बेलायतमा डा. केसीले भने- हाम्रो लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा. बद्री केसीले नेपालको संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता रहेको बताएका छन् । गैर आवासीय नेपाली संघ बेलायतले सोमबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा केसीले 
संविधान संशोधनमार्फत यो लक्ष्य पुरा हुने दावी गरे । ‘पूर्ण अधिकार […]

Aug 27, 2024 - 10:45
 0
बेलायतमा डा. केसीले भने- हाम्रो लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा. बद्री केसीले नेपालको संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता रहेको बताएका छन् ।

गैर आवासीय नेपाली संघ बेलायतले सोमबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा केसीले 
संविधान संशोधनमार्फत यो लक्ष्य पुरा हुने दावी गरे ।

‘पूर्ण अधिकार दिंदा यसले नेपाललाई नै नाफा हुने हो । नेपाल अझ विकसित हुन्छ । विदेशमा रहेका ६० लाख नेपालीले हामी पनि नेपाली हौं भन्ने अनूभुति गर्नेछन्, उनीहरु मातृभूमिप्रति अझ समर्पित हुनेछन्’, उनले भने ।

अहिले गैर आवासीय नागरिकताले जग्गा पास नहुनु, बैंक अकाउन्ट नखोलिने, भिजा फि तिर्नुपर्ने जस्ता जटिलता भएपनि अब दशैं अगाडि नै क्याबिनेटबाट यो नागरिकता पूर्ण कार्यान्वयनमा आउने उनको विश्वास थियो । नेपालका प्रधानमन्त्री, गृहमन्त्री, कानूनमन्त्री लगायत पक्षसंग निरन्तर संवाद भइरहेको उनले बताए । ‘तर हाम्रो यो अन्तिम लक्ष्य होइन, हाम्रो लक्ष्य पूर्ण अधिकारसहितको नागरिकता हो’, उनको धारणा थियो ।

एनआरएनए नागरिकताले सम्पत्तिको अधिकार सुरक्षा भने गरेको केसीले बताए ।

अध्यक्ष केसीले बेलायतलाई बलियो बनाउन रगत बगाउने गोर्खाहरुको योगदानले नेपालीको शीर उच्च पारेको बताउंदै भूतपूर्व गोर्खाहरुका मागमा संघको ऐक्यवद्धता रहेको बताए ।

‘गोर्खाहरु प्रिमियम एनआरएनए हुन् । उहांहरुको समान पेन्सनका लागि विगतदेखि नै हाम्रो ऐक्यवद्धता छ’, केसीले भने, ‘अबको वार्ता सहसचिव स्तरले होइन्, प्रधानमन्त्री वा परराष्ट्र मन्त्री स्तरमा गर्न हामीले पनि पहल गरेका छौं ।’

प्रजातान्त्रिक अभ्यासमा चुनाव हुंदा हारजित स्वभाविक भएकाले बाहिरिएका साथीहरुलाई पनि संघमा आवद्ध भएर काम गर्न उनले आग्रह गरे ।

एनआरएनएमा सानातिना समस्या रहेका तर ति चुनाव हारेपछि उत्पन्न समस्या भएका जनाउंदै केसीले लोकतान्त्रिक प्रक्रिया अनुशरण गर्न सबैलाई अनुरोध गरे ।

विदेशबाट समेत मत दिने व्यवस्था मिलाइएको अनलाइन भोटिङ स्वीकार गर्नुको सट्टा एनआरएनए चुनाव धांधली भयो भनेर एक पक्षले साइबर क्राइमका नाममा सिआइबी लगाएर आफूसहित सचिवालय कर्मचारीको खानतलासी गर्न लगाएपनि कुनै खोट नभेट्टाएको उनले प्रष्टयाए ।

सर्वोच्च अदालतले ०२१-२०२३ को कार्यसमिति अवैधानिक भनेर खारेज गरेपछि २०२३-०२५ को कार्यसमिति पनि अवैधानिक भनेर अपव्याख्या गरिएको जनाउंदै उनले परराष्ट्र मन्त्रालयले समेत काम बन्द गर्नु भनेका बेला सर्वोच्च अदालतले पछिल्लो फैसलाले आफ्नो कार्यसमितिलाई काम गरेर अगाडि जान अनुमति दिएपछि आफू पहिलो बेलायत भ्रमणमा आएको उनले बताए ।

