कुन्तिस्तुति

पृष्ठभूमिः कुन्तिस्तुति श्रीमद्भागवातको प्रथम स्कन्दको अष्टम अध्यायमा छ। परिक्षित महाराजलाई कसरी शुकदेवजीसंग कथा सुन्ने संयोग प्राप्त भयो भन्ने शौनकादि ऋषिहरुको प्रश्नको उत्तर दिनेक्रममा परिक्षितको जन्मकथा सुनाउनु हुन्छ। महाभारतको युद्धपछि भगवान कृष्ण द्वारका फर्किने क्रममा सवै सङ्ग बिदा लिने क्रममा हुनुहुन्छ, त्यै बेला अभिमन्यू पत्नी उत्तरा दौडिदै रुंदै मेरो गर्भ बचाउनुहोस् भन्दै भगवानसँग अनुनय गर्छिन्। भगवानले […]

Sep 4, 2024 - 23:07
 0
कुन्तिस्तुति

लेखक डा. कृष्ण उपाध्याय

पृष्ठभूमिः
कुन्तिस्तुति श्रीमद्भागवातको प्रथम स्कन्दको अष्टम अध्यायमा छ।
परिक्षित महाराजलाई कसरी शुकदेवजीसंग कथा सुन्ने संयोग प्राप्त भयो भन्ने शौनकादि ऋषिहरुको प्रश्नको उत्तर दिनेक्रममा परिक्षितको जन्मकथा सुनाउनु हुन्छ। महाभारतको युद्धपछि भगवान कृष्ण द्वारका फर्किने क्रममा सवै सङ्ग बिदा लिने क्रममा हुनुहुन्छ, त्यै बेला अभिमन्यू पत्नी उत्तरा दौडिदै रुंदै मेरो गर्भ बचाउनुहोस् भन्दै भगवानसँग अनुनय गर्छिन्।
भगवानले रहेको त्यो बालकलाई ब्रह्मास्त्रबाट जोगाउनु हुन्छ। त्यो ब्र्हमास्त्र गुरु द्रोणपुत्र अश्वाथामाले पाण्डव बंशको अन्तिम बालकको बध गर्न प्रयोग गरेको हुन्छ। यस अघिनै उसले पाण्डव बंशका पाँच बालकहरुको शिरच्छेदन गरेर हत्या गरि सकेको थियो। भगवानले यसरी उत्तराको गर्भमा रहेको बालक (परिक्षित) लाई जोगाई सकेर जान लाग्दा कुन्तिजीले यो प्रार्थना गर्नु हुन्छ। नातामा कुन्तिजी भगवान कृष्णको फुफु हुनुहुन्छ।
श्लोक र अर्थः 
कुन्त्युवाच
नमस्ये पुरुषं त्वाद्यमीश्वरं प्रकृतेः परम् ।
अलक्ष्यं सर्वभूतानामन्तर्बहिरवस्थितम् ।। १८ ।।
कुन्ति भन्नुहुन्छः हजुरलाई नमस्कार गर्दछु, हजुर आध्य इश्वर माया (प्रकृति) बाट पर हुनुहुन्छ, सवै जीवको भित्र र बाहिर हुनुहुन्छ तै पनि दृश्यमान हुनुहुन्न (देखिनु हुन्न।)
मायाजवनिकाच्छन्नमज्ञाधोक्षजमव्ययम् ।
न लक्ष्यसे मूढदृशा नटो नाट्यधरो यथा ।। १९ ।।
(किनभने) हजुर मायारुपी पर्दाले छोपिनु भएको छ, अज्ञानीहरुको दृस्टी पुग्ने सीमा भन्दा पर हुनुहुन्छ र कलाकार नाट्य परिधानमा हुँदा नचिनिए जस्तै हजुर चिनिनु हुन्न।
तथा परमहंसानां मुनीनाममलात्मनाम् ।
भक्तियोगविधानार्थं कथं पश्येम हि स्त्रियः ।। २० ।।
त्यसरी नै मननशील र रागादिबाट मुक्त मुनिजन हरुले त चिन्न÷बुझ्न सक्दैनन् भने भक्तियोगको स्थापनार्थ अवतिर्ण हुनुभएका हजुरलाई, हामी स्त्रीहरुले कसरि चिन्न÷बुझ्न सक्छौ र!
