‘सुगर ड्याडी’को खतरनाक ‘डबल रोल’ : दिनमा युवा उद्यमी, रातमा बूढो अपराधी ! (भिडिओ)

सुगर ड्याडी फिल्ममा देखिने डबल रोल वास्तविक जीवनमै गरिरहेका छन् । उनी दिनका सफल युवा व्यवसायी हुन् तर, रातका ‘कुख्यात बूढो अपराधी । जो, अरुलाई यातना दिएर आनन्द पनि लिन्छन् ।

Sep 10, 2024 - 14:47
 0
‘सुगर ड्याडी’को खतरनाक ‘डबल रोल’ : दिनमा युवा उद्यमी, रातमा बूढो अपराधी ! (भिडिओ)

काठमाडौं । काठमाडौं ठमेलको एउटा क्लब । तालु खुइलिएको, अनुहार चाउरिएको एक पुरुषको वरपर युवा-युवतीको भीड लाग्छ । ती पुरुष मस्त रमाइरहेका देखिन्छन् । ‘सुगर ड्याडी’ बताउने ती पुरुष क्लबमा नाचिरहेका छन् ।

झट्ट हेर्दा ७० वर्ष हाराहारी देखिने उनी एक तरुनीसँग हात समाएर नाच्दै रमाउँछन् र पैसाको बिटो उडाउँछन् । रात छिप्पिँदै जान्छ । उनी केही युवाहरूको साथ क्लबबाट निस्किन्छन् । पार्किङबाट कार निकाल्छन् र कारको हेडलाइटको सहयोगमा अन्धकार चिर्दै अघि बढ्छन् ।

ठमेलबाट बाहिएको कार महाराजगञ्ज हुँदै बूढानीलकण्ठतर्फ लाग्छ । घडी रातको १ बजाउँछ । कार एक भव्य बङ्गलाको गेटमा रोकिन पुग्छ ।

गेट खुल्छ । कार छिर्छ । कारभित्रबाट उनै पुरुष बाहिर निस्कन्छन् । उनीसँगै केही युवाहरू पनि निस्किन्छन् । त्यो दृश्य कुनै जादुगरको खेल जस्तो भयो ! जब ती वृद्ध पुरुषले आफ्नो टाउकोबाट आफ्नो कपाल तान्छन् । उनको मुखुन्डो फुक्लिन्छ ।

त्यसभित्रपछि बने एक जवान, तन्दुरुस्त युवक । हातमा थियो अघिका बूढो अनुहारवाला नकाब । युवाले बूढो मान्छेको नकाब पो लगाएका रहेछन् !

०००

त्यो थियो आशिष देउलाको दैनिक रुटिन । दिनभर व्यवसायी, रातभर ‘सुगर ड्याडी’ । त्यो पनि उनी दुई पात्र मात्र नभएर प्रवृत्ति पनि थियो, दिनमा एक सफल व्यवसायी र रातमा कुख्यात ‘सुगर ड्याडी’ ।

३३ वर्षका देउलाका जुम्ल्याहा बच्चा छन् । उनी पत्नीसँग बस्छन् । उनले आरती एण्ड कम्पनी नामबाट प्रिफ्याबसम्बन्धी काम गर्ने कम्पनी सञ्चालन गरेका छन् ।

क्लबमा मनोरञ्जन गर्दै ‘सुगर ड्याडी’ उर्फ आशिष देउला

कोरोनाकालमा बुबाको निधन भएपछि ठेक्कापट्टाका कामसमेत गर्छन् । यसरी उद्यम गर्ने देउलाको सामाजिक सञ्जाल हेर्दा उनको जीवन एकदम रमाइलो र रोमाञ्चक देखिन्छ । टिकटक र इन्स्टाग्राममा ‘सुगर ड्याडी’ नामले चिनिने देउला पैसा उडाउँदै, महङ्गा कार चलाउँदै र युवतीहरूसँग रमाउँदै गरेको देखिन्छन् ।

‘सुगर ड्याडी’ एकाउन्टमा पोस्ट गरेको तस्वीर, भिडिओमा पैसाको बिटो पत्करझैँ उडाउँछन् । नाइट क्लबमा गरिएका रोमान्स बाहेकका अरू दृश्य उनले शेयर नै गर्दैनन् । जब उनी पक्राउ परे, यो सबै एक भ्रम देखियो । एक मीठो मुखुन्डो जसले तीतो सत्यलाई लुकाएको थियो ।

०००

सुगर ड्याडी बन्न उनलाई त्यो मुखुन्डो अनिवार्य चाहिन्थ्यो । मुखुन्डो नलगाई सुगर ड्याडी बने भने मलाई सबैले चिन्छन् । “म दिनभर कम्पनीको काममा व्यस्त रहन्छु,” देउलाले भनेका थिए, “तर रात परेपछि मेरो असली जीवन सुरु हुन्छ । म सुगर ड्याडी बन्छु, युवतीहरूसँग रमाउँछु, पैसा उडाउँछु ।”

