जनसङ्ख्या ह्रास विश्वभर नै चिन्ताको विषय, चीनमा २३ करोडलाई छैन जोडा

परिवार नियोजन र भ्रुण हत्याको कारणले जनसङ्ख्याको लैङ्गिक अनुपात गडबड हुन्छ । यो कारण सबैले बिहेयोग्य जोडा नै पाउँदैनन् । करिब ३७ वर्ष कठोर एक सन्तान नीति लिइएको चीनमा आज जनसङ्ख्याको १३.३ प्रतिशत वयस्कसँग विवाहयोग्य जोडाको अभाव छ ।

Aug 26, 2024 - 11:27
 0
जनसङ्ख्या ह्रास विश्वभर नै चिन्ताको विषय, चीनमा २३ करोडलाई छैन जोडा

काठमाडौं । कुनै समय थियो, जनसङ्ख्या वृद्धिलाई राज्य र अर्थतन्त्रको ठूलो समस्या मानिन्थ्यो । अर्थशास्त्री थोमस माल्थसले एक सिद्धान्त बनाए– जनसङ्ख्या वृद्धिदर ज्यामितीय र खाद्यान्न वृद्धिदर अङ्कगणितीय हुन्छ । फलतः समाजमा ठूल्ठूला अनिकाल आइरहन्छन् ।

माल्थसको जनसङ्ख्या सिद्धान्तलाई संसारले लामो समयसम्म विश्वास गर्‍यो । यही बुझाइमा आधारित भएर परिवार नियोजन कार्यक्रम विश्वभरि लोकप्रिय भए ।

संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनले सन् १९७९ देखि सन् २०१६ सम्म कठोर एक सन्तान नीति अवलम्बन गर्‍यो । त्यही देश चीनमा विगत दुई वर्षयता जनसङ्ख्या घट्न थालेको छ । सँगसँगै लैङ्गिक अनुपात असन्तुलित भएको छ । यसले आर्थिक वृद्धिदर पनि सुस्त हुन थालेको छ ।

सन् २०२२ मा चीनको जनसङ्ख्या करिब ८ लाख ५० हजारले घट्यो भने सन् २०२३ मा करिब १४ लाखले । चीनमा यसरी जनसङ्ख्या घटेको यो सन् १९६१ को माओकालीन महाअनिकालपछि पहिलोपटक हो ।

सन् २०२३ मा चीन पहिलो धेरै जनसङ्ख्या भएको देशबाट दोस्रो स्थानमा झर्‍यो । भारत चीनलाई उछिन्दै विश्वको पहिलो धेरै जनसङ्ख्या भएको देश बन्न पुग्यो ।

विश्वले धेरै ढिलोगरी बुझ्यो कि माल्थसको जनसङ्ख्या सिद्धान्त सही थिएन, यो एक बकवास सैद्धान्तिकरण थियो । अनिकाल, युद्ध र प्राकृतिक प्रकोपले मात्र हैन, जनसङ्ख्या घट्नुका अरु पनि थुप्रै करण हुन्छन् ।

परिवार नियोजन र भ्रुण हत्याको कारणले जनसङ्ख्याको लैङ्गिक अनुपात गडबड हुन्छ । यो कारण सबैले बिहेयोग्य जोडा नै पाउँदैनन् । करिब ३७ वर्ष कठोर एक सन्तान नीति लिइएको चीनमा आज जनसङ्ख्याको १३.३ प्रतिशत अर्थात् करिब २३ करोड वयस्कसँग विवाहयोग्य जोडाको अभाव छ ।

चीनको अनुभवबाट हेर्दा जनसङ्ख्या ह्रासको अर्को महत्त्वपूर्ण कारण न्यून जन्मदर र उच्च मृत्युदरबाट सृजित असन्तुलन हुने देखिन्छ । सन् २०२२ मा चीनको जन्मदर ५.७ प्रतिशत हुँदा मृत्युदर ६.७७ प्रतिशत थियो ।

बच्चा जन्माउन अनिच्छुक दम्पत्ति, आर्थिक तथा करिअर दबाब, जोडी छुटेर बस्नुपर्ने अवस्था र आप्रवासन जनसङ्ख्या ह्रास जस्ता अन्य कारण देखिएका छन् ।

चीनमा मात्र हैन, बितेको दशकमा विश्वका अन्य थुप्रै देशमा जनसङ्ख्या घटेको छ । परिवार नियोजन अवधारणामा जनसङ्ख्या वृद्धि दर सीमित हुनु उचित मानिन्थ्यो । तर, जनसङ्ख्या वृद्धिदर घट्नु र जनसङ्ख्या घट्नु फरक प्रवृत्ति हुन् ।

वृद्धिदर घट्दा जनसङ्ख्या तीव्र नभए पनि न केही बढिरहेको हुन्छ । तर, जनसङ्ख्या नै घट्न थालेपछि भने नयाँ प्रकारको समस्या देखा पर्दछ । युरोपमा युक्रेन, पोल्याण्ड, ग्रीस, इटाली, पोर्चुगल, रुमानियाँलगायतका देशको जनसङ्ख्या घट्दैछ ।

