नेपालमा भ्रष्टाचारको सङ्क्षिप्त नालीबेली

प्रकाश अधिकारी भ्रष्टाचार आज नेपाली समाजमा एक मूलभूत तत्वको रुपमा सम्मिलित भइसकेको छ । समाजको अपरिहार्य अंग भएको कारणले सार्वजनिक सेवा पनि यसको अपवाद छैन । भ्रष्टाचार उन्मूलन नैतिक अनिवार्यता सँगसँगै आर्थिक आवश्यकता पनि हो । आम नागरिकमा राजनेताका साथसाथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा छ । सरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा [...] The post नेपालमा भ्रष्टाचारको सङ्क्षिप्त नालीबेली appeared first on Jhapa Online.

Sep 23, 2024 - 03:26
 0
नेपालमा भ्रष्टाचारको सङ्क्षिप्त नालीबेली

प्रकाश अधिकारी

भ्रष्टाचार आज नेपाली समाजमा एक मूलभूत तत्वको रुपमा सम्मिलित भइसकेको छ । समाजको अपरिहार्य अंग भएको कारणले सार्वजनिक सेवा पनि यसको अपवाद छैन । भ्रष्टाचार उन्मूलन नैतिक अनिवार्यता सँगसँगै आर्थिक आवश्यकता पनि हो । आम नागरिकमा राजनेताका साथसाथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा छ । सरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सीधै वा ‘बीचको मानिस’मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ । आमरुपमा यो सत्य भएपनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्र समेत यसबाट अछुतो छैन । सरकारी निकायले ठूलो परिमाणमा आर्थिक कारोबार गर्छ र यसको व्यवस्थापन, नियन्त्रण एवं नियमन राष्ट्रसेवकद्वारा हुन्छ । यसै मेसोमा राष्ट्रसेवकले सर्वसञ्चित कोष गबन गर्न र सेवाग्राहीबाट रिस्वत लिन सक्छन् । सत्य के पनि हो भने आफ्नो काम गराउन निजी क्षेत्र वा कम्पनी विशेष राष्ट्रसेवकलाई रिस्वत दिन तयार हुन्छन् ।  

गैरकानुनी कामको लागि हैन वास्तविक र विधिसम्मत कार्यका लागि पनि लिएमा वा दिनु पर्दा विडम्बनापूर्ण हुन्छ । आर्थिक सदाचार वा इमान्दारी सत्यनिष्ठाको एक अनिवार्य हिस्सा हो । प्रत्येक राष्ट्रसेवकले सत्यनिष्ठाको शपथ खाएको हुन्छ । प्रत्येक राष्ट्रसेवकमा हुनु पर्ने आधारभूत गुण सत्यनिष्ठा हो । प्रत्येक राष्ट्रसेवकबाट सत्यनिष्ठाको अपेक्षा सेवाग्राहीले राखेको हुन्छ । सत्यनिष्ठा इमान्दारीमा मात्र सीमित नभएर आधारभूत नैतिक मूल्य, समयमा काम गर्ने प्रतिवद्धता र आफ्नो जिम्मेवारी वा क्षेत्राधिकार भित्र गलत वा अनियमित काम गर्न नदिनु वा निषेध गर्नसक्नु हो, गलत भएमा जिम्मेवारी लिनु हो । यो भनेको सबै परिस्थितिमा कानुनको शासन लागू गर्नु हो जसबाट समग्र शासन संरचना जसले सेवाग्राहीलाई न्याय दिन्छ र गलत काम गर्नेलाई सजाय गर्छ ।

निजी लाभका लागि सार्वजनिक कार्यालय वा स्रोतसाधनको उपयोग गर्नु भ्रष्टाचार हो । सुशासनको सार सार्वजनिक सेवाको भ्रष्टाचारमुक्त वितरण हो । भ्रष्टाचारका लागि कुनै एक मात्र कारण पत्ता लगाउन मुश्किल छ । आजको भौतिकवादी समाजमा मानिस धेरैभन्दा धेरै धनार्जन गर्न र कानुनी रुपमा नमिल्ने भएपनि उच्च जीवनस्तरको आनन्द लिन चाहन्छन् । यो व्यक्ति विशेषको मूल्य (भ्यालुज) र चरित्रको मामिला हो र भ्रष्टाचारको प्रमुख कारण पनि । आम मानिस र खास गरी राष्ट्रसेवकको मूल्य व्यवस्थामा गिरावट आएको छ । सही गलत मुद्दा (इसु)मा व्यक्तिलाई मार्गदर्शन गर्ने मूल्य-मान्यताहरू नै हुन्, त्यससिबाय अरू कुनै ध्रुवतारा छैन ।

