झापा मालपोत : एउटाको जग्गा अर्कैको नाममा नामसारी !

भद्रपुर, २८ भदौ । अदालतको अंश मुद्दाको फैसलाविपरीत भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको घटना बाहिर आएको छ । झापा जिल्ला अदालत भद्रपुरले जग्गा जमिनको अंश छुट्याई भूमिसुधार तथा मालपोत कार्यालय झापालाई समेत दाखिल खारेज दर्ता गरिदिने भनी गरेको लिखित निर्देशन विपरीत मालपोतका कर्मचारीले सो जग्गा अन्य व्यक्तिको [...] The post झापा मालपोत : एउटाको जग्गा अर्कैको नाममा नामसारी ! appeared first on Jhapa Online.

Sep 14, 2024 - 04:05
 0
झापा मालपोत : एउटाको जग्गा अर्कैको नाममा नामसारी !

भद्रपुर, २८ भदौ । अदालतको अंश मुद्दाको फैसलाविपरीत भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको घटना बाहिर आएको छ ।

झापा जिल्ला अदालत भद्रपुरले जग्गा जमिनको अंश छुट्याई भूमिसुधार तथा मालपोत कार्यालय झापालाई समेत दाखिल खारेज दर्ता गरिदिने भनी गरेको लिखित निर्देशन विपरीत मालपोतका कर्मचारीले सो जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिदिएको खुलेको हो ।

अदालतको आदेशको उल्लङ्घन गर्दै मालपोतले आफूहरूको नाममा हुनुपर्ने जमिन अरूको नाममा पास गरिदिएपछि अहिले पीडित परिवार न्याय खोज्दै हिँडिरहेका छन् । घटना विवरण अनुसार साबिक महेशपुर गाविस–१ हाल भद्रपुर नगरपालिका–४ बस्ने श्यामबहादुर केसीले दुई वटा विवाह गरेका थिए । केसीका जेठी श्रीमती राधादेवी केसीका दुई छोराहरू मनोज र सरोज, छोरीहरू सरिता र पवित्रा रहेका छन् ।

कान्छी श्रीमती रेणुका केसीतर्फ एक मात्र छोरा सुरज रहेका छन् । श्रीमानसँग छुट्टिएर कान्छी श्रीमती रेणुका छोरासहित आफ्नै माइती घर गौरादहमा बस्दै आइरहेकी थिइन् । श्रीमान् श्यामबहादुरको मृत्यु पश्चात रेणुकाले २०६७ सालमा जेठीपट्टिका सन्तानहरूलाई प्रतिवादी बनाएर अदालतमा अंश दाबीको मुद्दा दायर गरेकी थिइन् ।

२०७१ साल बैशाख २९ गते तत्कालीन जिल्ला न्यायाधीश रमेशकुमार खत्रीले उल्लेखित केसी परिवारको सम्पत्ति ६ भाग लगाई विवाह नभएका अंशियारको विवाह खर्च पर सारी यसबाट दुई भाग सम्पत्ति वादी रेणुकाले अंश पाउने फैसला सुनाएको थियो । अदालतले सोही बमोजिम साबिक गाविसहरू चारपाने, महेशपुर, चन्द्रगढी, हल्दिबारीका जमिनहरू २०७४ साल बैशाख २५ गते मालपोत कार्यालयलाई दाखिला खारेज गरिदिने सम्बन्धमा पत्राचार गरेको थियो ।

त्यसमध्ये साबिक चारपाने –३ रामचोकस्थित राजमार्गदेखि उत्तरतर्फको कित्ता नम्बर ६८१ को ३ कट्ठा १३ धुर जमिन बेचिएको मनोजकुमार केसीले बताए । सो जमिन कान्छी आमा रेणुका र भाइ सुरजको नाममा दर्ता भए तापनि त्यसमा ६ भाग लाग्ने अदालतको फैसलामा उल्लेख भएको उनले बताए । दुई भाग जमिन मात्र उहाँहरूको हो । उहाँहरूले सबै जमिन मालपोत कर्मचारीको सेटिङमा बिक्री गर्नु भयो –उनले भने ।