विभिन्न उतारचढावका कारण संघको गतिविधि ४ महिना ग्याप भएपनि अब त्यसलाई पूर्ति गर्ने गरि संघले काम गर्ने उनले बताए । आगामी अक्टोबरमा एकताको अधिवेशन हुने जनाउंदै केसीले वार्ताको टेबुलमा आएर संवाद गर्न सबैमा आव्हान गरे ।

अध्यक्ष पराजित भएका महेश श्रेष्ठले सर्वोच्चको फैसला लगत्तै आफूलाई बधाई दिएको स्मरण गर्दै डा. केसीले उनले आफ्नो कार्यसमितिलाई सहयोग गर्ने वचन दिएको बताए ।

डा. केसीले नेपाली कला संस्कृति भाषा, भेषभूषा, धर्म, 
संस्कार आदि जगेर्ना गर्ने उद्देश्यसहित लन्डनमा आयोजित नेपाली मेला विदेशमा अहिलेसम्म नदेखेको जनाउंदै केसीले अब विदेशीले देख्ने गरि सडक महोत्सव गर्न तमुधिं यूकेलाई सुझाव दिंदै त्यसमा आफू जहां भएपनि उपस्थित हुने प्रण गरे ।

मन्तव्यका क्रममा कार्यवहाक राजदूत रोशन खनालले देशको आर्थिक समृद्धिका लागि सरकारले एनआरएनको सीप, ज्ञान र पूंजीलाई महत्वका साथ लिएको जनाइन् ।

दूतावास पुग्न नसकेको देशमा सरकारले एनआरएनएबाटै सहयोग र सहकार्य गरिरहेको बताउंदै उनले बेलायतमा जातीय विविधता झल्कने समुदाय रहेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका माग सम्बोधनका लागि सन् २०२२ देखि वार्ता शुरु भएको र नेपाल सरकारले समस्या समाधानका लागि प्राथमिकता दिइरहेको बताइन् ।

दूतावास सधैं सबैको साझा घर रहेको, रहने र यो कोहीप्रति पूर्वाग्रह नरहेको उनले प्रष्ट्याइन् ।

एनआरएनए यूके पूर्व अध्यक्ष तथा एनआरएनए आइसीसी सल्लाहकार सूर्य गुरुङले कर्मभूमि र मातृभूमिका लागि केही गर्ने बेलामा संघमा उत्पन्न अन्योलबीच अदालतको आदेशपछि यो अन्योलता हटेको बताए । अब एक अर्काबीच आरोप प्रत्यारोपको सट्टा सबै मिलेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई र रामशरण सिम्खडा, एनआरएनए महिला सचिव टिका गुरुङ, युरोप उपसंयोजक रोबोट लिम्बु, एनआरएनए आइसीसी प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकाल, तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायतले गैर आवासीय नेपाली अभियानलाई अब सशक्त रुपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याए ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले आइसीसीको अन्योलताका कारण एक वर्षसम्म केही गर्न नसकिए पनि अब आफ्नो समिति सक्रिय रुपमा काममा लाग्ने बताए ।

बेलायतमा कोही स्वघोषित एनआरएनए यूके अध्यक्ष भन्दै हिंड्नु विडम्बनापूर्ण भएको बताउंदै उनले भिजिलान्तेहरुका कारण केही गर्न नसकिएपनि आइसीसीले हौसला दिएकाले काम गर्न अल्मलिने छैनौं भन्ने प्रतिवद्धता व्यक्त गरे ।

एनआरएनए यूके महासचिव गोविन्द खरेलले सञ्चालन गरेको कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका कलाकारहरुले स्वागत नृत्यबाट अतिथीहरुको स्वागत गरेका थिए । कार्यक्रममा सयपत्री समूहले अन्य विभिन्न नृत्य एवं शान्ति नेपाली समाज बेलायतले पञ्चेबाजा प्रस्तुत गरे ।

कार्यक्रममा एनआरएनए केन्द्रिय पदाधिकारी र एनआरएनए यूके पदाधिकारी तथा कोअप सदस्यहरुलाई औपचारिक रुपमा स्वागत सम्मान गरिएको थियो । संघले तमुधिं यूके अध्यक्ष हरि गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष सुनिलबाबु खड्का एवं कार्यवहाक राजदूत खनाललाई पनि विशेष सम्मान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register