सदस्यलाई आमनिर्भर बनाउन बचत परिचालन गरिरहेका छौं : अध्यक्ष न्यौपाने (सहकारी वार्ता)

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै लैजाने तयारीमा संस्था छ ।एक दशक लामो सहकारिताको [...] The post सदस्यलाई आमनिर्भर बनाउन बचत परिचालन गरिरहेका छौं : अध्यक्ष न्यौपाने (सहकारी वार्ता) appeared first on Jhapa Online.

Sep 4, 2024 - 07:10
 0
सदस्यलाई आमनिर्भर बनाउन बचत परिचालन गरिरहेका छौं : अध्यक्ष न्यौपाने (सहकारी वार्ता)

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै लैजाने तयारीमा संस्था छ ।एक दशक लामो सहकारिताको अनुभवलाई कार्यरुप दिँदै शिक्षा बहुउद्देश्यीय सहकारीले आजको अक्करिलो परिस्थितिमा पनि सदस्यहरुले जम्मा गरेको बचत फिर्ता गर्न सक्नु र ऋणको अपेक्षा लिएर आउने सदस्यलाई आवश्यकता सम्बोधन गर्नसक्नु संस्थाको दिगोपनाको संकेत गर्दछ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था र सहकारी अभियान केन्द्रित रहेर संस्थाका अध्यक्ष सुब्रत न्यौपानेसँग गरिएको सहकारी वार्ता छ ।

सहकारी संस्थाको नेतृत्व गरिरहँदा सहकारीबारे तपाईंको बुझाई र अनुभव बताइदिनुस् न ।

सहकारी संस्थाहरुले स-सानो वर्गको पूँजीलाई एकमुष्ठ पारेर व्यापार-व्यवसाय, उद्यमशिलताको विकास र प्रवर्द्धनका लागि एक ढंगले काम गरिरहेका छन् । सहकारी संस्थाले मुख्य गरी छरिएर रहेको पूँजीलाई एकीकृत गरेर त्यसबाट आफ्ना सदस्यहरुलाई आमनिर्भरताका लागि परिचालन गर्दै आएका छन् । यो चाहिं प्रस्ट देखिएको एउटा परिस्थिति पनि हो ।

सहकारीले सदस्यको जीवनस्तरमा कस्तो प्रभाव पारेको छ ?

लामो अवधिसम्म सहकारीमा आबद्ध भएका सदस्यहरुको संस्थामा वित्तीय पहुँच स्थापित भएको कुरालाई हामीले हेर्नुपर्छ । ठूला बैंकहरुमा साना तथा मझौला प्रकृतिका व्यवसाय गर्ने वा आत्मनिर्भरता खोजेका नागरिकहरुको पहुँच नपुगिरहेकाबेला सहकारीहरु खुलेका थिए । ती नै संस्थामार्फत अहिले सदस्यहरुको वित्तीय पहुँच स्थापित भएको विषयलाई नकार्न सकिन्न । सहकारीलाई हामीले त्यसरी बुझ्नुपर्छ ।

सामाजिक योगदानका दृष्टिले सहकारी संस्थाले समाजका लागि निर्वाह गरेको भूमिकालाई पनि हेर्नुपर्छ । उदाहरणका लागि कुनै पनि सदस्यको घरमा मरिमराउ पर्दा मानो चामल र धेरथोर राहत रकम सुविधा लिएर जाने पाटोमा पनि सहकारी संस्थाहरुले काम गरिरहेका छन् । तीबाहेक विपन्न वर्गको जीवनस्तर उकास्न, आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्न पनि सहकारीहरुको योगदान बलियो छ । देशभरका सहकारीमा यो देखिन्छ ।

पछिल्लोसमय सहकारीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने काम गरिरहेका छन् । आफूसँग उपचार गर्ने पैसा नहुँदा पनि सहकारीको सदस्य भएर संस्थाको स्वास्थ्य उपचार कोषमा केही रकम जम्मा गरेकाले राहत पाएका छन् । सहकारीको योगदान जनमुखी र प्रभावकारी छ । कम आयआर्जन भएका र आत्मनिर्भरताको खोजीमा रहेका सदस्यहरुका लागि सहकारी संस्थाहरु उपयोगी छन् । सहकारी संस्थाले बहुआयामिक काम पनि गरेका छन् । सहकारीका माध्यमबाट सामाजिक रुपान्तरण र आर्थिक विकासमा टेवा पुगेको छ ।

विषयगत सहकारीहरु थुप्रै छन्, बचत र ऋणको कारोबार नगर्ने छैनन् । के कारणले होला ?

