लिग-२ मा नेपाल : धेरै अलराउन्डरले झन् भद्रगोल, निरन्तर प्रयोगका बीच कहिले सेट हुन्छ टिम ?

लामो समयदेखि नेपाली टिममा अनेक खालका प्रयोग भइरहेका छन् । जसका कारण प्लेइङ ११ राम्रोसँग सेट हुन सकिरहेको छैन । ब्याटर, बलर र अलराउन्डरले आ-आफ्नो भूमिका निभाउँछन् । त्यसले टिममा एकखालको सन्तुलन बनाउँछ । तर, नेपाली टिममा भने धेरै अलराउन्डर हुँदा भद्रगोल भएको छ ।

Sep 20, 2024 - 10:01
 0
लिग-२ मा नेपाल : धेरै अलराउन्डरले झन् भद्रगोल, निरन्तर प्रयोगका बीच कहिले सेट हुन्छ टिम ?

काठमाडौं । नेपालले अहिले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ । क्यानडा आयोजक रहेको जारी सिरिजमा ओमान पनि सहभागी छ ।

सिरिजमा अहिलेसम्म नेपाल दुवै खेलमा पराजित भएको छ । त्यसअघिको पहिलो सिरिजमा नेपालले एकमात्रै जित हासिल गरेको थियो । घरेलु मैदानमा भएको नामिबिया र नेदरल्यान्ड्ससँगको सिरिजका चार खेलमध्ये तीनमा नेपाल पराजित भएको थियो ।

लगातारको पराजयले नेपाली टिमको क्षमता र व्यवस्थापनमाथि नै प्रश्न उठ्न थालेको छ । विश्वकप छनोटको मुख्य आधार रहेको सिरिजमै नेपालको खराब प्रदर्शनले क्रिकेट समर्थकसमेत केही निराश देखिन्छन् ।

के हो लिग-२ सिरिज ? 

विश्वकप छनोटका लागि आईसीसीले ८ वटा एकदिवसीय मान्यता प्राप्त टोलीबीच प्रतिस्पर्धा गराउन तयार पारेको फर्म्याट लिग-२ हो ।

सन् २०२६ को अक्टोबरसम्म सञ्चालन हुने यो फर्म्याटबाट तालिकाको शीर्ष स्थानमा रहने दुई टोली सोझै एकदिवसीय विश्वकपको छनोट चरणमा पुग्नेछन् ।

तीन वर्षमा आठ टिमले ९/९ वटा सिरिज खेल्नेछन् । प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ । लिग-२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन् ।

आईसीसीको तालिकाअनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ । प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन् । कुल १४४ खेल हुनेछन् ।

नेपाल रहेको समूहमा नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, क्यानडा र अमेरिका रहेका छन् ।

नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित पहिलो सिरिज त्रिवि क्रिकेट मैदानमा भएको थियो । अहिले चलिरहेको दोस्रो सिरिज हो । तेस्रो सिरिज अक्टोबरमा अमेरिकामा हुनेछ । जहाँ स्कट्ल्याण्ड, नेपाल र अमेरिका हुनेछन् ।

शीर्ष चार टोली विश्वकपको छनोटमा पुगेपछि अर्को चरणको प्रतिस्पर्धा हुनेछ । त्यहाँ लिग-२ का चार, प्ले अफबाट आउने चार र एकदिवसीय वरीयताबाट छनोट हुन नसकेका २ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

उक्त प्रतियोगितामा शीर्ष चारमा रहने टोली विश्वकपको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।

तालिकामा नेपालको अवस्था  

नेपालले लिग-२ मा अहिलेसम्म ६ खेल खेलेको छ । त्यसमा पाँचमा हार र एकमा जित हासिल गरेको छ । गत फेब्रूअरीमा कीर्तिपुरमा भएको नामिबिया र नेदरल्यान्ड्ससँगको सिरिजमा नेपालले २ अङ्क जोडेको थियो ।

