अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर […]

Sep 17, 2024 - 15:32
 0
अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेश सभाको मंगलबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए ।

यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ ।

गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो ।

तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व संकलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालनमा आएको थियो ।

सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष२०८१/८२को बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register