सत्ताको मनलागी प्रयोग गर्ने प्रवृत्ति भ्रष्टाचारको पहिलो कारक हो । भ्रष्टाचारले आर्थिक विकासको गति धिमा पारिदिन्छ । हाम्रो समाजमा सत्ता केहीको हातमा केन्द्रित छ । अर्थव्यवस्था केन्द्रिकृत छ । राज्यले अनुदान (सबसिडि) दिने नीति छ । राज्यद्वारा सालबसाली अरबौँ रुपियाँको बस्तु र सेवाको खरिद हुन्छ ।  राजश्वको ठूलो अंश बस्तुको आयात बिन्दुमा लगाइएको भन्सार महसूलमा निर्भर छ, महसूल निर्धारण बस्तुनिष्ठ हुँदैन । अधिकांश आयकर निर्धारण स्वविवेकमा हुन्छ । स्रोतसाधनको बाँडफाँड र लाभार्थी उन्मुख विकास कार्यक्रम वितरण गर्न केहीलाई स्वविवेक प्राप्त छ । जानिबुझी निर्णय गर्नमा धिङ्न्याइ गर्नाले आर्थिक विकासलाई प्रतिकूल असर पार्छ । सार्वजनिक स्रोत र साधनको प्रयोग र वितरणमा सहभागिता र साझेदारी अभावले सर्वसाधारणलाई जानकारी हुँदैन, चासो र सरोकार राखिदैन । सामान्यतः सरकारी कामकाज गोप्य रहन्छ वा अनुकूलका सूचना चुहाउने र प्रतिकूलका लुकाइन्छ । प्रतिस्पर्धा र पारदर्शिताले भ्रष्टाचार कम गर्छ । विकेन्द्रीकरण र ‘डिभोल्युसन’ले एकभन्दा बढी व्यक्ति वा निकायमा राज्यशक्तिको बाँडफाँड हुन्छ र भ्रष्टाचारमा कमी आउँछ ।    

भ्रष्टाचारप्रति सामाजिक दबाव कम भएकोले भ्रष्टाचारमा लिप्त हुन सजिलो छ । भ्रष्टाचारीका लागि भ्रष्टाचार कम जोखिम र उच्च लाभप्रद गतिविधि हो । भ्रष्टाचारको मामलालाई गम्भीरतापूर्वक लिएर ढिलाइ नगरी अनुकरणीय दण्ड दिने हो भने भ्रष्टाचार जोखिमयुक्त क्षेत्र हुने थियो र मानिसहरू यसबाट परै बस्थे । भ्रष्टाचार अपवाद नभएर आम भएको छ, नियम भएर गइरहेको छ । राष्ट्रसेवकलाई आफ्नो आर्जनसँग अस्वाभाविक हुने गरी कमाईको प्रदर्शन गर्न हिचकिचाहट छैन । राष्ट्रसेवकले एकभन्दा बढी घर-घडेरी जोड्नु, शेयर खरिद गर्नु र त्यसैलाई बढे बढाएक्रो देखाउनु, छोराछोरी विदेश पढ्न पठाउनु र उनीहरूले कमाएर पठाएको भनेर देखाउनुलाई समाजले खोजिनिती गर्दैन । सरकारी सेवकले प्राप्त गर्ने वेतन र अन्य सुविधा निजलाई “मर्न पनि नदिने बाँच्न पनि नसक्ने” छ तथापि मानिसहरू निजीक्षेत्रमा राम्रो गरिरहँदा समेत सरकारी सेवामा प्रवेश गर्न लालायित हुन्छन् । यो भनेको सेवा प्रवेश गर्नु अगावै वृत्ति (क्यारियर)को आरम्भदेखिनै ‘कमाउने मनसाय’ लिई सेवा प्रवेश गर्नु हो ।

