राप्रपा बैठकमा साउनमै मासु–मदिराको मोजमस्ती, हिन्दू धर्मको अपमान गरेको भन्दै उजुरी (भिडिओ)

यो कार्य पार्टीको आन्तरिक नीति र हिन्दू धार्मिक मान्यताको प्रत्यक्ष उल्लंघन भएको भन्दै पार्टीभित्रै विवाद भएको छ ।

Sep 11, 2024 - 16:23
 0
राप्रपा बैठकमा साउनमै मासु–मदिराको मोजमस्ती, हिन्दू धर्मको अपमान गरेको भन्दै उजुरी (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउन महिनामा आयोजित एक बैठकमा मासु र मदिरासहितको भोज गरेको खुलासा भएको छ ।

यो कार्य पार्टीको आन्तरिक नीति र हिन्दू धार्मिक मान्यताको प्रत्यक्ष उल्लंघन भएको भन्दै पार्टीभित्रै विवाद भएको छ ।

स्रोतका अनुसार, साउन १८ गते काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा आयोजित जिल्ला अध्यक्षहरूको बैठकमा मासु र मदिराको भोज गरिएको थियो ।

त्यो भोज काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले आयोजना गरेका थिए । तर, पार्टीका भोजहरु शुद्ध शाकाहारी वा सात्विक हुनुपर्ने पार्टीकै निर्देशिका छ ।

अघिल्लो दिन साउन १७ गते जिल्ला अध्यक्षहरुको सम्मानमा केन्द्रीय अध्यक्षले दिएको भोज शुद्ध शाकाहारी थियो ।

तर, भोलीपल्ट पार्टीको अनुशासन उल्लंघन गर्दै जिल्ला अध्यक्ष सिंखडाले मासु र मदिराको भोज खुवाएर पार्टीकै बदनाम गरेको भन्दै अनुशासन आयोगमा उजुरी परेको छ ।

नेताहरु भन्छन् ‘काठमाडौं अध्यक्षले मासु र मदिराको भेल बगाइदिए , त्यो पनि साउनमै । पूर्विय दर्शन र धार्मिक मान्यता अनुसार मासु मदिरा खानै हुँदैन । तर, आफूलाई हिन्दू धर्मको हिमायति अर्थात् संबर्दनबादी भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा यस्तो भएपछि पार्टीकै बदनाम भयो ।’

यो विषय पार्टीभित्र मात्र नभई समग्र धार्मिक क्षेत्रको तर्फबाट चासोको विषय बनेको छ ।

मदिरासहितको मांसहारी भोज पार्टीको परम्परा विपरीत, आडम्बरपूर्ण रहेको भन्दै पार्टीकोसनातन धर्म संस्कृति संगठन प्रमुख पुष्पराज पुरुषसहितको संगठनले अनुशासन अयोगमा उजुरी दिएका छन् ।

उनीहरुले उजुरीमा भनेका छन्, ‘साउन महिनामा मदिरासहित मांसहारी भोज गरेर दिन खोजिएको सन्देश के हो ? रुचि र इच्छा हुने हिन्दुहरुले मांसहारी भोजन गर्न सक्छन्, तर पार्टीको बैठकमा भोज लगाउनुपर्ने कारण के हो ? यसले यसले धार्मिक क्षेत्रलाई हौसला दिँदैन र विश्वास पनि गर्दैन । विचार अनुसार सोच र चरित्र देखिएन भने जो सुकै भए पनि धार्मिक समाजले पत्याउँदैन ।’

पार्टीभित्रै तरङ ल्याएको घटनामा यस्तो आचरणको विरोध गर्ने नेताहरु समेत मासु र मदिराप्रेमि नेता तथा कार्यकर्ताबाट उल्टै खेदिएका छन् । यस्ता प्रबृतिको घटनाको विरोध गर्ने नेताहरूमाथि साइबर आक्रमण समेत भएको छ ।

सिंखडाले भोज खाएको फोटो फेसबुकमा पोष्ट गरेका थिए । त्यो फोटोमा धर्म संस्कृति विभाग प्रमुख पुष्पराज पुरुषले गलत गतिविधि भन्दै कमेन्ट गरेका थिए । तर, उनलाई सिंखडासहित कतिपय नेता कार्यकर्ताले खेदो मात्र खनेनन् साइबर आक्रमण नै गरे ।

काठमाडौं क्षेत्र नं ४ का तत्कालीन क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणाले त पुष्पराज पुरुषको एडिट गरेर गोबर खाएको देखाउँदै फेसबुकमा पोष्ट गरेका थिए ।

उजुरीबारे केन्द्रिय कार्यसमित सदस्य तथा अनुशासन आयोग प्रमुख नवराज सुवेदीले भने सानो कुरा भएको भन्दै बोल्न चाहेनन् । उनले भने, ‘सानोतिनो कुराको पछि नलागौँ ।’

यस घटनाले राप्रपाको धार्मिक एजेण्डा र व्यवहारिक कार्यशैलीबीचको अन्तरविरोधलाई उजागर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register