कृष्णाय वासुदेवाय देवकीनन्दनाय च ।
नन्दगोपकुमाराय गोविन्दाय नमो नमः ।। २१ ।।
(त्यो भक्ति योग नजान्ने) म हजुर–– कृष्ण, वासुदेव, देवकी नन्दन, नन्दगोप कुमार, गोविन्दलाई नमस्कार गर्दछु।
नमः पङ्कजनाभाय नमः पङ्कजमालिने ।
नमः पङ्कजनेत्राय नमस्ते पङ्कजाङ्‍घ्रये ।। २२ ।। जसको नाभीमा कमल छ, जसले कमलको माला लाउनु हुन्छ, जसका कमल समान आँखा छन्, त्यस्ता हजुरलाई म प्रणाम गर्छु।
यथा हृषीकेश खलेन देवकी
कंसेन रुद्धातिचिरं शुचार्पिता ।
विमोचिताहं च सहात्मजा विभो
त्वयैव नाथेन मुहुर्विपद्गणात् ।। २३ ।।
(म माथि हजुरकी माता माथि भन्दा धेरै कृपा छ, किनभने) हे ऋषिकेश (इन्द्रियका नियन्ता), हजुरले कंसको कारागारबाट जसरी पुत्रशोकमा रहनु भएको देवकीलाई छुटाउनु भयो, त्यसै गरि हे नाथ बारम्बार मलाई र मेरा पुत्रहरुलाई विपत्तिबाट जोगाउनु भयो।
विषान्महाग्नेः पुरुषाददर्शना–
दसत्सभाया वनवासकृच्छ्रतः ।
मृधे मृधेऽनेकमहारथास्त्रतो
द्रौण्यस्त्रतश्चास्म हरेऽभिरक्षिताः ।। २४ ।।
हे प्रभु, हजुरले हामीलाई विषबाट, महाअग्निबाट, राक्षसहरुबाट, जुवास्थानबाट, वनवासका दुःख बाट, महारथीका अस्त्रबाट र अश्वथामाको ब्रह्मास्त्रबाट रक्षा भएको छ।
विपदः सन्तु ताः शश्वत्तत्र तत्र जगद्गुरो ।
भवतो दर्शनं यत्स्यादपुनर्भवदर्शनम् ।। २५ ।।
हे जगद्गुरो! हामीलाई बारम्बार विपत्ति आइ रहोस्, किनभने त्यही बेला हामीलाई हजुरको दर्शन प्राप्त हुन्छ, अनि (दर्शनको कारणले) जन्म÷मरण (संसार) भोग्नु पर्दैन।
जन्मैश्वर्यश्रुतश्रीभिरेधमानमदः पुमान् ।
नैवार्हत्यभिधातुं वै त्वामकिञ्चनगोचरम् ।। २६ ।।
(सम्पति-ऐश्वर्यले मोक्ष मार्गको वाधक हो भन्ने आसयमाः) उत्तम कुलमा जन्मिएको, सम्पति, विद्या, ऐश्वर्यको कारणले जसमा मद्÷मात्सर्य आउंछ, त्यस्ता मानिसले हजुरलाइ प्राप्त गर्न सक्दैनन, हजुर त् अकिञ्चन (धन आदि कारणले आसक्त नहुने) लाई मात्र दर्शन दिनु हुन्छ।
नमोऽकिञ्चनवित्ताय निवृत्तगुणवृत्तये ।
आत्मारामाय शान्ताय कैवल्यपतये नमः ।। २७ ।।
जो अकिञ्चन (भक्त) हरुको सर्वस्व हुनुहुन्छ, जो (धर्म, अर्थ, काम आदि) विषयी वृत्तिबाट निवृत हुनुहुन्छ, जो आत्माराम हुनहुन्छ, र जो कैवल्य (ऐकान्तिक शान्ति) दिन समर्थ हुनुहुन्छ, त्यस्ता हजुरलाई म नमस्कार गर्दछु।
