आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण

आतिशीका अभिभावक कम्युनिष्ट विचारका समर्थक थिए । उनी घरमा कम्युनिष्ट विचार र समाजवादी आन्दोलनको इतिहासका किताब पढ्दै हुर्किएकी थिइन । बुबाआमा कम्युनिष्ट भएपनि आतिशीले भिन्नै विचार, राजनीति र पार्टी रोजिन ।

Sep 21, 2024 - 11:45
 0
आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण

काठमाडौं । आम आदमी पार्टी आपका नेता तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १७७ दिनपछि जेलबाट छुटे अगाडि उनको राजनीतिक कदम कस्तो हुन्छ भन्ने जिज्ञासा धेरैमा थियो ।

सर्वोच्च अदालतले उनलाई छोड्न जमानत त दियो तर केही शर्त समेत राख्यो । आफू विरुद्धका प्रमाण मेट्न नसकुन भनेर कार्यालय जान, सरकारी कागजातमा हस्ताक्षर गर्न र साक्षी राखिएका व्यक्तिलाई भेट्न निषेध गरियो ।

यस्ता शर्त मानेर सायद उनी मुख्यमन्त्री पदमा बसिरहन सक्दैनथे । सेप्टेम्बर १७ को आप संसदीय दलमा उनले आफ्नो उत्तराधिकारका रुपमा अतिशी सिंह मार्लेनालाई प्रस्ताव गरे । सिंह नयाँ दिल्लीको ८ औं मुख्यमन्त्री बनिन् ।

यी सबै घटनाक्रम जति नाटकीय थिए, उत्तिकै स्वाभाविक पनि लाग्थे । केजरीवालका विकल्प सीमित हुँदै गएका थिए ।

आतिशी केजरीवाल सरकारमा शिक्षा, संस्कृति तथा पर्यटनमन्त्री थिइन । विश्वव्यापी प्रसंशा पाएको दिल्लीका सार्वजनिक विद्यालय सुधार अवधिमा उनले तत्कालिन शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकार भएर काम गरेकी थिइन ।

यो संयोगले उनलाई दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनायो । भाजपा नेतृ सुष्मा स्वराज दिल्लीको पहिलो महिला मुख्यमन्त्री थिइन । सन् १९९८ मा उनी ५२ दिन मुख्यमन्त्री भएकी थिइन । कांग्रेस नेतृ शिला दीक्षित भने करिब १५ वर्ष मुख्यमन्त्री भइन ।

आतिशी देशका दुई बहालवाला महिला मुख्यमन्त्रीमध्ये एक समेत बन्न पुगेकी छन् । पश्चिम बंगालमा ममता बेनर्जीबाहेक अहिले अरु कुनै प्रदेशमा महिला मुख्यमन्त्री छैनन् ।

सन् १९८१ मा जन्मिएकी आतिशी सिंह अहिले ४३ वर्षकी मात्र छन् । अरविन्द केजरीवाल जेलमा रहेको अवधिमा उनले दिल्ली सरकारका ६ वटा मन्त्रालय सम्हालेकी थिइन ।

सन् २०१२ मा जनलोकपाल विधेयकको माग गर्दै भएको भ्रष्टाचार विरोधी अन्ना हजारे आन्दोलनबाट अरविन्द केजरीवाल र आम आदमी पार्टीको उदय भएको थियो ।

आपका मुख्य नेताहरुको पतनको कारण पनि भ्रष्टाचार नै बन्यो । आपका मुख्य चार नेता अरविन्द केजरीवाल, मनिष सिसोदिया, संजय सिंह र सत्येन्द्र जैनमाथि अहिले भ्रष्टाचारको आरोप छ र यिनीहरुले मुद्दा खेपिरहेका छन् ।

आतिशी आपकी प्रवक्ता समेत थिइन । पार्टी प्रवक्ताको भूमिकाले उनलाई सार्वजनिक व्यक्तित्वका रुपमा स्थापित हुन मद्धत गरेको थियो ।

उनी पञ्जाबी राजपुत परिवारकी छोरी हुन् । तर, उनको ‘मार्लेना’ उपनामले धेरैलाई आश्चर्यचकित बनाउँछ । भनिन्छ– उनका मातापिता कट्टर कम्युनिष्ट थिए । कम्युनिष्टका मुख्य नेता दार्शनिक कार्ल मार्क्स र पहिलो कम्युनिष्ट राज्यका संस्थापक रुसका लेनिनको नामलाई मिलाएर यो उपनाम सृजना गरिएको हो ।

मुख्य नेता जेलमा रहेको अवधिमा आतिशीले पार्टीलाई एकताबद्ध र दिल्ली सरकार संचालन राख्न भूमिका खेलेकी थिइन । उनी पार्टीलाई आपत परेको बेला मोर्चा छोडेर नभाग्ने एक निर्भिक नेताका रुपमा प्रस्तुत भएकी थिइन ।

आतिशीका पिता विजय सिंह र माता तृप्ता वासी दुवै दिल्ली विश्वविद्यालयका प्राध्यापक थिए । आतिशीका अभिभावक कम्युनिष्ट विचारका समर्थक थिए । उनी घरमा कम्युनिष्ट विचार र समाजवादी आन्दोलनको इतिहासका किताब पढ्दै हुर्किएकी थिइन ।

उनकी दिदीको नाम जर्मन समाजवादी आन्दोलनकी नेतृ रोजा लेक्जेम्बर्गको नामबाट राखिएको छ– रोजा बसन्ती ।

बुबाआमा कम्युनिष्ट भएपनि आतिशीले भिन्नै विचार, राजनीति र पार्टी रोजिन । उनी अभिभावकको हैन, आफ्नै बाटोमा अघि बढिन । दिल्लीपछि उनले अक्सफोर्डमा पढेकी थिइन ।

