पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

पशुपतिमा ‘कोटीहोम’ भन्दै धार्मिक विधिशास्त्र विपरीत गरेको कार्यक्रममा उठेको करोडौँ रुपैयाँको हिसाबकिताब नदेखाई हिँडेका विजय भण्डारी अर्काे महायज्ञको तयारीमा जुटेका छन् ।

Sep 9, 2024 - 16:35
 0
पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

काठमाडौं । पशुपतिमा ‘कोटिहोम’ भन्दै गरिएको कार्यक्रममा भक्तजनले दिएको दानदक्षिणा कुम्लाएर ‘फरार’ रहेका विजय भण्डारी फेरि गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरा पुगेका छन् ।

डेढ दशक अघिदेखि धार्मिक आवरणमा ठगी धन्दा चलाउँदै आएका भण्डारीले ४५ दिने महायज्ञ लगाउने भन्दै पोखरामा कमाउने योजना बनाइरहेका छन् ।

पोखरा महानगरपालिका १७ ढुँगेसाँघु महतगौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिर परिसरमा महायज्ञ लगाउने भन्दै उनले व्यवस्थापन समितिसँग जग्गा भाडामा माग्दै प्रस्ताव गरेका छन् ।

चाँजोपाँजो मिलेमा १३ रोपनी क्षेत्रफल रहेको सो ठाउँमा माघ ११ गतेदेखि ४५ दिनसम्म महायज्ञ लगाउने उनको तयारी छ । मङ्गलबार मन्दिर व्यवस्थापकसँग छलफल गर्ने तयारी गरेका उनले महायज्ञको लागि भन्दै चन्दा उठाउन सुरु गर्ने योजना बनाएका छन् ।

पशुपतिमा ‘कोटिहोम’ भन्दै धार्मिक विधिशास्त्रविपरीत गरेको कार्यक्रममा उठेको करोडौं रुपैयाँको हिसाबकिताब नदेखाइ हिँडेका उनी अझै ठूलो महायज्ञको तयारीमा जुटेका हुन् ।

पशुपतिमा महिनादिनसम्म महायज्ञ लगाउँदा दैनिक एक करोड रुपैयाँसम्म चन्दा उठेको थियो । त्यहाँबाट उत्साहित भएका भण्डारी अझ लामो समयको महायज्ञ लगाउन कस्सिएका हुन् ।

मानव तस्करी र ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीविरुद्ध सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग तथा लुटपाट, प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुरलगायतका जाहेरी प्रहरीमा परेका छन् ।

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

उनीसहितको टोलीले प्रहरी तथा पत्रकारलाई कुटेको विषयमा काठमाडौंका सहायक सीडीओको नेतृत्वमा बनेको छानबिन समितिले काम गरिरहेको छ ।

प्रहरीको ‘हिटलिस्ट्’मा परेका उनी पक्राउबाट बच्न धार्मिक कार्यक्रमको खोल ओढ्न लागिरहेका छन् । पशुपति कोटिहोमको अन्तिम दिन सरकारी कागज किर्तेलगायतका विभिन्न मुद्दामा पक्राउ गर्न प्रहरी गएको थियो ।

त्यो बेला उनले आफूले हिन्दूराष्ट्र माग गर्दै अभियान चलाएको र त्यसबापत् सरकारले पक्राउ गर्न प्रहरी पठाएको भन्दै प्रतिकार गर्न केही मान्छे बोलाएका थिए ।

त्यो बेलामा आफ्नो अपराधलाई धार्मिक आवरणले छोपेका भण्डारी अहिले पक्राउ पर्ने डरले भागिरहेका छन् । लुकेर हिँडिरहेका भण्डारीले आफ्नो पक्षमा भीड जम्मा गर्न ४५ दिने महायज्ञ लगाउने भन्दै प्रस्ताव लिएर विभिन्न मन्दिर तथा धर्मशाला धाइरहेका छन् । पोखराका आधा दर्जन ठाउँमा प्रस्ताव लैजाँदा उनी ‘ठग’ भनेर पनि लखेटिएका छन् ।

भिडिओ-

सुरुमा भण्डारी पोखराको अकलादेवी र भद्रकाली मन्दिर परिसरमा महायज्ञ लगाउने भन्दै प्रस्ताव लिएर गएका थिए । त्यहाँका व्यवस्थापन समितिले उनलाई ‘तपाईंलाई स्थानीयले जुत्ताको माला लगाएर लखेट्छन् यहाँ गर्न सक्नुहुन्न’ भनेर फर्काइदिए ।

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

अकलादेवि मन्दिर व्यवस्थापन समितिका अध्यक्षले पनि भण्डारीलाई सिधै अस्वीकार गरेर पठाएका थिए । एक स्थानीय भन्छन्, “बाबुराम गुरुले विजय भण्डारीलाई धर्मको नाउँमा काठमाडौंमा ठगेर पुगेन ? फेरि यहाँ ठग्न आइस् ? भनेर सातो खाइदिनुभयो ।” त्यसपछि विजय भण्डारी ढुँगेसाँघु महतगौंडास्थित हरिहर मन्दिर गएका हुन् ।

‘मानव सेवा आश्रम’ पोखरा शाखाको नामबाट मन्दिर व्यवस्थापन समितिलाई पत्र आएको मन्दिर व्यवस्थापक समितिका अध्यक्ष नगेन्द्र भण्डारी बताउँछन् ।

