प्रहरीमा कडा सर्कुलर: माथिको आदेशविना नेता तथा शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक !

प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लंघन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

Sep 8, 2024 - 13:19
 0
प्रहरीमा कडा सर्कुलर: माथिको आदेशविना नेता तथा शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक !

काठमाडौं । सरुवा बढुवाको लागि नेता तथा शक्तिकेन्द्र धाउने प्रवृत्ति बढेपछि प्रहरीमा माथिको अनुमतिविना नेता तथा शक्तिकेन्द्रसँग भेटघाट नगर्न कडा सर्कुलर जारी भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिबिना कसैले अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो ।

प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लंघन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेता\कार्यकर्ता, व्यापारीलगायत विभिन्न शक्ति केन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दबाब दिएपछि यो परिपत्र जारी भएको हो ।

‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, साङ्गठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनै पनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहेभएको पाइएमा त्यसलाई नै प्रमाणका रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटमा गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

परिपत्रमा साङ्गठनिक मूल्य मान्यता एवं आदेशको शृङखलालाई वेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा साङ्गठनिक अनुशासनको क्रम भंगता भएको पनि उल्लेख छ ।

‘विभागीय नीतिनियमको धज्जी उडाउने, साङ्गठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा उल्लेख छ ।

सशस्त्र प्रहरीले भने २०७९ पुस १४ नै मातहतका कर्मचारीलाई पूर्वअनुमतिविना बाहिरी भेटघाट बन्द गर्न आदेश जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register