एसियामा चीनबाहेक जापान र सिरियामा जनसङ्ख्या घट्दो छ । सिरियामा जनसङ्ख्या घट्नुको कारण युद्ध मानिए पनि जापानमा भने न्यून जन्मदर देखिएको छ । सन् २०११-२०२१ बीचमा जापानमा करिब ३० लाख जनसङ्ख्या घटेको देखिन्छ ।

जन्मदर कम हुँदा उमेर समूह असन्तुलनको समस्या सृजना हुन्छ । ६० वर्ष माथिको उमेर समूह अनुपात धेरै हुने र एकैपटक धेरैको निधन हुने प्रक्रियाका कारण कुनै ठूलो प्राकृतिक विपत्ति, युद्ध र अनिकाल बिनै पनि जनसङ्ख्या घट्दछ ।

रुस, जर्मनी, उत्तर कोरिया, स्पेनलगायतका देश अहिले ठीक यस्तै जनसङ्ख्या ह्रास जोखिमको नजिक छन् । सन् २०३० भित्र यी देशको जनसङ्ख्यामा उल्लेखनीय ह्रास हुन सक्नेछ । अफ्रिकी र इस्लाम बहुल मुलकमा भने अहिले यस्तो समस्या देखिएको छैन ।

अमेरिका, क्यानडा, अष्ट्रेलियाजस्ता देशमा यस्तो समस्या नदेखिनुको कारण आन्तरिक जन्मदरभन्दा बाह्य आप्रवासन हो । अमेरिकी जनसङ्ख्या वृद्धिमा १७ प्रतिशत मात्र आन्तरिक जन्मदरको योगदान हुन्छ, बाँकी ८३ प्रतिशत आप्रवासनबाट हुन्छ ।

जनसङ्ख्या घट्दा अर्थतन्त्रको वृद्धिदर मात्र सुस्त हुँदैन, सामाजिक समस्या पनि बढ्छन् । विशेषतः जेष्ठ जनसङ्ख्याको हेरचाह गर्ने युवा जनसङ्ख्याको अभाव चर्को बन्न पुग्दछ ।

विश्वमा आज जनसङ्ख्या वृद्धिको कारण उत्पादन, आय र खाद्यान्नको अभाव छैन । त्योभिन्नै कुरा हो कि वितरणमा समस्या छ । आर्थिक असमानताले निम्त्याएको गरिबी र अभाव मुख्य समस्याको रूपमा देखिएको छ ।

संसारको प्रतिव्यक्ति औसत आय मासिक १४ हजार डलर पुगेको छ तर, १२५ भन्दा बढी देश औसतभन्दा कम आयस्तरमा छन । यो समस्या आयको असमान वितरणसँग सम्बन्धित छ ।

नेपालमा ७५३ मध्ये २७८ पालिका र ७७ मध्ये ४० जिल्लामा जनसङ्ख्या घटेको छ । नेपालमा जनसङ्ख्या वृद्धि अब त्यति ठूलो समस्या रहेन, जति ठान्ने गरिन्थ्यो ।

तर, नेपालको जनसङ्ख्या ह्रास राष्ट्रियस्तरमा नभएर निश्चित भौगोलिक क्षेत्रमा देखिएको छ । यसको कारण मुख्यतः आन्तरिक बसाइँसराइ हो । पहाडी र हिमाली जिल्लामा जनसङ्ख्या घट्दो छ भने तराई-मधेस र उपत्यका वरिपरि बढ्दो छ ।

जनसङ्ख्या ह्रासले आउने सबैभन्दा ठूलो समस्या श्रमशक्तिको अभाव र स्रोत साधन परिचालन अभाव हो । जनसङ्ख्या ह्रास भएका पालिका र जिल्लामा कृषियोग्य जमिन बाँझिन थालेका छन् । वनक्षेत्रको विस्तार र वन्यजन्तुले मानिसलाई दिने दु:ख र हैरानी बढेको छ ।

कुनै समय जनसङ्ख्या बढ्नुलाई समस्या मानिन्थ्यो । जनसङ्ख्या बढ्दा राज्य र सरकारहरू चिन्तित हुन्थे । परिवार नियोजन कार्यक्रमलाई आक्रामक बनाउँथे । संसारमा विस्तारै अब यस्तो समय आउँदै छ कि राज्य र सरकारहरू जनसङ्ख्या ह्रासको हैरानीले पिरोलिने छन् ।

कतिपय देशले त जनसङ्ख्या बढाउन अनेक खालका ‘स्किम’हरू पनि ल्याएका छन् । धेरै बच्चा जन्माउनेलाई सहुलियत र पुरस्कारको व्यवस्था गर्न थालिएको छ । नेपालले पनि यसबारे अहिले नै गम्भीर चिन्तन-मनन गर्नु आवश्यक छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register