तर, यो त केवल उनको जीवको एउटा पाटो मात्र थियो । देउलाको जीवनको अर्को, अँध्यारो पक्ष भर्खरै मात्र सार्वजनिक भएको छ ।

देउलाको बूढानीलकण्ठस्थित घरमा ती सबै प्रमाण भेटिए । कोठाको बीचमा एक कुर्सी, त्यसमा रगतका धब्बाहरू । नजिकै तातो आइरन र रड थिए ।

कुनामा एक युवक काँपिरहेका थिए, उसको शरीरभरि निला डामका चिह्न थिए । लामो समयदेखि देउलामाथि प्रहरीले नजर राखिरहेको थियो । अन्ततः एक साँझ प्रहरीको शङ्का सत्य साबित भयो ।

पक्राउ परेका ‘सुगर ड्याडी’ ऊर्फ आशिष देउला, राजेन्द्र घले, ओजस्वी तामाङ र साजन गुरुङ ।

विलासिताभित्रको क्रूरता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १ घर भएका देउला एक सातादेखि जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छन् ।

उनी सुगर ड्याडी बनेको आरोपमा पक्राउ परेका भने होइनन् । अरू युवालाई तातो आइरन र रडले नाङ्गो शरीरमा डामेर चरम यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

गत भदौ ७ मा उनले विशाल देउला नाम गरेका एक पुरुषलाई घरमा लगेर नाङ्गो बनाए । शरीरमा तातो आइरनले पोले । मलद्वारमा लट्ठी घुसारे । युवाको अण्डकोष पिलासले च्यापिदिए ।

सहयोगीले यति गर्दा ती युवा पीडाले छट्पटाए । त्यसो नगर्न अनुनय विनय गरे । तर, आशिष यी दृश्य हेरेर रमाउँथे । करिब ३ घण्टासम्म चरम यातना दिएपछि ती युवालाई छाडियो ।

यसरी चरम यातना दिँदा सुगर ड्याडी ऊर्फ देउलाले आनन्द लिन्थे । यसबारे अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

किशोरहरूलाई उनले किन यातना दिए भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी बताउँछन् । उनले भने, “यातना दिनुपर्ने कारण खोज्दै छौँ ।”

 

सांकेतिक स्केच

किन उनी यति क्रू बने भन्नेबारे प्रहरीले समेत यथार्थ पत्ता लगाउन सकेको छैन । उनमा मानसिक समस्या जस्तो देखिन्छ । किनकि कहिले राम्रै कुरा गर्छन्, कहिले अलि अपत्यारिलो कुरा गर्छन् ।

अरूको पीडामा रमाउने मान्छेलाई स्याडिस्ट (sadist) भनिन्छ । कुनै रिस भाव भएको व्यक्तिलाई नै पीडा पर्दा आनन्द लिनेहरू स्याडिस्ट हुन् । उनी यस्तै हुन् ।

देउलाले कतिपय बयान प्रहरी नै अचम्मित हुनेगरी दिएका छन् । उनी आफू मदिरा पिउँदै नपिउने दाबी गर्छन् । माछा मासु, अण्डा, चुरोट, चिल्लो, पिरोसमेत नखाने दाबी गर्छन् । उनी भन्छन्, “मैले गर्ने भनेको अरूलाई खुवाउने हो, त्यसमै म इन्जोय लिन्छु ।”

‘सुगर ड्याडी’बाट परिचित देउला धनाढ्य परिवारका हुन् । बूढानीलकण्ठ घर भएका उनको काठमाडौंमै प्रशस्त जग्गा जमिन छ । उनले यसरी फालाफाल गरेर खर्च गर्ने रकम जग्गा बेचेर जुटाउने गरेको बताएका छन् । उनी ठेक्कापट्टाको काम गर्छन् ।

अघिपछि ५/६ जना केटाहरू लिएर कारमा हिँड्ने उनमा अरूलाई यातना दिएर आनन्द लिने बानी परेको छ ।

मनोचिकित्सक भन्छन्, “देउलामा स्याडिज्म र नार्सिसिज्मका लक्षण देखिन्छन् । उनी आफूलाई सर्वशक्तिमान् ठान्छन् र अरूको पीडामा आनन्द लिन्छन् । यो एक जटिल मानसिक समस्या हो ।”

यातना दिएको आरोपमा सुगर ड्याडीका साथ टोखा नगरपालिका ३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाइघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका २९ घर भएका २२ वर्षीय साजन गुरुङमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register