एकीकृत समाजवादीमा ‘उकुसमुकुस’, नेताहरूमा बढ्दै एमाले-मोह !

किसान श्रेष्ठले पनि आफैँ नफर्किने तर, जा कि जा भनेको खण्डमा एमाले फर्किने प्रतिक्रिया दिएका छन् । "मलाई एमाले फर्किउँ भनेर लागेको छैन । अब जा कि जा भनियो भने त जानैपर्‍यो नि ! तर, पार्टी नै बनेन । यही गाह्रो कुरा छ ।"

Sep 6, 2024 - 13:07
 0
एकीकृत समाजवादीमा ‘उकुसमुकुस’, नेताहरूमा बढ्दै एमाले-मोह !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ (कृष्णकुमार श्रेष्ठ) लगायतले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बुवाको मुख हेर्ने दिन पारेर उनीहरूले ओलीलाई भेटेका हुन् ।

उनीहरूले भेटेनन् मात्रै, प्रधानमन्त्री बनेकामा बधाई दिँदै आशीर्वादसमेत ग्रहण गरे । त्यसो त यी नेताहरू पार्टीभित्र खास सन्तुष्ट छैनन् । पार्टी नेतृत्वबाट अपेक्षित काम र व्यवहार नभएको उनीहरूको गुनासो रहने गरेको छ । यो पङ्क्तिमा रामकुमारी-किसान मात्रै होइनन्, अरु पनि दर्जनौं नेताहरू छन् ।

रामकुमारी झाँक्री भर्खरै सम्पन्न पार्टीको पदाधिकारी चुनावमा महिला उपाध्यक्षमा पराजित हुन पुगिन् । उनले आफू अध्यक्ष माधवकुमार नेपालकै टिमले बाँडेको कागजी-चिर्कटोको कारण हारेको बताएकी छन् । तर, उनले आफू पराजित हुँदा त्यसले ठूलो अर्थ नराख्ने बताएकी छन् ।

उपाध्यक्षमा पराजित भएपछि ‘रमाइलै लागिरहेको छ…‘ भनेर प्रतिक्रिया दिएकी उनी पार्टी नेतृत्वसँग खुसी छैनन् । यहीबेला उनी पूर्वपार्टी एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् । यसले पार्टीभित्र तरङ्ग पैदा गरेको छ भने राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

माधवकै ‘प्लान’अनुसार हारेकी रामकुमारी !

यता किसान श्रेष्ठ पनि पार्टी नेतृत्वसँग खासै खुसी छैनन् । बारा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद श्रेष्ठले पार्टीलाई जनतासामु पुर्‍याउनेगरी नेतृत्वले सङ्गठन विस्तारमा ध्यान नपुर्‍याएको उनले बताउने गरेका छन् ।

उनी भन्छन्, “अनि कसरी बन्छ पार्टी ? जस्तो म बाराबाट निर्वाचित हुँ । त्यहाँ थप पार्टी सुदृढ गर्न सकिनेगरी अहिलेको केन्द्रीय कमिटी बनेको छैन ।”

गत पदाधिकारी तथा पोलिटब्यूरो सदस्य चुनावमा भाग नलिएका श्रेष्ठ नेताहरूकै कारण एकीकृत समाजवादी सङ्गठित बन्न नसकेको जिकिर गर्छन् ।

नेतृत्व (अध्यक्ष माधव नेपाल) सँग असन्तुष्ट अर्का एक नेता नेतृत्व तहसँग पार्टी बनाउने कार्यक्रम र हुटहुटी नै नभएको कटाक्ष गर्छन् । ती नेता नेपालभ्युजसँग भन्छन्, “नेतृत्व तहका नेतालाई पार्टी बनाउनुपर्छ भन्ने लागेकै छैन । काठमाडौं बसेर ओली, प्रचण्ड र देउवासँग भेटेर पार्टी बन्ने होइन । फिल्डमा जानुपर्छ । तर, हाम्रा नेताहरू आफू पनि जाँदैनन् र पार्टीका अरु नेतालाई पनि खटाउँदैनन् । त्यसैले पार्टी बनेन । पार्टी नबनेपछि नेताहरूलाई यहाँ रहनै गाह्र भएको देख्छु ।”