भ्रष्टाचार कम गरी सुशासन कायम गर्न संविधान, ऐन, नियम/निर्देशिका, कार्यविधि, रणनीतिक योजना, राष्ट्रिय कार्ययोजना जस्ता कानुनी र प्रशासनिक संरचना र तिनलाई क्रियाशील पार्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महलेखा परीक्षक, महान्यायाधिवक्ता जस्ता संवैधानिक र राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय सूचना आयोग, राजश्व र सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग जस्ता कानुनी भ्रष्टाचारको निगरानी राख्ने (ओभरसाइट) एजेन्सीको कमी छैन । संयुक्त राष्ट्र संघले सन् २००३ मा ग्रहण गरी सन् २००५ देखि कार्यान्वयनमा आएको भ्रष्टाचार बिरुद्ध महासन्धिको नेपाल पक्ष राष्ट्र रहिआएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टर्नेसनल नेपाल समेतका भ्रष्टाचार बिरोधी नागरिक संस्थाहरू सर्वसाधारणलाई भ्रष्टाचारका बारे शिक्षित, जागरुक र आन्दोलित गर्न लागिपरेकै छन् । प्रत्येक सरकारी कार्यालयमा प्रवेशपछि देखिने भनेको भ्रष्टाचार बिरोधी स्टिकर, ब्यानर र सुशासनका प्रतिबद्धताहरू हुन्छन् ।  राजनेता वा उच्च पदस्थहरू सार्वजनिक सभा, सम्मेलनमा बोल्नुपर्दा पहिलो दस मिनेट भ्रष्टाचारको विरुद्ध र सुशासनको महत्वका बारे बखान गरेपछि मात्र आफ्नो बिषयमा प्रवेश गर्ने चलन सामान्य छ । यी सबैका बाबजुद भ्रष्टाचार घटेको छैन, भ्रष्टाचारको अन्तर्राष्ट्रिय इन्डेक्सको १८० राष्ट्रमा नेपाल ११० औ स्थानमा छ ।  

नेपालमा भ्रष्टाचारसँग जोडिएका अनेक खाले मिथकहरूलाई खण्डित गर्न आवश्यक छ । जस्तै, हाम्रो समाजमा भ्रष्टाचार जीवनपद्धति बनिसक्यो, अब यसलाई केही गर्न सकिदैन; लोकतन्त्रमा भ्रष्टाचार रहिरहन्छ, उन्मुलन गर्न निरङ्कुश शासन चाहिन्छ; नेपाल जस्तो गरीब अविकसित देशका गरीब मानिस बेइमान र अबिश्वासिला हुन्छन् र सरलसँगै लालच देखाउँछन्; भ्रष्टाचार गरिब र अशिक्षित मुलुकमा बढी हुने गर्छ; कर्मचारीको तलब बढाएपनि भ्रष्टाचार घटदैन, महँगी मात्र बढ्छ; भ्रष्टाचार हुनमा राजनीति मात्र जिम्मेवार छ इत्यादि ।

हाम्रो प्रणालीमा भ्रष्टाचार गर्ने तरीकाहरूमा सबैभन्दा प्रचलित पैसा नदिएसम्म कामै नहुने पहिलो छ । काम विशेषको फाइल सदर गराएर मात्र हुने काम वैध वा अवैध जे भएपनि सम्बन्धित कर्मचारीलाई निश्चित राशी नदिएसम्म त्यो फाइल ‘पेश’ नै गरिदैन । रिस्वत उपलब्ध गराएपछि फाइल सम्बन्धित अधिकारी वा निकाय समक्ष छिटो छिटो गरेर पुग्छ र प्रक्रिया पूरा गरेर ‘सदर’ गरिन्छ । यसलाई ‘स्पिड मनि’ भन्न सकिन्छ र त्यसबाट सो फाइलमा संलग्न सबै ‘लाभान्वित’ हुन्छन् । सेवाग्राही पैसा दिन विवस नभएसम्म फाइल कारबाहीको उठान नै गरिदैन र गरिएमा पनि यो कागज वा यो प्रक्रिया पूरा भएको छैन भन्नेजस्ता अडङ्गाहरू कर्मचारीले लगाइरहन्छन् । अर्को प्रकारको भ्रष्टाचार नियमित कमिसनको असूली हो जसमा प्रत्येक भुक्तानी वा विनियोजित बजेटको निश्चित राशी उच्च पदस्थहरू बीच साझेदारी गर्नुपर्छ । यसलाई सार्वजनिक सेवामा नियमित अभ्यासको रुपमा लिइन्छ । यो एकदमै सर्वप्रिय रुपमा प्रचलित छ र कानुन कार्यान्वयन गर्ने प्रशासकको दक्षता प्रदर्शनलाई यसले प्रभावित गर्दैन भन्ने दाबी गरिन्छ ।

