७० हजार पटक उडेको बुद्धको एउटा पुरानो जहाजको बिदाइ

बुद्ध एअरको नाइन एन–एआइएन जहाजको ७० हजार उडान साइकल पूरा भएको भन्दै अब उडान नगर्ने गरी बिदाइ गरिएको हो ।

Sep 10, 2024 - 09:03
 0
७० हजार पटक उडेको बुद्धको एउटा पुरानो जहाजको बिदाइ

काठमाडौं । ७० हजार पटक उडेपछि उड्डयन सुरक्षाअनुसार पुरानो भएको भन्दै १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ । बुद्ध एअरको नाइन एन–एआइएन जहाज  ७० हजार उडान साइकल पूरा भएपछि अब उडान नगर्ने गरी बिदाइ गरिएको हो ।

नेपाली आकाशमा जहाजले पखेटा फिँजाएको ७५ वर्षको इतिहासमा एउटा जहाजले आफ्नो ‘लाइफ साइकल’ पूरा गरेर बिदाइ भएको पहिलो घटना हो । एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ ।

नेपालमा प्रायः विमान पुरानो हुँदै जाँदा दुर्घटनामा पर्ने जाेखिम छ । कतिपय जहाज बिक्री गर्ने चलन थियो । तर एउटा जहाजले आफ्नो लाइफसाइकल पूरा गरेर बिदाइ हुन लागेको सुनिएकै थिएन ।

टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरण मात्र काम लाग्छन् । फ्युसलाज अर्थात् विमानको मुख्य शरीर वा ढाँचालाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ ।

त्यसैले बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर विमानलाई बिदा गरिएको हो ।

यो जहाज आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो । त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको थियो । यो विमान खरिद गरेर नेपाल ल्याइएपछि थप ४० हजार बढी पटक उड्यो ।  १६ वर्षको अवधिमा यो जहाजले ४४ हजार ४७७ पटक उडान गरेको छ भने १८ लाख यात्रुलाइ सेवा दिएको छ।

जहाजको बिदाइमा सम्मान स्वरूप पानीको फोहोराले सलामी दिइएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

उड्डयन क्षेत्रमा वायुयानको उमेर हुन्छ । तर बुढो हुँदैन भनिन्छ । नियमित मर्मत र यन्त्र तथा उपकरणहरूको समय तालिकाअनुसार प्रतिस्थापन भइरहे जहाज बुढो हुँदैन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा राखेको ट्वीनअटर विमानमा एटीआरमा जसरी साइकलको सीमा तोकिएको छैन । तिनलाई पार्टपुर्जा फेरबदल गर्दै उडाइरहन मिल्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register