‘हिंसा’ शब्दमा अड्कियो संसद्

काठमाडौं । गत भदौ १२ गते सत्तारूढ दल एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । त्यसलगत्तै माओवादी सांसदहरूले उठेर विरोध गरेका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद भट्टराईको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । जवाफमा सभामुख देवराज घिमिरेले केही दिनमा उपयुक्त निर्णय लिने बताएका थिए । जसअनुरूपले […]

Sep 11, 2024 - 10:19
 0
‘हिंसा’ शब्दमा अड्कियो संसद्

काठमाडौं । गत भदौ १२ गते सत्तारूढ दल एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए ।

त्यसलगत्तै माओवादी सांसदहरूले उठेर विरोध गरेका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद भट्टराईको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । जवाफमा सभामुख देवराज घिमिरेले केही दिनमा उपयुक्त निर्णय लिने बताएका थिए ।

जसअनुरूपले उनले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईको उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाए । यसपछि माओवादी सांसदहरू उठेर फेरि विरोध जनाए ।

प्रमुख सचेतक हितराज पाण्डेले संसद्‌मा जनयुद्धलाई होच्याउने काम भएको भन्दै सांसद भट्टराईको उक्त शब्द रेकर्डबाट हटाउनैपर्ने बताए ।

“संविधानसँग नमिल्ने शब्दले राजनीतिक आन्दोलन बेवास्ता गर्छ । त्यो संविधानको विपरीत हुन्छ । हामीले बनाएको कानून, संविधान र नियमावलीविपरीत हुन्छ,” उनलेभने, “त्यसैले यसलाई हिंसा भन्नुहुन्न ।”

यसपछि एमाले सांसद रघुजी पन्तले जनयुद्धभित्र हिंसा पनि भएको जिकिर गरे । आफूहरूले झापा विद्रोहमा उग्र वामपन्थी गतिविधि भएको स्वीकारेको उल्लेख गर्दै उनले भने, “सभामुखको रुलिङमाथि पटकपटक प्रश्न गर्नु असंसदीय हो तर, हिंसा शब्दचाहिँ असंसदीय होइन । हामीले झापामा उग्र वामपन्थी गतिविधि भयो भनेर स्वीकार्‍यौँ तर, उहाँहरूले स्वीकार्नुभएन ।”

माओवादी सांसद देवेन्द्र पौडेलले जनयुद्ध असंसदीय नभएको जिकिर गरे । “संविधानअनुरूप शब्दहरू प्रयोग हुनुपर्छ,” उनले भने, “संविधान जनयुद्धलाई हिंसा भन्दैन ।”

यसपछि बोलेका एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले माओवादी जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्व भनेको र त्यो सशस्त्र द्वन्द्व नै भएको तर, त्यसभित्र जघन्य अपराधका काम पनि भएको बताए । उनले प्रश्न गरे, “अनि योचाहिँ के त ?”

यसबेला माओवादी सांसदहरू उठेर विरोध जनाइरहेका थिए । सभामुख घिमिरेले बारम्बार बसेर कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेपनि उनीहरू बसेनन् । यसपछि बैठक नै स्थगित भयो ।

  • सम्बन्धित सामग्री

एमाले-माओवादी बाझाबाझपछि संसद् स्थगित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register