को हुन् कमला ह्यारिसका बुवा ? जसलाई ट्रम्पले ‘मार्क्सवादी’ भने

कमलाले आफैँ पनि आमाको बारेमा सार्वजनिक रूपमा बोल्दै आएकी छिन् । तर, कमलाका बाबुको बारेमा कम चर्चा भएको छ । यस्तो अवस्थामा ट्रम्पले उल्लेख गर्दा यो प्रश्न पनि उठ्यो कि कमलाका पिता को हुन् ?

Sep 12, 2024 - 08:15
 0
को हुन् कमला ह्यारिसका बुवा ? जसलाई ट्रम्पले ‘मार्क्सवादी’ भने

काठमाडौं । अमेरिकाको उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मंगलबार पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पहिलो पटक भेट्दा त्यति न्यानोपन थिएन ।

कमलाले हात मिलाउन पहल गरिन् र त्यसपछि ट्रम्पले हात फैलाए । बहसमा दुवैले एकअर्कामाथि तिखो प्रहार गर्ने अपेक्षा गरिएको थियो तर, ट्रम्पले कमला ह्यारिसमाथि पनि व्यक्तिगत प्रहार गरे ।

राष्ट्रपति पदको बहसका क्रममा ट्रम्पले ‘कमला मार्क्सवादी हुन्’ भनेका थिए । उनले भनेका थिए, ”उनका बुवा पनि अर्थशास्त्रका मार्क्सवादी प्राध्यापक थिए । कमला पनि त्यही विचारधारामा हुर्किएकी छिन् ।”

यो सुनेर कमलाको अनुहारमा मुस्कान आयो । कमलाकी आमा श्यामला भारतकी थिइन् । कमलाको यो पहिचान भारतमा प्रायः चर्चामा छ । कमलाले आफैँ पनि आमाको बारेमा सार्वजनिक रूपमा बोल्दै आएकी छिन् ।

तर, कमलाका बाबुको बारेमा कम चर्चा भएको छ । यस्तो अवस्थामा ट्रम्पले उल्लेख गर्दा यो प्रश्न पनि उठ्यो कि कमलाका पिता को हुन् ?

कमलाको जमैकन नाता

कमलाका पिता डा. डोनाल्ड ह्यारिस मूल रूपमा जमैकाका हुन् । कमलाका हजुरबुवा पीवी गोपालन जमैकाका लागि भारत सरकारको वरिष्ठ कूटनीतिज्ञ थिए ।

गोपालन जमैका स्वतन्त्र भएपछि मात्र त्यहाँ गएका थिए । उनले शरणार्थीलाई बस्न मद्दत गरेका थिए । तर, डोनाल्ड ह्यारिस र कमलाकी आमा श्यामलाको भेट बर्कले (क्यालिफोर्निया)मा भएको थियो ।

श्यामला र डोनाल्ड मानवअधिकार आन्दोलनमा भाग लिँदा नजिकिएका थिए । प्रेम सम्बन्धपछि दुवैको विवाह भयो । कमलाको जन्म सन् १९६४ मा भएको थियो ।

कमला पाँच वर्षकी हुँदा डोनाल्ड र श्यामला छुट्टिएका थिए । कमला र बहिनीलाई उनकी आमाले हुर्काएकी थिइन् । विगतका वर्षमा कमलाले आफ्नो बुवाको बारेमा कम बोल्ने गरेकी छन् ।

भर्खरै एक कार्यक्रममा कमलाले अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा आफ्नो बुवाको कुरा गर्दै भनिन्, ”मेरो बुवाले मलाई भन्नुहुन्छ – कमला रन अर्थात् कमला राष्ट्रपतिको चुनावमा भाग लिऊ ।”

कमलाले भनिन्, ”सुरुदेखि नै मेरो बुवाले मलाई निडर हुन सिकाउनु भयो ।”

डोनाल्ड ह्यारिस को हुन् ?

८६ वर्षीय डा. ह्यारिस अर्थशास्त्रका चर्चित प्राध्यापक हुन् । उनी सन् १९७२ स्ट्यानफोर्ड विश्वविद्यालयमा प्रोफेसरशिप प्राप्त गर्ने पहिलो अश्वेत विद्वान थिए ।

विश्वविद्यालयको अखबार द स्ट्यानफोर्ड डेलीमा १९७६ को रिपोर्टले त्यसबेला केही मानिसले यसको विरोध गरेको बताएको थियो ।

डोनाल्डले बर्कलेको विश्वविद्यालयबाट स्नातक गरेका थिए । स्ट्यानफोर्ड युनिभर्सिटी वेबसाइटका अनुसार डोनाल्डले स्नातक पाठ्यक्रम द थ्योरी अफ क्यापिटलिस्ट डेभलपमेन्ट पढाएका थिए ।

डोनाल्ड अझै पनि स्ट्यानफोर्ड विश्वविद्यालयको प्रोफेसर इमेरटस हुन् । यद्यपि उनी सन् १९९८ मा सेवानिवृत्त भएका थिए ।

डोनाल्डले व्याख्यान दिन क्यानडा, इङ्गल्याण्ड, भारत, केन्या, मलेसिया, सिंगापुर जस्ता धेरै देशको भ्रमण गरेका छन् ।

यस अवधिमा डोनाल्ड पनि जमैकासँग सम्बन्धित रहे । उनले जमैका सरकारलाई अर्थतन्त्रसँग सम्बन्धित मुद्दामा सल्लाह दिन जारी राखेका छन् ।

विश्वका धेरै विश्वविद्यालय बाहेक उनी सन् १९६८ मा दिल्ली स्कूल अफ इकोनोमिक्समा भिजिटिङ्ग फेलो पनि भइसकेका छन् । डोनाल्ड ह्यारिसका धेरै पुस्तक पनि प्रकाशित भएका छन् ।

मार्क्सवादीको कुरा कहाँबाट आयो ?

द टेलिग्राफको रिपोर्ट अनुसार  जब डोनाल्ड स्ट्यानफोर्ड विश्वविद्यालयमा नियुक्त भए, विद्यार्थी पत्रिकाले उनलाई ‘मार्क्सवादी विद्वान’ भनेर वर्णन गरेको थियो ।

डोनाल्डको दृष्टिकोण नियोक्लासिकल अर्थशास्त्र भन्दा धेरै फरक थियो । त्यसबेला डोनाल्डलाई स्वतन्त्र बजार अर्थतन्त्रको समर्थक मानिदैँन थियो । विद्यार्थीलाई खुला बजारबाट टाढा लैजाने भन्दै उनको आलोचनात भएको थियो ।

डोनाल्डका विद्यार्थी रोबर्ट ब्लेकरले न्यूयोर्क टाइम्ससँग भने, ‘प्राध्यापक ह्यारिस लजालु थिएनन् । जब मैले कमला ह्यारिसलाई अदालतमा बहस गरिरहेको देखेँ, मैले उनीमा प्रोफेसर ह्यारिसको झलक देखेँ । सेमिनारमा प्रोफेसरले भाषण दिनुभएको जस्तो लाग्थ्यो ।”

रोबर्ट ब्लेकरले पनि ह्यारिससँग काम गरेका छन् । डोनाल्डले बुवाको रूपमा छोरीहरूबाट दूरीको बारेमा लेख लेखेका थिए ।

जमैका ग्लोबल वेबसाइटमा प्रकाशित यस लेखमा डोनाल्डले लेखेका छन्,”हिरासतमा लामो अदालती लडाइँपछि मैले मेरा बच्चाहरूसँग सम्पर्क गुमाएँ ।”

बीबीसीको सहयोगमा 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register