कमिसनको सामान्यीकरण गर्नु आत्म भ्रमको अभ्यास मात्र हो । कमिसन असूलीले उच्च पदस्थको नैतिक अधिकार कमजोर हुन्छ, दक्षता प्रदर्शनमा प्रतिकूल प्रभाव पर्छ र निजले भ्रष्ट अधिनस्थका विरुद्ध कारबाही गर्ने मनोबल गुमाउँछ । अर्को प्रकारमा सम्बन्धित अधिकारी कुनै कुरा माग्दैन, आफ्नो काम योग्यता र बलबुताले भ्याएसम्म गरिरहन्छ तर लगनशील भएर काम गरेबापत भनेर सम्बन्धितबाट धन्यवाद दिने प्रतीकको रुपमा महँगो बस्तु वा पैसा उपहार प्राप्त गर्छ । कुनै निर्माण कार्यको ठेक्का प्रक्रिया विधिसम्मत हुन्छ तर निर्माणमा हुनुपर्ने निर्धारित मानकमा आँखा चिम्लिइन्छ । सबैप्रकारको भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक छ । एक जना कार्यालय प्रमुख इमानदार भएर मात्र पुग्दैन आफू अन्तर्गतको विभाग वा कार्यालयमा भइरहेको भ्रष्टाचारको जिम्मेवारी पनि निजैको भागमा पर्छ ।

भ्रष्टाचारको अर्को प्रकारमा, राम्रा विकल्पहरूको बाबजुद कुनै पक्ष विशेषलाई मात्र मिल्ने, हुने, दिने र पर्ने मिलेमतोमा सेवा वा बस्तु विशेषको विवरण (स्पेशिफिकेसन्स) तयार पारी बाँकी प्रक्रिया रीतपूर्वक घटाघट वा बढाबढ गराई खरिद गर्ने ठेक्का दिनु वा लिलामी गर्नु हो । एवंरीतले उद्यम शुरु गर्दा विभिन्न निकायहरूको सिफारिश (क्लियरेन्स) र स्थानीयबासीको सहमतिसहितको वातावरणीय परीक्षण प्रतिवेदन चाहिन्छ ।  यस्तो वातावरणीय परीक्षणको व्यवहारिक उपययोगिता छैन र यो फगत कागजी प्रक्रियामा सीमित छ भन्ने जानकारी सबैमा भएरपनि उद्यमीले गर्नैपर्दा आर्थिक व्ययभार थपिएको छ र अन्ततः उपभोक्ताले बेहोर्नुपर्छ । विज्ञको नाम राखेर स्थलगत अवलोकन गरेको देखाइ यस्ता प्रतिवेदन कोठामा तयार पारिन्छन् । यसले यसमा संलग्न निकायहरूको छवि र कार्यकुशलताप्रतिको सर्वसाधारणको विश्वासलाई क्षय पुर्‍याएको छ ।   

लोकतन्त्रमा निर्वाचित राजनीतिक कार्यपालिका शासन संरचनाको शीर्षमा हुन्छ । हाम्रो प्रणालीमा निर्वाचित हुन धेरै धन खर्च गर्नुपर्छ जसको कुनै हिसाब हुँदैन । निर्वाचित हुँदा भएको खर्च वा सोभन्दा बढी कमाउने कोशिस गर्नुपर्नाले सरकारी कामकाजमा अवाञ्छित हस्तक्षेप हुन्छ र भ्रष्टाचार हुन्छ । अर्कोतिर कर्मचारीलाई सजिलो हुनेगरी कानुनको निर्माण, ब्याख्या र कार्यान्वयन गरिन्छ । दैनन्दिनी प्रयोगका कानुन द्विअर्थी, आपसमा बाझिएका र अस्पष्ट छन् जसको आडमा कर्मचारी काम छल्छन् वा आफू अनुकूल निर्णय गर्छन् । राष्ट्रसेवकले गरेको वा नगरेको कार्यको परिणामस्वरुप राजश्व खति भएमामात्र खति भएको राजश्वलाई बिगोमा परिणत गरी त्यति बराबरको भ्रष्टाचार गरेको भन्ने आधार लिई निजलाई जबाफदेही बनाउने अभ्यास छ । तर, कानुनले तोकेको जिम्मेवारी कुशलतापूर्वक सम्पादन नगरेका कारण जनसाधारण वा राज्यलाई पुगेको क्षतिका लागि जिम्मेवार ठहर्‍याउने कानुनको अभाव छ । अतः सूत्रमा “एकाधिकार+स्वविवेक-जवाफदेही = भ्रष्टाचार” भएकोले प्रतिस्पर्धा बढाएर, स्वविवेक कम गरेर जवाफदेही लागू गरेपछि भ्रष्टाचारमा कमी हुन्छ ।

The post नेपालमा भ्रष्टाचारको सङ्क्षिप्त नालीबेली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register