विदेश भासिएका नेपाली र उनीहरुको परिवारको कथा हो फाजिल जिन्दगी

काठमाडौं । कुटनीतिज्ञ मधुवन पौडेल नेपाली साहित्यको कथा क्षेत्रमा स्थापित नाम हो । वि.सं. २०४१ मा नै ‘बाँच्नुको विवशता’ कथा संग्रह प्रकाशित गरिसकेका कथाकार पौडेलको पछिल्लो कथा संग्रह ‘फाजिल जिन्दगी’ हालै मात्र प्रकाशित भएको छ । छोटा तर एकदमै मीठा र रसिला कथाको माध्यमबाट समाजका विभिन्न पक्षहरुलाई जीवन्त रुपमा पस्कने खप्पिस पौडेलको पछिल्लो कथा संग्रह […]

Sep 6, 2024 - 09:45
 0
विदेश भासिएका नेपाली र उनीहरुको परिवारको कथा हो फाजिल जिन्दगी

काठमाडौं ।

कुटनीतिज्ञ मधुवन पौडेल नेपाली साहित्यको कथा क्षेत्रमा स्थापित नाम हो । वि.सं. २०४१ मा नै ‘बाँच्नुको विवशता’ कथा संग्रह प्रकाशित गरिसकेका कथाकार पौडेलको पछिल्लो कथा संग्रह ‘फाजिल जिन्दगी’ हालै मात्र प्रकाशित भएको छ ।

छोटा तर एकदमै मीठा र रसिला कथाको माध्यमबाट समाजका विभिन्न पक्षहरुलाई जीवन्त रुपमा पस्कने खप्पिस पौडेलको पछिल्लो कथा संग्रह १२ वर्षको अन्तरालमा प्रकाशित भएको हो । यसमा कुटनीतिज्ञ पौडेलले आफ्नो जागिरे जीवनको सिलसिलामा लामो समय विदेशमा रहँदा अनुभव गरेको, देखेको र सुनेको जीवनका यथार्थहरुलाई जीवन्त चित्रण गरेका छन् ।


कूल २७ वटा कथाहरु संग्रहित यो पुस्तकमा लेखकले विदेशमा काम गर्ने वा स्थायी रुपमै विदेशीएका नेपालीहरुको जीवन, उनीहरुको नियति, पारिवारिक वियोग र केही विसंगति, नैराश्य एवं आशा निराशाको मनोविज्ञानलगायतलाई विषयवस्तु बनाएका छन् । मध्यपूर्वको खाडी क्षेत्रमा झण्डै ७ वर्ष विताएका लेखकले मानव तस्करहरुद्वारा अबैध मार्ग प्रयोग गरी कम पारिश्रमिकमा खाडी पठाइएका महिला घरेलु कामदारको दयनीय स्थिति, धेरै पैसा कमाउने लोभमा घरबाट भागेर खाडी क्षेत्रमा गई जानेले खाएको हण्डर, त्यसैगरी अमेरिका, क्यानाडालगायतका पश्चिमी देशहरुमा बसोबास गरिरहेका नेपालीहरुको जीवन एवं स्थानीय परिवेशमा पूर्ण रुपले समाहित हुन नसकेको कारण भित्रभित्रै भोगेको छटपटीलाई कथाको रुपमा उतारेका छन् ।


पुस्तककै नामको रुपमा जुरेको कथा फाजिल जिन्दगीमा सुविधापूर्ण र वैभवयुक्त जीन्दगी जिउने लालसाले एक वर्षकी छोरी छाडेर अवैध रुपमा अमेरिकामा भासिएको र अमेरिकामै आफ्नो परिवारसहित स्थायी रुपमा बसोबास गर्ने तारतम्य मिलाउने चक्करमा १७ वर्षसम्म श्रीमती र छोरीबाट टाढा रहेर अन्त्यमा त्यहाँको आप्रवासी कानुनका कारण अमेरिकी सरकारले जबरजस्ती फर्काएको एक युवकको कथा समेटिएको छ । उक्त कथामा मूख्य पात्रले आफ्नो उर्जायुक्त जवानीको १७ वर्ष फाजिलमा कटाएको छ ।

त्यस्तै ‘धरोधर्म इराक जान्न’ शिर्षकको कथामा अवैध रुपमा इराक गएर दुःख पाउँदै अन्त्यमा मृत्यु भएको एक पात्रको दारुण कथा समावेश छ । पलायनको पीडामा डिभी चिठ्ठा परेर अमेरिका पुगेका एक नेपाली दम्पतिले भोग्नुपरेको संघर्षको कथा समेटिएको छ भने ‘यसको अन्त्य कहिले ’मा हुँदाखाँदाको प्रहरीको जागीर छाडेर दुबईमा काम गर्न गएको बीरबहादुरको पीडा र असहायपनको कथा समेटिएको छ ।

बीरबहादुरको पीडा त्यतिमै सकिएको छैन, जुन श्रीमतीसँग सुखसयलको जिन्दगी बिताउने सपनामा दुबई पुगेका थिए, तीनै श्रीमतीले उनलाई छाडेर अर्कै पुरुषसँग हिंडेको पीडा पनि थपिएको छ । कूटनीतिज्ञ एवं लेखक मधुवन पौडेलको फाजिल जिन्दगी कथा संग्रहमा समाजमा विद्यमान विभिन्न समस्या, मानवीय सम्बन्ध र जीवनका कठीनाईका साथै विदेशी भूमीमा नेपालीको भोगाइको वास्तविक चित्रण गरिएको छ ।

मानवीय संवदेनाहरु र जीवनका यथार्थहरुबारे प्रचुर मात्रामा जानकारी दिने यस पुस्तकले नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register