रास्वपाको योजना : ‘मीड टू मोड’ मोडेलमा सङ्गठन विस्तार गर्ने, सरकार खोज्दै नजाने

जे होस्, अहिले रास्वपा एउटा फरक मोडमा आइपुगेको छ । यसबेला सही निर्णय गर्दै जनतामा जान सके रास्वपा विगतमा बनेको रास्वपाकै आकारमा रहन सक्छ । अन्यथा आफ्नो मत टिकाउनकै लागि निकै सकस पर्न सक्ने देखिन्छ ।

Sep 14, 2024 - 06:04
 0
रास्वपाको योजना : ‘मीड टू मोड’ मोडेलमा सङ्गठन विस्तार गर्ने, सरकार खोज्दै नजाने

काठमाडौं । पार्टी गठन गरेको पाँच महिनामै भएको संसदीय चुनावमा प्रतिनिधि सभामा २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले एउटा फरक मोडमा आइपुगेको छ ।

चुनावपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा ४२ दिनपछि सरकारबाट बाहिरियो । पछि पुन: सरकारमा सामेल भएको रास्वपा अहिले विपक्षी दलको रूपमा संसद्‌मा छ ।

चुनावलगत्तै सरकारमा जाँदै बाहिरिँदै गरेको रास्वपामाथि उसकै मतदाताले प्रश्न उठाए । यो रास्वपालाई राम्रोसँग थाहा छ । निलम्बित महामन्त्री डा. मुकुल ढकालको ३२ पन्ने प्रतिवेदनदेखि प्रदेशहरूको विस्तारित बैठकसम्म आइपुग्दा रास्वपाले यो राम्रोसँग बुझ्यो ।

यसपछि पार्टीलाई एउटा ‘फ्रेम’मा ल्याउनेबारे पार्टीभित्र बहससमेत सुरु भएको छ । पार्टीले परिपक्व निर्णय लिन नसकेको हो कि भन्ने कोणबाट पछिल्ला रास्वपा बैठकहरूमा कुरा उठ्ने गरेको छ । यसपछि अब पार्टी सङ्गठनलाई बलियो बनाएर सही निर्णय लिँदै जाने रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी बताउँछन् ।

“अहिले केन्द्रीय समितिको बैठकहरू पनि बसिरहेका छन् । प्रदेशहरूमा विस्तारित बैठक भइसकेका छन् । साङ्गठनिक रूपमा पनि काम भइरहेकै छ । ३५६ वडामा अधिवेशन भइसकेका छन् । अब पार्टी सङ्गठनलाई बलियो बनाएर नै अगाडि जान्छौँ,” बुर्लाकोटीले भने ।

रास्वपाले आउँदो असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । करिब १५ सय जना प्रतिनिधि सहभागी हुने भनिएको उक्त भेलाले पार्टी अब कुन बाटो भएर अगाडि बढ्ने भन्नेबारे छिनोफानो गर्ने बुर्लाकोटी बताउँछन् ।

“त्यो भेलापछि पार्टी एउटा फ्रेममा आउँछ भन्ने विश्वास छ । त्यसको तयारी पनि हामीले त्यसैगरी नै गरिरहेका छौँ,” उनले भने ।

भेलापछि पार्टी थप पार्टी विस्तार तथा सुदृढीकरणमा लाने उनी बताउँछन् । “हामीले पार्टी सङ्गठन विस्तारमा मीड टू मोडको मोडेल अपनाएका छौँ । बीचबाट सुरु गरेर माथि पनि विस्तार गर्दै लाने र तल पनि विस्तार गर्दै लाने हो,” उनले भने ।

त्यसो त रास्वपाले स्पष्ट विचार छैन भन्ने दोष बोक्दै आएको छ । संवैधानिक समाजवाद (समाजवाद उन्मुख संविधानवाद) मानेको भन्दै आएको रास्वपाले आफ्नो मार्गदर्शक सिद्धान्त ‘क्लियर’ गर्नुपर्ने माग हुँदै आएको छ ।

जसै रास्वपा नेता तथा सांसदहरूले देश र जनताको पक्षमा काम गर्नका लागि कुनै वाद वा सिद्धान्त आवश्यक नपर्ने बताउने नगरेका होइनन् । यसअघि संसद्‌मा एउटा सन्दर्भमा रास्वपा नेता एवम् सांसद हरि ढकालले भनेका थिए, “देश र जनताको काम गर्नु छ । यसका लागि कुनै वाद वा सिद्धान्त चाहिँदैन । देशको काम गर्ने हो, जनताको काम गर्ने हो । त्यही हो वाद, त्यही हो सिद्धान्त ।”

