स्वदेश फर्किनेबित्तिकै प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति : पीडितको घाउमा नुन-चुक

प्रश्नहरूलाई बटार्न, हलुका बनाउन, गह्रौं रूपमा व्यक्त गर्न माहिर प्रधानमन्त्री ओलीले विमानस्थलमा पनि त्यस्तै गरे, जुन उनको पुरानो स्वभाव हो । यत्रो विपद्ले उनलाई कतै पनि छोएको देखिएन ।

Sep 30, 2024 - 13:53
 0
स्वदेश फर्किनेबित्तिकै प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति : पीडितको घाउमा नुन-चुक

काठमाडौं । असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) अपराह्न स्वदेश फर्किए ।

उनी ११ दिन अमेरिका रहँदा नेपालमा ठूलै प्राकृतिक विपद् आइलाग्यो, त्यसबाट अहिलेसम्म २ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

नेपालमा बाढी, पहिरो तथा डुबानबाट नागरिक प्रभावित भइरहँदा भ्रमण छोट्याएर प्रधानमन्त्री स्वदेश फर्कने धेरैको अपेक्षा थियो । तर, त्यसो हुन सकेन । उनी अमेरिकामा ताल न बेतालका कार्यक्रममा भाषण छाँट्न व्यस्त देखिए ।

स्वेदश फर्किएपछि प्रधानमन्त्रीलाई सुन्न नागरिक आतुर थिए । तर, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनी पहिलेजस्तै गैरजिम्मेवार रूपमा पेस भए । प्रधानमन्त्रीमा कुनै गम्भीरता देखिएन ।

उनले विपद्‌बाट मुलुकलाई बाहिर निकाल्ने कुनै योजना सुनाउनु त कता हो कता; उल्टै गैरजिम्मेवार रूपमा सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे ।

तीखा प्रश्न बोकेर विमानस्थल पुगेका पत्रकारहरूले विपद्‌को पूर्वतयारी र राष्ट्रसङ्घमा सम्बोधनको उपलब्धिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

पत्रकारले प्रधानमन्त्री ओलीलाई ‘पूर्वसूचना हुँदाहुँदै सरकारले किन विपद्‌को तयारी गरेन ?’ र ‘राष्ट्रसङ्घ महासभाको तपाईंको सम्बोधनले नेपाललाई के उपलब्धि दिन्छ ?’ भन्ने दुईवटा मुख्य प्रश्न गरेका थिए ।

यसमा प्रधानमन्त्री ओलीले ‘कमी-जोरीहरूको समीक्षा गरेर आगामी दिनमा दोहोरिन नदिने’ प्रतिबद्धता जनाउन सक्थे । ‘आफू बाहिर भएका बेला यस्तो विपद् आएकाले पनि समस्या भयो’ भन्न सक्थे । तर, प्रश्नहरूलाई बटार्न, हलुका बनाउन, गह्रौं रूपमा व्यक्त गर्न माहिर प्रधानमन्त्री ओलीले विमानस्थलमा पनि त्यस्तै गरे, जुन उनको पुरानो स्वभाव हो । यत्रो विपद्ले उनलाई कतै पनि छोएको देखिएन ।

विपद्को पूर्वसूचनाबारे गरिएको प्रश्नको जवाफमा उल्टो प्रतिप्रश्न गर्दै उनले भने, “रेड एलर्ट जारी गरिएको थियो तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो । काठमाडौंमा यति डुबान हुन्छ भन्ने त कल्पना पनि थिएन, एलर्ट त थियो, यस्ता कुराहरूलाई हामीले वस्तुपरक ढङ्गले हेर्नुपर्छ ।”

देशको भौगर्भिक अध्ययनले पहिरो जाने बढी सम्भावना भएका क्षेत्र औँल्याएको छ । पहिरो धेरै कहाँ जान सक्छ भन्ने पनि पहिले नै थाहा हुन्छ भन्ने प्रधानमन्त्रीमा जानकारी देखिएन । संसारभर पहाडको अध्ययन गरेर पहिरो जाने क्षेत्र छुट्याइएको हुन्छ । तर, हाम्रोमा भने गएपछि मात्रै थाहा हुन्छ । किनकि अहिलेसम्म बनेका सरकारले यसतर्फ काम नै गरेका छैनन् ।

तर, डोजरले कोतरेका पहाडहरूमा निरन्तर पहिरो झरिरहेको हुन्छ । सडकहरूमा पहिरो धेरै जान्छ भन्ने अहिले नेपालमा जोसुकैले बुझ्न थालेको छ । तर, प्रधानमन्त्रीले भने उल्टै सोधे, “पहिरो कहाँ जान्छ भनेर भनिएको थियो र ?”

विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नेपालभ्युज ।

महासभामा सम्बोधनबारे गरिएको प्रश्नमा त प्रधानमन्त्री ओली अलिकति कड्किए पनि ! केहीबेर सोचेर उनले जवाफ दिए, “मेरो अमेरिका भ्रमण गाई दुहुन गएर दूध लिएर आएजस्तो होइन ।”

उनले थप प्रष्टोक्ति दिए, “हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो । र, त्यसै गरेर हाम्रा जस्ता समस्याहरू एउटा देशका मात्रै समस्या होइनन्, ग्लोबल हुन् । यसलाई सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भो ।”

त्यसो त यसै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । नागरिक अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर भोकभोक परिरहेका छन् । हजारौं नागरिक सयौं किलोमिटर बाटो खाली खुट्टा पैदल नै हिँडिरहेका छन् । तर, सरकारको तदारुकता कतै पनि देखिँदैन ।

यस्तो बेला प्रधानमन्त्रीले जनतालाई आश्वस्त पार्नुपर्ने थियो । ‘अब म मिलाउँछु’ भन्नुपर्ने थियो । उल्टो उनी रिसाएर पत्रकारसँग नै सिङ्गौरी खेल्न तम्सिए । एउटा टाटस लेख्नेबाहेक केही गर्न नसकेको भनेर उनको आलोचना भइरहेको बेला दिएका यी गैरजिम्मेवार अभिव्यक्तिले आगोमा तेल थप्ने काम गरेको छ ।

उसो त देशमा प्राकृतिक आपत्‌विपद् तथा कुनै अनपेक्षित स्थिति आइलाग्दा राष्ट्र तथा सरकार प्रमुख विदेश भ्रमण छोट्याएर फर्किने प्रचलन आम र विश्वव्यापी हो । तर, प्रधानमन्त्री ओलीले त्यसो गरेनन् । सबै कार्यक्रम सकेर मात्रै स्वदेश फर्किए ।

अमेरिकामा प्रधानमन्त्री ओलीका अधिकांश कार्यक्रम निकै कम महत्त्वका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिकामा राष्ट्रसङ्घको महासभामा भाग लिन गएका थिए । उनी तीन दिनमै फर्किए । तर, हाम्रा प्रधानमन्त्री भने ११ दिनसम्म बसे ।

सामान्य अवस्थामा पनि यो भ्रमण निकै लामो हो । झन् विपद्का बेला त तत्काल आउनु पर्ने थियो । उनले यसलाई पूर्ण रूपमा बेवास्ता गरे । फर्केपछि पनि उनले दिएका अभिव्यक्तिले नागरिकको दु:खमा मल्हम लगाउनुको साटो नुन-चुक छर्कने काम मात्रै गरेको छ ।

  • सम्बन्धित सामग्री

पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register