अहिलेसम्म तालिकामा त्यही नै कायम छ । नेपाल ८ टोलीमध्ये सातौँ स्थानमा छ । नेपालभन्दा तल यूएई छ । जसले ४ खेल खेलेपनि अहिलेसम्म अङ्क जोड्न सकेको छैन ।

८ मध्ये ६ खेल जितेर नेदरल्यान्ड्स १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । क्यानडा ९ मध्ये पाँच खेल जितेर १० अङ्कसहित दोस्रो र स्कट्ल्याण्ड ७ खेलबाट ९ अङ्कसहित तेस्रो स्थानमा छन् ।

जारी सिरिजमा यूएईपछि कमजोर मानिएको ओमानसँग पनि नेपाल पराजित भएकाले प्रश्न उठेको छ । ओमानले अहिलेसम्म पाँचमध्ये २ खेल जितेको छ । ऊ तालिकामा नेपालभन्दा एक स्थानमाथि छ ।

अमेरिका र नामिबिया समान ८ अङ्कसहित चौथो र पाँचौँ स्थानमा छन् ।

नेपालका अबका खेल

नेपालले क्यानडामा लिग-२ का अझै दुई खेल खेल्न बाँकी छन् । त्यसपछि नेपालले क्यानडामै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि अक्टोबरको अन्त्यमा सुरु हुने अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ ।

त्यहाँ नेपालले अमेरिका र स्कट्ल्याण्डसँग २/२ खेल खेल्नेछ । अमेरिकालाई घरेलु मैदानको फाइदा हुनेछ भने स्कट्ल्याण्ड बलियो टोली भएकाले यहाँ पनि नेपाललाई सहज नहुने खेल पण्डितको अनुमान छ ।

अमेरिकासँगै यो वर्षका तीन सिरिज सकिनेछन् । त्यसपछि सन २०२५ को मेमा स्कटल्याण्डमा नेपालले नेदरल्यान्ड्ससहितको सिरिज खेल्नेछ ।

यस्तो छ नेपालको लिग २ खेल तालिका 

फेब्रूअरी २०२४ : नेपाल-नामिबिया-नेदरल्यान्ड्स : नेपाल आयोजक
सेप्टेम्बर २०२४ : क्यानडा-नेपाल-ओमान : क्यानडा आयोजक
अक्टोबर २०२४ : अमेरिका-नेपाल-स्कटल्यान्ड : अमेरिका आयोजक
मे २०२५ : स्कटल्यान्ड-नेदरल्यान्ड्स- नेपाल : स्कटल्यान्ड आयोजक
अक्टोबर २०२५ : युएई -नेपाल-अमेरिका : युएई आयोजक
नोभेम्बर २०२५ :  नेपाल-ओमान-युएई : नेपाल आयोजक
अगस्ट २०२६ : नेदरल्यान्‍ड्स-नेपाल- नामिबिया : नेदरल्यान्ड्स आयोजक
अक्टोबर २०२६ : ओमान-नेपाल-क्यानडा : ओमान आयोजक
नोभेम्बर २०२६ : नेपाल-स्कटल्यान्ड- अमेरिका : नेपाल आयोजक

निरन्तर प्रयोग गर्दा चिप्लिएको टिम

लामो समयदेखि नेपाली टिममा अनेक खालका प्रयोग भइरहेका छन् । जसका कारण प्लेइङ ११ राम्रोसँग सेट हुन सकिरहेको छैन । ओपनर कुशल भूर्तेल फर्ममा नहुनु पनि नेपालका लागि टाउको दुखाइ भइरहेको छ ।

ओमानसँगको खेलमा नेपालले उनको स्थानमा अर्जुन साउदलाई खेलाएको थियो । तर, साउद मात्र ५ रन बनाएर आउट भए ।

भीम सार्कीले दुवै खेलमा मौका पाए पनि कुनै कमाल देखाउन सकेनन् । दोस्रो खेलमा नेपालले निकै ठूलो प्रयोग गरेर नियमित खेलिरहेका तीनजना खेलाडीलाई बेन्चमा राखेको थियो ।