पोखरा १७ ढुँगेसाँघु महतगौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिर ।

उनले नेपालभ्युजलाई भने, “हामी आयोजक हुने होइन । हामीसँग मन्दिरको फराकिलो जग्गा छ । त्यो भाडामा चाहियो भनेर मागिरहनुभएको छ । माघ ११ बाट ४५ दिन कार्यक्रम गछौँ भन्नुभएको छ । संरचना बनाउनको लागि मंसिर १ गतेदेखि भाडामा दिन भन्दै प्रस्ताव आएको छ ।”

भण्डारी विवादित र ठग व्यक्ति भएकाले अहिले उनको पत्र स्वीकार भइनसकेको मन्दिर व्यवस्थापन समितिका एक सदस्य बताउँछन् । ती सदस्य भन्छन्, “विजय भण्डारीको पृष्ठभूमि ठीक छैन । धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन् । पोखराकाा बासिन्दालाई ठग्न दिने छैनौँ । तैपनि एकपटक छलफल गरौँ भनेर मङ्गलबार जनप्रतिनिधि र स्थानीयलाई बोलाएका छौँ ।”

जनप्रतिनिधि भन्छन्- पोखरालाई अपराधी लुक्ने सेल्टर बन्न दिँदैनौँ

पोखराका जनप्रतिनिधिहरू धार्मिक आवरणमा ठगी गर्दै हिँड्ने भण्डारीलाई कार्यक्रम गर्न नदिने पक्षमा छन् । मेयर धनराज आचार्यसमेत ‘धार्मिक आवरणको नाममा आफ्नो क्षेत्रमा अपराधी लुक्ने सेल्टर नहोस्’ भन्ने चाहन्छन् ।

“बरु साँच्चै महायज्ञ, धार्मिक कार्यक्रम गर्ने भए महानगरले जति पनि सहयोग गर्न तयार छ । महानगरका बासिन्दाले नै आयोजना गर्छन् । धर्मको आडमा ठगी गर्दै आएका महाठगलाई लुट्न दिनुहुँदैन,” मेयर आचार्यले भन्दै आएका छन् ।

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

वडाध्यक्ष राधिका कुमारी शाही पनि पोखरालाई बाहिरका मान्छे आएर धन्दा गर्ने ठाउँ बनाउन हुँदैन भन्ने पक्षमा छिन् ।

उनले नेपालभ्युजसँग भनिन्, “कार्यक्रम गर्नेबारे त मैले केही कुरा सुनेकी छैन । यदि कोही अपराधी धर्मको खेल ओढेर बच्न चाहन्छ भने सहयोग गरिँदैन । सच्चा धार्मिक अनुष्ठानलाई मात्र स्वागत गरिन्छ ।”

हरिहर सिद्धेश्वर मन्दिर परिसर, जहाँ विजय भण्डारी महायज्ञ लगाउन ठाउँ मागिरहेका छन् ।

रक्सी व्यापारी लागे धर्मको व्यापारतर्फ

धर्मको आडमा धन्दा चलाएर हिँड्ने भण्डारीलाई पोखरामा सहयोग गर्नेमा शंकर खराल र लक्ष्मण पौडेल छन् । खराल र पौडेलकै आडमा भण्डारी पोखरामा ठगी गर्न कस्सिएका हुन् । खराल र पौडेलले तीनै हुन् जसले २०८१ को नयाँवर्षमा पोखरा प्रदर्शनी केन्द्रमा महायज्ञ लगाएका थिए ।

रिर्साेट सञ्चालक पौडेलले महायज्ञमा आएका पाहुनालाई आफ्नै रिर्साेटमा राखेर व्यापार गरेका थिए । दश लाख रुपैयाँको बिल निकालेका उनी नाफामा गए पनि अरू आयोजक समितिका सदस्य घाटामा गएका थिए ।

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

अर्को सहयोगी खराल भने विश्व हिन्दू महासङ्घले साधारण सदस्यसमेत नरहने गरी बर्खास्तमा परेका व्यक्ति हुन् । तर, उनी केन्द्रीय सहअध्यक्ष रहेको दाबी गर्दै हिँड्छन् । त्यतिबेला उनीहरूले महायज्ञ घाटामा गएको बताएका थिए ।

महायज्ञपछि उनीहरूले २२ सयमा १ जोडी भन्दै कलश बेच्दै हिँडेका थिए । कलश बेच्दै हिँडेपछि स्थानीयले ‘पोखराकै बेइज्जत भयो’ भने पनि उनीहरूले पैसा उठाउन अनेक उपाय लगाइरहेका थिए । त्यो बेलामा प्रशासनले समेत उनीहरूलाई सचेत गराएको थियो । महायज्ञको हिसाब समेत अहिलेसम्म सार्वजनिक भएको छैन । महायज्ञमा काम लगाएका मजदुरले समेत पैसा पाएका छैनन् ।

स्थानीय भन्छन्, “उनीहरु धर्मको नाम बेचेर खाने व्यापारी हुन् । अघिल्लो महायज्ञ घाटामा गएको भन्दै उठेको पैसा खाए । फेरि अर्को नौटङ्की गर्दैछन् ।”

फेसबुक भिडिओ

सम्बन्धित समाचार

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register