मन्ये त्वां कालमीशानमनादिनिधनं विभुम् ।
समं चरन्तं सर्वत्र भूतानां यन्मिथः कलिः ।। २८ ।।
हजुरलाई म काल्रूरुप मान्दछु (देवकी पुत्र होइन) किनभने हजुर सवैको नियन्ता, आदि–अन्त रहित, सर्वव्यापी, सर्वत्र समभाव राक्ने हुनुहुन्छ। (भगवान द्वैत दृष्टी राख्नु हुन्न त्यसैले  कसैको  पक्षपोषण गर्नु हुन्न भन्ने भावमा) प्राणीबीचको कलह त उनीहरुकै विपरित बुद्धिको कारणले हुन्छ, हजुरको त्यसमा सम्बन्ध हुदैन।
न वेद कश्चिद्भगवंश्चिकीर्षितं
तवेहमानस्य नृणां विडम्बनम् ।
न यस्य कश्चिद्दयितोऽस्ति कर्हिचिद्
द्वेष्यश्च यस्मिन् विषमा मतिर्नृणाम् ।। २९ ।।
(अर्जुन प्रिय हुनुहुन्थ्यो, त्यसैले पक्ष लिएको भन्ने शंका निवारण गर्ने आशय व्यक्त गर्दै, कुन्ती भन्नु हुन्छ) हे भगवान हजुरको न कोही प्रिय वा शत्रु छ। मनुष्य जस्तै लिला गरेको कारणले मानिसले बुझ्दैनन् (त्यसैले पक्षपाति ठान्न सक्छन्) ।
जन्म कर्म च विश्वात्मन्नजस्याकर्तुरात्मनः ।
तिर्यङ्‍नृषिषु यादःसु तदत्यन्तविडम्बनम् ।। ३० ।।
हे विश्वात्मन! हजुर अकर्ता भए पनि कर्म गर्नु हुन्छ, अजन्मा हुँदा हुँदै पनि प्राणी, मनुष्य, ऋषि र जलचरको स्थानमा जन्म लिनुहुन्छ।  यो नै आश्चर्यपूर्ण छ। (अथवा, हजुर शुद्द आत्मा  हुनुहुन्छ, अवतार लिएर गरेका कर्म त लीला मात्र हुन्) ।
गोप्याददे त्वयि कृतागसि दाम तावद्
या ते दशाश्रुकलिलाञ्जनसम्भ्रमाक्षम् ।
वक्त्रं निनीय भयभावनया स्थितस्य
सा मां विमोहयति भीरपि यद्विभेति ।। ३१ ।।
दहिको भाडो फोरेको अपराधमा यसोदाले डोरीले वांद्धा, हजुरका डराएका आँखाबाट काजलयुक्त आँशु झरेको देखिन्थ्यो। जबकि ’डर’ नै हजुरसंग डराउंछ। यो चाहिं मलाई अचम्म लाग्यो।
केचिदाहुरजं जातं पुण्यश्लोकस्य कीर्तये ।
यदोः प्रियस्यान्ववाये मलयस्येव चन्दनम् ।। ३२ ।।
(अवतार को प्रयोजन सन्देह ब्यक्त गर्दै, कुन्ती भन्नु हुन्छ) कोहि भन्छन् अजन्मा (भगवान) पुर्ण्यमान राजाहरुको किर्तिवर्धन गर्न जन्मन्छन, अरु भन्छन्, यदुका राजा खुशी पार्न जन्मन्छन्।  हजुर त्यो वंशमा यसरी आउनु भयो जसरी मलायागिरिमा चन्दन आएर त्यसको किर्तिवर्धन गर्दछ।
अपरे वसुदेवस्य देवक्यां याचितोऽभ्यगात् ।
अजस्त्वमस्य क्षेमाय वधाय च सुरद्विषाम् ।। ३३ ।।
अरु भन्छन, अजन्मा हुँदा हुँदै पनि वसुदेव देवकीको प्रार्थनाको कारण यहाँ जन्मनु भयो।