रास्वपा सांसद हरि ढकाल ।

तर, पनि रास्वपामाथि स्पष्ट विचार/मार्गदर्शक सिद्धान्त हुनैपर्ने निरन्तर दबाब छ । त्यो दबाब नेताहरूले महसुस गर्न थालेका छन्। यसबारे पनि भेलामा बृहत् रूपमा छलफल हुने बुर्लाकोटीको भनाइ छ । “हामी यसबारे पनि बृहत् रूपमा सबैलाई मान्य हुनेगरी छलफल गर्नेछौँ, ताकि त्यहाँबाट आएको सोलुसनले जनता र देशको पक्षमा काम गरोस्,” उनले भने ।

उसो त यसबीचमा रास्वपाको लोकप्रियता खस्किएको जस्तो देखियो । सरकारबाहिर हुँदासम्म  नेताहरूले यो या त्यो भनेर सरकारसम्बद्ध दल तथा नेताहरूमाथि प्रश्न उठाउने तर, आफैँ सरकारमा नहुँदा केही नगर्ने भनेर रास्वपाकै भोटरहरूले प्रश्न गरे । त्यो प्रश्न अहिले पनि निलम्बित महामन्त्री डा. मुकुल ढकालेको ३२ पन्ने प्रतिवेदनमा सुरक्षित छ ।

उनीहरूले खासगरी पार्टी सभापति रवि लामिछानेको तौरतरिकामाथि प्रश्न उठाएका थिए । जतिबेला उनी गृहमन्त्री थिएनन्, सहकारी ठगी प्रकरणमा फरार जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको मस्तै आलोचना गरे तर, जब उनी दुईदु ईपटक गृहमन्त्री बने, जीबी राई पक्रिन सकेनन् ।

बरु अचम्मचाहिँ के भने अहिले आएर प्रहरीको बयान छ कि रविकै कारण जीबी राई पक्रिन गाह्रो भयो ।

यता उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री विपिन आचार्यहरू समेत सहकारी ठगीकै प्रकरणमा मुछिएका छन् भनिन्छ । अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले ‘नेपाललाई भारतमा मिलाउने’ अभिव्यक्ति दिएका थिए रे ! यो खुलासा निलम्बित महामन्त्री डा. मुकुल  ढकालले गरेका हुन् । जसको खण्डन स्वर्णिमले गरिसकेका छन् । यद्यपि पनि धेरैले उनले त्यस्तो अभिव्यक्ति दिएकै हुनसक्ने आशङ्का जाहेर गरिरहेका छन् ।

जे होस्, रास्वपाका अग्रपङ्क्तिका नेताहरू कुनै न कुनै प्रकरण र विवादमा मुछिएका छन्, विवादित छन् । यही कारणले पनि होला, यसबीचमा उसको ‘पपुलारिटी’ घटेको जस्तो देखियो । तर, बुर्लाकोटी यसको प्रतिवाद गर्छन् ।

रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा कावा महामन्त्री कबिन्द्र बुर्लाकोटीलगायत नेताहरू ।

“यसबीचमा रास्वपाको पपुलारिटी खस्केको जस्तो थियो तर, होइन रहेछ । त्यो प्रदेशहरूमा पुग्दा थाहा भयो । अहिले जनताले हामीलाई समर्थन गरिरहेका छन् । जनताले अहिलेलाई प्रतिपक्षमा बसेर रचात्मक काम गरोस् भन्ने चाहेका छन् । हामी त्यही गर्छौँ,” उनले भने ।

दुई वर्षको यारमा दुईपटक सरकारमा सामेल भइसकेको रास्वपा मौका पाएको खण्डमा अझै सरकारमा जाला ? आम मान्छेले यो जान्न खोजिरहेका छन् । यही प्रश्न नेपालभ्युजले बुर्लाकोटीलाई गरेको थियो । उनले सिधै ‘जाँदैन’ भन्न त सकेनन् तर, त्यसबेलाको अवस्था विचार गर्ने जवाफ दिए ।

“त्यसबेलाको अवस्था हेरेर पार्टीले निर्णय लेला नि,” उनले भने,”तर, हामी खोज्दै जाँदेनौँ । अब सरकारमा सामेल हुने विषयमा सोचीविचारी मात्रै निर्णय लिन्छौँ ।”

जे होस्, अहिले रास्वपा एउटा फरक मोडमा आइपुगेको छ । यसबेला सही निर्णय गर्दै जनतामा जान सके रास्वपा विगतमा बनेको रास्वपाकै आकारमा रहन सक्छ । अन्यथा आफ्नो मत टिकाउनकै लागि निकै सकस पर्न सक्ने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register