्, राम्रोसँग पढ्न पाउँछेस् । मिठो खान पाउँछेस् ।’

बालक त हो । गरिब परिवारकी कोपिला मिठो खाने राम्रो लगाउने आशामा काठमाडौं आउन तयार भइन् । बुबाआमाले सम्झाएपछि कोपिला काठमाडौं जान राजी भइन् । उनी अनमोल सपना बोकेर काठमाडौं आईपुगिन् ।

बालेन र ओलीबीच झगडाको केन्द्रमा रहेकी एमाले सांसद रेखा शर्माको कसुर के हो ? सरकारले किन जोगाउँदै छ ? (भिडिओ)

उनीलाई लाग्यो, ‘म अब पढ्न पाउने भएँ । मिठो खान पाउने भएँ । राम्रो घरमा बस्न पाउने भएँ ।’

तर, काठमाडौं पुग्नासाथ कोपीलाको सपना चकनाचुर भए । उनको सपना मात्र अधुरो भएन, तर बाल्यकालमा हाँस्ने खेल्ने रहर समेत गुमाउनुपर्याे ।

जब उनी काठमाडौंस्थित रेख शर्माको घर पुगिन्, बिहानदेखि रातिसम्म घरको काममा व्यस्त हुन पर्‍यो । उनले भात पकाउनुपर्ने थियो, सबै परिवारले खाएको जुठो भाँडा एक्लै माझ्नुपर्ने थियो । त्यतीमै उनको काम सकिँदैनथ्यो । घर सफा गर्ने, लुगा धुने काम पनि उनैलाई दिए । अबोध बालिकाको कलिका हातले यी सबै काम गर्नुपर्थ्यो ।

नेतृ रेखा शर्माले उनलाई स्कुलमा कक्षा १ मा लगेर भर्ना त गराइन् । तैपनि, कामको चापले कोपिला कक्षामा समयमै पुग्नै सक्दिन थिइन् । खाना पकाएर सबैलाई खुवाइसकेपछि उनले खान पाउँथिन् ।

०००

एक दिनको घटना कोपीलाको मनमा अझै ताजै छ । त्यो दिन रेखा शर्माको परिवारका सबै सदस्यहरू भेला भएका थिए । घरमा मासु पकाइएको थियो । मासुको मिठो बासनाले कोपीलाको मन लालायित भयो । आँत हरर भयो । मानौँ उनको आत्माले मासु खाइसकेको थियो ।

सबैजना खाना खान बसे । कोपीलाको भने खाने बेला भएको थिएन । किनकि उनलाई अन्तिममा दिइन्थ्यो, उनी ‘नोकरनी’ न परिन् ।

भान्सामा बसेर सबैले स्वादले मासुभात खान थाले । कोपीलाले बाहिर झ्यालबाटै हेरिरहिन् । ‘वाउ कस्तो मिठो’ भन्दै सबैले मासु थपिथपि खाए ।

अन्तिममा कोपीलाको खाने पालो आयो । जम्मा दुई टुक्रा मासु बाँकी रहेछ । त्यो कोपिलाको खानको लागि थालमा हाल्नै लाग्दा बाहिर कुकुर भुक्यो । सांसद रेखा शर्माले भनिन्, ‘ए नानी कुकुर भोकले करायो । मासु देऊ त ।’

मालिक्नीको आदेशपछि कोपिलाले चुपचाप ती मासु कुकुरलाई दिइन् ।

आफूलाई खान भनेर राखेको जम्मा २ टुक्रा मासु पनि कोपिलाले खान पाइनन् । उनले दाल र भात खाएर भोक मेटाइन् । त्यो घटनाले कोपीलाको मनमा गहिरो घाउ लाग्यो ।

उनले सोचिन, ‘म कुकुर भएर जन्मन पाएको भए पनि हुन्थ्यो, कमसेकम मासु खान त पाउँथेँ ।’ यस्तै सोच्दै गर्दा कोपीलाको आँखा आँसुले भरिए ।

०००

समय बित्दै गयो । कोपीलाको जीवन एउटै तालमा चलिरह्यो— दिनभरि काम, अनि राति थकित शरीर लिएर निदाउनु । कहिलेकाहीँ स्कुल जान्थिन् । धुम्बाराहीस्थित ध्रुमबाराह स्कुल घरबाट १५, २० मिनेट हिँडेर पुग्थिन् ।

घरमा कामै मात्र गर्नुपथ्र्याे । पढ्ने समय हुन्थेन । काम गरेर लखतरान भएपछि पढ्न कोठामा छिर्दा थकाईले निदाउँथिन् । फेरि बिहान नहुँदै उनलाई उठाउन कोही आउँथ्यो । किनकि उनलाई सबै काम गराइन्थ्यो ।

उनका बुबा–आमासँग भेट्ने आशा समयसँगै हराउँदै गयो । उनलाई कहिलेकाहीँ लाग्थ्यो, ‘म कहिले घर फर्कन पाउँछु कि ?’