भारावतारणायान्ये भुवो नाव इवोदधौ ।
सीदन्त्या भूरिभारेण जातो ह्यात्मभुवार्थितः ।। ३४ ।।
कसैले भन्छन्, पृथ्वीमा पापको अतिभारको कारणले डुब्न लागेको नौका जस्तो भयो, त्यसैले पृथ्वीको भार हर्न (ब्रम्हाजी को प्रार्थनाको कारणले) यहां अवतार भयो।
भवेऽस्मिन् क्लिश्यमानानामविद्याकामकर्मभिः ।
श्रवणस्मरणार्हाणि करिष्यन्निति केचन ।। ३५ ।।
कोहि भन्छन्, अविध्या, काम–कर्म वाट दुखमा रहेका मानिस हरुले श्रवण, किर्तन, स्मरण गर्ने उदाहरणीय चरित्र प्रस्तुत गर्न जन्म लिनु हुन्छ।
श‍ृण्वन्ति गायन्ति गृणन्त्यभीक्ष्णशः
स्मरन्ति नन्दन्ति तवेहितं जनाः ।
त एव पश्यन्त्यचिरेण तावकं
भवप्रवाहोपरमं पदाम्बुजम् ।। ३६ ।।
जसले हजुरको श्रवण, गण, किर्तन, स्मरण गर्दछन, हजुरको चरणकमलमा प्राप्त हुन्छन् र पुनर्जन्म–मरणबाट विमुक्त हुन्छन्।
अप्यद्य नस्त्वं स्वकृतेहित प्रभो
जिहाससि स्वित्सुहृदोऽनुजीविनः ।
येषां न चान्यद्भवतः पदाम्बुजात्
परायणं राजसु योजितांहसाम् ।। ३७ ।।
हे प्रभु ! हजुरले आफ्ना सबै कर्तव्य पालन गरि सक्नु भयो। हामी पूर्णरुपले हजुरसंग आश्रित हुँदा हुँदै पनि हजुर अव हामीलाई छोडेर जानु हुन्छ, जवकि हामीलाई रक्षा गर्ने कोही छैन र सबै राजाहरु हामीसंग शत्रुवत छन् ।
के वयं नामरूपाभ्यां यदुभिः सह पाण्डवाः ।
भवतोऽदर्शनं यर्हि हृषीकाणामिवेशितुः ।। ३८ ।।
हजुरको दर्शनको कृपा नहुने हो भने प्राणीहरुको चेतना शुन्य भए जस्तै पाण्डव र यदुको कर्म र किर्ति पनि अन्त हुनेछ।
नेयं शोभिष्यते तत्र यथेदानीं गदाधर ।
त्वत्पदैरङ्किता भाति स्वलक्षणविलक्षितैः ।। ३९ ।।
हे गदाधर! हजुरका पद चिन्हले हाम्रो राज्य अंकित छ त्यसैले यो अहिले शोभायमान छ, हजुरले छोडेर गए पछि यो त्यस्तो रहने छैन।
इमे जनपदाः स्वृद्धाः सुपक्‍वौषधिवीरुधः ।
वनाद्रिनद्युदन्वन्तो ह्येधन्ते तव वीक्षितैः ।। ४० ।।
हजुरकै कृपादृस्टीको कारणले नै नगर र जनपद हरुको सवै हिसाबले श्रीवृद्धि हुंदैछ किनभने औषधि, सागपात, वन पहाड, नदी र समुद्र परिपूर्ण छन्।
अथ विश्वेश विश्वात्मन् विश्वमूर्ते स्वकेषु मे ।
स्नेहपाशमिमं छिन्धि दृढं पाण्डुषु वृष्णिषु ।। ४१ ।।
हे बिश्वात्मन! त्यसैले मेरा आफन्त हरु पाण्डव र यदु (वृष्णि) संगको मेरो मोह (संबन्ध) छिनाल्दिनु होस् !
