कांग्रेसमा नेतृत्वका लागि कसरत सुरु : तीन नेताको छलफलले के सङ्केत गर्छ ?

त्यसबेला के भनिन्थ्यो भने देउवाले शशांक, प्रकाशमान र विमलेन्द्र तीनैजनालाई १५औं महाधिवेशनमा समर्थन गर्ने आश्वासन दिएका थिए ।

Sep 24, 2024 - 16:49
 0
कांग्रेसमा नेतृत्वका लागि कसरत सुरु : तीन नेताको छलफलले के सङ्केत गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिबीच सोमबार भेटवार्ता भयो । भेटको आयोजना गरेका थिए, शशांकले । उनले प्रकाशमान र विमलेन्द्रलाई आफ्नै निवास महाराजगञ्ज बोलाएर लामै बात मारे ।

तीन नेताबीच के कुराकानी भयो ? उनीहरू बताउन चाहँदैनन् । भेटबारे सोध्दा विमलेन्द्र भन्छन्, “सामान्य चिया गफ हो ।”

तर, आकलन गर्न सकिन्छ उनीहरूबीच पार्टीको १५औं महाधिवेशनबारे छलफल भयो ! विधानत: महाधिवेशन हुन अब पूरापुरी १ वर्ष मात्रै छ ।

कांग्रेसमा हरेक चार/चार वर्षमा महाधिवेशन हुन्छ । जसअनुसार १५औं महाधिवेशन २०८१ मंसिरभित्र गरिसक्नुपर्ने प्रस्ताव खासगरी संस्थापनइतर पक्षका नेताहरूले गरिसकेका छन् ।

गत साउनमा बसेको केन्द्रीय समिति बैठकमै संस्थापनइतर पक्षका नेताद्वय डा. शेखर कोइराला र गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका माग गरेका थिए ।

साथमा उनीहरूको सुझाव थियो कि— १५औं महाधिवेशन ०८२ मंसिरभित्र भइसक्नुपर्छ ।

कांग्रेसभित्र नेताहरूबीच १५औं महाधिवेशनको सन्दर्भमा अनौपचारिक संवाद सुरु भइसकेको छ । यही सन्दर्भमा तीन नेताबीच भेट भएको हो । अरु रोचकचाहिँ के भने तीनैजना नेता सभापतिका आकाङ्क्षी हुन् । उनीहरू तीनैजना १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहन्छन् ।

प्रकाशमान र विमलेन्द्र त १४औं महाधिवेशनमा पनि उम्मेदवार बनेकै थिए । विधानअनुसार कांग्रेसमा सभापति निर्वाचित हुन कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्छ । त्यसबेला पहिलो चरणमा कसैले ५० प्रतिशत ल्याएनन् र दोस्रो चरणमा मतदान भयो, त्यसबेला उनीहरूले शेरबहादुर देउवालाई नै समर्थन जनाए ।

पहिलो चरणमा उम्मेदवार बनेर सीमित मत ल्याएका प्रकाशमान र विमलेन्द्रले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने घोषणा गरे । त्यसबखत शशांक भने मौन रहे । के भनिन्थ्यो भने उनको समर्थन पनि देउवालाई नै थियो ।

त्यसो त उनका दाजु शेखर कोइराला संस्थापनइतर पक्षको तर्फबाट सभापतिका उम्मेदवार थिए । आफूलाई भाइ (शशांक कोइराला) को समर्थन हुने अपेक्षा गरे पनि उनले पाउन सकेनन् ।

त्यसबेला के भनिन्थ्यो भने देउवाले शशांक, प्रकाशमान र विमलेन्द्र तीनैजनालाई १५औं महाधिवेशनमा समर्थन गर्ने आश्वासन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्वीर : नेपालभ्युज ।

तर, पछि देउवाले पार्टीभित्र आफ्ना निकटस्थ नेताहरूसँग १५औं महाधिवेशनमा ‘बीपीका छोरालाई दिन्छु…’ भन्थे रे ! बीपीका छोरा भने शशांक हुन् । त्यसो त उनले देउवालाई समर्थन गरिरहेकै हुन्छन् । अर्को कुरा; कांग्रेसमा दुई पटकभन्दा बढी सभापतिको उम्मेदवार बन्न पाइँदैन ।

१३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका देउवा १४औं महाधिवेशनमा पनि निर्वाचित भए । यही मेसोमा शशांकले सभापतिकै आकाङ्क्षी दुई नेतालाई बोलाएर के सल्लाह गरे ? स्वाभाविक रूपमा जिज्ञासा उठ्छ ।

तर, फेरि पनि देउवाको समर्थन जसले पाउँछ, उसैको पल्ला भारी हुन सक्छ । कहीँ विधान संशोधन गरेर देउवा नै त सभापति बन्दैनन् ? यो सम्भावना न्यून रहेको देउवाकै निकटस्थहरू बताउँछन् । उनीनिकट एक नेता भन्छन्, “सभापतिज्यूले त्यसो गर्नुहुन्न । उहाँ सौहार्दपूर्ण रूपमा बाहिरिनुहुन्छ ।”

जसै देउवाले पनि जोड नगर्ने सङ्केत गरिसकेका छन् । यसअघि एउटा सार्वजनिक कार्यक्रममै उनले भनेका थिए, “उमेरका कारणले मैले पनि अब निकास लिनुपर्छ ।”

यसरी हेर्दा अब कांग्रेसमा यिनै तीनमध्ये एउटाले देउवाको ‘आशीर्वाद’ पाउने निश्चितप्राय: देखिन्छ । तर, शशांकले बढी नै अपेक्षा गरेका छन् । पार्टीभित्र देउवा ‘बीपीका छोरालाई दिन्छु…’ भन्दा उनी अझ बढी आशावादी देखिन्छन् ।

त्यसो त कतिपयले के पनि भन्छन् भने देउवाले १५औं महाधिवेशनमा समर्थन जनाउने वचन दिएपछि नै उनले १४औं महाधिवेशनमा उम्मेदवारी नदिएका हुन् ।

यसलाई सत्य नै हो भनेर भन्न सकिने आधार त केही छैन तर, उनले आफ्ना सम्भावित प्रतिस्पर्धी नेतालाई घरमै बोलाएर संवाद गर्नुले उनी आफ्नो तर्फबाट १५औं महाधिवेशनको तयारीमा जुटिसकेका छन् भनेर बुझ्दा अनौठो नहोला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register