एमाले सचिव भट्ट भन्छन्- माओवादीको हिंसा होइन ‘जनयुद्ध’ हो, नेताका विचार व्यक्तिगत हुन् (अन्तर्वार्ता)

एमालेका दस्ताबेजहरूले त्यसो भन्दैनन्, नेताहरूले के-के भन्छन्, त्यो व्यक्तिगत रूपमा भनेका हुन् । त्यसले पार्टीमा मान्य राख्दैन । संविधानसम्मत रूपमा हेर्नुपर्छ यसलाई । बाँकी कसले के बोल्छ भन्ने कुरा व्यक्तिगत हो ।

Sep 3, 2024 - 14:21
 0
एमाले सचिव भट्ट भन्छन्- माओवादीको हिंसा होइन ‘जनयुद्ध’ हो, नेताका विचार व्यक्तिगत हुन् (अन्तर्वार्ता)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) विरुद्ध खनिँदा नेकपा (एमाले) नेताहरूले उधिन्ने अनिवार्य सन्दर्भ हो— सशस्त्र युद्ध २०६२/६३ ।

भर्खरै पनि यो विषयले संसद्‌मा विवाद भयो । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले दोहोर्‍याएर भने, “त्यो हिंसा नै थियो, हिंसा नै थियो ।”

त्यसको अघिल्लो दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार, जसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । उक्त सरकार बिचौलियाको भएको आरोप लगाएका थिए ।

त्यसको प्रतिरक्षा गर्ने क्रममा योगेश भट्टराईले माओवादी सशस्त्र युद्ध नभइ हिंसा नै भएको जिकिर गरेका थिए ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली नै पनि माओवादी सशस्त्र युद्धलाई हिंसा करार गर्न छाड्दैनन् । जब-जब अध्यक्ष प्रचण्डविरुद्ध लाग्छन्, सुरुमा उनले उप्काउने विषय माओवादी युद्ध नै हो । उनी प्रचण्डले १७ हजार मारेको तर, आफूले त्यस्तो केही नगरेको बताइरहन्छन् । भर्खरै मात्रै पनि उनले भने, “मैले प्रचण्डले जस्तो १७ हजार मारेको हो र डराउने ?”

तर, एमालेमै रहेका पूर्वमाओवादी लिगेसी भएका नेताहरू भने सशस्त्र युद्धबारे पार्टीका अध्यक्ष केपी शर्मा ओली वा योगेश भट्टराईजस्ता अरु पदाधिकारीले बोलेको कुरा मान्दैनन् ।

२०७४ सालमा एमाले-माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ मा पूर्ववत् अवस्थामा फर्किँदा रामबहादुर थापा, लेखराज भट्टलगायतका अरु नेता एमालेमै रहे ।

अहिले थापा उपाध्यक्ष छन् भने भट्ट सचिव । उनीहरू भने माओवादी सशस्त्र युद्धलाई हिंसा भन्न नहुनेमा अडिग छन् । उपाध्यक्ष थापाले पनि यही विचार राख्ने उनीनिकट नेताहरू बताउँछन् । सचिव भट्ट पनि त्यही भन्छन् ।

यही मेसोमा हामीले पूर्वमाओवादी लिगेसी भएका एमाले सचिव लेखराज भट्टसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ—

माओवादी सशस्त्र युद्ध ‘हिंसा’ थियो कि थिएन ?

थिएन । त्यो हिंसा होइन ।

किन होइन ? एमालेका नेता/सांसदहरूले त त्यसै भन्छन् त ? अहिले तपाईं पनि एमालेमै हुनुहुन्छ ?

एमालेका दस्ताबेजहरूले त्यसो भन्दैनन्, नेताहरूले के-के भन्छन्, त्यो व्यक्तिगत रूपमा भनेका हुन् । त्यसले पार्टीमा मान्य राख्दैन । संविधानसम्मत रूपमा हेर्नुपर्छ यसलाई । बाँकी कसले के बोल्छ भन्ने कुरा व्यक्तिगत हो ।

एमालेको १०‍औं महाधिवेशनले पनि त्यसलाई हिंसा भन्दैन । एमाले-माओवादीको एकताको दस्ताबेजले पनि त्यसो भन्दैन ।

तर, एमाले नेताहरू किन बेला-बेला त्यसो भनिरहन्छन् ? कहिलेकाहीँ त तपाईंकै अध्यक्ष पनि त्यसै भन्नुहन्छ ?

त्यो भन्नुहुँदैन । म त जनयुद्धको नेतृत्व नै गरेर आएको मान्छे हुँ । यदि माओवादी जनयुद्धलाई हिंसा भन्ने हो भने २००७ सालदेखिकै सबै राजनीतिक आन्दोलनलाई हिंसा भन्नुपर्‍यो ।

त्यसोभए २०२८ सालमा भएको आन्दोलनलाई किन हिंसा भनिएन भन्ने प्रश्न उठ्ला । २००७, २८, ३६, ४६ सबै-सबै आन्दोलनलाई हिंसा भन्नुपर्‍यो होला । तर, २०६२/६३ सालको आन्दोलनलाई मात्रै हिंसा भन्नुचाहिँ हुँदैन । त्यसकै आडमा अहिलेका परिवर्तनहरू भएका हुन् ।

तपाईंले संविधानसम्मत र विभिन्न दस्ताबेजसम्मत भनेर भन्नुभयो, भनेपछि माओवादी जनयुद्धलाई हिंसा नभइ ‘सशस्त्र सङ्घर्ष’ थियो भन्नुपर्‍यो ?

त्यो त त्यही हो नि । जस्तो आन्दोलनमा ‘बल प्रयोगको सिद्धान्त’ मदन भण्डारीले आफ्नो जनताको बहुदलीय जनवाद (जबज) मा पनि राख्नुभएको थियो ।

कुनै पनि परिवर्तनका लागि भएका आन्दोलनहरूमा स्वाभाविक रूपमा बल प्रयोग हुन्छन् र त्यस क्रममा कोही न कोही घाइते हुनसक्छन्, कसैले सहादत प्राप्त गर्न सक्छन् । अब खाली त्यसलाई कसले कसरी बुझ्ने भन्ने कुरा हो ।

नेताहरूले, सांसदहरूले आ-आफ्नो तरिकाले व्याख्या गरेका गर्नुभएको होला । तर, पार्टीका आधिकारिक दस्ताबेज र निर्णयपुस्तिकाहरूमा हिंसा भन्ने शब्द प्रयोग गरिएका छैनन् ।

तर, कहिलेकाहीँ त अध्यक्ष (केपी शर्मा ओली) ले नै भन्नुहुन्छ नि ?

मैले भनिहालेँ, ती आन्दोलनहरूलाई, सङ्घर्षहरूलाई कसले कसरी बुझ्छ र व्याख्या गर्छ भन्ने कुरा हो । नेताहरूले बोल्नुभएको कुरा व्यक्तिगत रूपमा बुझ्नुपर्छ । दस्ताबेजहरूले त्यसबारे बोल्दैनन्, सशस्त्र सङ्घर्ष, आन्दोलन के-के भन्छ । त्यसलाई त्यसैगरी बुझ्नुपर्छ ।

भनेपछि माओवादी युद्ध हिंसा थिएन भनेर बुझ्नुपर्‍यो ।

पक्कै ! माओवादी जनयुद्ध हिंसा थिएन, त्यो परिवर्तनका लागि सञ्चालन गरिएको सशस्त्र सङ्घर्ष थियो । जसको जगमा आजको परिवर्तन सम्भव भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register