तर, अहँ उनलाई कहिल्यै घर जान दिइएन । बुबाआमाको न्यास्रो लाग्थ्यो । तर, उनलाई फोनमा बोल्न समेत दिइँदैनथ्यो । कुनै काम बिगार्दा उनलाई पाइपले हानिन्थ्यो । क्षमा दिँइदैनथ्यो ।

घरमा टीभी हेर्न समेत दिइँदैनथ्यो । मनोरञ्जनका कुराहरू फिल्मका कथाहरू उनले स्कुलमा साथिकै मुखबाट सुन्नुपथ्र्याे । कोपिलाको यति बाल श्रम शोषण गरिएको थियो, त्यो भन्न उनी भक्कानिन्छिन् ।

२०८१ साल वैशाख दोस्रो साता काठमाडौं महानगरको एक इन्टर्नसिप टोली कोपिला पढ्ने स्कुलमा गयो । सबै विद्यार्थीलाई फर्म भर्न लगायो ।

फर्ममा लेखिएको थियो, घर, ठेगानामा बस्ने, ठाउँ, काम गर्नुपर्ने वा नपर्ने । त्यो सर्वेक्षण फर्म भर्नेमा कोपिला पनि थिइन् । फारममा आफूले यातना पाउने गरेको विवरण उनले भरेकी थिइन् ।

त्यहाँ भरिएको विवरण महानगरले हेर्यो‍ । महानगरले कोपीलालाई उद्धार गर्ने योजना बनायो । सोही अनुसार महानगरपालिको टोली जेठ १४ मा कोपिला बस्ने रेखा शर्माको घर पुग्यो ।

कोपीलाले नै गेट खोलिन् । जहाँ उनी सात वर्षदेखि थिइन् । अझै बालिका नै थिइन् । अहिले १५ वर्षकी भएकी थिइन् ।

प्रहरी, वडाका प्रतिनिधिसहित गएको महानगरको उद्धार टोलीले उनलाई सोधपुछ गर्‍यो । घरमा घरेलु कामदारको रूपमा आफूले यातना पाएको तथ्य उनले खोलिन् । त्यहाँ कोपिला बस्ने कोठा हेर्दा उनको स्थिति अत्यन्तै दयनीय पाइयो ।

भव्य घर थियो । तर उनलाई एउटा सानो, अँध्यारो स्टोरकोठामा राखिएको थियो । जुन झन्डै बाख्राको खोर जस्तो देखिन्थ्यो । मैला थिए, उनका आढ्ने ओछ्याउने कपडा ।

उनका लगाउने लुगाहरू प्लास्टिकमा पोको पारेर राखिएको थियो । मानौँ सडक पेटीमा बस्ने सडक बालकको भन्दा फरक थिएन उनको कोठा ।  उद्धारको बेलामा खिचिएको भिडिओमा पनि यी दृश्य देख्न सकिन्छ ।

त्यसपछि महानगरले कोपिलालाई त्यो नर्कबाट बाहिर निकाल्यो । उनलाई सेफ हाउसमा लग्यो ।

०००

कोपिलाको उद्धारपछि बाल श्रमशोषण गरेको मुद्दामा सांसद शर्मा कारबाहीमा पर्दै थिइन्, जुन गम्भीर अपराध हो । बालिकाको उद्धार गरेपछि महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध जाहेरी दिने तयारी गर्दै थियो ।

तर सांसद शर्मा कारबाहीबाट बच्न चाहन्थिन् । आफ्नो घरमा रहेकी बालिका कोपीलालाई महानगरले जबरजस्ती उठाएर लगेको भन्दै फिर्ता माग्दै अदालत गइन् ।

९ असारमा उनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा लिएर गइन् । सो मुद्दामा सुनुवाइ हुँदा सांसद शर्माले कोपिलाका बाबु पनि ल्याएकी थिइन् । तर, इजलासमा न्यायाधीशसँग कोपिलाले भनिन्, ‘उहाँ को हो मैले चिनिन ।’ कोपिलाले आफ्नै बाबुलाई चिनिनन् ।

सानैमा उनी काठमाडौं आएको र त्यसपछि अहिलेसम्म भेट नभएकाले चिनिन् । बाबु नचिनेको र संरक्षण गृहमै बस्न चाहेको बताइन् । त्यसपछि अदालतले बालिकालाई संरक्षण गृहमै राख्न आदेश दियो ।

त्यसपछि महानगरले सांसद शर्माविरुद्ध काठमाडौं प्रहरीमा बालश्रम र बाल शोषणसम्बन्धी कसुरमा उजुरी दियो । जुन अपराधबाट बच्न फेरि सांसद शर्माले जुक्ति लगाइन् । आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत पाटनमा ३१ जेठमा अन्तरिम आदेश मागिन् ।

तर, २३ साउनमा अदालतले शर्माको ‘दाबी नपुग्ने’ फैसला गरेपछि शर्माविरुद्ध अनुसन्धानको बाटो खुल्यो ।

बाल श्रम शोषण संवेदनशील मुद्दा हो । अझ सांसद जस्तो जिम्मेवार व्यक्तिले बालश्रमिक राखेर उनीमाथि शोषण गर्नु नैतिकता विपरीत पनि छ ।

कानुन अनुसार त उनी पाँच वर्षभन्दा बढी जेल नै जानुपर्छ । यसैले सजाय दिलाउन महानगर प्रहरीमा जाहेरी लिएर गएको हो ।

तर, प्रहरीले कारबाही अघि बढाएको छैन । सरकारको दबाबमा सांसदलाई बचाइको भन्दै मेयर बालेनले आरोप लगाइरहेका छन् । उनले आरोप लगाएपछि एमाले कार्यकर्ता र बालेनका फ्यानहरू सामाजिक सञ्जालमा आपसमा प्रतिवाद गरिरहेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register