सहकारी संस्था विभिन्न उद्देश्यले खोलिएको हुन्छ । सहकारीको विनियम मै कुन उद्देश्य अनुसार सञ्चालन गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको हुन्छ । तर, सबैको प्राथमिक विषय चाहिं बचत तथा ऋणबाटै सुरु भएको पाइन्छ । कृषि सहकारी भनेर चलिरहेको हुन्छ, तर प्रारम्भिक विन्दू चाहिं बचत तथा ऋणबाटै भएको देखिन्छ । यसलाई कसरी हेर्ने त्यो त राज्यका निकायको कुरा होला । हामीले पनि त्यसरी नै अभ्यास थाल्यौं । सहकारीहरुले विषयगत प्रक्रियाको थालनी गरेका छन् । तर, सबैको प्रारम्भिक विन्दू चाहिं बचत तथा ऋण नै छ । यो विषयलाई सहकारी संस्थाहरुले क्रमिकरुपमा सुधार गर्दै लैजानुपर्ने परिस्थिति छ । आफ्नो उद्देश्य प्राप्तिका लागि बचत तथा ऋणको कारोबार सुरु गरेको हुनसक्छ ।

तपाईंले नेतृत्व गर्नुभएको संस्थाको नामसँग उद्देश्य मिल्दोजुल्दो छ कि छैन ?

शिक्षा बचत तथा ऋण सहकारी संस्थाको नामबाट संस्था दर्ता भएर केही वर्ष त्यही नाममा संस्था सञ्चालन भयो । त्यसपछि बहुउद्देश्यीय प्रकृतिका बहुआयामिक काम उद्देश्यले संस्थाको उद्देश्य फेरेर बहुउद्देश्यीय बनायौं । संस्थाको नाम र उद्देश्यबीच तालमेल मिलिरहेकै छ । सरकारले पछिल्लो समय सहकारी विद्यालयको अवधारणा ल्याएर स्वीकारेपछि नेपालमा त्यही शैलीको विद्यालय सञ्चालन गर्न संस्थाको नाम शिक्षा जुराएका हौं । संस्था अहिले सहकारी विद्यालय सञ्चालनको प्रारम्भिक तहमा छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेका छौं । संस्थाले शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै जान्छौं । वर्तमान ऐन कानून अनुसार नै यसलाई अगाडि लैजानुपर्ने अवस्था छ । त्यसकारण केही समय लाग्न सक्छ र यो नयाँ प्रयोग पनि हुन्छ भन्ने लागेको छ ।

झापामा सहकारीले सञ्चालन गरेका अरु विद्यालय पनि छन् ?

छन् नि, सहकारीले कम्पनी मोडलकै विद्यालय पनि सञ्चालन गरेका छन् । गुठी अन्तर्गत रहेर सहकारीमार्फत विद्यालय सञ्चालन गरिएको छ । हामीले चाहिं सहकारी मोडलमै सञ्चालन गर्न खोजेका छौं । सहकारीले सञ्चालन गरेको विद्यालयको मोडल चाहिं फरक–फरक छ । तर, झापामा चाहिं सहकारी मोडलमै सञ्चालन भएको हाम्रो विद्यालय दोस्रो हो । विद्यालय सञ्चालन गर्ने प्रक्रियामा सहकारीहरु अघि बढेका छन् । सहकारी विद्यालय अझ फराकिलो हुने र गुणस्तरीय शिक्षा प्रदान गर्ने अवस्था आउँछ भन्न सकिन्छ ।

तपाईंहरुको विद्यालयको भविष्यमा कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

अब हामी कक्षा १, २ हुँदै माथिल्लो कक्षा सञ्चालनको प्रक्रियामा जान्छौं । कक्षा थपिँदै जाँदा कक्षा १२ सम्म हुनसक्छ । राज्यले भविष्यमा अनुमति दिएको खण्डमा अझ माथिल्लो तह पनि थपिन सक्छ । यसमा ऐन कानूनका केही जटिलताहरु छन् । भविष्यमा सदस्यका छोराछोरीहरुले सहुलियत शुल्कमा गुणस्तरीय उच्च शिक्षा पढ्न पाउने गरी विद्यालयलाई अघि बढाउने हाम्रो सोच छ । यसका लागि हामीले दीर्घकालीन उद्देश्य बनाएका छौं ।

गैर सदस्यका छोराछोरीले पनि पढ्न पाउँछन् ?