त्वयि मेऽनन्यविषया मतिर्मधुपतेऽसकृत् ।
रतिमुद्वहतादद्धा गङ्गेवौघमुदन्वति ।। ४२ ।।
जसरि वाधा पन्छाउदै सागर तिर जान्छिन्, त्यसरी नै मेरो वुद्धि (मन, चिन्तन) पनि अन्त कतै नगई अनन्यभावले हजुरको प्रितीमा लागि रहोस्।
श्रीकृष्ण कृष्णसख वृष्ण्यृषभावनिध्रुग्
राजन्यवंशदहनानपवर्गवीर्य ।
गोविन्द गोद्विजसुरार्तिहरावतार
योगेश्वराखिलगुरो भगवन्नमस्ते ।। ४३ ।।
हे कृष्ण, हे अर्जुनका सखा, हे यादव श्रेष्ठ, पृथ्वीका भार भएका राजाहरुको वंशलाई अग्निले दाह गरे जस्तै हजुरको प्रभाव कहिल्यै घट्दैन।  गौ, ब्राह्मण, देवताका दुख हरण गर्न अवतार लिने, हे योगेश्वर, अखिल गुरु, हे भगवान, हजुरलाई नमस्कार!
संक्षिप्त व्याख्याः
पहिला चार श्लोक (१८–२२) मा कुन्तिजी भगवानका बिभिन्न स्वरुपको स्मरण गर्दै लौकिक जगतमा भदाको साइनो भएको भगवान कृष्णलाइ परम–तत्वको रुपमा प्रार्थना गर्नु हुन्छ। शुरुमै वहाँले भगवानलाइ ’आध्य पुरुष’को रुपमा नमन गर्दै मंगलाचरणको ब्याख्याको क्रममा उद्धृत गरिएको उपनिषद्को भाव (वेदको भाव) ब्यक्त गर्नु हुन्छः सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्। (हे सौम्य, यो जगत भन्दा पहिले पनि त्यहाँ एउटा मात्र अस्तित्वमा थियो, कुनै दोश्रो थिएन) । व्यासजीकै जस्तै उहाँले पनि भगवान मायाबाट पर भन्नुहुन्छ (हेर्नुस्, मंगलाचरण।
कुन्तिजी भगवानको अन्तर्यामी स्वरुपलाइ बुझ्नु हुन्छ र त भन्नु हुन्छ, हजुरभित्र बाहिर, यत्रतत्र विराजमान हुनुहुन्छ, तर देखिनु हुन्न।
यहि विषय महर्षि पराशर मैत्रेयीलाई बुझाउनुहुन्छः “सर्वाणि तत्र भूतानि वसन्ति परमात्‍मनि। भूतेषु च स सर्वात्‍मा वासुदेवस्‍ततः स्‍मृतः।। (विष्णु पुराण ६ः५ः८० ) (अर्थात् उनै परमात्मामा समस्त जीवहरु (भुत) वास्ता छन् र उहाँ आफैं आत्मारुपमा सवै प्राणीमा बस्नु हुन्छ, त्यसैले उहाँलाई वासुदेव पनि भनिन्छ)।
भगवानको गुणको गुढ रहस्य छ। एकातिर कुन्तिजी भन्नु हुन्छ भगवान मायाबाट विमुक्त हुनुहुन्छ, अर्कोतर्फ दोश्रो श्लोकमै भन्नु हुन्छ, भगवान मायाको आवरणमा भएकाले देखिनु हुन्न (अनुभव गर्न सकिन्न भन्ने भावमा बुज्दा पनि भयो)। माया भगवानभन्दा माथि वा धेरै प्रभावशाली भएकाले भगवानलाई उसको पर्दाले छेकेको होइन्, जीव (काम, क्रोध, लोभ, मोह, मद्, मात्सर्य आदिको कारणले) मायामा हुन्छ त्यसैले परमात्मालाई अनुभव÷प्राप्त गर्न सक्दैन।  भगवान स्वयम् पनि आफ्नो योगमायाको द्वारा मायाको संचार गर्नु हुन्छ। त्यसैले मायाले भगवानलाइ छेक्ने होइन्, जीव मायाको प्रभावमा हुन्छ।  यदि मायाले भगवानलाई छोपी दिने हो भने त माया र भगवान दुई अलग अलग स्वतन्त्र तत्व हुन्थ्यो (द्वैत तत्व) हुन्थ्यो।