सन् २००७ मा देश फर्किएर उनी मध्य प्रदेशको एक स्कुलमा काम गर्न थालेकी थिइन । त्यही उनको प्रविण सिंहसँग भेट भयो, जो पछि उनको पति भए । सन् २०१० मा आतिशीको मनिष सिसोदियासँग भेट भएको थियो । यसरी उनी अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलन र आम आदमी पार्टीको टिममा जोडिएकी थिइन ।

सन् २०१३ मा पार्टीको घोषणापत्र मस्यौदा समिति सदस्यको जिम्मेवारी निर्वाह गरेकी थिइन । सन् २०१५ मा उनी शिक्षामन्त्री सिसोदियाको सल्लाहकार नियुक्त भइन । सन् २०२० मा उनी पहिलोपटक प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन ।

केजरीवाललाई धेरैले ‘नरम हिन्दूत्व’ मान्ने नेता ठान्दछन् । उनी आफैँ मान्दछन् कि ‘हनुमानमान भक्त’ हुन् । ‘राम भक्त’ प्रधानमन्त्री नरेन्द्र मोदीले शासन गरिरहेको देशमा ‘हनुमान भक्त’ हुनुको राजनीतिक अर्थ कति रहन्छ, त्यो भिन्नै कुरा तर, सेप्टेम्बर १३ को साँझ जेलबाट छुटेर केजरीवाल सरासर हनुमान मन्दिर गएका थिए ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, केजरीवाल पत्नी सुनिता, आप नेताहरु संजय सिंह र मनिष सिसोदियासँगै अतिशी मार्लेना हनुमान मन्दिर पुगेकी थिइन ।

आफ्नो नाममा भौतिकवादी कार्ल मार्क्स र भ्लादिमिर लेनिनको उपनाम बोकेरै उनी हनुमानको पूजा गर्दै थिइन ।

अचेल उनलाई यो ‘मार्लेना’ उपनाम त्यति सहज लाग्दैन । उनी अतिशी सिंह मात्र भन्न रुचाउँछिन । कतिपयले मार्लेना उनको क्रिश्चियन उपनाम हो कि भन्ने शंका समेत गर्छन् । मर्लेना उपनामले उनको राजनीतिक यात्रा र वैचारिक आस्थासँगको सम्बन्धलाई असहज बनाएको छ ।

सन् २०१९ मा एक चुनावी सभामा उनले भनेकी थिएन–‘ मेरो थर सिंह हो, मार्लेना त मेरा अभिभावकले दिएको एक उपनाम मात्रै हो ।’

‘नरम हिन्दुत्व’ अतिशीको आफ्नै छनोट भने हैन, पार्टी नेता अरविन्द केजरीवालको रुचि हो । नेतृत्वसँग तालमेल मिलाउन मात्र उनी ‘हनुमानको शरण’ मा पुगेजस्तो लाग्दछ ।

दिल्लीको मुख्यमन्त्रीबाट केजरीवाल बाहिरिएसँगै आम आदमी पार्टीको नेतृत्वमा नजानिदो हस्तान्तरण भएजस्तो भान हुन्छ । आपको मुख्य राजकीय जिम्मेवारी अब पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र आतिशी सिंहको हातमा छ ।

अरविन्द केजरीवाल, मनिष सिसोदिया र संजय सिंह उनीहरुलाई पर्दा पछाडिबाट परिचालित गर्नु पर्ने स्थितिमा पुगेका छन् । सत्येन्द्र जैन अहिले पनि जेलमै छन । आपका एक अर्का विधायक अमनातुल्ला खान समेत भ्रष्टाचारको केसमा पक्राउ परेका छन् । उनी सन् २०१९ मा शाहिन बाग क्षेत्रबाट निर्वाचित विधायक हुन् ।

तर, केजरीवालले दिल्लीको मुख्यमन्त्रीमा फर्किने आशा अझै छोडेका छैनन् । उनी पुन निर्वाचित भएर फर्किने सोचमा छन् । आगामी वर्ष दिल्लीमा नयाँ विधानसभा निर्वाचन हुनु पर्ने छ । यस अघि सन् २०२० मा निर्वाचन भएको थियो ।

पार्टी र नेतृत्वले असहज स्थिति सामना गर्नु पर्दा आतिशीले छोटो समयमै भारतजस्तो देशको राजधानी राज्यको नेतृत्व गर्ने अवसर पाएकी छन् । सँगसँगै उनको चर्चा विश्वभरि छाएको छ । तर, यति कारणले मात्र उनको राजनीतिक भविष्य तय हुन सक्दैन । अतिशीको राजनीतिक भविष्य तब मात्र सम्भव हुनेछ जब उनले मुख्यमन्त्रीको रुपमा राम्रो परिणाम दिने छिन् ।

त्यसो त अहिले आप पार्टीको भविष्यलाई लिएर अनेक आशंका छन् । दुई प्रदेशको सत्तारुढ दल भएर पनि गत लोकसभा निर्वाचनमा आपले राम्रो नतिजा हासिल गर्न सकेन । दिल्लीका सात वटै सिटमा पराजित भयो । देशभरिबाट जम्मा ३ सिट मात्रै जित्न सक्यो ।

दिल्लीको आगामी प्रदेश सभा निर्वाचन आपका लागि अघिल्ला निर्वाचनजस्तो सहज नहुने अनुमान गरिन्छ । आपले दिल्ली गुमायो भने केजरीवालसँगै आतिशी पनि कमजोर हुनेछिन् साथै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका झनै अन्योलग्रस्त हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register