ती नेता अहिले पनि पार्टीका धेरै नेतामा एमाले-मोह जागिरहेको बताउँछन् । उहाँहरू एमाले फर्किने पहलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा ती नेता भन्छन्, “सोच नै त्यही भएपछि त्यसरी पहल गर्नु ठूलो कुरा भएन तर, गरिरहनुभएको छ भन्ने जानकारीचाहिँ छैन । मुख्य कुरा विचार, एजेन्डाले रोक्ने हो । त्यसमा हाम्रो नेताहरूको योजना नै देखिएन ।”

त्यसो त यसअघि एकीकृत समाजवादीतिर लागेका धेरै नेता एमाले फर्किसकेका छन् । असन्तुष्ट नेताहरूले बताएअनुसार त्यो सङ्ख्या अझै बढ्नेछ । तर, अध्यक्ष माधव नेपालनिकट नेताहरू भने पार्टी नेताहरू एमाले नफर्किने जिकिर गर्छन् ।

उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, “कोही नेताहरूले एमाले फर्किने भनेर पहल गरेको मलाई थाहा छैन । त्यसो गर्नुहुन्न भन्ने मलाई विश्वास छ । यदि त्यसो हो भने हामी रोक्छौँ, त्यसका लागि पहल गर्छौँ ।”

रामकुमारी झाँक्री : त्यो जोश, यो बेपरवाह

रामकुमारीप्रति लक्षित गर्दै उनी भन्छन्, “पार्टीभित्र आफैँ चुनावको माग गर्ने, चुनावमा हारेपछि अरु पार्टीभित्र जान खोज्ने अनि के भन्लान् दुनियाँले ? फेरि जुन पार्टीमा जान खोजेको हो, त्यसले कसरी हेर्छ ? आफ्नो पार्टीमा चुनाव हारेपछि कोही नेता अर्को पार्टीमा जान खोज्ला र ? यदि त्यसो भयो भने कतिले गिल्ला गर्दा हुन् ? उहाँहरूले पनि सोच्नुहोला । त्यसैले उहाँहरूलाई रोक्ने प्रयास रहनेछ ।”

उपाध्यक्षमा चुनाव हारेपछि रामकुमारी झाँक्रीले यदि एमाले फर्किने अवस्था बने आफू एक्लै नफर्किने बताएकी थिइन् । यसर्थ, उनले आफूसँगै फर्किने अरु नेताहरू गुहारिरहेको बताइन्छ । अपुष्ट जानकारीअनुसार कम्तीमा ५ सांसद एमालेमा फर्किनेगरी कुराकानी चलाइएको छ ।

किसान श्रेष्ठले पनि आफैँ नफर्किने तर, जा कि जा भनेको खण्डमा एमाले फर्किने प्रतिक्रिया दिएका छन् । “मलाई एमाले फर्किउँ भनेर लागेको छैन । अब जा कि जा भनियो भने त जानैपर्‍यो नि ! तर, पार्टी नै बनेन । यही गाह्रो कुरा छ ।”

जे होस्, ढिलोचाँडो कतिपय एकीकृत समाजवादीका नेता एमाले फर्किन सक्छन्, किनभने पार्टीभित्र नेतृत्वसँग असन्तुष्ट ठूलै जमात छ । यदि त्यो जमातलाई रोक्ने काम नेतृत्वपङ्क्तिबाट नभए त्यो जमात पार्टीबाट बिटुलो हुने अवश्यम्भावी देखिन्छ ।

  • सम्बन्धित सामग्री

श्रेष्ठले ओलीलाई भेटेपछि घनश्यामले फोन गरेर सोधे- ओली कमरेडसँग के कुराकानी भयो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register