भगवानको सर्बोच्चतामा प्रश्न हुन्थ्यो। तर त्यस्तो होइन, कुन्तिजी बढो विद्वतापूर्ण तरिकाले भन्नु हुन्छ, कलाकारले भेष बदल्दा नचिनिएको जस्तो, ’कलाकार’ (लीलापुरुष’ भगवान) आफैं नाट्यधरको भेषमा आउँनु हुन्छ––अर्थात वहाँ आफै माया चलाउनु हुन्छ (त्यसैले अनुभव गर्न-दर्शन गर्न दुर्लभ छ)। लीलास्वरूपमा भक्तियोग स्थापना गर्न अवतरित भगवान कृष्ण (अवतार एक अर्थमा, भगवानको नयां कलाकारको भेषमा आएको स्वरुप न हो) लाई ‘ज्ञानी मुनि गणले त चिन्दैनन् भने म कसरी चिन्न सक्छु र’ भन्नु हुन्छ विनित भावले (तर चिनिरहनु भएको छ नि, त्यसैले भक्तसंग भगवान सुलभ पनि त हुनुहुन्छ भन्ने भाव आउँछ यहाँ)।
त्यसैले त भदाको रुपमा उभिएका कृष्णलाई प्रार्थना गर्नु हुन्छ, प्रपन्न  भावले। त्यो भक्तको भाव हो। अझ विचित्र भाव के हो भने म चिन्न सक्दिन भन्दै परास्वरूपको गुणानुवाद गर्दै अगाडि उभिएका कृष्ण पनि त्यै परमतत्व हो भन्ने भाव उजागर गर्नु हुन्छ।  वहाँ भन्नु हुन्छ म कृष्ण, देवकीनन्दन, नन्दगोप कुमार, गोविन्दलाई प्रार्थना गर्छु। यहाँसम्म आइपुग्दा उहाँ भगवानका स्वरुपको गान गर्नु हुन्छ। भगवानका गुणानुवाद गर्दै परस्वरुपदेखि अवतरित हुनुभएका कृष्णको साकार स्वरुपको वर्णन गर्नु हुन्छ।
साकार स्वरुप नदेखुञ्ज्याल कल्याण कसरी कहाँ बाट अनुग्रह भयो भन्ने ज्ञान र भाव जीवमा आउदैन। त्यसैले भगवानका अनन्त कल्याणकारी गुणको वर्णन साकार स्वरुपको वर्णनमा मात्र हुन्छ।
कुन्तिजी त्यही गर्नु हुन्छ (हेर्नु, श्लोक २३–२९)। आफ्नी माता देवकी भन्दा आफू माथि भगवान कृष्णले बढी कृपा र करुणा बर्साएको भाव राख्नु हुन्छ (हेर्नुस्, श्लोक २३–२)। आर्त भाव, दैन्य भाव राख्नु हुन्छ। यस्ता भाव भक्त, भागवत, वैष्णव भाव हुन्। त्यसैले दुःख हरण भन्दा भगवत दर्शन वहाँको निम्ति महत्वपूर्ण छ। त्यसैले दुख पर्दा मात्र आफूले भगवानको दर्शन पाएकाले दुख आइ रहोस् भन्ने कामना गर्नुहुन्छ। किनभने, कुन्ती भन्नुहुन्छ, दर्शन भए पछि यो भव दर्शन हुदैन, अर्थात् फेरी जन्मने फेरी मर्ने क्रम बाट जीव मुक्त हुन्छ।
कुन्तिजीको त्यो अकिञ्चन भाव राख्नु हुन्छ किनभने ऐश्वर्य आदिले मद्, मात्सर्य ल्याउंछ (अर्को अर्थमा माया आच्छादित हुन्छ), त्यसले दर्शन (भागवत प्राप्ति) भगवत प्राप्तिको बाधक हुन्छ अर्थपञ्चकमा वर्णित पाँच प्रकारका (भगवान प्राप्तिका) विरोधी तत्व मध्य पहिलो विरोधी तत्व हो ‘स्वरुप विरोधी’ जसको कारण मानिसमा अज्ञानतावश शरीरलाई आत्माको रुपमा बुझने, आफूलाई भगवानबाहेक अरु कसैको दास मान्ने र आफू (आत्मा) लाइ स्वतन्त्र रहेको बुझ्ने।  आफूलाई स्वतन्त्र सम्झिने प्रवृत्तिले नै मानिसमा क्रोध, मद्, मात्सर्यको प्रकट गर्दछ। यी मायाका स्वरुपनै मायाका पर्दा हुन् र भगवद दर्शनको निम्ति पर्दा जस्तै बाधक हुन्छन्, भगवत प्राप्तिको बाधक हुन्छ। कुन्तिजी प्रार्थनामा यहि तथ्यलाई इंगित गर्नु हुन्छ।