कुशल भूर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी बिना नै खेलेको नेपालले साँघुरो हार ब्यहोर्‍यो । उनीहरूको स्थानमा अर्जुन साउद, आरिफ शेख र अनिल साह टिममा परेका थिए ।

यीमध्ये आरिफले ब्याटिङ र बलिङ दुवैतर्फ सन्तोषजनक प्रदर्शन गरे । सातौँ नम्बरमा आएका अनिल साहले मात्र ३ रन बनाए ।

ब्याटिङ र बलिङ दुवैतर्फ कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अभाव खड्किएको प्रष्ट देखियो । नियमित बलरले धेरै रन दिइरहेको र विकेट नझरेको बेला बेला चाहिने पार्ट टाइम बलरको अभाव भयो ।

कप्तान रोहित पौडेलसमेत घाइते भएपछि आरिफ शेखले पनि बलिङको मौका पाए । अलराउन्डर दीपेन्द्र भएको भए त्यो खेलको नतिजा अर्कै हुन सक्ने सम्भावना थियो ।

किनकि दीपेन्द्र पछिल्लो क्रममा राम्रो ब्याटिङ गर्नुका साथै इकोनोमी बलिङ गर्ने खेलाडी हुन् । जसको धेरै पटक अभाव महसुस गरिएको थियो ।

माथिल्लो क्रममा जम्न खोजिरहेका अनिल साहलाई सातौँ नम्बरमा लैजाने निर्णय पनि हानिकारक सावित भयो । नेपालले लामो समयदेखि यस्तो प्रयोग गर्न खोजिरहेको छ । तर, सफल भइरहेको छैन । उल्टो टिमको प्रदर्शन निरन्तर खस्किँदो छ ।

कुनै पनि टिममा ९/१० जना खेलाडी नियमित हुने र १/२ जनालाई मौका दिँदै विस्तारै पुराना विस्थापित गर्ने प्रचलन हुन्छ । तर, नेपालको टिममा भने ढुक्कले टिममा पर्छ भन्ने खेलाडीको सङ्ख्या निकै कम छ ।

जसका कारण प्लेइङ ११ नै राम्रोसँग सेट हुन सकेको छैन । जसको असरका रूपमा लामो समयदेखि प्रयोग नै प्रयोगको क्रम चलिरहेको छ ।

धेरै ‘अलराउन्डर’ भएपछिको भद्रगोल  

अहिलेको नेपाली टिम अलराउन्डरले भरिएको छ । विश्वका कुनै पनि टिममा यो खालको सेटअप अहिले देखिँदैन । ब्याटर, बलर र अलराउन्डरले आ-आफ्नो भूमिका निभाउँछन् । त्यसले टिममा एकखालको सन्तुलन बनाउँछ ।

तर, नेपाली टिममा भने धेरै अलराउन्डर हुँदा झन धेरै भद्रगोल भएको छ । यसको राम्रो उदाहरण हो क्यानडासँगको खेलमा कुनै पनि बलरले पूरै १० ओभर बलिङ गर्ने मौका नपाउनु । पूरै १० ओभर बलिङ गर्नसक्ने एकजना पनि बलर नहुनु भनेको कुनै पनि टिमका लागि खुसीको कुरा होइन ।

सन्दीप लामिछानेसमेत ब्याटिङमा अगाडि सर्न थालेपछि नेपाली टिममा बलर मात्रै भनेर चिनिने अब ललित सिंह राजवंशी मात्रै बाँकी रहेका छन् ।

धेरै जनाले बलिङ गर्ने भएपछि कप्तानले धेरै प्रयोग गर्न खोज्नु स्वाभाविक हो । तर, त्यसले टिमको सन्तुलन भने बिगार्न थालेको छ । अर्कातिर नियमित बलरको ध्यान विकेट निकाल्नेमा एकाग्र नहुने खतरासमेत बढेको छ ।

