अवरुद्ध सडक खोल्न ढिलाइ भएपछि हिँडेरै काठमाडौं आउँदैछन् यात्रु (तस्वीरहरू)
सडक खुल्ने आशा र निराशाको दोसाँधमा रहेका यात्रुहरू अन्ततः काभ्रेको पात्लेखेतदेखि धुलिखेलसम्म हिँडेर आइरहेका छन् । यो मानवीय त्रासदीमा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू समेत छन् ।
काठमाडौं । अविरल वर्षाले ल्याएको विपत्तिले बिपी राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रुहरू हिँडेरै काठमाडौं आउँदैछन् । सयौँ यात्रुहरू, जो काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको बाटोमा फसेका थिए ।
अब थकित शरीर लिएर पैदलै काठमाडौं फर्किन थालेका छन् । तीन दिनदेखि अलपत्र परेका यात्रुहरू अन्ततः पैदल हिँड्न बाध्य भएका हुन् ।
सडक खुल्ने आशा र निराशाको दोसाँधमा रहेका यात्रुहरू अन्ततः काभ्रेको पात्लेखेतदेखि धुलिखेलसम्म हिँडेर आइरहेका छन् । यो मानवीय त्रासदीमा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू समेत छन् ।
गह्रुङ्गो झोला र सामानको भारी बोक्दै, कोही लठ्ठी टेकेर, कोही नाङ्गै खुट्टा हिलो र खोला तर्दै अघि बढेका छन् । कतिपय यात्रुहरूका खुट्टामा घाउ बनेका छन्, जुत्ताचप्पल भिजेका छन् ।
बच्चादेखि वृद्धसम्म, बिरामीदेखि अशक्तसम्म, सबैको अनुहारमा थकान मात्र होइन, सरकारप्रतिको आक्रोश पनि झल्किएको छ ।
‘तीन दिनसम्म खाना र पानी बिना बस्नु प¥यो’ एक यात्रुले आफ्नो पीडा पोखे । ‘सरकारले हामीलाई बिर्सियो । सडक खोलेर, उद्धार गरेन’ यात्रुहरू भन्छन् ।
नेपाली सेनाले केही यात्रुहरूको उद्धार गरे पनि, एक हजारभन्दा बढी अझै अलपत्र छन् । काभ्रेमा मात्र बाढी–पहिरोले ५४ जनाको ज्यान लिइसकेको छ ।
यो घटनाले प्राकृतिक विपत्तिको समयमा सरकारी संयन्त्रको अपर्याप्तता र मानवीय संवेदनशीलताको अभावलाई उजागर गरेको छ । यात्रुहरूको यो पीडादायी यात्रा नेपाली जनताको दुःखद अनुभवको प्रतीक बनेको छ ।
What's Your Reaction?