वहाँ प्रार्थना गर्दै भन्नु हुन्छ (हेर्नुस श्लोक २७) भगवानको ’सर्वस्व’ हूनुहुन्छ (अर्थात्, एक मात्र आश्रय हुनुहुन्छ) अर्थात् कुन्तिजीले भगवानलाई आफ्नो हृदयमा विराजमान गराउनु भएको छ, किन भने उहाँ हृदयमा भगवानको स्मरण गरि रहनु हुन्छ। भगवान नारद्जी लाइ भन्नु हुन्छः हे नारद, म न त वैकुण्ठमा बस्छु, न त योगीहरुको हृदयमा बस्छु।  भक्त हरुले जहाँ भजन गर्दछन्, म त्यही बस्दछु । यथाः
नाहं वसामि वैकुंठे योगिनां हृदये न च ्र
मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद ्र्र (पद्मपुराण उत्तराखंडः१४ः२५ )
कुन्तिजी प्रार्थना गर्दै भगवानको अर्को साकार स्वरुपमा रहने भगवानको कर्म मात्र देखाएर भन्न मिल्ने विषय उठाउनु हुन्छः भगवान विषयवृतिबाट निबृत हुनुहुन्छ (भनेको, ति विषयमा भगवान प्राप्त हुनुहुन्न), भगवान आत्माराम हुनुहुन्छ (स्वयम्मा रमण गर्नु हुन्छ), र कैवल्य (ऐकान्तिक शान्ति) दिनु हुन्छ। स्मरण रहोस, ’कैवल्य’ मुक्ति होइन, मुक्ति पथको साधन मात्र हो (यसको चर्चा पछि गरिनेछ) ।
कुन्तिजी भगवानले द्वैत्व भाव (भेद भाव) राख्नु हुन् भन्ने भाव पनि प्रार्थनामा ब्यक्त गर्नु हुन्छ। कुन्तिजीको ब्रह्म ज्ञान त् हेर्नुस् यही कुरा श्रीमद्भागवतको सप्तम स्कन्दको पहिलो अध्यायमै भगवान द्वैत भाव राख्नु हुन्न भन्ने विषयमा शुकदेवजी परिक्षितलाई नारद युधिष्ठिर संवादको माध्यमबाट बुझाउनु हुन्छ, त्यसको विषद चर्चा यहाँ गरिएन, तर भगवानले आफूलाई प्रेम र श्रद्धापूर्वक स्मरण गर्नेलाई मात्र होइन द्वेष र कामभावले नै भए पनि सम्झी रह्यो भने तिनीहरुमाथि कृपा गर्नु हुन्छ भन्ने उदाहरण नारदजी दिनु हुन्छ। । उहाँ भन्नु हुन्छः काम भावले गोपीहरुले, भयको कारणले कंसले, शिशुपाल आदि राजाहरुले द्वेषको कारणले, सम्बन्धको कारणले वृष्णी बंशका ले, स्नेहका कारणले तपाईं (पाण्डव) हरुले र भक्तिको कारणले हामीले भागवत प्राप्त गरेका छौँ। (यहाँ ’काम’ लाई कामनाको अर्थमा लिऊ, वासनाको भावमा होइन)
यथाः
गोप्यः कामाद्भ‍यात्कंसो द्वेषाच्चैद्यादयो नृपाः।
सम्बन्धाद् वृष्णयः स्‍नेहाद्यूयं भक्त्या वयं विभो।। ७.१.३१ ।।
कुन्तीजी भगवानको अवतारका थप प्रयोजनको बताउनु हुन्छ (हेर्नुस् श्लोक ३०–३६)। अवातारको प्रयोजनबारे गीतामा भगवान स्वयम् भन्नु हुन्छः साधु सन्तहरुको त्राणको निम्ति, दुष्टहरुको विनाशको निम्ति र धर्म स्थापना गर्न म विभिन्न युगमा अवतरित हुन्छु।
यथाः
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय संभवामी युगे युगे।।गीताः४ः८।।.