पढ्ने विषयमा कसैलाई पनि रोकावट, छेकावट हुँदैन । यो सबैका लागि हो । पढ्न पाउने सबैको अधिकार हो । भन्न चाहिं हामी प्राथमिकता हाम्रा सदस्यका छोराछोरीलाई नै भन्छौं । पढ्न आउने सबैलाई स्वागत गरेका छौं । सबैलाई स्वीकारेका छौं तर, सदस्यका छोराछोरी पढिरहेका भए सुविधा त उनीहरुले नै पाउने भए । भविष्यमा सदस्य नभएकालाई सदस्य बन्न प्रेरित गर्छौं र त्यही अनुसार सेवासुविधा प्रदान गर्छौं । सहकारीले चलाएको विद्यालय भएकाले पनि सेवासुविधामा प्राथमिकता सदस्यका छोराछोरीले नै पाउँछन् । अन्य विद्यालयभन्दा हाम्रो विद्यालयमा लाग्ने शुल्कको प्रकृति भने फरक छ । हाम्रो विद्यालयमा सहुलियत शुल्कमा पठनपाठनको व्यवस्था मिलाएका छौं ।

बचत कारोबारलाई सहकारीको मेरुदण्ड मानिन्छ । आ.व. २०८०/८१ मा संस्थाको आर्थिक कारोबार कस्तो रह्यो ?

सहकारी संस्थामा बचतको कारोबार मेरुदण्डकै रुपमा छ । बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि लगायत सबै सहकारीले बचत नै संकलन गरिरहेका छन्, ऋण नै प्रवाह गरिरहेका छन् । विनियममै जुन उद्देश्य वा व्यवस्था गरिएको छ, त्यो कार्यान्वयनको प्रक्रियामा सहकारी संस्था नगइ उपाय नै छैन । लिइएको उद्देश्यमा ढिलो चाँडो पुग्नै पर्छ । संस्थाको स्थिति अहिले पनि निराशाजनक छैन । सहकारीका विषयमा देशभर अनेक प्रकारका हल्ला चलेका छन् । ठूला सहकारीमा समस्या देखिएको, कतिपय सहकारी संकटमा परेको, बचतकर्ताले बचत फिर्ता नपाइरहेको जस्ता चर्चा देशव्यापी छ । हाम्रो संस्थामा २५ करोड बढीको वासलात छ । त्यसैले पनि हाम्रो संस्था दर्बिलो छ । जगेडा लगायतका विभिन्न कोष २ करोड बढीको छ । संस्थाप्रति विश्वास गरेका सदस्यहरुको १८ करोड बढी बचत अहिले पनि छ । संस्थाले पछिल्लो आर्थिक वर्षमा करिब १८ करोड लगानी गरेको अवस्था छ । अहिले संस्थामा सदस्यहरुको ३ करोड ५७ लाख रुपैयाँ बढी शेयरपूँजी छ । संस्था वित्तीय रुपमा बलियो र तरलतातर्फ सन्तुलित छ ।

संस्थासँग बचतकर्ता कत्तिको सन्तुष्ट छन् ? बचत फिर्ता र कर्जा आपूर्तिको स्थिति कस्तो छ ?

बचत गरेको पैसा चाहिएका बेला पाइन्छ कि पाइँदैन, अहिले सबैले सोच्ने विषय नै यही हो । बचतकर्तालाई आवश्यक पर्दा बचत फिर्ता गर्न अहिलेसम्म कुनै समस्या छैन । सदस्यले मागेका बेला बचत फिर्ता गरेकै छौं, ऋण दिएकै छौं । सदस्यको व्यवसायको प्रकृति र स्थिति बुझेर ढिलोमा ऋण माग गरेको १५ दिनभित्रमा उपलब्ध गराउँछौं । संस्था र सदस्यबीचको सम्बन्ध प्रगाढ छ । अहिलेसम्म दुवैपक्षबीच विश्वासको वातावरण कायमै छ । यसले निरन्तरता पाउनेमा हामी ढुक्क छौं ।

The post सदस्यलाई आमनिर्भर बनाउन बचत परिचालन गरिरहेका छौं : अध्यक्ष न्यौपाने (सहकारी वार्ता) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register