यसका साथै ब्याटरको फर्ममा पनि असर देखिन थालेको छ । उदाहरणका लागि कुशल भूर्तेलले राम्रो बलिङ गर्न थालेका छन् । तर, उनको ब्याटबाट रन निस्कन भने कम भएको छ ।

कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीमा समेत द्धैध मानसिकता विकास भइरहेको छ । उनीहरू ब्याटर हुन् कि बलर भन्ने कन्फ्यूजन हुन थालेको छ ।

टिममा धेरै अलराउन्डर हुनुलाई राम्रो मानिन्छ । यसले नेपालको ब्याटिङ अर्डरलाई अन्तिमसम्म खिचेको पनि छ । अर्का अलराउन्डर गुल्सन झाले त झन् उत्कृष्ट प्रदर्शन गरेर जवाफ दिएका छन् ।

तर, मुख्य ब्याटर आफ्नो क्षेत्रमा नचल्ने र मुख्य बलरले विकेट नलिने हो भने अलराउन्डर धेरै भएर पनि चाहिने जति फाइदा टिमले पाउँदैन भन्ने पुष्टि नेपालको प्रदर्शनले गरेको छ ।

अबको टिम कस्तो बन्ला ?

अघिल्ला दुई खेलको नतिजाले अबको खेलमा नेपालको प्लेइङ ११ कस्तो होला भन्ने चासो बढाइदिएको छ । कोच मोन्टी देशाईले तेस्रो खेलमा पनि नयाँ प्रयोग गर्छन् कि टिम सेट गर्नतिर ध्यान दिन्छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन । यसले नै अबको प्लेइङ ११ तय गर्नेछ ।

दुई खेलमा आधारमा ओपनर र विकेट किपरका रूपमा आसिफ शेखको विकल्प देखिएको छैन । कोचले अझ एउटा मौका दिन खोजे भने अर्जुन नै अर्का ओपनर हुनेछन् । प्रयोग गर्नका लागि ओपनरका रूपमा अनिल साह पनि हुनेछन् । गरेनन् भने कुशल भूर्तेल फर्कनेछन् ।

नियमित बलरका रूपमा सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र ललितसिंह राजवंशी दुवै खेलमा परेका छन् । नेपालका लागि यसमा धेरै छनोटको विकल्प छैन । कोचले प्रयोग गर्न चाहेमा फास्ट बलरका रूपमा रिजन ढकाल उपलब्ध छन् । उनलाई ल्याउनका लागि करण र सोमपालमध्ये एकजनालाई बेन्चमा राख्नु पर्नेछ ।

गुल्सन झा निरन्तर रहनेमा शङ्का छैन । भीम सार्कीले पनि मध्यक्रममा अझै एउटा मौका पाउन सक्नेछन् । दीपेन्द्रसिंह ऐरी प्लेइङ ११ मा फर्कने लगभग निश्चित छ ।

अघिल्लो खेलका आधारमा आरिफ शेखले पनि स्थान बनाउन सक्नेछन् । आरिफ निरन्तर रहँदा कुशल मल्ल बाहिरै रहन सक्छन् । कोचले आरिफ र कुशल दुवैलाई खेलाउने निर्णय गरे भने भीम सार्की बाहिरिन सक्नेछन् ।

अबको नेपालको प्रदर्शन कस्तो हुनेछ भन्ने प्लेइङ ११ ले पनि धेरै हदसम्म निर्धारण गर्नेछ । ६ खेलबाट मात्रै दुई अङ्क जोडेर तालिकामा दबाबमा रहेकाले अब नेपालले धेरै प्रयोग गर्नेतिर भन्दा पनि टिम सेट गर्नेतिर ध्यान दिनुपर्ने क्रिकेट विज्ञको सुझाव छ ।

नेपालले सिरिजको तेस्रो खेल आगामी आइतबार क्यानडासँग खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register