तर, यहाँ कुन्तिजीको स्तुतिले भगवानको बचनलाइ अझ ब्याख्या गर्दछ। साधु धर्मात्माहरुको रक्षार्थ, दुराचारीहरुलाई नाश गर्न र धर्म रक्षार्थ मात्र त भगवानको संकल्प मात्र नै पुरा हुन्थ्यो तर प्राणी मात्रको लागि श्रवण, किर्तन, स्मरण आदिको परम्परा बसाउंदै धर्मको रक्षा र मनुष्य माथि करुणा गर्दै मुक्तिको मार्ग देखाउने पनि अवतारको प्रयोजन भएको प्रस्ट गर्नु हुन्छ।
उहाँ भन्नुहुन्छ, राजा हरुको किर्तिवर्धन गर्न, देवकी वसुदेवको प्रार्थनाको कारण, ब्रह्मादि देवताहरुले भुभार हर्न गरेको प्रार्थनाको कारणले, (श्लोक ३५) श्रवण, किर्तन, स्मरण, आदिको उदाहरणीय चरित्र प्रस्तुत गर्दै अविद्या, कर्म–वन्धनबाट दुःखी जनहरुलाई मुक्ति दिन भगवान धरामा अवतरित हुनुहुन्छ। किनभने श्रवण किर्तन गरेपछि जीवहरु मुक्त हुन्छन् (श्लोक ३६)। कुन्तिजीको यो भाव परम ज्ञानी शुकदेवकै जस्तो छ। शुकदेव भगवानको प्रार्थना गर्दै भन्नु हुन्छः जसको किर्तन, स्मरण, दर्शन, बन्दन, श्रवण र पुजन गर्नाले मनुष्यको पाप तत्काल नाश हुन्छ, ति (सुभद्रश्रवस) भगवानलाई म नमस्कार गर्दछु।
यथाः
यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद्वन्दनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। श्रीमद्भागवत २.४. १५ ।।
भगवान नहुंदा रक्षा गर्ने कोही हुंदैन (श्लोक ३७), प्राणीहरु चेतानाशुन्य हुन्छन् (३८), नगर सुन्दर हराभरा रहने छैनन् (३९) भन्दै भगवान नहुंदा माया मात्र रहन्छ भन्ने भावमा उहाँ पाण्डव र यदु बंशसंग मेरो सम्बन्ध (मोह) छिनाल्दिनुस्, किनभने यो भगवद प्राप्तिको निम्ति वाधक हो भन्नु हुन्छ। म त हजुरको चरणमा प्रीति रहिरहोस् भन्ने कामना गर्छु।
यही भाव अर्थपञ्चकको छ। मोह पनि स्वरुप विरोधी तत्व हो, भगवत प्राप्तिको वाधक तत्व हो।
अन्तमा, अर्जुनका सखा, अखिल गुरु, दुःख हरण गर्ने योगेश्वरलाई प्रणाम गर्नु हुन्छ। यसो गरि रहंदा कुन्तिजी भगवान जगदगुरुको भावमा हेर्नु हुन्छ, सबै ज्ञानको श्रोतको रुपमा हेर्नुहुन्छ। अतिशय ज्ञान भगवानका षट्गुण मध्य एक हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register