नापी कार्यालयले २०७४ साल जेठ ३ गते सबै जमिनको कित्ताकाट गरी मालपोतमा पत्र पठाइसकेको थियो । नापीको कित्ता काटमा ६८१ लाई फोड गरी ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर (रेणुका र सुरज) र ६०१४ कित्तामा दुई कट्ठा पौने ८ धुर (सुरज केसी समेत) भनी उल्लेख छ । मालपोतले २०७९ फागुन २१ गते दाखिला खारेज सम्बन्धी टिप्पणी तथा आदेशमा कित्ता नम्बर ६०१३ र ६०१४ विवरण जग्गाधनी दर्ता स्रेस्ता उठाइसकेको थियो ।

जग्गाधनी दर्ता स्रेस्तासमेत कित्ता नम्बर ६०१४ को दुई कट्ठा पौने ८ धुर जमिन जेठी पट्टिका सन्तानको हुँदाहुँदै मालपोतले सो जमिन अनारमनी– ३ की प्रियङ्का गोयलको नाममा २०८० मंसीर २४ गते नामसारी गरिदिएको प्रमाण फेला परेको छ । सो जमिन प्रियङ्कालाई रेणुका र उनका छोरा सुरजले पास गरिदिएका थिए । उनीहरूले प्रियङ्कालाई आफ्नो नाममा रहेका ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर जमिन पनि सोही बेला पास गरेका थिए ।

जमिनको राजीनामा पासमा तत्कालीन मालपोत अधिकृत दीपेन्द्र खत्रीको हस्ताक्षर रहेको छ । २ करोड २ लाख थैली राखिएको उक्त जग्गा राजीनामा पास गर्दा ६ लाख ६ हजार रुपैयाँ राजश्व बुझाएको देखिन्छ । जमिनको नामसारी गर्नु प¥यो भनेर स्थानीय तहबाट सबै कागजात पूरा गरी २०८१ असार १३ गते मालपोत कार्यालयमा सबै प्रमाणसहित निवेदन दिएको पीडित मनोजको भनाइ छ ।

मालपोतका कर्मचारीहरूले दुई महिनासम्म अल्झाएर राखेको बताउँदै उनले भने, –अति भएपछि आफंै लागेर बुझ्दा आफ्नो नामको जमिन कान्छी आमाले ८ महिना अघि नै बेचिदिएको रहेछ । अदालतले फैसला गरिसकेको अंश मुद्दाको जमिनलाई मालपोतका कर्मचारीले कसरी अरूको नाममा नामसारी गरिदिन सक्छ ? पक्कै पनि यहाँ ठूलै चलखेल हुनुपर्छ । अदालत भन्दा ठूलो मालपोत त पक्कै पनि होइन होला ? सो जमिनको दुई वटा जग्गाधनी दर्ता स्रेस्ता भेटिएको छ,– उनले भने । मलाई न्याय चाहियो ।

यो घटनामा संलग्न भएका व्यक्तिहरूलाई कानूनी कारबाही हुनुपर्छ । यो घटना पहिलो होइन – उनले भने –मालपोतमा यस्ता घटनाहरू घटिरहन्छ, त्यसैले यो घटनाले अरू पनि सचेत हुनुपर्छ । घटनालाई साम्य बनाउन मालपोतका कर्मचारीहरू अहिले जमिन फिर्ता गराउन लागीपरेका छन् । मालपोतका कर्मचारीले सोमबारसम्म जमिन फिर्ता हुने आश्वासन दिएको उनको भनाइ छ ।

यता भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख शेरबहादुर भण्डारीले जमिन नामसारी भएको घटनाको बारेमा अधिकृत मोहन दर्जीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको बताए । छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने उनको भनाइ छ । प्रतिवेदनमा दोषी देखिएका कर्मचारीलाई विभागीय कारबाही हुने उनले बताए । कर्मचारीबाट गल्ती भएको बताउँदै उनले भने –एक साताभित्र सम्बन्धित व्यक्तिलाई जग्गा फिर्ता गराउन हामी लागीपरेका छौँ ।

The post झापा मालपोत : एउटाको जग्गा अर्कैको नाममा नामसारी ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register