नाउपामा ‘भद्र सहमति’ : रेशमको निर्णय, रञ्जिताको हस्ताक्षर !

भद्र सहमतिपछि नाउपाको संयुक्त बैठक आह्वान गरिएको छ । संयुक्त बैठक असोज १८ र १९ गते काठमाडौंमा बस्नेछ ।

Sep 24, 2024 - 11:09
 0
नाउपामा ‘भद्र सहमति’ : रेशमको निर्णय, रञ्जिताको हस्ताक्षर !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको ‘इन्ट्रा-पार्टी टेन्सन’ समाधान भएको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच ‘भद्र सहमति’ भएसँगै विवाद समाधान भएको हो ।

यसअघि पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे उनीहरूबीच विवाद थियो । त्यसो त २०८० पुसमा सम्पन्न पार्टीको महाधिवेशनले रेशम चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

तर, पछि निर्वाचनमा आयोगमा अध्यक्षका रूपमा रेशमको नाम अद्यावधिक भएन । खास विवाद त्यसपछि सुरु भयो । उसो त विवादको बीजारोपण महाधिवेशनमै भएको थियो । त्यसबेला दुवैले अध्यक्ष पदमा दाबी गरेका थिए तर, पछि रेशम नै अध्यक्ष बने । त्यसमा रञ्जिताको विमति छँदै थियो ।

तर, पछि ठीक्क निर्वाचन आयोगले रञ्जितालाई नै अध्यक्ष मानिदियो । विवादित व्यक्ति भएको भन्दै निर्वाचन आयोगले अध्यक्षका रूपमा रेशमको नाम अद्यावधिक नगरेपछि थप विवाद सुरु भयो । जसका कारण पार्टीले ठूलै क्षति बेहोर्नुपर्‍यो, केन्द्रमा त त्यसको असर व्यापक नै देखियो, सँगै प्रदेशमा समेत त्यसको प्रभाव पर्‍यो ।

त्यसकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसमेत गुमायो, जबकि रेशम-रञ्जिताबीच विवाद नभएको भए त्यहाँ पहिलोपटक थारु समुदायबाट मुख्यमन्त्री बन्दै थिए । तर, त्यो अवसर नाउपाले रेशम-रञ्जिताकै विवादका कारण गुमायो ।

त्यसयता खासै चर्चा नपाइरहेको नाउपाको विवाद अब भने साम्य भएको बताइएको छ । पार्टीका प्रवक्ता दामोदर पण्डितको भनाइलाई आधार मान्ने हो भने अब रेशम-रञ्जिताबीचको विवाद कहिल्यै बल्झिने छैन ।

प्रवक्ता पण्डित भन्छन्, “उहाँहरूबीच भद्र सहमति भयो । अब त्यो विषय बाहिर आउँदैन । जे-जे विषयमा उहाँहरूको असहमति थियो, त्यो साम्य भइसक्यो ।”

रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरी 

भद्र सहमतिबाट पार्टीगत, पारिवारिक तथा व्यक्तिगत सम्बन्ध सुध्रिएको प्रवक्ता पण्डितको जिकिर छ । भद्र सहमतिमा के-के विषय समेटिएका छन् ? प्रवक्ता पण्डित भन्छन्, “जे होस्, अब पुन: विवाद बाहिर आउँदैन ।”

अर्का एक नेता भने भद्र सहमतिमा मुख्यत: दुईवटा विषयहरू समेटिएको बताउँछन् । पहिलो— निर्णयपुस्तिका, आधिकारिक प्रस्ताव तथा डकुमेन्टहरूमा रञ्जिताले हस्ताक्षर गर्ने, दोस्रो— ती निर्णयहरूमा रेशमको सहमति अनिवार्य रहनुपर्ने अर्थात् रेशम चौधरीको विमति रहेको विषयमा रञ्जिताले एकलौटी रूपमा निर्णय नगर्ने ।

ती नेता भन्छन्, “त्यहाँ हस्ताक्षर मात्रै रञ्जिताजीले गर्ने हो, बाँकी निर्णय प्रक्रियामा त सबै नेताहरू सहभागी भइहाल्नुहुन्छ । त्यहाँ रेशमजी, रञ्जिताजी सबै नै हुन्छौँ । यसो गरेपछि अब पुन: समस्या हुँदैन भन्ने हो । रेशमजीलाई बाइपास नगर्ने भन्ने हो । यसअघि कतिपय निर्णय त्यसो भएको थियो । अब त्यस्तो हुँदैन ।”

जसै रेशम र रञ्जिता श्रीमान्-श्रीमती हुन् तर, पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुरामा विवाद हुँदा उनीहरूबीच व्यक्तिगत सम्बन्धसमेत राम्रो थिएन ।

यसबीचमा उनीहरूले आफूपक्षीय छुट्टै बैठक बोलाउने, आफूअनुकूल पार्टीगत कार्यसम्पादन गर्ने, आफूअनुकूल निर्णयहरू गर्दै अगाडि बढ्नेलगायतका गतिविधि गर्न थालिसकेका थिए । तर, अब भने त्यसखाले समस्या नआउने नेताहरूको दाबी छ ।

सहमतिपछि संयुक्त बैठक आह्वान

भद्र सहमतिपछि नाउपाको संयुक्त बैठक आह्वान गरिएको छ । संयुक्त बैठक असोज १८ र १९ गते काठमाडौंमा बस्नेछ । बैठकमा २०८० पुसमा सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेताहरू सबैलाई निम्तो पठाइएको प्रवक्ता दामोदर पण्डितले बताए ।

संयुक्त रूपमा बैठक बोलाइएपछि नेता-कार्यकर्ताहरूमा उत्साह छाएको दाबी पण्डितको छ । “जुन भद्र सहमति भयो, त्यसले पार्टी-पङ्क्तिमा खुसी छाएको छ,” उनले भने, “यो क्रम अब जारी रहनेछ । र, रहन्छ पनि ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register